(सम्पादकीय : ‘कानून’ पत्रिका)
“हामी व्याकरणविद् होइनौं, भाषाविद् पनि होइनौं । तर, शुद्ध लेखौं भन्ने प्रयास भने अवश्य गर्दछौं । संविधान हाम्रो सर्वोपरि कानून हो, हामी त्यसैको अनुसरण गर्दछौं । त्यसैले हामी ‘कानून’ लेख्छौं, ‘कानुन’ लेख्दैनौ ।“
……………
विक्रम संवत् १०३८ को दामुपालको अभिलेखलाई नेपाली भाषाको लेख्य रूपको अहिलेसम्म फेला परेमध्येको पहिलो मानिन्छ । यस हिसाबले यो भाषाले एक हजार वर्षको संघार पार गरेको छ । यस भाषामा पहिले साहित्य, त्यसपछि व्याकरण र त्यसपछि मात्र कोशको निर्माण भएको मानिन्छ ।
प्रतापसिंह शाहको शासनकालमा ब्रिटिश इण्डिया (इष्ट इण्डिया कम्पनी) बाट खटिएर आएका कर्णेल डब्लू.जे.कर्कप्याट्रिकले नेपाली शब्दहरूको सूची पनि समावेश गरी ‘Account of the Kingdom of Nepaul’ नामक पुस्तक १८६८ साल (सन् १८११) मा प्रकाशित गराए । नेपाली भाषिक संरचनालाई लिपिबद्ध गरिएको यो पहिलो पुस्तक हो । यसपछि १८७६ साल (सन् १८२०) मा एटनले ‘नेपाली व्याकरण’ भन्ने पुस्तक कोलकाताबाट प्रकाशित गरे । १९४४ साल (सन् १८८७) मा टर्नबुलको ‘नेपाली व्याकरण र शब्दावली’ भन्ने पुस्तक दार्जीलिङबाट प्रकाशित भयो । यसरी विदेशी विद्वानहरूले नेपाली शब्द र व्याकरणको अध्ययनमा गहन भूमिका निर्वाह गरेका छन् । यसै क्रममा टर्नरको नेपाली–अंग्रेजी शब्दकोश १९८८ साल (सन् १९३१) मा प्रकाशित भयो । यस पुस्तकको नेपाली भाषामा विशिष्ट योगदान छ ।
नेपाली विद्वानहरूमा वीरेन्द्रकेशरी अर्ज्याल र जयपृथ्वीबहादुर सिंहले भाषिक शुद्धताको सीमा बाँधे । चक्रपाणि चालिसेको योगदानलाई पनि कम आँक्न मिल्दैन । १९५८ साल वैशाख बदी ११ रोजदेखि देवशमशेरद्वारा प्रकाशन आरम्भ गराइएको ‘गोर्खापत्र’ का भाषामा एकरूपताको अभाव प्रष्टै देखिन्छ । तर, यसको योगदान विशिष्ट छ ।
नेपाली भाषिक प्रयोगलाई शुद्धता दिन हेमराज पण्डितले ‘चन्द्रिका गोरखा भाषा व्याकरण’ बनाउनु भयो । यो पुस्तक १९६९ सालमा प्रकाशित भयो । ७१२ पृष्ठको यो पुस्तक पाँच भागमा विभक्त थियो । सोमनाथ सिग्द्यालको ‘मध्यचन्द्रिका’ (१९७६) र ‘लघुचन्द्रिका’ (१९९१), पारसमणि प्रधानको ‘सजिलो नेपाली व्याकरण’ (१९८९), बालकृष्ण समको ‘नेपाली कसरी शुद्ध लेख्ने’ (१९९१) भन्ने पुस्तकहरूका अतिरिक्त हृदयचन्द्रसिंह प्रधान, पुष्कर शमशेर र गोपाल पाण्डे ‘असीम’ का पुस्तकहरूको पनि आफ्नै खालको विशिष्ट स्थान छ । २००७ साल माघमा प्रथम संस्करणका रूपमा प्रकाशित रामचन्द्र ढुंगानाको संक्षिप्त नेपाली कोश २०३४ सालमा साझा प्रकाशनद्वारा तृतीय संस्करण छापियो ।
२०१९ सालमा बालचन्द्र शर्माद्वारा सम्पादन गराएर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले ‘नेपाली शब्दकोश’ प्रकाशित गर्यो । अहिलेसम्म विकसित भई मान्यता प्राप्त प्रचलनलाई सुधार्ने नाउँमा २०४० सालमा यसै संस्थाले ‘नेपाली बृहत् शब्दकोश’ प्रकाशित गर्यो । यसै कोशबाट भद्रगोल शुरू भयो । यसै कोशले ‘कानून’ को ‘नू’ लाई ह्रस्व (नु) लेख्ने भन्दै दीर्घ ‘नू’ लेखे पनि हुने भन्ने सिद्धान्त प्रतिपादन गर्यो । यस अघिका सबै शब्दकोशले ‘नू’ दीर्घ लेख्ने मान्यता अपनाएका थिए । यसपछि प्रकाशित अहिलेसम्मको सबैभन्दा धेरै नेपाली शब्द संग्रहीत वसन्तकुमार शर्म्मा ‘नेपाल’ को ‘नेपाली शब्दसागर’ ले ‘कानून’ को ‘नू’ लाई दीर्घ नै लेखेको छ । ‘कानून’ को ‘नू’ लाई ह्रस्व लेख्ने कि दीर्घ लेख्ने भन्ने विषयमा हामीले प्रा.मुकुन्दशरण उपाध्यायको एउटा लेख कानून अङ्क १२ (२०५५ पुस) पृष्ठ ६३ मा प्रकाशित गरेका पनि छौं ।
