“भाषा सुधारको नाममा कसैको व्यक्तिगत लहड र सनकले प्रश्रय पाउँदा अरबौंका शैक्षिक सामग्री र कोश लगायतका प्रकाशनबाट राष्ट्रलाई निकै ठूलो आर्थिक क्षति पुगेको छ । शैक्षिक र भाषिक क्षेत्रले ठूलो मूल्य चुकाउनु परेको छ । यस्तो क्षति गराउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न कसैले पनि उन्मुक्ति पाउन हुँदैन । तिनलाई कारबाहीको प्रक्रियामा ल्याएर नै नेपाली भाषा भवानीलाई न्याय दिन सकिन्छ ।”

…………

‘रचना’ पूर्णाङ्क ११७ को सम्पादकीय (परिशिष्टमा दिइएको) पढेपछि नेपाली भाषालाई भासमा पारेर कुरूप बनाउन उद्यत केही भाषाविद्हरू ‘रचना’ प्रधान सम्पादक प्रति निकै आक्रोशित भएका थिए । ती मध्ये केहीले लिखित र केहीले मौखिक रूपले त्यस्तो सम्पादकीयबाट ‘रचना’ को विश्वसनीयता समाप्त भएको मात्र होइन यसको इतिहास नै ध्वस्त भएको प्रतिक्रिया दिएका थिए । तर ‘रचना‘ आफ्नो मान्यतामा अडिक रह्यो । हाम्रा यशस्वी स्रष्टाहरूले प्रयोग गरेको र वि.सं. १९९१ देखि स्वीकार्य ‘नेकशुले’ लाई प्रकाशनको प्रारम्भदेखि ‘रचना’ ले मानक मान्दै स्वीकार्दै आएको हो । परम्परागत रूपले चल्दै आएको वर्णविन्यास बिगारेर नेपाली भाषामा भाँडभैलो मच्चाउने कामको थालनी २०६५–६६ सालदेखि भयो । त्रिभुवन विश्वविद्यालयको अनिवार्य नेपाली विषय समितिका तत्कालीन अध्यक्षले आफ्नो व्यक्तिगत शैलीलाई ‘अनिवार्य नेपाली शिक्षा निर्देशिका’ मा कार्यान्वयन गराए । २०६९ सालमा तत्कालीन शिक्षामन्त्रीले पाठ्यपुस्तक परिमार्जनको नाममा ल्याइएको विवादास्पद शैलीलाई सदर गरेपछि नेपाली भाषालाई विरूप पार्ने अर्को उपद्रो शुरू भयो । २०७२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले छापेको ‘नेपाली बृहत् शब्दकोश’ ले पहिले गरिएका बिग्य्राहा कामलाई सच्याउनु त कता हो कता झन् भताभुङ्ग पार्‍यो । यी सबै काममा एउटै व्यक्तिको हैकम चलेको यथार्थ अहिले प्राज्ञिक क्षेत्रमा छताछुल्ल भएको छ । यसरी एकल स्वच्छन्दताको शिकार भयो नेपाली भाषा ।

नेपाली भाषा बिगार्ने कामको विरोध सर्वप्रथम २०६८ सालमा नेपाली भाषा प्रयोगकर्ता समूहबाट भएको हो । शिष्ट परम्परा र प्रचलनबाट स्थापित हिज्जेको जगमा उभिएर नै भाषाको विकास हुनसक्ने यथार्थ मनन गर्दै ‘ललितपुर घोषणापत्र’ त्यो वेला जारी गरिएको थियो । यसै क्रममा बालकृष्ण पोखरेल, कृष्णप्रसाद पराजुली, तारानाथ शर्मा, मुकुन्दशरण उपाध्याय, कुमारबहादुर जोशी, कमल दीक्षित लगायतका स्रष्टाहरूको ठूलो समूहले हस्ताक्षर गरेको ‘नेकशुले–२०६९’ आएपछि भाषा विकृतिको विरोध अभियान अघि बढेको हो ।  यस अभियानलाई टेवा पुर्‍याउन जगदीश घिमिरे, शरच्चन्द्र वस्ती, बलदेव अधिकारी गाउँलेहरूले गरेको योगदान अविस्मरणीय छ । चूडामणि गौतमले विवादित वर्णविन्यासबारे उदाहरण सहित प्रकाशित गरेका चारवटा गहकिला पुस्तकले बिगारिएको नेपाली भाषाबारे समाजलाई यथार्थ जानकारी गराउन महत्वपूर्ण भूमिका खेलेको प्रशंसनीय छ । उपर्युक्त विद्वानहरूका प्रयत्नबाट नेपाली भाषा प्रयोगकर्ताहरूलाई जाग्रत गराउन ठूलो सहयोग पुग्यो । बिगारिएको वर्णविन्यास विरुद्ध त्यसरी उर्लंदो जनमतले त्रिभुवन विश्वविद्यालय नेपाली विभागको पनि आँखा खोल्यो र अन्त्यमा नेपालीका प्राध्यापकहरू समेत विरोधमा ओर्लिन वाध्य भए । भाषा बिगाराहरूको विरोध संसदमा त भयो नै अदालतमा समेत यो कुरा पुग्यो ।

