मन्त्रिस्तरीय निर्णयबाट वर्णविन्यास फेर्ने निर्णय गरिएको पृष्ठभूमिलाई नियाल्दा देखिन्छभाषाको आकाशमा डरलाग्दो बादल बाक्लिंदैछ र धेरै कुरा मास्ने खालको असिना पर्न थालिसकेको छ । अहिले यही असिनाबाट जोगिनजोगाउन सके पुग्छ, आकाश आफैं थामिन्छ ।

………….

अहिलेको भाषा विवादले उठाएको मूल सैद्धान्तिक प्रश्न हो, भाषाको नियम कसले बनाएर कसरी लागू गराउने कुरा हो ? तर भाषाका आम प्रयोक्ताहरूमा फैलिएको असन्तुष्टिको कारण चाहिं ‘नेपाली अक्षर र शब्द सिक्न सजिलो पार्ने’ नाममा देवनागरी लिपिका केही वर्णहरूलाई नै निषेध गरिनु, छँदाखाँदाका शब्दहरूलाई टुक्र्याइनु र नेपाली लेखनलाई बिगार्ने बाटो खोलिनु नै हो । अहिले नेपाली वाङ्मयकै इतिहासमा पहिलो पटक भाषा सघन सार्वजनिक बहसको विषय बनेको छ र यसले भाषाको राजनीतिलाई स्पष्ट दिशा नदिएर धर छैन । यस विवादको एउटा पक्ष २०६९ साउन २२ गतेको सरकारी निर्णयबाट लागू गरिएको ‘विद्यालय तहका पाठ्य पुस्तक तथा अन्य सामग्रीमा प्रयोग हुने वर्ण विन्यास’ (सरकारी वर्णविन्यास) हो र अर्को पक्ष २०६९ वैशाख २१ गते भाषा प्रयोक्ता, साहित्यकार र भाषाविद्हरूको ८३ जनाको समूहले हस्ताक्षर गरेको ‘नेपाली कसरी शुद्ध लेख्ने ? २०६९’ (नेकशुले–२०६९) हो ।

अन्तर के छ त ?

विसं १९९१ मा नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित पुस्तिका ‘नेपाली कसरी शुद्ध लेख्ने’ मा आधारित ‘नेकशुले २०६९’ ले खासै नयाँ कुरा गरेको छैन । यसको स्थापना नै ‘शिष्ट परम्परा र प्रचलनबाट स्थापित हिज्जेको सुदृढ जगमा उभिएर मात्र भाषाको विकास हुन्छ’ भन्ने हो । सरकारी वर्णविन्यास लागू गराउने भनेर चिनिएका प्रा.डा. हेमाङ्ग राज अधिकारीका अनुसार उक्त निर्णय नेपाली भाषाको सरलीकरणका पक्षमा २०३२–३३ सालदेखि चलेर आएको छलफलमा आधारित छ ।

सरकारी वर्णविन्यास नेपाली भाषामा भित्रिएका शब्दलाई तत्सम, तद्भव र आगन्तुक भनेर वर्गीकरण गर्ने र तत्सम बाहेक सबैलाई नेपालीकरण वा सरलीकरण गर्ने मान्यतामा आधारित छ । यो तीन तहको वर्गीकरणप्रति ‘नेकशुले–२०६९’ को भने मौन अस्वीकृति देखिन्छ । त्यसका अगुवा शरच्चन्द्र वस्ती भन्छन्, ‘संस्कृत र अरू भाषाबाट जस्ताको तस्तै मिल्न आएका शब्दमा भेद गर्न आवश्यक र उचित छैन । उर्दू, अरबी, फारसीबाट भित्रिएका शब्द हामी दशकौंदेखि लेखिरहेका छौं । अब अचानक ती शब्द लेख्ने तरीका फेरेर भाषा सजिलो हुने होइन । आफ्नो भाषालाई समृद्ध बनाउन निम्त्याइएका शब्दहरूलाई सम्मान गर्नुको साटो अपमानित गर्नु उचित होइन । शब्दकै अपमान गर्नेले भाषाको कुरा गर्न कसरी सुहाउँछ ?’

