“धन्न, जनप्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानलाई संविधानको भाषा हेर्ने जिम्मा दिएनछन् । उसका कुरा पत्याएनछन्, स्वीकार गरेनछन् र पो संविधान विरूप हिज्जेको शिकार हुनबाट अनि ‘संयुक्त अक्षरका खुट्टा काट्ने’ नाममा चलाइएको अर्को अराजकताबाट समेत जोगिएछ । यसका लागि संविधान सभा र त्यसमा रहेका सभासदहरूलाई जति धन्यवाद दिए पनि कम हुन्छ ।“
………
नेपाली भाषाको वर्णविन्यासमा अनधिकृत हस्तक्षेप गरेर भाँडभैलो मच्चाउने दुष्प्रयास नयाँ होइन । यसै क्रममा नेपाल प्रज्ञा प्रतिष्ठान तथा त्रिभुवन विश्वविद्यालयसित सम्बद्ध नेपाली भाषाका प्रमुखहरू लगायत कतिपय प्रा.डा.हरूले राज्यसत्ताको आडमा वि.सं. २०६७ देखि उक्त भाँडभैलोलाई थप विस्तारित गरेका छन् । त्यसविरुद्ध नेपाली भाषा प्रयोगकर्ताहरूको आक्रोश उर्लिएपछि शुरू भएको उक्त दुई संस्थाहरू बीचको दन्तबझान अहिले जगहँसाइको विषय बन्दै गएको छ । यसैबीच २०७२ आश्विन ३ गते संविधान सभाबाट ‘नेपालको संविधान’ जारी भयो । यस्तो भाषिक संक्रमणकालमा जारी भएको संविधानको भाषा र वर्णविन्यास कस्तो आउला भन्ने आशंका तथा कौतूहल जनमानसमा थियो ।
संविधान आएपछि त्यसको भाषा शुरूदेखि पढ्ने इच्छा जाग्यो । केही पृष्ठहरू पढिनसक्तै आशंका विपरीत शब्दहरूको साबिक शुद्ध हिज्जे नै प्रयोग भएको देख्ता सुखद आश्चर्यको सीमा रहेन । संविधानका सबै पृष्ठमा परम्परागत रूपमा सबै प्रयोगकर्ताले अँगालेको, हाम्रा स्वनामधन्य लेखक–साहित्यकारहरूले स्वीकारेको हिज्जे रहेका (साबिकदेखि सर्वस्वीकार्य तथा शुद्ध मानिएका) चिरपरिचित शब्दहरू नै पो रहेछन् । संविधानलाई कुनै अनिष्टले छुन सकेनछ र नै त्यो परम्परित शुद्ध वर्णविन्यास अँगालेर लेखिएको रहेछ । घरका भित्ताहरू चर्केर भत्के पनि मूल खाँबो जस्ताको तस्तै खडा रहेछ । हे करुणानिधान, कसरी बचेछ नि संविधान !
संविधानमा रहेका शुद्ध हिज्जेका शब्दहरू यस्ता छन् :
१. शुरू वा बीचमा दीर्घ ई वा ऊ हुने शब्दहरूमा— कानून, शहीद, बीच, नीलो, तरीका, खरीद, जीउ, सीप, जमीन, बीउ, पूँजी, गरीबी, तीस, महीना, तीन, पैंतीस, पच्चीस, नसीहत, बीस, छानबीन, वकील; छुवाछूत, कानूनी, पूरा, फूल, जासूसी, थारू, लागू, कसूर, कसूरदार, मजदूर, खेलकूद, चालू, महसूल, असूल, मौजूदा आदि ।
(नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश (ने.बृ.श.) मा भने माथिका शब्दहरूलाई यसरी विरूप बनाइएको छ— सहिद, बिच, निलो, तरिका, खरिद, जिउ, सिप, जमिन, बिउ, पुँजी, गरिबी, तिस, महिना, तिन, पैंतिस, पच्चिस, नसिहत, बिस, छानबिन, वकिल; छुवाछुत, कानुनी, पुरा, फुल, जासुसी, थारु, लागु, कसुर, कसुरदार, मजदुर, खेलकूद, चालु, महसुल, असुल, मौजुदा आदि ।)
