प्रत्येक अक्षर आफैंमा सार्थक र सम्पूर्ण हुन्छ । त्यो उच्चरित पनि हुन्छ र अर्थबोधक /अर्थभेदक पनि हुन्छ । अक्षरको न्यूनतम धर्म, कर्म वा उद्देश्य नै त्यही हो । यति पनि कसैले देख्न र बुझ्न सक्तैन भने त्यो उसको समस्या हो, अक्षरको होइन । हरेक अक्षर स्वयं शब्द पनि हो, जसले एक वा अनेक गहन अर्थ बोकेको हुन्छ ।”

 ” ‘नेपाली भाषा’ निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्छन्, ‘कसैले संस्कृत भाषाभन्दा नेपाली भाषा ज्यादा गरीब छ भन्छ भने म भन्दछु— नेपाली संस्कृतभन्दा कमसेकम दोब्बर धनी छ । नेपाली संस्कृत भाषाको काँधमा चढेको छ । सारा संस्कृत नेपाली भाषाको अन्तर्गत धन हो ।”

………

 हाल नेपाली वर्णमालाका स्वर र व्यञ्जन गरी ५२ अक्षरमध्ये ई, ऊ, ऐ, औ, ञ, ण, श, ष लगायत १७ अक्षर हटाएर उच्चार्य वर्णमालाका नाममा ३५ अक्षर मात्र पढाउने–सिकाउने गरिएको छ । यो दुष्कर्मको प्रतिरक्षामा ‘ती १७ अक्षर नेपाली भाषामा उच्चारणै हुँदैनन्’, ‘नेपालीले उच्चारणै गर्न सक्तैनन्’, अथवा ‘ती अर्थभेदक छैनन्’, ‘अर्थबोधक छैनन्’, ‘त्यसैले ती अक्षर नेपाली भाषालाई चाहिंदैनन्’ जस्ता तर्क अघि सार्ने गरिएको छ । तर ती तर्क होइन कुतर्क, भ्रान्ति, हेत्वाभास, ‘फालेसी’, जल्प वा वितण्डा मात्र हुन् जसमा सत्य, यथार्थ र भाषिक संवेदनशीलताको लेश पनि छैन ।

सत्य के हो भने प्रत्येक अक्षर आफैंमा सार्थक र सम्पूर्ण हुन्छ । त्यो उच्चरित पनि हुन्छ र अर्थबोधक/अर्थभेदक पनि हुन्छ । अक्षरको न्यूनतम धर्म, कर्म वा उद्देश्य नै त्यही हो । यति पनि कसैले देख्न र बुझ्न सक्तैन भने त्यो उसको समस्या हो, अक्षरको होइन । हरेक अक्षर स्वयं शब्द पनि हो, जसले एक वा अनेक गहन अर्थ बोकेको हुन्छ ।

कुनै पनि बिङ्गो लगाएर भाषालाई अक्षरबाट वञ्चित गराउनु भाषाको मेरुदण्डमा सांघातिक प्रहार गर्नु हो । यो यस्तो अपराध हो जसले भाषामाथि मात्र होइन भाषाका समग्र प्रयोगकर्तामाथि, तिनको सभ्यता, संस्कृति, परम्परा र भविष्यमाथि नै गम्भीर घात गर्छ ।

‘नेपाली भाषा’ निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्छन्, ‘कसैले संस्कृत भाषाभन्दा नेपाली भाषा ज्यादा गरीब छ भन्छ भने म भन्दछु— नेपाली संस्कृतभन्दा कमसेकम दोब्बर धनी छ । नेपाली संस्कृत भाषाको काँधमा चढेको छ । सारा संस्कृत नेपाली भाषाको अन्तर्गत धन हो ।’

यही भाषिक धनको विशाल भण्डारबाट एउटा सानो कन्तुर वा भनौं सुर्केथैली खोलेर, हाम्रो वर्णमालाका एक–एक अक्षरको अर्थ–संसारको सानो झलक यहाँ प्रस्तुत गरिएको छ ।

अक्षर र यसको अर्थ

(पुरुषोत्तमदेवप्रणीत एकाक्षरकोशका आधारमा)

