“जसले सो शब्दकोश निर्माणको जिम्मेवारी पाए, तिनले त्यसअघि प्रकाशन भएको शब्दकोश भन्दा २३३ भन्दा कम पृष्ठमा र उच्चारण समेत नराखी प्रतिष्ठानबाट आफ्नोभन्दा कम गुणस्तरमा शब्दकोश छपाए र नाम चाहिं राखिदिए— ‘नेपाली बृहत् शब्दकोश’ । योभन्दा नौटंकी, उपहास वा लज्जास्पद कार्य के हुन सक्छ ?”

……….

अहिले नेपाली भाषा, विशेष गरी यस भाषाको वर्णविन्यासको विषय विवाद र चर्चाको शिखरमा छ । झन्डै एक दशक यता केही विद्वान् प्रा.डा.हरूको सल्लाह, सुझाव र सक्रियतामा प्रचलित नेपाली भाषाको वर्णविन्यासमा ‘सरलता’, ‘सहजता’ तथा ‘एकरूपता’ ल्याउनका लागि तथा प्रचलित वर्णविन्यासलाई ‘सुधार’ गरी ‘सुबोध्य’ बनाउनका लागि नयाँ वर्णविन्यासको प्रयोग, विशेष गरी विद्यालयीय पाठ्यक्रममा समावेश गरी लागू गरिसकिएको छ । शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्र लगायतले पनि यसलाई लागू गर्न निर्देशन जारी गरिसकेपछि विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा रहेका पुस्तकमा ‘सुधारिएको वर्णविन्यास’ प्रयोग नगरी सुखै भएन । तर, यहींनेर अर्को नौटंकी छ; सरकारी विद्यालयका पाठ्यपुस्तकमा परम्परागत वर्णविन्यासको प्रयोग छ, निजीका पुस्तकमा नयाँ वर्णविन्यासको ।

यही विषय अहिले बाहिर आएको छ र सबैमा नयाँ वा ‘सुधारिएको’ वर्णविन्यास प्रयोगका निम्ति जबर्जस्त दबाव सृजना गरिएको छ, जसका कारण विवाद सतहमा आएको हो । यसलाई थप बल दिएको छ भाषा, साहित्यको संरक्षण, संवर्द्धन गर्ने ठेक्का लिएको निकाय नेपाल प्रज्ञा प्रतिष्ठानले । प्रतिष्ठानले २०७२ मा प्रकाशन गरेको ‘नेपाली बृहत् शब्दकोश’ मा नयाँ वर्णविन्यासलाई प्रयोग गरेपछि अझ यो बहस चुलिएको हो ।

जसले नेपाली भाषाको हुर्मत लिनका निम्ति महत्वपूर्ण अगुवाइ गरे, तिनैलाई सो शब्दकोश निर्माणका क्रममा महत्वपूर्ण जिम्मेवारी दिइनु पनि प्रतिष्ठानमाथिको शंकाको कारक बनेको छ । अर्को रमाइलो तथ्य– जसले सो शब्दकोश निर्माणको जिम्मेवारी पाए, तिनले त्यसअघि प्रकाशन भएको शब्दकोश भन्दा २३३ भन्दा कम पृष्ठमा र उच्चारण समेत नराखी प्रतिष्ठानबाट आफ्नोभन्दा कम गुणस्तरमा शब्दकोश छपाए र नाम चाहिं राखिदिए— ‘नेपाली बृहत् शब्दकोश ।’ योभन्दा नौटंकी, उपहास वा लज्जास्पद कार्य के हुन सक्छ ?

 भाषाका रूप

भाषा हरेक प्राणीको पहिचान हो । हरेक प्राणीले कुराकानी वा सञ्चार गर्न अथवा आफ्ना सन्देश, सूचना एकअर्कामा सम्प्रेषण गर्न भाषाको प्रयोग गर्ने गर्दछन् तर प्राणीपिच्छे यस्तो भाषा फरकफरक हुने गर्छ । सामान्यतया मानिसले बोलेर वा लेखेर वा संकेतको प्रयोग गरेर सन्देश आदानप्रदान गर्दछ । सन्देश प्रवाहका निम्ति सबैभन्दा उपयुक्त माध्यम भाषा हो, त्यसमा पनि लिखित वा मौखिक भाषा बढी सम्प्रेष्य वा प्रभावकारी मानिन्छ । लिखित भाषा भाषाको विशिष्ट रूप हो, जसलाई लेख्य पनि भनिन्छ भने मौखिक भाषा भाषाको सामान्य रूप हो, यसलाई कथ्य भनिन्छ । लेख्य भाषा र कथ्य भाषा प्रयोगका हिसाबले निकै भिन्न हुने गर्छन् । बोल्दा वा कथ्यमा जे भनिन्छ, लेख्दा वा लेख्य रूपमा त्यही लेखिंदैन । तर, अपवादका रूपमा कथ्य भाषा प्रयोग भने भइराखेकै छ नाटक, उपन्यास, कथा वा साहित्यका अन्यान्य विधामा, जहाँ पात्र र परिवेशको जीवन्तता अपेक्षित हुन्छ । यसलाई ‘अनौपचारिक भाषा’ भनिन्छ । तर, औपचारिक प्रयोजनका निम्ति कथ्य भाषा प्रयोग हुन सक्दैन जस्तो कि सरकारी कामकाज र समाचार आदिमा ।