‘नेपालीकरण’ र ‘सरलीकरण’ दुवै आकर्षक शब्द हुन् । पहिलोबाट राष्ट्रवादको मगमग सुवास आउँछ र राम्रोसित नेपाली भाषा नसिकाइएका व्यक्तिहरूका लागि ‘सरलीकरण’ शब्दले नै गतिलो राहत प्याकेजको अनुभूति दिन्छ । तर पञ्चायतकालीन ‘टोपीविना प्रवेश निषेध’ को झल्को दिने ‘नेपालीकरण’ ले हामीलाई कति सीमित बनाउँछ र सरलीकरणले कस्ता जटिलता ल्याउँछ भन्ने कुरामा भने विचार पुर्‍याइए जस्तो देखिंदैन ।

‘ए फोर’ साइजमा जम्मा ५ पृष्ठको ‘नेकशुले–२०६९’ स्पष्ट शब्दमा भन्छ, ‘अन्य भाषाबाट हाम्रो भाषामा जस्ताको तस्तै मिल्न आएका शब्द यथावत् लेखिन्छन्’, र उदाहरण दिन्छ— शहीद, शिकार, जमीन, गरीब, शेयर, फेशन, शेक्सपियर आदि ।

अर्कातिर २५ पृष्ठको सरकारी वर्णविन्यासले आगन्तुक शब्दहरूमा शुरू र बीचमा आउने इकार र उकारलाई ह्रस्व र श लाई स लेख्ने नियम बनाएको छ । यस नियम अनुसार माथि उदाहरणका रूपमा दिइएका शब्दहरूलाई सहिद, सिकार, जमिन, गरिब, सेयर, फेसन, सेक्सपियर आदि लेख्नुपर्छ । यस नियमले अंग्रेजी भाषाको कक्षामा ‘शो’ र ‘सो’ को फरक उच्चारण गरेर नेपालीको कक्षामा आएको विद्यार्थीलाई ‘तिम्रो जिब्रोले श उच्चारण गर्न सक्दैन, त्यसैले शान्तिलाई सान्ती भन’ भन्ने आदेश दिन्छ । ‘नेपाली जिब्रोले ऋ, श, ण, क्ष, त्र जस्ता वर्णहरू उच्चारण गर्नै सक्दैन । नेपाली जे बोल्यो, त्यही लेखिने भाषा हो । त्यसैले नबोलिने अक्षर किन लेख्नु ?’ यस नियमका पक्षधरहरूको जिकिर छ । ‘नेपालीमा तत्सम शब्दहरूलाई संस्कृतकै नियम अनुसार लेख्नुपर्छ र तीबाहेकका शब्द लेख्दा केही निश्चित अक्षर चाहिंदैनन्’ भन्ने परस्परमा विरोधाभासी विचारका बारेमा भने त्यस मतका पैरवीकर्ताहरू मौन देखिन्छन् ।

नेपालीकरणको जबर्जस्ती र उच्चारणको सीमा

समस्या शेक्सपियरको नाम कसरी लेख्ने भन्ने होइन । अंग्रेजी पढाइ र बाह्य सम्पर्क एकदमै बढेको अहिलेको समयमा हामीले अरू हजारौं त्यस्ता शब्दको सामना गर्नुपर्छ । कवि सुमन पोख्रेल भन्छन्, ‘विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइन र फ्रान्सेली दार्शनिक अल्बेयर कामुको नामको हिज्जे एउटै हुन्छ भन्दैमा कसैले पनि एउटै उच्चारण गर्दैन ।’ कुनै पनि व्यक्तिको नाम उसैको भाषा अनुसार उच्चारण गर्ने विश्वव्यापी प्रचलनको उदाहरण दिंदै हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल कोलम्बियाका फुटबल खेलाडी हामेज रोड्रिगेज (जुन अंग्रेजीमा जेम्स हुन्छ) लाई बेलायत, अमेरिकामा पनि हामेज नै भनिने गरेको बताउँछन् । ‘नेपालीकरण’ का पक्षधरहरूले भनिआएको कुरा हो— सबै भाषाको नियम जानेर साध्य नहुने भएकाले नेपाली नियम अनुसार लेख्नुपर्छ । यसलाई मान्ने हो भने हामीले लेखे–भनेका हजारौं व्यक्ति, ठाउँ, खानेकुराका नाम हामी बाहेक अरू कसैले पनि बुझ्दैनन् । ‘सबै भाषाको नियम जानेर साध्य नहुने’ मान्यतालाई पालना गर्ने हो भने वर्तमान फ्रान्सेली राष्ट्रपतिलाई फ्रास्वाँ ओला नभई ‘फ्रान्कोइस होल्लान्डे’ लेख्नुपर्ने हुन्छ । चिनियाँ राष्ट्रपतिको नाम कसरी उच्चारण गरिन्छ भन्ने नबुझी सी जिनपिङ भन्न जानिंदैन । विदेशी राष्ट्रप्रमुखको नाम गलत लेख्दा हाम्रै परराष्ट्र मन्त्रालयले पनि आपत्ति गर्छ होला । नेपालीकरण नै गर्ने हो भने त अमेरिकी शहर सान होसेलाई सान जोसे भन्नुपर्छ, इटालियन परिकार लजानियालाई लसांगा भन्नुपर्छ र श्याम्पेनलाई चाम्पाग्ने पढ्नुपर्छ । सबैलाई थाहा छ, यो नारा लगाउन सजिलो र अवलम्बन गर्न गाह्रो कुरा हो ।