२. तालव्य अर्थात् मोटो श हुने शब्दहरूमा— शहीद, निशान, एशियाली, पेशा, शर्त, मधेशी, सशर्त, दश, पेश्की, शुरू, पेश आदि ।
(यी शब्दहरूलाई ने.बृ.श.मा यसरी विरूप बनाइएको छ— सहिद, निसान, एसियाली, पेसा, सर्त, मधेसी, ससर्त, दस, पेस्की, सुरु, पेस आदि ।)
३. संयुक्त अक्षर हुने शब्दहरूमा— समृद्धि, झण्डा, अंकित, विद्वेष, लिंग, उद्योग, मुद्दा, ठट्टा, विद्यालय, द्वन्द्व आदि । (सबै संयुक्ताक्षरमा)
(उपर्युक्त शब्दहरूलाई ने.बृ.श.मा यसरी विरूप बनाइएको छ— समृद् धि, झन्डा, अङ्कित, विद्वेष, लिङ्ग, उद्योग, मुद् दा, ठट् टा, विद्यालय, द् वन् द् व आदि ।)
४. व अक्षर हुने शब्द— विना ।
(माथिको शब्दलाई ने.बृ.श.मा यसरी विरूप बनाइएको छ— बिना ।)
५. नाम, सर्वनाम आदिको पछिल्तिर जोडिएर बहुवचन अर्थ बुझाउने प्रत्यय— ‘हरू’ ।
(यसलाई ने.बृ.श.मा ह्रस्व पारेर यसरी विरूप बनाइएको छ—’हरु‘ ।)
नेपाली भाषा, साहित्य र समग्र वाङ्मयलाई आजको उँचाइमा पुर्याउने महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट् बालकृष्ण सम, कविशिरोमणि लेखनाथ पौड्याल, कवि गोपालप्रसाद रिमाल, कवि भूपि शेरचन, साहित्यकार कृष्णचन्द्रसिंह प्रधान लगायतका मनीषीहरूले प्रयोग गरेका मानक शब्द हुन् यी । आजका प्रतिष्ठित साहित्यकार, लेखक, न्यायकर्मी, पत्रकार आदिले यिनै शब्दको प्रयोग गरिरहेका छन् । समग्र तराई क्षेत्रले यी शब्द यस्तै हिज्जेमा प्रयोग गरिरहेको छ । नेपाल बाहिर विभिन्न देशमा छरिएर रहेका करोडौं नेपालीले पनि यी शब्द हिजोदेखि आजसम्म यस्तै रूपमा प्रयोग गरिरहेका छन् ।
तर, प्रज्ञा प्रतिष्ठान र त्रिविवाला केही ‘विद्वान्’ हरूले यी शब्दको हिज्जे बिगारेर अर्थात् दीर्घ ईकार–ऊकारलाई ह्रस्व इकार–उकार, ‘श’ लाई ‘स’ अनि ‘व’ लाई ‘ब’ बनाएर, समग्रमा शब्दहरूलाई विरूप बनाएर लेख्ने गरेका छन् । विरूप बनाएर, बिगारेर लेख्न उर्दी जारी गरेका छन् । अनि, केटाकेटीलाई पढाउने पाठ्यक्रममा समावेश गरिएका देवकोटा लगायत प्रतिष्ठित साहित्यकारहरूका रचनालाई उनीहरूले प्रयोग गरेको हिज्जे बिगारेर, अशुद्ध बनाएर (तिनको बौद्धिक अधिकारको हनन तथा अपमान गर्दै) विकृत रूप प्रयोग गरी पढाउने गरेका छन् । यो अनधिकृत कृत्य र अराजकताले नेपाली भाषा रोएको छ, नेपाली भाषाप्रेमी रोएका छन् । तर हाम्रो संविधानले शब्दको शुद्ध हिज्जे र शुद्ध रूपलाई स्वीकार गरेको छ । यस्तो देख्ता कुन नेपालीको छाती गर्वले चौडा नहोला र ?