यसरी हेर्दा भाषाका विभिन्न रूप हुने रहेछन् । कथ्य–लेख्य, औपचारिक–अनौपचारिक । सामान्य रूपमा पनि हामी भन्दा वा कथ्य रूपमा ‘पानी खान्छौं’, तर लेख्दा वा औपचारिक प्रयोजनमा प्रस्तुत गर्दा ‘पानी पिउँछौं’ । हामी ढलानमा ‘सिमेन्टी’ को प्रयोग गर्छौं बोल्दा, तर लेख्दा ‘सिमेन्ट’ नै प्रयोग गर्छौं । हामी ‘तेल्लाई’ ठीक पार्छौं बोल्दा, तर लेख्दा ‘त्यसलाई’ ठीक पारिदिन्छौं । यस्ता हजारौं उदाहरण छन्, जुन कथ्य र लेख्यमा फरक बुझाउन काफी छन् ।

कथ्य किन लेख्यमा प्रयोग हुन सक्दैन ?

कथ्य वा बोलिने भाषा लेख्यमा प्रयोग हुन सक्दैन, यसका केही कारण छन् ।

सामाजिक, सांस्कृतिक र भाषिक विविधताका कारण एक ठाउँ वा एउटा सम्प्रदाय, जातिले बोल्ने भाषा, शब्द, लवज अर्को समुदाय, जाति वा ठाउँमा बुझिंदैन, जसले गर्दा सञ्चार कार्य वा संवाद सफल हुन सक्दैन ।

भाषालाई साझा बनाउनका लागि यो ठूलो अवरोध हो । किनभने सयौं वर्षदेखि प्रचलनमा रही संस्कारित बनिसकेको भाषामा गरिएको हठात् परिवर्तनले जन्मेदेखि प्रयोग गर्दै आएका भाषाका प्रयोक्तालाई असहज बनाइदिन्छ र साझा भाषा बन्न सक्दैन ।

नेपाली भाषा नेपालमा बसोबास गर्ने सबै जाति, जनजाति, सम्प्रदायको साझा भाषा हो । यसलाई हठात् परिवर्तन गर्दा ती सबैमा नकारात्मक असर पर्छ, जस्तो कि देवनागरी लिपिकै प्रयोग गर्ने भोजपुरी वा मैथिली समुदाय । उनीहरूले आफ्नो मातृभाषामा लेख्दा पनि देवनागरी लिपिकै प्रयोग गर्दै आएका छन् तर नेपाली भाषामा हठात् वर्णविन्यास परिवर्तन गरिदिंदा ती समुदायका मानिसलाई लेख्न समस्या परेको देखिन्छ । यसले ‘सुधार’ का नाममा विग्रह निम्त्याउने देखिन्छ ।

कुनै पनि ठाउँमा प्रचलनमा रहेको भाषालाई कथ्यमा मात्र सीमित गरिनुले सो भाषाको अन्त्येष्टि गरिदिन्छ । विश्वमा यस्ता उदाहरण पनि पाइन्छन् । यसर्थ, कथ्य भाषालाई लेख्यमा हाबी गराउनु भाषाको प्राकृतिक विकासमा र विस्तारमा अवरोध हो ।

