“एउटा भाषिकाको यात्रा हुन्छ, अर्को विश्वभाषाको । हामीले हिंड्ने विश्वभाषाको यात्रा हो । नेपाली भाषालाई विश्वभाषा बनाउने भनेको अन्तर्राष्ट्रिय स्वरूप दिने हो । त्यसका लागि हामीले संसारभर प्रयोग गरिने शुद्ध स्वरूप अपनाउनुपर्छ ।”
………….
नेपाली भाषा देवनागरी लिपिमा लेखिन्छ । देवनागरी लिपि विश्वका वैज्ञानिक र सुन्दर लिपि मध्ये एउटा हो र यो सर्वश्रेष्ठ लिपि पनि हो । ध्वनि, आकृति र क्रमबद्धता हरेक पक्षमा यो लिपि उत्कृष्ट र अतुलनीय छ । त्यसै भएर मैले शुरूमै वर्णमालामा घटबढ गर्ने भूल नगरौं भनेको हो । तर दुर्भाग्यवश यस भाषाको अधिकारक्षेत्रमा बसेका स्वनामधन्य विद्वानहरूबाट २०३४ सालमा यसको हिज्जेमा अनावश्यक हस्तक्षेप भइदियो र यसको लेखाइ र छपाइ अस्तव्यस्त हुन पुग्यो, आजको यो भाषिक अराजकता त्यसैको परिणाम हो । विद्वानहरूबाट भएको यस भयावह भूल वा हस्तक्षेपबाट नेपाली भाषा र साहित्यको विकासमा अपूरणीय क्षति भएको छ ।
२०३४ सालको भाषिक गोष्ठी मार्फत हस्तक्षेप शुरू भयो । त्यसको एउटा सामान्य सहभागी म पनि थिएँ । मेरो सम्झना अनुसार नेपाली भाषा र साहित्यको साधनामा खटेर लागेका विद्वानहरू मञ्चमा हुनुहुन्थ्यो । उहाँहरूबीच कुनै आन्तरिक मतभेद थियो थिएन, त्यो मलाई थाहा भएन तर हिज्जेमाथिको त्यस अतिक्रमणमा उहाँहरू कुनैबाट पनि विमति भएको देख्न र सुन्न पाइएन । सहभागीमा नेपाली पढाउने सयौं गुरुहरू थिए । मञ्चासीन विद्वानहरूको संयुक्त दस्तावेजका रूपमा हिज्जेमा व्यापक फेरबदल गर्ने प्रस्तावबाट नेपाली हिज्जेमाथि ठूलो प्रहार भएको थियो । उक्त प्रस्ताव कार्यान्वित हुँदा भाषाका अंग–प्रत्यंग सबै घाइते हुन पुग्थे । हामीलाई उक्त प्रस्तावको स्वागत र समर्थनमा ताली बजाउन भनियो । त्यतिबेला म एकदमै विचलित भएको थिएँ । मैले उठेर विरोध जनाएँ ।
हस्तक्षेप कहाँकहाँ ?
१. ह्रस्व, दीर्घमा
भाषाशुद्धिका क्षेत्रमा सबैभन्दा महत्वपूर्ण पक्ष हो ह्रस्व, दीर्घ र शकार, सकार आदिको । अरू पनि छन्, जस्तै चिरेको बकार र सादा वकार । नेपाली परम्परामा तलथोप्ले व भन्ने पनि एउटा अति उपयोगी व्यवस्था थियो । त्यसलाई पनि फाल्न हुँदैन भन्ने मेरो माग थियो । विक्रमको २०३४ सालमा यी सबै पक्षमाथि हस्तक्षेप भइदियो । जुन शब्दलाई ह्रस्व बनाउन मिल्दैनथ्यो त्यस्ता शब्दहरूलाई निर्ममतापूर्वक ह्रस्व बनाइयो । जहाँ दीर्घ मात्रा चाहिन्थ्यो त्यता ध्यान दिइएन । जुन शब्दले जनजिब्रोको पुकार गरिरहेका थिए, त्यो सुनिएन । ह्रस्व र दीर्घका कुरा गरौं, व्याकरणमा एउटा सिद्धान्त छ : क्षतिपूर्ति दीर्घीभवन । यस अनुसार तद्भव शब्दहरूमा क्षतिपूर्ति बापत दीर्घ भएका शब्दहरू अनेकौं छन् । यो नियम प्राकृत व्याकरणकै युगदेखि आएको हो । जस्तै, संस्कृतको दुग्ध नेपालीमा आउँदा ‘दूध’ भयो, फुल्ल ‘फूल’ भयो र शिल्प ‘शीप’ भयो । संस्कृतको सप्त शब्द ‘सात’ ध्वनिमा परिवर्तित भएको पनि यसैगरी हो, अष्ट ‘आठ’ भएको पनि यसैगरी हो । यी हरेक शब्दमा तद्भव बन्ने क्रममा कुनै न कुनै व्यञ्जनको क्षति भएको छ र त्यसको क्षतिपूर्ति बापत शुरूको अक्षर दीर्घ भएको छ । विना कारण कुनै पनि अक्षर दीर्घ वा ह्रस्व हुने गर्दैनन् । यस्ता असंख्य शब्द छन् तद्भवमा । जस्तै मित्र, निद्रा र मिष्ट आदि । नेपालीमा आउँदा ‘मित्र’ ले दीर्घ ‘मीत’ रूप पायो किनभने त्यसमा रकारको क्षति भएको छ । ह्रस्व ‘मि’ भएको ‘मित’ को अर्थ थोरै वा अलिकति भन्ने हुन्छ । यसर्थ ‘मित’ को अर्थ मित्र हुन सक्दैन भने ‘मीत’ को अर्थ पनि थोरै भनेर व्याख्यायित गर्न मिल्दैन । यसरी हाम्रा असंख्य तद्भव शब्दहरूमाथि प्रहार हुन पुग्यो ।
२. आगन्तुक शब्दमा
आगन्तुक शब्दहरूलाई पनि विरूप तुल्याइयो । शहरलाई ‘सहर’ बनाइयो, शहीदलाई ‘सहिद’, शेयरलाई ‘सेयर’ र मिशनलाई ‘मिसन’ पारियो । यसरी विकृत तुल्याइएका शब्दहरूको सूची लामो छ । जस्तै कानून शुद्ध रूप हो त्यसलाई ‘कानुन’ बनाइयो, स्कूल दीर्घ हो त्यसलाई ह्रस्व ‘स्कुल’ तुल्याइयो र मजदूर, मजबूत, नसीहत, देहरादून, दार्जीलिङ, स्कूटर आदि अनेकानेक शब्दका दीर्घ मात्राहरू पनि आक्रमणमा परे । अर्कातिर शकार भएका शिलाङ, शिमला, फेशन, स्टेशन, होश, जोश, मुश्किल, चश्मा, पश्मीना, साजिश, मालिश, शेखी आदि सब घाइते भए ।
३. संस्कृत शब्दमा
संस्कृत शब्दमा इतर प्रत्यय लागेकालाई पनि भत्काइयो । जस्तै ‘शंका’ शब्द छ, यो त संस्कृत हो तर यसमा नेपाली प्रत्यय ‘ऐ’ लाग्यो भने शंकै नभएर ‘संकै’ हुनुपर्ने भयो, पौषे औंसीलाई ‘पौसे औंसी’ गर्नुपर्ने भयो । ‘दशक’ लेख्दा शकार, ‘दसकौं’ लेख्दा सकार; ‘कुश’ लेख्दा शकार, कुशे औंसी लेख्दा ‘कुसे औंसी’; ‘वर्ष’ लेख्दा वकार र षकार, तर ‘बर्सौं’ वा ‘बर्सेनि’ लेख्दा बकार र सकार आवश्यक पर्ने जस्ता विचित्रका कुरा आए । भन्न त विद्यार्थीलाई सरल तुल्याउने भनियो तर २०३४ सालको उक्त व्यवस्था कलिला विद्यार्थीका निम्ति घोर जटिलता थपिने सन्दर्भ बन्यो ।
मैले त्यसै भएर उक्त गोष्ठीमा आफ्नो विमति जनाउन परेको हो । मैले त्यतिखेर के भनेको थिएँ भने हिज्जेको निर्धारण बैठक गरेर वा गोष्ठीमा बहुमतीय ताली बजाएर गरिने विषय होइन । मञ्चासीन मध्ये बल्लभमणि दाहालजीले उठेर भन्नुभएको थियो, ‘तपाईं त साहित्यकार, भाषाको विषयमा तपाईंको ध्यान पुगेन होला । भाषाको परिवर्तनमा तपाईंले सहयोग गर्नुपर्यो ।’ तर मैले ‘यसरी समाधान हुँदैन, यसबाट त नेपाली वर्णविन्यास नराम्ररी भाँडिन सक्छ’ नै भनिरहें ।