अ = विष्णु ।

आ = ब्रह्मा, पूजा, मङ्गल ।

इ = कामदेव ।

ई = लक्ष्मी ।

उ = शंकर ।

ऊ = लक्षण, रक्षण, ब्रह्म ।

ऋ = गायत्री ।

ऋ (दीर्घ) = दिति ।

लृ = अदिति ।

लृ (दीर्घ) = जननी ।

ए = विष्णु ।

ऐ = शिव ।

ओ = ब्रह्मा ।

औ = अनन्त ।

अं = परब्रह्म ।

अः = महेश्वर ।

क = प्रजापति, सूर्य, वायु, अग्नि, आत्मा, मयूर, प्रकाश, सुख, शिरोजल (रोगविशेष) ।

कु = पृथिवी, शब्द ।

ख = इन्द्रिय, आकाश, स्वर्ग, शून्य, सामान्य ।

ग = गणेश । गन्धर्व । गीत ।

गा = गाथा ।

गौ = गाई, सरस्वती ।

घ = बादल, अधर्म, घण्टावादन ।

घा = घण्टा ।

घु = नाक ।

घू = ध्वनि ।

ङ = भैरव, विषयासक्ति ।

च = चन्द्रमा, सूर्य, तस्कर ।

छ = निर्मल, तरल, छेदक ।

ज = जेता, गायन, भोजन ।

झ = ध्वनि, वायु, नेपथ्य, नष्ट ।

ञ = गायन, झर्झर–ध्वनि ।

ट = पृथ्वी, ध्वनि, असिना, कमण्डलु ।

ठ = जनसमूह, मूर्ख, ठूलो ध्वनि, शून्य,  शिव, चन्द्रमण्डल ।

ड = शंकर, त्रास, डरलाग्दो आवाज ।

ढ = नगरा, निर्धन, निर्गुण ।

ण = ज्ञान, निश्चय, निर्णय, सुँगुर ।

त = चोर, बँदेलको पुच्छर ।

थ = न्यायरक्षा, पर्वत ।

द = बादल, पानी, दान, दाता, नाश, कलत्र (पत्नी, नितम्ब) ।

ध = धन, धनी, ब्रह्मा, मुनि ।

धी = बुद्धि ।

धू = भार, धन ।

न = नेता, सूर्य, बुद्धि, बुद्ध, स्तुति, वृक्ष,  स्वागत, बन्धु ।

प = कुवेर, पश्चिम, वायु, रक्षक, पिउनु ।

फ = कफ, फूत्कार, आह्वान,  निरर्थक भाषण, बांगो रूख ।

ब = कलश, वरुण, पानी, फल, वक्षस्थल, गदा ।

भ = नक्षत्र, भवन ।

भा = दीप्ति ।

भू = भूमि ।

भी = भय ।

म = शिव, चन्द्रमा, ब्रह्मा ।

मा = लक्ष्मी, माता, मान, बन्धन ।

य = यश, वायु, यान, यात्री, त्याग ।

र = राम, वायु, अग्नि, भूमि, धन ।

रु = शिव, विषयेन्द्रिययोग ।

ल = दीप्ति, आकाश, पृथ्वी, भय, आह्लाद, वायु, नून, दान, प्रलय, मन÷चित्तवृत्ति÷भावना, साधन, श्लेष ।

वि = पक्षी, आकाश ।

श = सुख, शंकर, श्रेय, शयन, सीमा, हिंसा ।

ष = श्रेष्ठ, परोक्ष, उपसृष्टि, ठूला आँखावाला ।

स = क्रोध, वरण, शिव, ईश्वर ।

सा = लक्ष्मी, गौरी ।

ह = क्रोध, हात्ती, शिव ।

हि = कारण, निश्चय, पद्मावरण ।

क्ष = खेत÷शरीर, छाती, शब्दानुशासन (व्याकरण) ।

क्षि = नृसिंह, खेत, क्षेत्ररक्षक ।

त्र = रक्षक (पालनार्थक त्रैङ् धातुबाट अर्को शब्दको योगमा कृत्प्रत्यय भएर अर्थ दिने) ।

ज्ञ = ज्ञाता, ब्रह्म, बुधग्रह ।

पादटिप्पणी :

१. पुरुषोत्तमदेवद्वारा रचित यस एकाक्षरकोशले अक्षरका प्रसिद्ध/बहुप्रयुक्त अर्थ मात्र उल्लेख गरेको छ । अक्षरका अन्यान्य अनेक अर्थ पनि हुन्छन् जसलाई व्याकरणसम्मत रूपमा प्रतिपादन गर्न सकिन्छ ।

२. यस कोशले सबै अक्षर (मात्रा लागेका वा नलागेका) लाई समेट्न पनि भ्याएको छैन । जस्तै : ‘गी’ को अर्थ वाणी/सरस्वती हुन्छ भने ‘ना’ को अर्थ पुरुष र निषेध दुवै हुन्छ । दुवै अक्षर यहाँ समाविष्ट छैनन् ।

३. अन्य शब्दकोशहरूमा अक्षरका अरू धेरै अर्थ पनि दिइएका छन्, पाइन्छन् । जस्तै, ‘अमरकोश’ मा ‘स्वर्गेषुपशुवाग्वज्रदिङ्नेत्रघृणिभूजले, लक्ष्यदृष्टया स्त्रियां पुंसि गौः’ भनेर ‘गौ’ (गो शब्द) को अर्थ गाई र वाणी/सरस्वतीका अतिरिक्त स्वर्ग, वाण, वज्र, दिशा, आँखा, सूर्य/सूर्यकिरण, पृथ्वी र पानी समेत उल्लेख गरिएको छ । यस्तै, ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ (नीलमणि ढुङ्गाना) मा ‘क’ का उपर्युक्त नौ अर्थका अतिरिक्त राजा, कामदेव, यमराज, शब्द, शरीर, मन, धन, केश, पक्षी, बुद्धि, काल, मेघ, दक्ष लगायत १५ अर्थ समेत कुल २४ अर्थ दिइएको छ ।

४. संस्कृतमा एकाक्षरकोश यो एउटा मात्र होइन, अनेक छन् । तिनले अन्य अक्षर र अन्यान्य अर्थहरू पनि समेटेका छन् ।

५. अक्षरका अझ गूढ अर्थ, रहस्य र महिमा जान्न त तन्त्रमै प्रवेश गर्नुपर्छ ।

शरच्चन्द्र वस्ती

साभार : शिक्षक (मासिक), फागुन २०८०