वर्णविन्यासमा सुधार र विवाद

पछिल्लो समय नेपाली भाषामा देखिएको ठूलो विवाद वर्णविन्यासको हो । वर्णको संरचना कसरी हुन्छ भन्ने कुरा वर्णविन्यास हो । वर्ण मूलतः दुई प्रकारका छन्— स्वर वर्ण र व्यञ्जन वर्ण । स्वर वर्ण ती हुन्, जो आफ्नै भरमा उभिन्छन् वा आफैंमा पूर्ण उच्चारण हुन्छन् । जस्तै : अ, आ, इ, ई, उ, ऊ… अः । जुन वर्ण आफ्नै भरमा उभिन सक्तैनन् तथा पूर्ण र प्रस्ट उच्चारित हुन कुनै न कुनै स्वर वर्णको सहायता लिनुपर्छ, ती व्यञ्जन वर्ण हुन् । जस्तै : क, ख, ग, घ…. ज्ञ । यी वर्णको पूर्ण उच्चारणका लागि कुनै न कुनै स्वर वर्ण अपरिहार्य छ, जस्तो, ‘क’ उच्चारण गर्न ‘क्’ मा ‘अ’ स्वर लाग्नैपर्छ भने ‘कू’ उच्चारण पूर्ण हुन ‘क’ मा दीर्घ ‘ऊ’ वा (ू) स्वर लाग्नैपर्छ । अहिलेको सवाल यी वर्णको आवश्यकता र औचित्यमाथि पनि छ । स्वर वर्णमा रहेका ऋ, ऋ(दीर्घ), लृ, लृ(दीर्घ) वर्ण तथा व्यञ्जन वर्णमा रहेका क्ष, त्र, ज्ञ संयुक्त वर्णका साथै ञ, ण, श, ष को आवश्यकता नरहेको तर्क प्रा.डा.हरूको रहेको छ । उनीहरू के पनि भन्दैछन् भने नेपाली भाषामा दीर्घ उच्चारण हुँदैन, यसकारण दीर्घ जति सबै हटाइदिए हुन्छ ।

हाँसउठ्दो कुरा यहींनेर छ । सदियौंदेखि कुनै तनाव, विवाद र अप्ठ्यारो महसूस नगरी प्रयोग गरिंदै आएका वर्णहरू, जो अहिलेका ‘सुधारवादी’ का जिजुबराजुदेखि उनका नातिसम्मले निर्बाध कुनै झन्झट विना सिक्दै र प्रयोग गर्दै आए, आज आएर तिनै वर्ण र त्यही वर्णविन्यास कसरी ‘गाह्रो’, ‘दुर्बोध्य’ वा ‘अनावश्यक’ हुन पुग्यो ? कसलाई गाह्रो भएको हो यी वर्ण र यो वर्णविन्यास प्रयोग गर्न, बुझ्न ? के दुनियाँको ‘गाह्रो’ वा ‘असहजता’ विद्वान् प्रा.डा.महोदयहरूले महसूस गरिदिनुभएको हो, जब कि प्रयोक्ताले यस्तो कुनै महसूस गरेका छैनन् ।

विद्वान् महोदयहरूको राय वा नयाँ वर्णविन्यास अनुसार जाँदाका अप्ठेरा वा असहजता चाहिं बाँकी करोडौं प्रयोक्ताले सहज वा सप्ठेरा मानिदिनुपर्ने ? यहाँ उल्लेख गरौं, केही अप्ठेरा । नयाँ वर्णविन्यास भन्छ— दीर्घ हटाइदेऊ, ह्रस्वमै काम चलाऊ, किनभने नेपाली भाषामा दीर्घ उच्चारण नै हुँदैन । यदि यसो हो भने भनिदिनुस् न, ‘भाइले एक थाल पुरा खायो’ वा ‘श्यामले पुरा रोटी खायो’ यी दुई वाक्यमा सबै खाएको वा जुठो पुरो खाएको भनेर कसरी छुट्याउनुहुन्छ महाशय ?

‘ऋ’ को काम छैन, ठीक छ; तर यसको प्रयोग विना सही अर्थ सम्प्रेषण गर्ने गरी भाषा प्रयोग कसरी हुन सक्छ ? ‘दृष्टि’ मा प्रयोग भएको ‘दृ’ को ‘ऋ’ हटाएर ‘रि’ प्रयोग गर्दा ‘द्रिष्टि’ हुन्छ, ‘सृष्टि’ को ‘ऋ’ हटाउँदा ‘स्रिष्टि’ हुन्छ । एक पटक सोच्नुस् त, अनि तपाईंलाई ‘भद्दा’ लागेका संयुक्त वर्ण अथवा अनावश्यक लागेका ‘ऋ’ जस्ता वर्णको भूमिका थाहा पाउनुहुनेछ ।

यस्तै ‘ञ’ र ‘ण’ पनि प्रा.डा.ज्यूहरूलाई अनावश्यक लागेछ । ‘च’ वर्गमा लाग्ने ‘ञ’ र ‘ट’ वर्गमा लाग्ने ‘ण’ को उच्चारणमा किन फरक पाउनुहुन्न ? अनि बोली नै नफुटेकालाई ‘बोल्न जानेन’ भन्नु वा अक्षरै नचिन्नेलाई पढ्न जानेन भन्नु विद्वत्ता हो र ? सँगसँगै, हिजो धेरै वर्षदेखि आजसम्म कसले यी वर्णलाई उच्चारण गर्न, पढ्न र बुझ्न भारी वा असहज ठानेको छ, तपाईं केही विद्वान् बाहेक ?