यसरी विश्वविद्यालयको नीति विरुद्ध विश्वविद्यालयकै एउटा सामान्य शिक्षक हुँदाहुँदै पनि मैले विरोध गरें । मलाई के लागेको थियो भने, उहाँहरू विद्वान हुनुहुन्छ, भाषामा जबर्जस्ती गर्नुहुन्न । मैले धेरै पटक भनें तर उहाँहरूको आग्रह यथावत् रह्यो । बालकृष्ण पोखरेलसँग मेरो विवाद भइरह्यो । उहाँले मलाई माया गर्नुहुन्थ्यो । ‘तिमी त साहित्यकार’ भन्नुहुन्थ्यो । म उहाँलाई भन्ने गर्थें, ‘तपाई त ठूलो भाषाविद्, तपाईं राम्रो भाषा दिनुस्, म त्यसैमा साहित्य लेख्छु ।’ म आफूलाई कुनै ठूलो साहित्यकार ठान्दिनँ तर नेपाली साहित्यप्रति मेरो अगाध निष्ठा छ । नेपाली व्याकरणको हिज्जे पक्षबारे भने मेरो धारणा स्पष्ट छ ।
विवाद रोप्ने शब्दकोश
२०३४ सालको उक्त घटना पछि २०४० सालमा प्रज्ञा प्रतिष्ठानबाट ‘नेपाली बृहत् शब्दकोश’ निस्कियो । मैले त्यो हेरें । त्यहाँ त असंख्य त्रुटिहरू थिए । सबभन्दा ठूलो त्रुटि के थियो भने त्यसमा विकल्पै विकल्प थिए । कानून पनि कानुन पनि, शहर पनि सहर पनि र होश पनि होस पनि । पूरै कोश अनिर्णयको बन्दी ! त्यसपछि मैले धमाधम लेखहरू लेखेर आफ्ना कुरा जनसमक्ष राख्ने प्रयास गरें । २०४३ सालमा ‘प्रस्तावना र विवेचना’ र २०४५ सालमा ‘सरल नेपाली, शुद्ध नेपाली’ नामक पुस्तिका लेखेर भाषामा के गर्न हुन्छ र के गर्न हुन्न भन्नेबारे जनसमक्ष राख्ने प्रयत्न गरें ।
म एक्लै थिएँ त्यसैले साथी खोज्न थालें । साथी पाउन गाह्रो थियो । पोखराबाट काठमाडौं आउँथें म, साथी नै थिएनन् । पछि शरच्चन्द्र वस्तीज्यूसँग भेट भयो । उहाँ ‘पुनर्जागरण’ मा काम गर्नुहुन्थ्यो । उहाँले मेरो कुरा ध्यान दिएर सुन्नुभयो । मलाई उहाँ एउटा साथी भेटिएको ढाडस मिल्यो । मैले काठमाडौंमा ध्यान दिएर कुरा सुन्ने मान्छे पनि खोज्न सके भेटिन्छन् भन्ने ठानें ।
पोखरेलसँग आमुन्नेसामुन्ने
२०५७ सालमा प्रज्ञा प्रतिष्ठानले भाषिक गोष्ठीको आयोजना गर्यो । त्यसमा माधव पोखरेलले विश्वविद्यालयका तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुभयो । मैले मेरा तर्फबाट प्रस्तुत गरें । दुई दिनको गोष्ठी थियो । त्यहाँ पनि त्रिविको र मेरो कार्यपत्र बाझिए । तर उक्त गोष्ठी पछि सहयोगीहरूले मलाई समर्थन दिनुभयो । समर्थन दिनेमा हर्षनाथ भट्टराई, माधव लम्साल, नारायण अधिकारी, दीनदयाल रेग्मी, यमबहादुर क्षेत्री, बलदेव गाउँले लगायत हुनुहुन्थ्यो । त्यस्ता प्रतिभाशाली व्यक्तिहरूको प्रेरणाले म उत्साहित बनें ।
२०५८ सालमा भने बालकृष्ण पोखरेलसँग मेरो मुखामुख नै हुनपुग्यो । त्यतिबेला पनि एउटा भाषिक गोष्ठी भएको थियो । त्यसमा मलाई बोलाइएको त थिएन तर भाषा गोष्ठी हुन्छ भन्दा जान मन लाग्यो । एउटा छेउमा गएर लुसुक्क बसें । सानो ज्यान भएकोले जहाँ बसे पनि म त्यति देखिन्नथें । मञ्चमा बालकृष्ण पोखरेलको मन्तव्य भर्खर सकिंदै थियो, अलिकति सुनें । भाषाका अर्का साधक चूडामणि रेग्मी पनि श्रोताबीच हुनुहुन्थ्यो । उठेर प्रश्न गर्नुभयो, ‘सर तपाईं यसो भन्नुहुन्छ, तर मुकुन्दशरण भने फरक मत राख्नुहुन्छ । हामीले कसको कुरा सुन्ने ?’