शुद्ध भाषा
यति मात्र होइन, बाल मैत्री, महिला मैत्री, वातावरण मैत्री, पर्यावरण मैत्री जस्तो अशुद्ध भाषा समेत यस संविधानमा छैन । ‘मैत्री’ शब्द संज्ञा वा नाम हो र यसको अर्थ ‘मित्रता’ हो । माथिका शब्दावलीहरूमा भन्न खोजिएको चाहिं ‘मित्रतापूर्ण’ हो र यो शब्द ‘मित्रता’ बाट बनेको विशेषण हो । भन्ने नै हो भने त ‘मैत्री’ शब्द अंग्रेजीको ‘फ्रेन्ड् लि’ को अनुवाद हो । त्यसलाई ‘मित्रतापूर्ण’ त भन्न सकिएला, तर ‘मैत्री ‘ भन्न पटक्कै मिल्दैन ।
तर, हाम्रा नेपालीका प्रा.डा.हरू ‘विद्यार्थी मैत्री’, ‘प्रविधि मैत्री’ जस्ता अशुद्ध शब्द (नामलाई विशेषण जस्तो ठानेर) चलाइरहेका छन् । २०७३ असोज १५ को ‘अन्नपूर्ण पोस्ट’ मा प्रकाशित त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका अध्यक्ष प्रा.डा. देवीप्रसाद गौतमकै लेखमा पनि यस्ता शब्दको प्रयोग भएको छ । उता, प्रज्ञा प्रतिष्ठानका भाषाधिकारी प्राज्ञ–प्रा.डा. हेमाङ्ग राज अधिकारीका लेख पनि (‘रचना’ पूर्णाङ्क ११८; ‘कान्तिपुर’ २०७३ भदौ ८) यस्तै अशुद्ध शब्दबाट सुशोभित (?) हुँदै आएका छन् ।
त्रिवि नेपाली केन्द्रीय विभागको भाषाको त झन् के कुरा गर्नु ? उक्त विभागको ‘पूर्ण’ बैठकले यही २०७३ असोज १४ मा भाषाबारे गरेको निर्णय भनी हालै सार्वजनिक गरिएको अभिलेखमा ‘पुस्तकाकार रूपमा’ जस्तो हास्यास्पद शब्दावली निर्धक्क प्रयोग गरिएको छ । यस्ता ठाउँमा ‘आकार’ र ‘रूप’ दुवै शब्दको प्रयोग गर्नु पुनरुक्ति हो; कि ‘पुस्तकाकारमा’, नत्र ‘पुस्तकका रूपमा’ भने पुग्छ भन्ने सामान्य विद्यार्थीले समेत बुझ्न सक्ने कुरा त्यत्रो नेपाली विभाग र त्यसको पूर्ण बैठकमा उपस्थित अढाइ दर्जन प्रा.डा.हरूमध्ये कसैलाई पनि अत्तोपत्तो नहुनु कति लज्जाजनक विषय हो ! यसमा सहानुभूति बाहेक के नै व्यक्त गर्न सकिन्छ र ?
हाम्रो संविधानले यस्ता भाषिक गल्ती अँगालेको छैन । ‘वातावरण मैत्री’ को सट्टा ‘वातावरण अनुकूल’ लेखिएको छ जुन शुद्ध छ । अरू शब्द पनि यसै गरी शुद्ध लेखिएका छन् । प्रज्ञा प्रतिष्ठान र त्रिविवालाहरूले सिके हुन्छ ।
‘संविधानकै भाषा गलत’ उपशीर्षकमा प्रज्ञा प्रतिष्ठानको भनाइ ‘नागरिक’ दैनिकको २०७३ असोज १४ को अंकमा प्रकाशित छ । उसले हाम्रो संविधानमा रहेका; आम नेपाली प्रयोगकर्ता तथा प्रतिष्ठित लेखक–साहित्यकारहरूले चलाउँदै आएका शुद्ध शब्दको वर्णविन्यासलाई बिग्रेको र गलत देख्नु चाहिं साँच्चै आश्चर्यको विषय भएको छ । हुन त ‘प्राज्ञ = प्र + अज्ञ’ हुन्छ, तर ‘यसमा रहेका अक्षर–अक्षर केलाएर गूढ अर्थ बुझ्ने सामर्थ्य ममा छैन’ भनिदिएपछि टन्टै सिद्धियो ! अथवा, वास्तविक ‘प्रज्ञा’ गुमाइसकेको व्यक्तिको सही उपचार गर्नुपर्यो भने उसलाई तुरुन्तै ‘प्राज्ञ’ बनाइदिनु चाहिं अत्यन्त उपयुक्त कार्य हुन सक्छ भन्ने पो आम नेपाली–भाषा–प्रयोगकर्ताले बुझ्नुपर्ने हो कि ?