अर्को तर्क छ महाशयहरूको कि संयुक्त वर्णको काम छैन, यिनलाई बुझ्न र बुझाउन गाह्रो भो, अब यिनलाई टुक्रा पारिदिऊँ (देशलाई जस्तै ?) । ओहो ! माथि पनि उल्लेख गरियो, यतिका वर्ष उनका बाजेबराजुदेखि नातिपनाति पुस्तासम्मले सहज, स्वाभाविक र सरल रूपले बुझेको, लेखेको र प्रयोग गरेको वर्ण आज कसरी असहज बन्यो होला ? उनीहरू भन्छन्— अब ‘द्व’ लाई ‘द् व’ लेखौं, ‘द्य’ लाई ‘द् य’ लेखौं, ङ् र ग जोडिएर बनेको संयुक्त अक्षरलाई टुक्रर्‍याएर ‘ङ् ग’ लेखौं । यी ‘प्रविधिमैत्री’ पनि भएनन् रे ! ल मानियो । यसै गरौं । यसो गर्दा सँगैका तीनवटा संयुक्त वर्ण ‘क्ष’, ‘त्र’ र ‘ज्ञ’ चाहिं किन छुट्याउने ? ‘विद्यालय’ लाई ‘विद् यालय’ बनाऔं; तर ‘परीक्षा’ लाई ‘परीक् षा’ वा ‘विज्ञान’ लाई ‘विज् ञान’ किन नबनाऔं ? अनि ‘प्रजातन्त्र’ लाई ‘प् रजातन् त् र’ किन नबनाऔं ?

यसरी नै तीनवटा श, ष, स को आवश्यकता देख्नुभएन, उहाँहरूले । भन्नुभयो, एउटै मात्र प्रयोग गरिदिऊँ । ए महाशय, यहाँलाई किन भारी भएका हुन् यी वर्ण ? यहाँलाई प्रयोग गर्न भारी लागे छाडिदिनुस् न; ठेक्का लिनुभएको छ र यिनको प्रयोगको ? अनि हामी आम प्रयोक्ताले सहज, स्वाभाविक रूपमा प्रयोग गरिरहेका वर्णलाई जबर्जस्ती किन बन्देज गराउन खोज्दै हुनुहुन्छ ? भनिदिनुस् कि तपाईं ‘शव’ (लास) जलाउनुहुन्छ कि ‘सब’ (सबै) ? तपाईं ‘शूली’ (ठूला अपराधीलाई गुदद्वारबाट घोपी माथिसम्म उनेर प्राणदण्ड दिइने, भालाजस्तो तीखो टुप्पो भएको प्राचीन हतियार) मा चढाउनुहुन्छ कि ‘सुली’ (पक्षीको बिष्टा) मा ?

यसरी नै मानिसका नाममा दुई शब्द जोडिए तिनलाई पनि छुट्याइदिनुहुन्छ, तपाईं अहिले । व्यक्तिको नाममा आउने प्रसाद, बहादुर, कुमारी, जो आफैंमा पूर्ण छैनन् र विशेषतः व्यक्तिको लिंग पहिचानका लागि प्रयोग हुने गर्छन् । उसो भए के यो मैले सही लेखें— ‘उसकी आमा सीता कुमारी हो ।’

यी र यस्ता थुप्रै उदाहरण छन्, जसले तपाईंले लिन खोज्नुभएको नेपाली भाषाको हुर्मतका विरुद्ध तपाईंलाई कठघरामा हाल्छन् ।