प्रश्न सुन्नासाथ बालकृष्ण पोखरेल जुरुक्क उठ्नुभयो । उहाँले मलाई देख्नुभएको थिएन शायद । उहाँले भन्नुभयो, ‘मुकुन्दशरण उपाध्यायबारे म तपाईंहरूलाई बताइदिन्छु । मुकुन्दशरणलाई म चिन्छु । उनी साहित्यकार हुन् । उनलाई भाषाबारे खास वास्तविकता अझै थाहा छैन । म के सोचिरहेको छु भने, कि म उनको घरमा दुई महीना पाहुना बस्छु, कि मेरो घरमा दुई महीना पाहुना बस्न उनलाई भन्छु । अनि उहाँलाई पहिला त साहित्यमा प्रेरणा दिन्छु र भाषाबारे मेरा कुरा बुझाउँछु । उहाँ दुराग्रही होइन, उहाँलाई ठेगानमा ल्याउन सकिन्छ ।’
उहाँको कुरा सुनेपछि म चूप लागेर बस्न सकिनँ र हात उठाएर मैले भनें, ‘सर, म त तपार्इंलाई निकै आदर गर्छु । यहाँसँग बसेर दुई घण्टा मात्रै कुरा गर्न पाए पनि कि म तपाईंको कुरा स्वीकार्छु होला कि मेरो विचारमा तपाईंलाई सहमत गराउन सक्छु जस्तो लाग्छ, दुई/दुई महिना किन लगाउने ?’
मैले त्यसो भनेपछि एउटा राम्रै हलचल आएको थियो त्यहाँ । सबैले मलाई र उहाँलाई हेरेका थिए । भाषाको चिन्ता लिइरहने चूडामणि रेग्मीजीले त उठेरै बोल्नुभयो, ‘त्यसो भए यो गोष्ठीको के काम ? स्थगित गरौं र उहाँ दुईजना विद्वानलाई समय दिऊँ । हामी सुनौं, उहाँहरू बसेर के टुंगो लगाउनुहुन्छ ?’ वासुदेव त्रिपाठीजीले ‘केही दिनभित्रै उहाँहरूलाई बसाएर कुरा गराउन सकिन्छ, त्यो सुन्ने हो भने’ भन्नुभयो । तर पछि खाजा खाने बेलामा सहभागीहरूले ‘तपाईंहरूले दुई घण्टा समय लिएर पछि कुरा गर्नुहोला, अहिले दुई मिनेट भए पनि केही छलफल त गर्नुहोस् भन्नुभयो । म तयार भएँ, बालकृष्ण गुरु पनि तयार हुनुभयो । हामी आमुन्नेसामुन्ने भएर बस्यौं ।
त्यतिबेला पोखरेलजीको ‘झर्रो सब्द्यौली’ नामक सानो शब्दकोश मेरो सम्झनामा आयो । मैले त्यही कोशबाट कुरा सुरू गरें— “सरको ‘झर्रो सब्द्यौली’ मा शीर्षकै झर्रो छ, दन्त्य सकारको ‘सब्द’ भएको । यदि विद्यार्थीलाई यो ‘सब्द्यौली’ लाई प्रकृति र प्रत्यय छुट्याउन भनियो भने विद्यार्थीले के गर्ने सर ? विद्यार्थीलाई सरल होस् भनिएको छ, तर ‘सब्द्यौली’ को सन्धि–विग्रह गर्दा संस्कृत ‘शब्द’ लाई ‘सब्द’ भनेर लेख्न पनि यहाँहरूको नियमले दिंदैन । ‘शब्द’ मा ‘यौली’ थप्दा ‘सब्द्यौली’ हुन्छ भन्दा पनि विद्यार्थी अलमलिन पुग्छ । यस्तोमा के गर्ने होला ?
