एक दिन आफ्ना प्रिय पतिदेव राजा ययातिका साथ शुचिस्मिता देवयानी एकान्त वनमा विचरण गर्दै थिइन् । त्यहाँ तिनले देवकुमारतुल्य सुन्दर केही बालकहरूलाई हर्षोल्लासका साथ खेलिरहेको देखिन् । आश्चर्यचकित हुँदै उनले तिनलाई सोधिन् : ए बाबूहरू, तिमीहरूका पिता को हुन् ?

केटाहरूले केही नबोली राजा ययातितिर चोर औंलो तेस्र्याए, अनि भने – हाम्री आमा चाहिं शर्मिष्ठा  ! यति भनेर सबै राजा ययातिका वरिपरि गएर झ्याम्मिन लागे । तर ययाति झस्किए, तिनीहरूको अभिनन्दन गर्न सकेनन् । अनि ती बालकहरू रुँदै शर्मिष्ठाका छेउमा गए । देवयानीले राजातिर नजर घुमाइन्, तिनले लजाएर मुण्टो झुकाए । देवयानीका मनमा सारा मामला स्पष्ट भइहाल्यो ।

उनी तुरुन्तै शर्मिष्ठाका छेउ गइन् र आक्रोशित हुँदै भनिन्– यो तैंले के गरेकी शर्मिष्ठे  ? तैंले मलाई ढाँटिस्  ? तँलाई मेरो अलिकति पनि डर लागेन हगि  ?

शर्मिष्ठाले भनिन् : म तिमीसँग किन डराउने ? मैले के कुरा ढाँटें र ? मैले ऋषि भनेर आफ्ना पतिको परिचय दिएकी थिएँ, त्यो सोह्रै आना सही हो । म तिम्री दासी, तिमीले जब पतिवरण गर्यौ त्यही बेला मेरा पनि उनी स्वतः पति भइहाले नि । फेरि, तिमी ज्येष्ठ श्रेष्ठ ब्राह्मणकी छोरी हौ, अनि यी तिम्रा पनि पूज्य राजा मेरा लागि त झन् परमपूज्य ऋषि भइहाले नि  !

उनका कुरा सुनेपछि देवायानी निरुत्तर भइन् र फरक्क राजातिर फर्केर भनिन् : हे राजन्, तपाइँले मप्रति ज्यादै अप्रिय व्यवहार गर्नुभयो, अब म एकै छिन पनि यहाँ बस्दिनँ ।

अनि तीव्र क्रोधले प्रज्ज्वलित हुँदै आफ्ना पिता दैत्यगुरु शुक्राचार्यका समीपमा गएर रुँदै रुँदै सारा वृत्तान्त बेलिविस्तार लगाइन् । भनिन् : त्यो मेरी दासी दुष्टा शर्मिष्ठे मेरी सौता बनेकी छे अनि ती कामलोलुप राजाले मेरा विरुद्ध त्यत्रो षड्यन्त्र गरेका छन् ।

गुरु शुक्राचार्यले क्रोधाविष्ट हुँदै राजा ययातिलाई बोलाएर भने : तिमी धर्मज्ञ त कहलाउँछौ तर तिमीले अधर्माचरण गरेका छौ, अनि मेरो आज्ञाको उल्लङ्खन पनि । यसको परिणाम तिमीले अब भोग्नैपर्छ । म शाप दिन्छु– तिमीलाई अब तुरुन्तै वृद्धावस्थाले गाँज्नेछ ।

राजा ययातिले– ऋतुकालका वेला शर्मिष्ठाले कामाचरणका लागि याचना गरेकाले आफूले धर्मरक्षार्थ नै उनीसँग समागम गरेको यथातथ्य विनम्रभावले सफाइका रूपमा पेश गरे । तर, ‘मैले तिमीलाई पहिले नै सावधान गरेको थिएँ कि शर्मिष्ठालाई अङ्गशायिनी नबनाउनू, तैपनि अटेर गरेर तिमीले मेरो आज्ञा किन उल्लङ्खन गर्यौ  ?’ भनेर शुक्राचार्य क्रुद्ध बने । आफ्नो निर्णयबाट टसका मस भएनन् । उनले दिएको शाप तुरुन्तै फलित भयो । ययाति त हेर्दाहेर्दै एक्कासी बूढा पो देखिनथाले ।

फेरि ययातिले विनम्रभावले हात जोड्दै विन्ती बिसाए : हे भृगुश्रेष्ठ, म देवयानीका साथ युवावस्थामा रहेर भोगिने कामभोगबाट सन्तृप्त भएकै छैन । कृपया मलाई यसरी बूढो नबनाइदिनुहोस् । ममाथि कृपा गर्नुहोस् ।