सबैभन्दा ठूलो प्रहार वाङ्मयमा

प्रा.डा.ज्यूहरूद्वारा ‘सुधारिएको’ वर्णविन्यासको सबैभन्दा ठूलो प्रहार वाङ्मयमा पर्नेछ, त्यसमा पनि पद्य साहित्यको त यसले हुर्मत नै लिनेछ । किनकि पद्य साहित्यमा ह्रस्व र दीर्घ वर्णको सुनिश्चितताबाट छन्दको निर्माण गरिएको हुन्छ । तिनै छन्दमा रचना गरिएका लाखौं पद्यरचना अब बेकामे हुनेछन् । वेद, उपनिषद्, महाभारत, रामायण, भगवद्गीतादेखि लिएर वर्तमानका तपाईंका नाति पुस्ताका पद्यकविका रचना समेत गलत र पिंगल बाजेका छन्द, गण बाहिरका रचना ठहरिनेछन् । भानुभक्त, मोतीराम, लेखनाथ, सम, देवकोटा, घिमिरे आदि सबै वर्णविन्यासमा कमजोर र कच्चा ठहरिनेछन् र उनीहरूका रचना झूर ठानिनेछन् । के यो सम्भव छ, महाशय ?

वर्णविन्यास सुधारवादीका तर्क छन्— आधुनिक प्रविधिको सापेक्ष बनाउन पनि वर्णविन्यासमा सुधार आवश्यक परेको हो । कतिपय हाम्रा वर्ण ‘प्रविधिमैत्री’ भएनन् रे । तर महाशय, यो लेखका सारा वर्ण अहिलेको पछिल्लो प्रविधि ‘कम्प्युटर’ मै टंकण गरिएका हुन्, कसरी ‘प्रविधिमैत्री’ भएनन्, यी ? अनि भाषालाई ‘प्रविधिमैत्री’ बनाउने बहानामा आफ्नोपनलाई नामेट पार्ने कि प्रविधिलाई ‘भाषामैत्री’ बनाउने ? जसरी चिनियाँ, जापानी र कोरियाली भाषाले गरेका छन् ।

यहाँहरूले विश्वमा प्रयोगमा आएका ६ हजार भन्दा बढी भाषाबारे कत्तिको सोधखोज गर्नुभएको छ ? अनि अधिकांश भाषाका लेख्य र कथ्य दुवै रूप छन् भन्ने कत्तिको जान्नुभएको छ ? विश्वमा चिनियाँ, कोरियाली, जापानी जस्ता अत्यन्तै गाह्रा र अप्ठेरा (हाम्रा लागि मात्र है !) वर्णको पनि उनीहरूले सहज र स्वाभाविक प्रयोग गरिरहेका छैनन् र ? उनीहरू पनि त ‘कम्प्युटर’ कै प्रयोग गर्छन् नि । ‘आधुनिक प्रविधि’ ले उनीहरूका परम्परागत वर्ण प्रयोगमा केही अप्ठेरो पारेको छ र ?

निचोड़

कुनै पनि ठाउँ, जाति, समुदायको भाषा भनेको उसको संस्कृति र सभ्यता हो । संस्कृति र सभ्यता भनेको छोटो समयमा निर्माण हुने कुरा होइन र हठात् भत्काउन वा परिवर्तन गर्न सकिने चीज पनि होइन । सयौं वर्षको साधना, अभ्यास र प्रयोगको प्रतिफल हो, सभ्यता र संस्कृति । यसलाई मानिसको जीवनशैलीका रूपमा लिइएको हुन्छ । नेपाली भाषा पनि हाम्रो संस्कृति हो, सभ्यता हो । यो वा त्यो कुनै पनि बहानामा हामीले हाम्रो संस्कृति र सभ्यतामाथि प्रहार हुन दिनुहुँदैन । हामी कसैको निहित स्वार्थ पूरा गरिदिनका लागि हाम्रो सांस्कृतिक धरोहर भत्काउन उद्यत हुन सक्दैनौं र हाम्रो जीवनशैली बनिसकेको सभ्यता नष्ट गर्ने अनुमति कसैलाई दिइनुहुँदैन ।

यदि, कोही यस्तो काम गर्न अघि सर्छ हुन्छ भने कि त ऊ राज्यद्रोही हो, देशद्रोही हो वा परचक्रीको वशमा परेको हो वा कुनै आर्थिक र अन्य प्रलोभनमा फसेको हो, यसमा दुई मत हुनै सक्दैन । नेपाली भाषाको हुर्मत लिन उद्यत तप्का, निकाय र व्यक्तिमाथि यथार्थ छानबीन गरी सरकारले चाँडै कारबाही गरोस् र हाम्रो सभ्यता र संस्कृतिको रक्षा गरोस्, जुन राज्यको परम कर्तव्य पनि हो ।

साभार : राजधानी दैनिक, २८ भदौ २०७३