“देवनागरी लिपिका एक–एक अक्षर यति सारगर्भित छन् कि भनेर साध्यै छैन । यसको संरक्षण, पठन–पाठन र प्रवर्द्धन गर्नु हाम्रो नैतिक कर्तव्य मात्र होइन कि बरु हाम्रो सभ्यतालाई जोगाउने ढाल हो ।”
…….
‘सा विद्या या विमुक्तये’ अर्थात् विद्या त्यो हो जसले बन्धनबाट मुक्त गराउँछ । यो र यस्ता अगण्य ज्ञानको निधि ‘संस्कृत’ हाम्रा पूर्वजहरूले हामीलाई धरोहरमा दिएको ज्ञानको भण्डार हो । तर धेरै मानिस यसबारेमा अनभिज्ञ छन् अथवा विदेशीको हातमा बिकेका छन् अथवा दुवै । यिनीहरूबाट देशलाई बचाउन अत्यावश्यक छ । अन्यथा हाम्रो संस्कृति नै डुब्नेछ किनकि संस्कृत हाम्रो संस्कृति, परम्परा, धर्म, जीवन–दर्शन र अन्ततोगत्वा संसारको अति प्राचीन हाम्रो सभ्यताको साँचो हो । भाषा–संस्कृति एक अर्काका पूरक हुन् । यदि हामीले भाषा हरायौं भने हामीले त्यसमा गर्भित संस्कृति पनि हराउने छौं । हामीले त्यस भाषामा गर्भित सम्पूर्ण ज्ञान पनि हराउनेछौं । समग्रमा हाम्रो परिचय नै हराउने छौं ।
संस्कृत अरू धेरै भाषा सहित नेपाली भाषाको पनि मातृभाषा हो, जसको वर्णमाला देवनागरी हो । संस्कृत भाषाको वर्णमाला जसलाई ‘अक्षर’ अर्थात् ‘कहिल्यै नाश नहुने’ भनिन्छ, शंकर भगवानको डमरुबाट १४ सूत्रको रूपमा उत्पन्न भएको शास्त्रहरूको सम्मति छ । यी १४ सूत्र ‘माहेश्वर सूत्र’ को नामले विख्यात छन् र यी हुन्— अइउण् (१) । ऋलृक् (२) । एओङ् (३) । ऐऔच् (४) । हयवरट् (५) । लण् (६) । ञमङणनम् (७) । झभञ् (८) घढधष् (९) । जबगडदश् (१०) । खफछठथचटतव् (११) । कपय् (१२) । शषसर् (१३) । हल् (१४) ।
यसमा खुट्टा काटेको सूत्रको अन्तिम अक्षरले त्यस सूत्रको अन्त दर्शाउँछ । यिनलाई ‘इत्’ भनिन्छ र यिनको प्रयोजन प्रत्याहार निर्माण गर्नु हो । पहिलो चार सूत्रले ‘स्वर’, पाँचौंले ‘अर्ध–स्वर’ र बाँकीले ‘व्यञ्जन’ को परिभाषा दिन्छन् । माहेश्वर सूत्रका यी अक्षर र यी सूत्रबाट निर्माण हुने प्रत्याहारहरूको अनौठो प्रयोग महर्षि पाणिनिले विश्वको सबैभन्दा प्राचीन र अद्वितीय विश्वविख्यात व्याकरण–शास्त्र ‘अष्टाध्यायी’ मा गरेका छन् । संसारका सबै भाषाविद्ले पाणिनिको अष्टाध्यायीलाई व्याकरण–शास्त्रको ‘महत्तम कृति’ (म्याग्नम् ओपस्) को रूपमा स्वीकार गरेका छन् । यही कारण महर्षि पाणिनिलाई विश्वभर नै ‘आदि सफ्टवेयर अभियन्ता’ (विश्वको पहिलो सफ्टवेयर इन्जिनीयर) भनिन्छ ।
संस्कृत शब्दको अर्थ हो— परिमार्जित अथवा परिष्कृत । संस्कृत भाषा यथार्थमा अति वैज्ञानिक, तार्किक तथा सुव्यवस्थित (सिस्टमेटिक) छ । यो यस्तो भाषा हो जसले हाम्रो मस्तिष्कका दुइटै— कलात्मक तथा तार्किक भागलाई सम्बोधन गर्दछ । यस विषयमा स्नायु–वैज्ञानिकहरूले (न्यूरोसाइन्टिस्ट) अनुसन्धान गरेर एउटा नयाँ शब्द ‘संस्कृत–प्रभाव’ प्रचलनमा ल्याएका छन् । यसबारे एक जर्मन स्नायु–वैज्ञानिक जेम्स हार्चेलको अतीव रोचक नवीनतम रिपोर्ट जो कि यूट्यूबमा उपलब्ध छ, पठनीय तथा मननीय छ ।