शुक्राचार्यले भने : मेरो वचन कहिल्यै वृथा हुँदैन । तर भैगो ! म तिमीलाई यति सुविधा दिन्छु– तिमी आफ्नो इच्छानुसार कुनै जवानलाई आफ्नो बुढ्याईं जिम्मा लगाएर, त्यसको सट्टामा उसको जवानी आफ्ना शरीरमा ग्रहण गर्न सक्छौ ।

ययातिले फेरि विनयपूर्वक विन्ती बिसाए : हे ब्रह्मन्, मेरो जुन छोराले मलाई आफ्नो युवावस्था देला , त्यो पुण्यभागी एवम् कीर्तिशाली बनोस् र मेरो राज्यको उत्तराधिकारी पनि । यति कुरा हजुरले कृपापूर्वक अनुमोदन गरिदिनुहोला ।

‘तथास्तु !’ – शुक्राचार्यले वरद मुद्रामा भने ।

……..

          हेर्दाहेर्दै दैत्यगुरुका शापप्रभावले ययातिका शरीरलाई बुढ्याईंले कसरी गाँज्यो भने– उनको छाला चाउरी परेर लत्किन थाल्यो, केश काशको वनजस्तो सेतो भयो अनि शरीर निगुरमुन्टी न जस्तो कुप्रो । तर उनका मनमा यौवनसुलभ कामभोगको वासना भने रौंप्रमाण पनि कम भएन ।

राजा ययातिले प्रथमतः आफ्नो ज्येष्ठ श्रेष्ठ देवायानीपुत्र यदुलाई डाकेर भने : बाबू, शुक्राचार्यको शापले म यकायक बूढो भएँ । तर मेरो मन कामभोगले सन्तृप्त भएकै छैन । त्यसैले यदि तिमीले मेरो बुढ्याईं लिएर आफ्नो जवानी मलाई दियौ भने मैले विषयवासनाको सेवन गर्ने थिएँ । पछि सन्तृप्त भएपछि तिम्रो जवानी फिर्ता गरेर आफनो बुढ्याइँ फेरि लिने थिएँ । के भन्छौ  ?

यदुले भने : ओहो ! यस्तो जवानीका बेला तपाइँको यो बूढो शरीर म कसरी लिऊँ, नाइँ म त । अरु पनि त छोरा छन् नि, तिनीहरुलाई भन्नुहोस् न ।

ययातिले भने : तेसो भए ठीकै छ बाबू । तर एउटा कुरा सम्झीराख, तिमी मेरो औरस ज्येष्ठ पुत्र भएर पनि मैले भनेको मान्दैनौ र मलाई आफ्नो जवानी दिन राजी छैनौ भने म भन्छु : तिम्रा सन्तान कदापि राज्यका उत्तराधिकारी बन्नेछैनन् ।

नभन्दै पछि भयो पनि तेस्तै । यदुबाट यादववंशको विस्तार भयो । ती राज्यका उत्तराधिकारी बनेनन् ।

त्यसपछि उनले माइलो छोरो देवयानीसुत तुर्वसुलाई डाकेर भने : बाबू, तिमी मेरो बुढ्याईं लेऊ र तिम्रो जवानी मलाई देऊ । एक हजार वर्ष भोग गरेर म फेरि तिम्रो जवानी तिमीलाई नै फिर्ता दिनेछु र आफ्नो बुढ्याईं ग्रहण गर्नेछु ।

तर, तुर्वसुले पनि यो प्रस्तावलाई सरासर अस्वीकार गरे ।

राजा ययातिले उनलाई पनि शाप दिए : तेरा सन्तान नष्ट होऊन् । तेरो बुद्धि पनि अधम रहेछ, त्यसैले तँ चाण्डाल आदि अधम जातिको मात्र राजा भएस् ।

नभन्दै पछि तुर्वसुका सन्तान यवनजाति कहलाए ।

त्यसपछि उनले शर्मिष्ठाको पहिलो सन्तान, साहिंलो छोरो द्रुऊुलाई डाकेर आफ्नो प्रस्ताव राखे । उसले पनि त्यो कुरा सुन्न मानेन । पिताको प्रस्ताव ठाडै अस्वीकार गर्यो ।

ययातिले शाप दिइहाले : तेरो इच्छा कहिल्यै नपुगोस् । तेरो वंशका सन्तान राजा होइन, भोजका नामले चिनिऊन्, नाउमा घुमफिर गरेर जीविका चलाऊन्  !