यसको अर्थ हाम्रो उच्चारण क्षमता र अभ्यासमा सीमा नभएको भने पक्कै होइन । संसारभरका भाषाका ध्वनिहरूको उच्चारण गर्न कसैले पनि सक्दैन । धेरै विदेशीलाई हाम्रा च, छ, ज, झ, ड, ढ आदि अप्ठ्यारो भए जस्तै अंग्रेजी उच्चारणमा अभ्यस्त नभएका नेपालीले जज (न्यायाधीश) को हिज्जेमा आउने जे र जी को फरक उच्चारण गर्न सक्दैनन् र एउटै ज लेखेर र बोलेर काम चलाउनुपर्छ । जापानी भाषामा स र च को बीचको उच्चारणबाट शुरू हुने सुनामी भन्न वा लेख्न हामीसित स बाहेकको वर्ण छैन । त्यसैले ‘सम्भव भएसम्म मूल भाषाको नजीकको उच्चारणमा आधारित रहेर लेख्ने वा भन्ने’ भन्ने नियम सबैतिर ग्राह्य हुन सक्छ ।

क्षेत्राधिकारका कुरा

भाषा परिवर्तनशील हुन्छ, तर भाषाको रूपमा परिवर्तन कुनै नियम बनाएर होइन, प्रयोगका क्रममा बिस्तारै र आफैं हुन्छ । ‘भानुभक्तको पालाको भाषा क्रमशः फेरिएर नै हामी यहाँ आइपुगेका हौं’ भन्ने लेखक शरच्चन्द्र वस्ती भन्छन्, ‘भाषाशास्त्री र वैयाकरणहरूको काम मानवीय भाषाको अध्ययन गर्ने र त्यसमा अन्तर्निहित नियमहरूको पहिचान गर्ने हो, आफैं भाषाको नियम बनाउने होइन ।’ अर्कातिर प्रा.डा. हेमाङ्ग राज अधिकारीको भनाइ छ, ‘लेखक–भाषाविद्लाई भाषा यस्तो उस्तो हुनुपर्छ भन्ने अधिकारै छैन । आधुनिकीकरण, मानकीकरण, लिपि छनोट, लिपि सुधार, हिज्जे सुधार विशुद्ध भाषाविज्ञानको क्षेत्र हो ।’ यी दुई जना अगुवाले प्रतिनिधित्व गर्ने मतहरूको अन्तर उनीहरूका नेतृत्वमा प्रकाशित ‘नेकशुले–२०६९’ र ‘वर्णविन्यास प्रयोगसम्बन्धी जानकारी’ को प्रस्तावना वा प्रारम्भिक अनुच्छेदमा पनि स्पष्ट देखिएको छ । एउटा ‘भाषाका प्रयोक्ता र शिष्ट परम्परा’ मा विश्वास व्यक्त गर्छ र अर्को ‘नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णय’ बाट वर्णविन्यास स्वीकृत गराएर सरोकारवालाहरूलाई जानकारी मात्र दिन्छ ।