नाद–ब्रह्म ‘ॐ’ बाट विश्वको कुनै पनि भाषालाई चाहिने तीन मूलभूत स्वरहरू ‘अ’, ‘इ’ र ‘उ’ को उत्पत्ति भएको छ । यीमध्ये ‘अ’ को स्थान सर्वोपरि छ जस्तो कि ल्याटिन भाषाको ‘ए’ वा ग्रीक भाषाको ‘अल्फा’ । भगवान् श्रीकृष्णले गीताको श्लोक १०.३३ मा भन्नुभएको छ :
अक्षराणामकारोऽस्मि द्वन्द्वः सामासिकस्य च ।
अहमेवाक्षयः कालो धाताहं विश्वतोमुखः ।।
अर्थात् अक्षरहरूमा म अकार हुँ, समासहरूमा म द्वन्द्व समास हुँ, म अक्षय (शाश्वत) समय पनि हुँ र सृष्टिकर्ताहरूमा ब्रह्मा पनि मै हुँ ।
‘अ’ कार संस्कृत वर्णमालाको पहिलो अक्षर हो । यसैबाट वैदिक साहित्यको प्रारम्भ हुन्छ । अकार विना कुनै कुरा ध्वनित हुँदैन, त्यसैले यो आदि स्वर हो, प्रथम ध्वनि हो । त्रिस्वरको लामो रूप ‘आ’, ‘ई’ र ‘ऊ’ हो । ‘अ’ र ‘इ’ लाई जोडेर अर्थात् सन्धि गरेर संयुक्त वा मिश्रित स्वर ‘ए’ र त्यसैगरी ‘अ’ र ‘उ’ को सन्धिबाट ‘ओ’ को उत्पत्ति भयो । यिनै स्वरहरूबाट ‘ऐ’ र ‘औ’ क्रमशः बने । अनुस्वार र विसर्गले ‘स्वर–वर्ण’ पूर्ण गर्छन् । बाल्यकालमा अ, आ देखि अ, अः सम्मको उच्चारण गर्न सिक्दा अनजानमै प्राणायामको ‘अनुलोम–विलोम’ को एक क्रिया पूर्ण गर्दै गरेको ज्ञान नै थिएन । किनकि, ‘अ’ देखि ‘ऊ’ सम्म उच्चारण गर्दा सास भित्र लिइन्छ र ‘ए’ देखि ‘अः’ सम्म उच्चारण गर्दा सास बाहिर फ्याँकिन्छ ।
स्वरहरूको सहायताले व्यञ्जनहरूको उत्पत्ति भयो । ‘ऋ’, ‘ऋृ’ र ‘लृ’, ‘लृ’(दीर्घ) लाई ‘नपुंसक स्वर’ पनि भनिएको छ किनकि यी चार स्वर अरू व्यञ्जन जन्माउन असमर्थ छन् । स्वर र व्यञ्जन मिलेर शब्द र त्यसपछि वाक्यहरू बन्दै जान्छन् । अंग्रेजीमा शब्दहरू बनाउँदा स्वर र व्यञ्जनका बेग्लाबेग्लै ‘वर्ण’ लेखेर छोडिन्छ भने संस्कृतमा व्यञ्जनमा स्वरको ‘मात्रा’ जोडेर ‘अक्षर’ नै लेखिन्छ जसले गर्दा कुनै पनि शब्दको उच्चारणमा कहिल्यै अलमलिनु पर्दैन । अति आश्चर्यको कुरो यो छ कि आजको डिजिटल युगभन्दा हजारौं वर्षअघि संस्कृत भाषामा ध्वनिको डिजिटलकरण पूर्ण भइसकेको थियो । यो पनि उल्लेखनीय छ कि संस्कृत ‘ध्वन्यात्मक’ (फोनेटिक) भाषा हो अर्थात् हामीले जे लेख्छौं त्यही बोल्छौं र यसकारणले संस्कृतमा हिज्जे गर्न स्पेलिङ सिक्ने आवश्यकतै छैन । यसले गर्दा संस्कृतलाई कम्प्युटरका लागि सर्वाधिक उपयुक्त मध्यवर्ती भाषा मानिएको छ ।
ऋ, ऋृ र लृ, लृ(दीर्घ) जोडेरै संस्कृतमा जम्मा १६ वटा स्वरहरू छन् र भनिन्छ कि यी १६ स्वरले ईश्वरका १६ वटा विभूति (गुणहरू) जनाउँछन् । स्वरहरूको बारेमा भनिएको छ, ‘स्वयं राजते इति स्वरः’ अर्थात् जो आफ्नै शक्तिले विद्यमान छन् वा चम्कन्छन्— ती स्वर हुन् ।