“२०३४ सालको व्यवस्था अनुसार त्यस्तै उदाहरण दिन सकिने अरू शब्द पनि छन् । कति त त्यही कोशमै पनि छन् । जस्तै, ‘अंशियार’ आदि । कुरा स्पष्ट गर्न हामी ‘विशेषण’ शब्दलाई लिन सक्छौं । ‘विशेषणै विशेषण’ लेख्नुपर्यो भने २०३४ सालको नियमले ‘विशेषणै’ लाई ‘बिसेसणै’ लेख्नुपर्ने हुन्छ र त्यसपछिको ‘विशेषण’ जस्ताको तस्तै रहनु पर्छ । त्यसो गर्दा ‘बिसेसणै विशेषण’ लेख्नुपर्ने हुन्छ ।”
मेरो भनाइपछि उहाँले ‘तपाईंको प्रश्न राम्रो छ’ मात्रै भन्नुभयो । खास जवाफ दिनुभएन । पछि गोष्ठी सकिने बेलामा उहाँले ‘मेरो भोलि बिहान नौ बजे प्लेनको टिकट छ । म फर्केर आएपछि कुरा गरौंला’, भन्नुभयो । तर एक्कासि तीन–चार महीना पछि शरच्चन्द्र वस्तीजी उक्त कोशको नयाँ संस्करण लिएर आफैं मेरो निवासमा आइपुग्नुभयो । नयाँ संस्करण हेर्ने बित्तिकै पोखरेलजीले मेरो पूर्व प्रश्नलाई महत्व दिनुभएको थाहा भयो । वस्तीजी त्यसको नाम फेरेर ‘झर्रो शब्द्यौली’ बनाइएको प्रति अत्यन्त खुशी हुनुभएको रहेछ । पोखरेलजीले भूमिकामा पनि डीएनएको कुरा उठाएको देखेर मेरा मनमा एउटा विचार उठ्यो— अब उहाँसँग संवादको अवसर जुट्यो भने भाषिक विवादले नयाँ मोड पाउन सक्छ । शरच्चन्द्रजीले त्यो संवाद गर्नुभयो ।
एउटा अर्को पनि ध्यान दिनैपर्ने विषय छ । त्यो हो, नेपाली सर्वनाम र पदवियोगको विषय । एकताका नेपाली भाषाको जेठो अखबार गोरखापत्रमा विभक्ति र नामयोगी जोड्ने चलन थिएन । यो एउटा महत्वपूर्ण पक्ष थियो भने अर्कातिर परम्परादेखि चल्दै आएका मौलिक नेपाली सर्वनामहरू अर्थात् ‘इनले, इनलाई, इनको, एसले, एसलाई, एसको, तेसले, तेसलाई, तेसको’ आदि रूपहरू त्यसमा छापिने गर्थे । १९९१ मा नेपाली भाषा प्रकाशिनी समितिले नेकशुले भनिने लघु पुस्तिका छपाएर विभक्ति र नामयोगीको स्वतन्त्रता खोसिदिने र नेपाली सर्वनामलाई हटाएर बडागुरु हेमराजजीबाट परिकल्पित ‘यिनले यसले, त्यसले’ जस्ता अमौलिक सर्वनाम चलाउने भन्ने नीति लागू गराइदिएपछि गडबडी सुरू भएको हो । नेपाली सर्वनाम हटाइएकोमा विमति राख्नेहरूमा राममणि आचार्य दीक्षित, वीरेन्द्रकेसरी, सूर्यविक्रम ज्ञवाली, महानन्द सापकोटा, ईश्वर बरालहरू स्मरणीय छन् । अहिले शिवराज आचार्यको ‘जिम्दो नेपालि भासा अभियान’ पनि यही विचारमा छ । २०३४ पछिका मेरा कृतिहरूमा पनि नेपाली सर्वनामले निरन्तरता पाएका छन् । देहरादूनका पद्मसिंह कार्कीले विभक्ति पनि पृथक् गरेका छन् । नेपाली सर्वनाम पनि चलाएका छन् । नेपालका वर्तमान वरिष्ठ साहित्यकारहरू मध्ये नेपाली सर्वनाम र विभक्तिको समुचित प्रयोग गर्नेहरूमा जगदीश शमशेर राणा सबैभन्दा अगाडि छन् । उनका ११ थान कृतिमा यस्तो प्रयोग भएको छ । अर्का विद्वान् मंगलकुमार नेपालले पनि यस्तो प्रयोग गरेका छन् । अहिलेसम्म मोतीराम भट्ट लगायत ५० भन्दा बढी लेखकले नेपाली सर्वनाम चलाएका छन् । त्यसैले २०४० सालको शब्दकोशको सम्पादनका समयमा मैले नेपाली सर्वनामलाई कोशमा स्थान दिनुपर्छ भनेर लिखित अनुरोध गरेको थिएँ, उपेक्षा भयो ।
नेपाली ध्वनि दीर्घ वा ह्रस्व ?