आकाश झरेको छैन

प्रा.डा. हेमाङ्ग राज अधिकारीले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा भनेको कुरा हो, ‘केही अक्षरहरूलाई हलन्त गरेर लेख्दैमा आकाश खस्दैन ।’ उनका तर्क थिए, ‘विद्यार्थीले विध्या, उध्योग, भानुभत्त जस्ता उच्चारण नगरून् भनेर विद् या, उद् योग, भानुभक् त आदि लेख्न सिकाइएको हो ।’ यो तर्क जायज हो, तर द्य, द्ध, द्व, क्त जस्ता संयुक्त अक्षरहरूको प्रयोगलाई निषेध गरेकोलाई भने जायज मान्न सकिने ठाउँ छैन । अहिले सरलताका लागि भनेर द्य क्त जस्ता संयुक्त अक्षरलाई छुट्याएरै लेख्नुपर्ने नियम जसरी ल्याइयो, त्यसले अरू अक्षरलाई पनि टुक्र्याउन मिल्ने बनाइदिएको छ । द र य (दुवै व्यञ्जन वर्ण) को संयुक्ताक्षर (द्य) लाई छुट्याएर ‘द् य’ नै लेख्नुपर्ने नियमले श्रीलाई ‘श् री’ लेख्नबाट कसरी रोक्न सक्छ भन्ने कुराको जवाफ कसैसित पनि छैन ।

‘यसरी नै क्रमशः सबै संयुक्त अक्षरका खुट्टा काटिने संकेत देखिइसकेको छ’, शरच्चन्द्र वस्ती भन्छन्, ‘किनभने २०६७ सालको नेपाल प्रज्ञा–प्रतिष्ठानले गरेको भाषा संगोष्ठीमा पनि संयुक्त अक्षरलाई हलन्त गर्ने निर्णय गराइएको छ ।’ उक्त संगोष्ठी ‘फरक मतलाई उपयुक्त ठाउँ नदिएको’ भनेर पहिल्यैदेखि आलोचित छ । डा.अधिकारीले भनेजस्तो दुई–चार वटा अक्षरको खुट्टा काट्दैमा आकाश झरेको छैन र झर्दैन पनि । तर मन्त्रिस्तरीय निर्णयबाट वर्णविन्यास फेर्ने निर्णय गरिएको पृष्ठभूमिलाई नियाल्दा देखिन्छ— भाषाको आकाशमा डरलाग्दो बादल बाक्लिंदैछ र धेरै कुरा मास्ने खालको असिना पर्न थालिसकेको छ । अहिले यही असिनाबाट जोगिन–जोगाउन सके पुग्छ, आकाश आफैं थामिन्छ ।

अबको बाटो

तत्कालै गर्नुपर्ने कुरा सरकारी वर्णविन्यासका कारण फैलिएको अन्योललाई अन्त्य गर्नु हो । अनधिकृत हस्तक्षेपबाट भाषालाई जोगाउनमा सरकार पनि अघि सरे राम्रो हुन्छ, नत्र त्यसमा प्रयोक्ताहरू नै अघि सर्छन् भन्ने कुरा यसपटक नै देखिइसकेको छ । दोस्रो, अलि समय र स्रोत लगाएर गर्नुपर्ने काम हो, ‘भाषालाई प्रविधिमैत्री बनाउने’ गलत नारा छाड्ने र भाषाको विकासका लागि आवश्यक प्रविधिहरूको विकास गर्नतिर लाग्ने । त्यसका लागि आफ्नो मतका पक्षपोषकहरूसित मात्र नभई हाम्रा अक्षर र अधिकांश शब्दको स्रोत संस्कृत भाषाका विद्वानहरू, नेपाली लगायत नेपालभित्रका अरू भाषाका उदारमना विद्वान र प्रयोगकर्ताहरू र सूचना प्रविधिका विशेषज्ञ र जानकारहरूसित सहकार्य गर्नैपर्छ ।

साभार : कान्तिपुर, २४ भदौ, २०७३

……………

 

विवाद समाधानको प्रस्ताव

(कान्तिपुर दैनिक, २३ वैशाख २०६९)