हाम्रो शास्त्रीय संगीतको सप्तक ‘सारेगमपधनि’ को उद्गमस्थल पनि संस्कृत स्वरहरू नै हुन् । क्रमशः ‘अ’ बाट ‘षड्ज’—सा, ‘इ’ बाट ‘ऋषभ’—रे, ‘उ’ बाट ‘गान्धार’—ग, ‘ए’ बाट ‘मध्यम’—म, ‘ओ’ बाट ‘पंचम’—प, ‘ऐ’ बाट ‘धैवत’—ध र ‘औ’ बाट ‘निषाद’—नि स्वर उत्पन्न भएका हुन् । तर कति जनालाई यसको जानकारी छ ? यस उप्रान्त शास्त्रीय संगीतको अकल्पनीय विकास सम्भव भयो । मानसिक तनाव (डिप्रेसन) भएको बेलामा शास्त्रीय संगीतले रामवाणको काम गर्दछ ।
अब व्यञ्जन वर्णको विश्लेषण गरौं । सर्वप्रथम ५x५ कोष्ठक (म्याट्रिक्स) को वैज्ञानिकतामा ध्यान देऔं । यी ५ तेर्सो पंक्तिहरूका (होरिजेन्टल रोज) अक्षरहरूमा प्रथम पंक्तिलाई कण्ठबाट उच्चरित ‘कण्ठ्य वर्ग’, दोस्रो पंक्तिलाई तालुबाट उच्चरित ‘तालव्य वर्ग’, तेस्रो पंक्तिलाई जिभ्रोलाई पछाडि पल्टाई उच्चरित ‘मूर्धन्य वर्ग’, चौथो पंक्तिलाई जिभ्रोले दाँतलाई छोएर उच्चरित ‘दन्त्य–वर्ग’ तथा पाँचौं पंक्तिलाई दुइटै ओठ जोरेर उच्चरित ‘ओष्ठ्य वर्ग’ मा विभाजित गरिएको छ । यसैगरी ५x५ कोष्ठकका प्रथम तथा तृतीय ठाडो पंक्ति (भर्टिकल कॉलम) का अक्षरहरूलाई उच्चारण गर्दा सासमा जोड नपर्ने हुनाले ‘अघोष’ (अल्पप्राण/अनएस्पिरेटेड) र द्वितीय तथा चतुर्थ ठाडो पंक्तिका अक्षरहरूलाई उच्चारण गर्दा सासमा जोड पर्ने हुनाले ‘घोष’ (महाप्राण/एस्पिरेटेड) ध्वनि भनिएको छ । यी ५ वर्गका अन्तिम अक्षरहरू ‘ङञणनम’ लाई ‘नासिक स्वर’ (नेजल) भनिन्छ किनकि प्रत्येक वर्गको ध्वनि मुखको अग्रभागबाट शुरू भएर घाँटीतिर गुड्दै अन्तिम ध्वनि नाकबाट निस्कन्छ । मानिसको ध्वनि ग्रन्थि (भोकल अर्गान) बाट निस्केका ध्वनिहरूको यति सूक्ष्म विश्लेषण विश्वको अर्को कुनै भाषामा पाइन्न । यसका लागि हाम्रा पूर्वजमा हजारौं वर्ष अघिदेखि नै मनुष्यका प्रत्येक अंगहरूको (एनाटोमी) कति विस्तृत ज्ञान होला, यो अति
विचारणीय छ ।
अब बाँकी रहेका ८ अक्षरमध्ये ‘य’, ‘र’, ‘ल’, ‘व’ ‘अर्ध–स्वर’ (सेमी–भवेल्स) र ‘श’, ‘ष’, ‘स’, ‘ह’ ‘ऊष्म’ ध्वनि हुन् । यसरी जम्मा ३३ अक्षरलाई व्यञ्जन भनिन्छ । यी ३३ अक्षरको प्रत्येक कोठा ३३ कोटि देवताको निवासस्थान वा नगर मानिएको छ । यसैकारणले संस्कृत अक्षरलाई ‘देवनागरी’ पनि भनिन्छ । जसरी पहिले नेपालमा प्रत्येक राजारजौटाकी विशेष आराध्य ‘शक्ति–देवी’ हुन्थिन्, त्यसैगरी देवनागरी वर्णमालाको सम्पूर्ण ‘अ–वर्ग’ की देवी ‘योगेश्वरी’, ‘क–वर्ग’ की ‘ब्राह्मी’, ‘च–वर्ग’ की ‘माहेश्वरी’, ‘ट–वर्ग’ की ‘कौमारी’, ‘त–वर्ग’ की ‘वैष्णवी’, ‘प–वर्ग’ की ‘वाराही’, ‘य–वर्ग’ की ‘इन्द्राणी’ तथा ‘श–वर्ग’ की ‘चामुण्डा’ देवी स्थित छन् । व्यञ्जन वर्गका यी सात देवीहरूलाई ‘सप्तमातृका’ भनिन्छ ।