नभन्दै उनका सन्तान पछि भोजनामक उपाधिले प्रसिद्ध भए । माझी जाति कहलाए ।

त्यसपछि काइँलो छोरो शर्मिष्ठासुत अनुलाई डाकेर उही प्रस्ताव राखे । उसले पनि असमयमा बुढ्याईंको भारी बोक्न मानेन ।

ययातिले तेसलाई पनि बाँकी राखेनन्, अनि यसरी सरापे : तँ आफू सधैं जवान हुन्छु भन्ठान्छस्  ? तँ पनि चाँडै नै मजस्तै बूढो हुनेछस् । तेरा सन्तान जवानीमै मर्नेछन् अनि तँ बूढो भएर आफ्ना सबै अग्निहोत्रादि कर्म पनि त्याग्नेछस् ।

नभन्दै, कालान्तरमा अनुबाट धर्मकर्मविहीन नास्तिक म्लेच्छ जातिको विस्तार भयो ।

अन्तमा आफ्नो कान्छो प्रिय पुत्र शर्मिष्ठानन्दन पूरुलाई डाकेर उही प्रस्ताव राखे ।

पूरुले विनयपूर्वक भने : परमपूज्य पिताजी, हजुरको आज्ञा शिरोपर  ! पिताको वचनलाई पालन गर्नु नै सर्वोत्तम पुण्यकर्म हो । म हजुरलाई खुशीका साथ मेरो यौवन अर्पण गर्दछु र अनि अहोभावका साथ हजुरको बुढ्याईं स्वीकार गर्दछु ।

अनि, राजा ययातिले खुशीले गद्गद भएर आफ्नो कान्छो छोरालाई आशीष दिंदै भने : हे बाबू, एक हजार वर्षसम्म म तिम्रो यौवन ग्रहण गरेर समस्त विषयभोगको वासनालाई सन्तृप्त तुल्याउँला अनि फेरि तिमीलाई तिम्रो यौवन फिर्ता गरेर म आफ्नो वृद्धत्व स्वीकार गरुँला । तिमीलाई म अन्तरात्मादेखि आशीष दिएर भन्दछु : यो समस्त राज्यको उत्तराधिकारी तिमी नै हुनेछौ र तिम्रा राज्यमा सारा प्रजाहरूको समस्त कामना परिपूर्ण हुनेछ ।

….

             यसपछि राजा ययातिले गुरु शुक्राचार्यलाई श्रद्धाका साथ स्मरण गरे । हेर्दा हेर्दै उनी अत्यन्त सुन्दर युवामा रूपान्तरित भए, उता पूरुचाहिँ कुरूप वृद्ध बने । आफ्ना मनोकांक्षानुसार राजा ययाति सुखपूर्वक धर्मानुकूल बनेर समस्त विषयवासनाको स्वादिलो भोगमा आकण्ठ मग्न रहन थाले । उनी सबैप्रति अत्यन्त स्नेहपूर्ण व्यवहार गर्दथे र एक असल शासक बनेर सबैका प्रिय राजाका रूपमा प्रतिष्ठित भए । उनी पहिले त आफूले प्राप्त गरेको चमत्कारिक यौवनको आनन्दमा डुबेर मदमस्त भए । तर, पछि उनलाई के पीर पर्न थाल्यो भने– आखिर यो एक हजार वर्ष पनि यसै गरी चिप्लिँदै चिप्लिँदै गएर एक दिन सकिनेछ र अन्ततः मैले बूढो हुनै पर्नेछ । उनी आफ्नो उमेरका प्रत्येक पल गनेर राख्ने गर्दथे अनि आफ्नो जवानीका अवधिको हिसाब दुरुस्त राख्दथे । एक हजार वर्षको जवानी पाएर उनी नन्दनवनमा परमरमणीया अप्सरा विश्वाचीका साथ यौवनोचित कामभोगको अथाह आनन्दमा डुबिरहन्थे । अलकापुरी र मेरुशिखरमा पनि उनी इच्छानुसार विहार गर्दथे ।

भोग्दाभोग्दै उनको जवानीमय एक हजार वर्ष त मिलिक्कै बितेजस्तो पो भयो, गन्दागन्दै पनि त्यत्रो उमेर कसरी सुटुक्कै बितेछ थाहा पत्तै भएन, हेर्दाहेर्दै उनको यौवनकाल सकिइहाल्यो । समयावधि पूरा भएपछि उनी असमयमै बूढो बनेको आफना प्रिय पुत्र पूरुका छेउमा गएर भने : हे शत्रुदमन प्रिय पुत्र पूरु, मैले आफ्ना इच्छानुसार तिम्रो आनन्दमय यौवन लिएर एक हजार वर्षको भरपूर सुख भोगें । अब तिमी आफ्नो यौवन ग्रहण गर अनि मेरो बुढ्याईं मलाई नै फिर्ता देऊ, अनि यो समस्त राज्य पनि आफ्नो अधिकारमा लेऊ । तिमी मेरा सर्वप्रिय पुत्र हौ ।