२०३४ सालको परिवर्तनको एउटा आग्रह के पनि हो भने त्रिविको मान्यतामा नेपाली ध्वनि ह्रस्व र दन्त्य सकार हो भन्नु । तर नेपाली जिब्रोले ह्रस्व मात्र बोल्छ, दीर्घ बोल्न सक्दैन भन्नु र दन्त्य सकार नेपाली उच्चारण हो भन्नु एकदमै ठूलो भ्रम हो । पहिलो कुरा त नेपाली उच्चारण दन्त्य सकार हुँदै होइन । हुँदै नभएको कुरा विद्यार्थीलाई पढाउन पर्दा यसको खण्डनका रूपमा नेपाली शब्दहरूलाई बाह्य शब्दहरूसँग दाँजेर मैले एउटा सानोतिनो संकलन नै बनाएको छु : हिन्दी, उर्दू आदिमा ह्रस्व वा लघुमात्रामा बोलिने र नेपालीमा दीर्घ बोलिने । जस्तै, हिन्दीमा ‘पता नहीं लगा’ भनिन्छ, नेपालीमा ‘पत्ता लागेन’ । ‘पता’ ह्रस्व हो, ‘पत्ता’ दीर्घ । हिन्दीको ‘जिद करती है’ नेपालीमा ‘जिद्दी गर्छे’ हुन्छ । ‘जिद’ ह्रस्व हो, ‘जिद्दी’ दीर्घ । त्यसैले नेपालीले दीर्घ उच्चारण गर्दैनन् भन्ने गलत हो । यस्ता अरू पनि उदाहरण छन् : कुली– कुल्ली, किला–किल्ला, मदत– मद्दत, सलाह– सल्लाह, साठ–साठी, जबर–जब्बर आदि । ‘इकहरा’ र ‘एकोहोरो’ आदिमा पनि यही कुरा देख्न पाइन्छ । प्रज्ञा प्रतिष्ठानले पछिल्लो शब्दकोश सच्याउने भनेको छ, यो स्वागतयोग्य कदम हो । तर प्रतिष्ठानले के बिर्सिदिनु हुन्न भने २०४० सालको शब्दकोशबाट नै त्रुटि भएको छ । २०४० को शब्दकोश नै सच्चाउनुपर्छ । अन्यथा राजनीति गर्नेहरूले तीन जना प्रहरीले गल्ती गर्दा एकजनालाई सरुवा गरेर ‘सजाय दियौं’ भनेजस्तो चालबाजी मात्र हुनजान्छ । आशा गरौं, अबको कोश शुद्ध र आदर्श बनेर आउनेछ ।
नेपाली भाषा नेपालभित्र मात्र नभई संसारभर नै बोलिन्छ । त्यसैले नेपाली भाषालाई मानक बनाउने कार्यभार हाम्रो हो । त्यसैले नेपाली भाषालाई मानक बनाउनुपर्छ भन्ने मैले उठाइरहेको मूल विषय हो । मानक बनाउँदा संसारभर सबैले स्वीकार्ने गरी बनाउने हो । संसारभर चलेको प्रचलन स्वीकार्ने हो । एउटा भाषिकाको यात्रा हुन्छ, अर्को विश्वभाषाको । हामीले हिंड्ने विश्वभाषाको यात्रा हो । नेपाली भाषालाई विश्वभाषा बनाउने भनेको अन्तर्राष्ट्रिय स्वरूप दिने हो । त्यसका लागि हामीले संसारभर प्रयोग गरिने शुद्ध स्वरूप अपनाउनुपर्छ । संसारमा कहीं पनि बैठक, गोष्ठी गरेर भाषामा परिवर्तन हुँदैन । हामीकहाँ भने बहुमतले ताली बजाएर वा नबजाए पनि माथिबाट लादेर परिवर्तन गर्न खोजियो । अब यस्तो भूल दोहोरिन हुन्न ।
(लक्ष्मण श्रेष्ठसँगको कुराकानीमा आधारित)
साभार : अन्नपूर्ण पोस्ट, २५ मंसिर २०७३
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।