अनमोलमणि ।

झर्रोवादी बन्दै तारानाथ शर्माले आफ्नो थरलाई बोलीचालीकै शैलीमा ‘सर्मा’ बनाए र लेख्न थाले, ‘तानासर्मा’ । धेरैले त्यसो नगरौं भन्दा मानेनन् । जब उनले थाहा पाए— ‘सर्मा’ को अर्थ ‘पोथी कुकुर’ हो, अनि थकथकी मान्दै आफ्नो थरलाई फेरि ‘शर्मा’ मै फर्काए । र लेख्न थाले, ‘तारानाथ शर्मा’ । यो २०१३ सालको कुरा हो । जतिवेला शर्मा र बालकृष्ण पोखरेलहरू युवा जोशमा थिए । भाषा सरल हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न उनीहरूले थालेका थिए, झर्रोवादी आन्दोलन । ‘सबै शब्दलाई सरल बनाउन वा बदल्न सम्भव छैन,’ झर्रोवादी शर्मा अहिले भन्छन्, ‘लहडमै शब्द बदल्न थालियो भने त्यसले हामीलाई भड्खालामा पार्छ । अर्थको अनर्थ हुन्छ । हाम्रो भाषा सकिन्छ । हिज्जे आफ्नै परम्परा अनुसार चल्छ । यसलाई मास्यौं भने हामी पनि रहन्नौं ।’

भाषाशास्त्री बालकृष्ण पोखरेल, शर्मा, कृष्णप्रसाद पराजुली र मुकुन्दशरण उपाध्याय जस्ता भाषाका तीन धारलाई भाषाविद् शरच्चन्द्र वस्तीले एक ठाउँमा ल्याए । अब यी सबै जारी विवाद र अलमल चिर्ने प्रयासमा लागेका छन् । उनीहरूले ‘नेपाली कसरी शुद्ध लेख्ने– हिज्जे विचार २०६९’ (नेकशुले–२०६९) को प्रस्तावना घोषणा गरेका छन् । तर प्रज्ञा प्रतिष्ठानको ‘नेपाली भाषा संगोष्ठी २०६७’ को निर्णयपछि शुरू भएको हिज्जे, वर्णविन्यास तथा पदयोग र पदवियोगको विवाद तत्काल टुंगिने छाँट छैन । विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम लागू भइसकेकाले बाहिर घोषणापत्र जारी गरेर वा असहमति जाहेर गरेर विरोध गर्दा अन्योल र विवाद झन् बढेको छ ।

भाषाशास्त्री पोखरेलका शब्दमा ‘आफूले रोजेको इलाका मात्रै राम्रो अरूको मूल्यहीन भनेर होच्याउने शैलीले’ भाषालाई बिगारेको हो । पोखरेल भन्छन्, ‘व्याकरण र हिज्जे फरक कुरा हो । शहरको नाम फेरेजस्तो व्याकरण र हिज्जे फेर्न मिल्दैन । बरु सरल हिज्जे र व्याकरणलाई पर्सजस्तै पट्याएर खल्तीमा राख्न मिल्छ । नेकशुले (१९९१) लाई हल्का परिमार्जन सहित पच्छ्याएर जाँदा अहिलेको समस्या सल्टिन्छ ।’ ध्वनि परिवर्तनशील त हुन्छ तर लेखाइमा ध्वनिको मात्रै अनुसरण गर्दा त्यसले दिने अर्थ अनर्थ हुन्छ । ‘सरलीकरणका नाममा भाषामा जथाभावी गर्नु हुन्न,’ उनले भने ।

मुकुन्दशरण उपाध्याय भन्छन्, ‘गोष्ठीले वर्णविन्यास वा हिज्जे तोक्ने होइन । जबरजस्ती नियम बनाउने र स्वेच्छाचारी शैलीमा बहुमतका नाममा लागू गर्ने प्रवृत्तिले भाषा कहिल्यै सर्वमान्य बन्न सक्दैन । अहिले लागू भएको हिज्जे र व्याकरणप्रति मेरो असहमति छ ।’ तारानाथ शर्मालाई ‘सर्मा’ नलेख, सुन्दा उस्तै सुनिएला तर ‘श’ को काम ‘स’ ले गर्दैन भन्ने पनि उनै थिए ।