अन्त्यमा, बाँकी ३ अक्षरहरू ‘क्ष’, ‘त्र’, ‘ज्ञ’ चाहिं संयुक्त व्यञ्जन हुन् र यी व्यञ्जनहरू क्रमशः ‘क्+ष्+अ’, ‘त्+र्+अ’ र ‘ज्+ञ्+अ’ को मिश्रणबाट बनेका छन् । यसकारण देवनागरीका अक्षरहरू १६ स्वर र ३३ व्यञ्जन गरी ४९ वटा मानिन्छन् र यसमा ‘क्ष’, ‘त्र’, ‘ज्ञ’ जोडेपछि जम्मा ५२ अक्षर हुन जान्छन् । ‘य’ ‘र’ ‘ल’ ‘व’ ‘ह’ को विशिष्ट प्रयोग ‘कुण्डलिनी चक्र’ मा गरिन्छ । यिनलाई ‘मूलाधार चक्र’ बाट शुरू गरेर कुण्डलिनीका ७ चक्रमध्ये पहिलो ५ ‘शक्ति चक्र’ (इनर्जी सेन्टर) को ‘बीज–मन्त्र’ को रूपमा प्रयोग गरिएको छ । मन्त्रविद्यामा केन्द्रीय ध्वनिलाई ‘बीज’ अर्थात् बीउ भनिन्छ । जस्तो कि ‘मूलाधार चक्र’ को बीज मन्त्र ‘लं’ हो । त्यसैगरी क्रमशः ‘स्वाधिष्ठान चक्र’ को ‘वं’, ‘मणिपूर चक्र’ को ‘रं’, ‘अनाहत चक्र’ को ‘हं’ तथा ‘विशुद्धि चक्र’ को बीज मन्त्र ‘यं’ हो । यसैगरी ‘स’ र ‘ह’ लाई ‘संहार बीज’ पनि मानिएको छ । किन ? अलि ध्यान दिएर हेर्नुस्, सास भित्र तान्दा (इन्स्पिरेशन) अनायास ‘स’ को ध्वनि निस्कन्छ । त्यसैगरी सासलाई बाहिर छोड्दा (एक्स्पिरेशन) ‘ह’ को ध्वनि निस्कन्छ । यसर्थ श्वास–प्रश्वासको प्रक्रियालाई ‘हंस’ मन्त्र पनि भनिएको छ । अन्ततोगत्वा मानव जीवन यी नै दुई सासको बीचको खेल हो !
वैदिक सभ्यताको सारांश गायत्री मन्त्रका २४ अक्षरहरूमा समावेश छ : ‘ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ।’ अर्थात् हामी ती परमपूजनीय सृष्टिकर्ताको उपासना गर्छौं जसको दिव्य प्रकाशले समस्त विश्वलाई नै देदीप्यमान गरेको छ; तिनले हाम्रो बुद्धिलाई असल कर्मका निम्ति प्रेरित गरुन् । देवनागरी लिपिको विश्लेषणले यो स्पष्ट गर्दछ कि संस्कृत कुनै साधारण भाषा होइन । यसका एक–एक अक्षर यति सारगर्भित छन् कि भनेर साध्यै छैन । यसलाई अकारण ‘देव–भाषा’ भनिएको होइन । संस्कृत हाम्रो डीएनएमा छ । तसर्थ यसको संरक्षण, पठन–पाठन र प्रवर्द्धन गर्नु हाम्रो नैतिक कर्तव्य मात्र होइन कि बरु हाम्रो सभ्यतालाई जोगाउने ढाल हो ।
यो आलेखमा त केवल संस्कृतको देवनागरी वर्णमालाको चर्चा गरेको मात्र हो । महर्षि पाणिनिको व्याकरण ‘अष्टाध्यायी’ अत्यन्त गहन र संस्कृत वाङ्मय अथाह विषय छ । यस गहिरो सागरमा डुबुल्की मार्नेहरूले कुन–कुन मोतीहरूको उपलब्धि गर्न सक्छन्— यो वैयक्तिक क्षमतामा निर्भर गर्छ । कहिलेकाहीं यस्तो लाग्छ कि परमेश्वरले गल्तीले ‘संस्कृत’ निर्बुद्धिहरूको हातमा सुम्पिदिए । यस्तो दिन नआओस् जुन दिन विदेशीहरूले हामीलाई संस्कृत सिकाउन परोस् ।
साभार : कान्तिपुर, १९ माघ २०७५
(डा. रौनियार संयुक्त अधिराज्यमा कार्यरत हुनुहुन्छ । यो आलेख उहाँद्वारा सान्दर्भिक परिमार्जन पश्चात् पुनः प्रकाशित गरिएको हो । –सम्पादक ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।