धन्न जोगिएछ संविधान
धन्न, जनप्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानलाई संविधानको भाषा हेर्ने जिम्मा दिएनछन् । उसका कुरा पत्याएनछन्, स्वीकार गरेनछन् र पो संविधान विरूप हिज्जेको शिकार हुनबाट अनि ‘संयुक्त अक्षरका खुट्टा काट्ने’ नाममा चलाइएको अर्को अराजकताबाट समेत जोगिएछ । नत्र यस्तो हुन्थ्यो होला संविधानको प्रस्तावना—
‘हामी सार् वभौमसत् तासम् पन् न नेपाली जनता; नेपालको स् वतन् त् रता, सार् वभौमिकता, भौगोलिक अखन् डता, राष् ट् रिय एकता, स् वाधीनता र स् वाभिमानलाई अक् छ् युन् न राखी जनताको सार् वभौम अधिकार, स्वायत् तता र स् वशासनको अधिकारलाई आत् मसात् गर् दै, राष् ट् रहित, लोकतन् त् र र अग् रगामी परिवर् तनका लागि… ।’
कति हास्यास्पद हुन्थ्यो होला यो !
प्रज्ञा प्रतिष्ठान तथा त्रिविले वर्णविन्यासमाथि भाँडभैलो मच्चाइरहेका बेला पनि ‘शिक्षक’ र ‘हिमाल’ जस्ता लोकप्रिय तथा गम्भीर पत्रिका; ‘रचना’ र ‘अभिव्यक्ति’ जस्ता स्तरीय साहित्यिक पत्रिका; मदन पुरस्कार गुठीबाट प्रकाशित हुने ‘नेपाली’ र भारतको बनारसबाट प्रकाशित हुने ‘उदय’ जस्ता ऐतिहासिक साहित्यिक पत्रिका आदिले वर्णविन्यास बिगार्न उक्साउने उनीहरूका कुरामा टेरपुच्छर लगाएनन् । यसै गरी सर्वोच्च अदालतको ‘नेपाल कानून पत्रिका (मासिक)’, कानून व्यवसायी क्लबको ‘कानून (द्वैमासिक)’ तथा कानून किताब व्यवस्था समिति (सरकारी प्रकाशन) बाट प्रकाशित हुने ‘ऐन तथा नियम’ आदिले समेत परम्परागत शालीन तथा शिष्ट, शुद्ध वर्णविन्यास नै प्रयोग गर्दै आएका छन् । वास्तविक ‘प्राज्ञ’ र ‘विज्ञ’ क्षेत्रले अशुद्धिलाई किन स्वीकार्थ्यो र !
आज गम्भीर प्रश्न उठेको छ— आफू शुद्ध र अशुद्ध भाषाको छ्यानब्यान गर्न नसक्ने, अशुद्ध र अस्वीकार्य हिज्जे जबर्जस्ती लाद्न खोज्ने अनि संविधानको शुद्ध र सर्वस्वीकार्य भाषालाई गलत देख्ने प्रज्ञा–प्रतिष्ठान र यस कृत्यमा निरन्तर उससँग काँधमा काँध मिलाउँदै आएको त्रिभुवन विश्वविद्यालय प्रति नेपाली भाषाप्रेमीले हाँस्ने कि रुने ?
सभासदलाई धन्यवाद
हाम्रो संविधानले नेपालका सबै जाति, जनजाति र भाषाभाषीको अस्मिता तथा पहिचानको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र तदनुरूप संवैधानिक व्यवस्था पनि गरेको छ । यो समयको आवाज हो, समस्त नेपालीले स्वीकार गरेको कुरा हो । अस्मिता तथा पहिचानको एउटा मूल आधार भाषा नै हो । तर प्रज्ञा प्रतिष्ठान र त्रिविवालाहरूले तराई लगायत नेपालका विविध क्षेत्रका विभिन्न भाषाभाषीले प्रयोग गर्दै आएका शुद्ध शब्दको शुद्ध हिज्जे जबर्जस्ती बिगारेर उनीहरूको हृदयमा चोट पुर्याएका छन्, अस्मिता र पहिचानमा धावा बोलेका छन् ।