यसरी पूरुलाई राजपदमा अभिषिक्त गरेर, आफ्नी प्रियपत्नी शुचिस्मिता देवयानीका साथ राजा ययाति आफ्नो उत्तरार्धको वृद्ध जीवनमा वैराग्यवरण गर्दै विधिवत् वनवासदीक्षा ग्रहण गरेर वानप्रस्थवृत्तिका साथ सुखपूर्वक वनमा रहन लागे ।

…..

        महाभारतीय आख्यानका अनुरागी प्रिय बन्धु !

यसरी पूरापूर एक हजार वर्षसम्म दिव्य यौवनले सम्पन्न बनेर विषयवासनाको परमसुख भोगेपछि त राजा ययाति अवश्य नै परमतृप्त भए होलान् भन्ने हामीले अनुमान गर्नु नितान्त स्वाभाविक हो । तर, एक हजार वर्षको जवानीका अनुभवी राजा ययातिको बयान भने यस्तो छ : एवाभिवर्धते

     न जातु कामः   कामानामुपभोगेन शाम्यति ।

     हविषा कृष्णवत्र्मेव        भूय एवाùभिवर्धते ।।

     यत् पृथिव्यां ब्रीहियवं  हिरण्यं पशवः स्त्रियः ।

     एकस्यापि न पर्याप्तं तस्मात् तृष्णां परित्यजेत् ।।

     या दुस्त्यजा दुर्मतिभिर्या    न जीर्यति जीर्यतः ।

     योùसौ प्राणान्तको रोगस्तां तृष्णां त्यजतः सुखम् ।।    

     पूर्ण वर्षसहस्रं मे     विषयाùसक्तचेतसः ।

     तथाप्यनुदिनं  तृष्णा    ममैतेष्वभिजायते ।।

     तस्मादेनामहं त्यक्त्वा ब्रह्मण्याधाय मानसम् ।

     निद्र्वन्द्वो निर्ममो भूत्वा चरिष्यामि मृगैः सह ।।

महाभारत, आदि, ८५। १२ – १६।

       विषयभोगको कामना ती विषयवासनाको उपभोगबाट कदापि शान्त हुन सक्दो रहेनछ, प्रज्वलित अग्निमा जति घिउको आहुति दियो त्यति नै अग्नि झन् झन् प्रज्वलित भए झैं कामना पनि जति जति पूरा गर्यो त्यति नै अधिकाधिक बढ्दै जाने रहेछ ।

मलाई के लाग्छ भने : यस समस्त भूमण्डलमा जे जति धान्य जौ आदि अन्न, सुन चाँदी आदि धन, गाई गोरु आदि पशुधन अनि जे–जति सुन्दरी स्त्रीहरु छन् ती सबै एक जना तृष्णातरल मान्छेको वासनातृप्तिका लागि पनि पर्याप्त हुँदैनन्, संसारभरिका सबै वस्तु पाएर पनि वासनाले जलेको मान्छे तृप्त हुनेवाला छैन । तेसैले ज्ञानी मानिसले तृष्णाको परित्याग गरोस् ।

दुर्बुद्धिहरुका निम्ति जुन कुरा त्याग्नु अत्यन्त कठिन हुन्छ, जो आफूले आश्रय लिएको मानिस बूढो हुँदा पनि स्वयं बूढी हुन्न, जो एक प्राणान्तक रोग हो, त्यस्ती तृष्णालाई त्यागिदिने मानिसलाई मात्र सुख प्राप्त हुन्छ ।

हेर, विषयभोगमा आसक्त भएर मेरो एक हजार वर्षको आयु हेर्दाहेर्दै बित्यो तैपनि प्रतिदिन तिनै कामवासनाका लागि मेरो मनमा सततः तृष्णा पैदा भइरहन्छ । अतः म यो दुष्पूर तृष्णालाई चटक्क छोडेर परब्रह्म परमात्मामा आफ्नो मन लगाएर समस्त द्वन्द्व र ममताबाट मुक्त बनेर वनमा मृगहरूसँग विचरण गर्न जाँदैछु ।

भगवान् वेदव्यासलाई सश्रद्ध नमन  !

……………………………………

महाभारत आदिपर्व, ८३,८४,८५ अध्याय ।

२०८१ साल साउन २५गते शुक्रवार नागपञ्चमी । अक्षरालय ।