‘कानून’ अरवी भाषाबाट आएको अतिथि (तद्भव) शब्द हो । यसका अतिरिक्त नजीर, वकील र उजूर पनि सोही भाषाबाट आएका हुन् । आगन्तुक शब्दमा रहेका इकार–उकारलाई दीर्घ लेख्ने मान्यतालाई नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि अङ्गीकार गरेको छ । यो संविधानका धारा १ समेतका ‘कानून’ शब्द प्रयोग भएका समस्त धाराहरूमा दीर्घ ‘नू’ नै लेखिएको छ । र, हाम्रो ऐन/नियम आदि प्रकाशित गर्न पाउने एकमात्र आधिकारिक सरकारी निकाय ‘कानून किताब व्यवस्था समिति’ को नामाकरणको ‘कानून’ शब्दको ‘नू’ दीर्घ नै छ । यत्ति मात्र होइन ‘कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय’ को ‘कानून’ को ‘नू’ दीर्घ नै छ । टोपबहादुर सिंह र डा. शङ्करकुमार श्रेष्ठद्वारा सम्पादित दुवै कानूनी शब्दकोशहरूमा पनि ‘कानून’ को ‘नू’ दीर्घ नै छ । कृष्णप्रसाद पराजुलीको ‘राम्रो रचना मीठो नेपाली’ र गोपाल पाण्डे ‘असीम’ को ‘रचना केशर’ मा पनि ‘कानून’ को ‘नू’ लाई दीर्घ नै लेखिएको छ ।
आफूलाई लेख्न असजिलो भयो भनेर प्रचलित व्याकरणलाई उल्लंघन गर्दै ‘श’, ‘ष’ र ‘स’ का साटो सबै ठाउँमा ‘स’ मात्र लेख्ने र सबै शब्दमा इकार–उकार ह्रस्व मात्र लेख्ने नियम बाँध्ने अधिकार कसैलाई छैन । तद्भव र आगन्तुक शब्दहरूका (शुरू र बीचमा भएका) दीर्घ इकार–उकारहरूलाई हटाई ह्रस्व गर्ने भन्ने पाँच जना ‘स्वनामधन्य’ हरू बसी आफूखुशी निर्णय गरेर प्रचलनमा रहेका गरीब, करीब, वकील, नजीर, मौसूफ, मजदूर, नसीहत, चीज, तीज, पीच, बीच, नून र ठीक आदिलाई जबर्जस्ती ह्रस्व बनाइयो । उच्चारण परम्परा, लेख्ने परम्परा र साविक नियममा अकारण एवम् अनधिकार परिवर्तन गरिएको छ । ‘कानून’ को ‘नू’ लाई ह्रस्व लेखे पनि हुने, दीर्घ लेखे पनि हुने भन्ने निर्णय नै हचुवापनको प्रमाण हो । ठीक र सत्य त एउटै हुन्छ । दुई विपरीत मान्यतामा दुवै सत्य हुन सक्दैनन् । दश जना ‘स्वनामधन्य’ हरू बसेर अनि, पछि, रवि, पनि, आदि दीर्घ लेख्ने निर्णय गरेमा के त्यो पनि मान्य हुन्छ ?
हामी व्याकरणविद् होइनौं, भाषाविद् पनि होइनौं । तर, शुद्ध लेखौं भन्ने प्रयास भने अवश्य गर्दछौं । संविधान हाम्रो सर्वोपरि कानून हो, हामी त्यसैको अनुसरण गर्दछौं । हामी परम्परावादी पनि छौं र कानूनको विद्यार्थीका नाताले हरेक कुराको कारण र औचित्य खोज्दछौं । तसर्थ, साझा प्रकाशनले २०३४ सालमा प्रकाशित गरेको रामचन्द्र ढुंगानाको ‘नेपाली शब्दकोश’ को हामी अनुसरण गर्दछौं । त्यसैले हामी ‘कानून’ लेख्छौं, ‘कानुन’ लेख्दैनौ ।
जुन दिन नेपाल अधिराज्यको संविधान, २०४७ (नेपालको संविधान (२०७२) मा पनि ‘कानून’ प्रयोग भएको छ– सं.) संशोधन भएर ‘कानून’ लाई ‘कानुन’ लेखिनेछ हामी पनि त्यही दिन यस विषयमा सोचौंला !
सम्पादकीय : ‘कानून’ ५२; भदौ २०६२ (कानून व्यवसायी क्लब)
साभार : :
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।