तिनले विकृत पारेको हिज्जे हाम्रो संविधानले स्वीकारेको भए भाषागत रूपमा संविधानको मर्ममाथि ठूलो आघात पर्नेथियो । यही बुझेर हुनुपर्छ, संविधान सभाका सभासद र संविधान निर्माणमा सक्रिय समितिहरूले प्रज्ञा प्रतिष्ठानले लादेको विकृत हिज्जेलाई संविधानमा स्थान दिएनछन् । नत्र, भाषागत रूपमा हाम्रो संविधान देशभर आक्रोश, विवाद र विरोधको विषय बन्नेथियो । प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘नेपाली बृहत् शब्दकोश’ को वर्णविन्यास आज जसरी देशभर आक्रोशको विषय बनेको छ, अरू त अरू त्रिविकै नेपाली विभागले पनि जसरी खुलेर त्यसको सार्वजनिक आलोचना र विरोध गर्दै त्यसलाई अमान्य ठहर गरिरहेको छ— विकृत वर्णविन्यास अँगालेको भए यो संविधान पनि त्यसैगरी भाषागत आक्रोश, विरोध र अमान्यताको भुमरीमा पर्नेथियो भन्ने स्पष्टै छ । विकृतिग्रस्त वर्णविन्यास अस्वीकार गरी शुद्ध र सर्वस्वीकार्य वर्णविन्यास प्रयोग गरेर हाम्रो संविधान त्यो विवाद र बृहत्तर अस्वीकार्यताबाट जोगिन सफल भएको छ । यसका लागि भाषाप्रेमी हामी सबैले संविधान सभा र त्यसमा रहेका सभासदहरूलाई जति धन्यवाद दिए पनि कम हुन्छ ।
यस क्रममा, नेपालको संविधानको भाषा साबिक झैं शुद्ध रूपमा कायम राख्नका लागि, संविधान सभाद्वारा सक्षम भाषाविद् मानेर निम्त्याइएका एकमात्र विद्वान् शरच्चन्द्र वस्तीले निर्वाह गर्नुभएको भूमिका अत्यन्त सह्राहनीय छ । संविधानको भाषा शुद्ध बनाएर नेपालभित्र र बाहिरका समेत सारा नेपालीको मन जित्न सफल हुनुहुने उहाँ धन्यवादका पात्र हुनुहुन्छ ।
संविधान भनेको राष्ट्रको सर्वोच्च कानून हो । सम्पूर्ण नेपाली जनताको सामूहिक भावनाको उच्चतम आधिकारिक अभिव्यक्ति हो । संविधानको मर्म र आशय मात्र होइन, यसमा प्रयुक्त भाषा, वाक्य, शब्द, शब्दावली, शब्दहरूको स्वरूप, धारा, उपधारा, कमा, फुलस्टप सबै–सबैको समष्टि नै संविधान हो । कुनै पनि दृष्टिले र कुनै पनि रूपमा संविधानको अवज्ञा वा अपहेलना अवाञ्छनीय एवं असंवैधानिक हुन्छ । यहाँनेर प्रश्न उठ्नु स्वाभाविक छ— परम्परागत रूपमा सर्वस्वीकार्य रहिआएका शब्दहरूलाई संविधानले स्वीकारेको छ भने तिनको वर्णविन्यास (वा हिज्जे) विरूप पार्ने अधिकार कुनै संस्था, संस्थाहरू वा तिनका पदाधिकारीलाई हुन्छ ? संविधानको कुनै पनि कुरामा कुनै पनि किसिमको संशोधन वा परिवर्तन संसदको दुवै सदनका कम्तीमा दुई तिहाई सदस्यको बहुमतबाट मात्र सम्भव हुन सक्छ भने तिनलाई कसैले आफ्नो लहडबाजीमा फेरबदल (वा अवज्ञा) गर्ने कार्य संविधानको बर्खिलाफमा हुन्छ कि हुँदैन ?
प्रज्ञा ठूलो कि प्राज्ञ ?
यसो गमिहेर्नोस् त, नेपाली वाङ्मयका दिवंगत विभूतिहरू ‘प्रज्ञा’ र ‘त्रिवि’ ले मच्चाएको भाषिक भाँडभैलोबाट त्यस लोकमा पनि कति आहत भएका होलान् ! शायद, महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो अमर कृति ‘मुनामदन’ को लोकप्रिय हरफ ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ लाई, अविदित लोकबाट मर्त्यलोकको एउटा अँध्यारो कुनामा रहेको प्रज्ञा प्रतिष्ठानतर्फ आँखा तन्काउँदै, आज यस्तो रूपमा गुनगुनाउँदा होलान्— ‘मानिस ठूलो प्रज्ञाले हुन्छ प्राज्ञले हुँदैन ।’
अथवा, छन्द अलिकति यताउता पारेर मुस्कुराउँदै यसो पो भनिरहेका होलान् कि… ‘मानिस ठूलो प्रतिष्ठाले हुन्छ प्रतिष्ठानले हुँदैन ।’
अन्तमा, प्रत्येक नेपाली–भाषाप्रेमीबाट स्वतःस्फूर्त रूपमा निस्कने आवाज यस्तो हुन सक्छ— ‘शुद्ध वर्णविन्यासको ज्यान, नेपालको संविधान !!’
साभार : ‘शिक्षक’ २०७३ मंसीर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।