भाषाजस्तो संवेदनशील विषयमा खेलाँची गर्दै सरलीकरणका नाममा हैकमी शैली लादेर प्रयोक्तालाई रनभुल्ल पार्ने बेथिति किन टिक्थ्यो र ? आखिर नेपाल प्रज्ञा प्रतिष्ठान २०४० सालमा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ लाई मानक मानेर पुरानै वर्णविन्यास चलाउने निर्णयमा पुग्यो । यही कात्तिक ३० गते प्रतिष्ठानले त्यस्तो निर्णय मार्फत भूल सुधार गर्न खोजेको देखिन्छ । तर पुरानै मानक अनुसारको वर्णविन्यासलाई विकल्प सहित मान्यता दिने प्रज्ञा पदाधिकारीका भनाइले त भाषा विवाद यथावत् रहने देखिन्छ । मानक वर्णविन्यासका लागि विमर्श चलाएर निष्कर्षमा पुग्ने प्रज्ञा कुलपतिको भनाइ छ । त्यस्तो विमर्शमा फेरि तिनै भाषा बिगाराहरूकै हालीमुहाली हुने हो भने विवाद झन् बल्झने छ । भगीरथ प्रयत्न गरेर नेपाली भाषालाई भड्खालोमा पर्नबाट जोगाउन जो प्रयत्नरत छन् ती विद्वानहरूका साथै भाषा प्रयोगकर्ता समूहका सुझाव र सहमतिलाई लाभदायक ठानिनुपर्दछ । यसरी नै भाषामा आएको विवाद साम्य पार्ने प्रयत्न गरिनुपर्दछ । फेरि पनि हैकमवादी प्रवृत्ति अपनाइयो भने समस्या झन् बल्झिने निश्चित छ ।

भाषा सुधारको नाममा कसैको व्यक्तिगत लहड र सनकले प्रश्रय पाउँदा अरबौंका शैक्षिक सामग्री र कोश लगायतका प्रकाशनबाट राष्ट्रलाई निकै ठूलो आर्थिक क्षति पुगेको छ । शैक्षिक र भाषिक क्षेत्रले ठूलो मूल्य चुकाउनु परेको छ । यस्तो क्षति गराउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न कसैले पनि उन्मुक्ति पाउन हुँदैन । तिनलाई कारबाहीको प्रक्रियामा ल्याएर नै नेपाली भाषा भवानीलाई न्याय दिन सकिन्छ ।

(‘रचना२०७३ कात्तिकमंसीर)

 

परिशिष्ट –

भासमा परेको भाषा

‘भाषा भासिन जान्छ भासहरूमा दौडेर चाँडो अलि

अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ।’

महाकवि देवकोटा, शाकुन्तल महाकाव्य

महाकवि देवकोटाको दिव्यदृष्टिले २००२ सालमा देखेको त्यो खतरा राज्यसत्ताको अधिकार पाएका केही वैयाकरणहरूको हैकमले गर्दा अहिले उत्कर्षमा पुगेको छ । अब पनि त्यसमा लगाम नलाउने हो भने नेपाली भाषा कहिल्यै उक्सन नसक्ने भासमा भासिने निश्चित छ ।

भाषा कालान्तरमा बदलिन्छ । पृथ्वीनारायणको समयको भाषा भानुभक्तका समयमा धेरै बदलियो । भानुभक्तको समयको भाषा आज धेरै बदलिएको छ । सय वर्षपछि अरू बदलिने छ । तर त्यो कुनै भाषाशास्त्री वा वैयाकरणले अस्वाभाविक नियम लादेर बदलिएको होइन । स्वाभाविक ढंगमा बदलिएको हो ।

भाषा बिरुवा जस्तो हो । यो प्राकृतिक रूपमा बढ्छ, झाङ्गिन्छ, फुल्छ र फल्छ । यो भाषाशास्त्री, वैयाकरण वा कोशकारले बनाउन सक्ने ‘बनिबनाउ’ वस्तु होइन । भाषाशास्त्रीले भाषाको वैज्ञानिक अध्ययन गर्छ । वैयाकरणले भाषाका अनुशासन र अपवाद देखाउँछ । कोशकारले शब्दको अर्थ, व्युत्पत्ति र प्रयोग बताउँछ । यी कसैले पनि भाषा बनाउँदैनन् । यी कसैले पनि भाषामाथि शासन गर्न सक्तैनन् । भाषा बनाउने यसका प्रयोगकर्ता मात्र हुन् ।

नेकशुले (नेपाली कसरी शुद्ध लेख्ने ?) १९९१ सालमा त्यसवेलाका अत्यन्त प्रतिष्ठित भाषा प्रयोगकर्ताहरूले गहन विमर्श गरेर तयार पारेका थिए । ‘रचना’ ले २०१८ सालदेखि नै नेकशुलेलाई आधार मानेर आफ्नो सम्पादकीय लेख्ने गरेको छ । यस सन्दर्भमा निम्नलिखित संवाद प्रासंगिक छ :

एक भाषाशास्त्रीले ‘रचना’ प्रधान सम्पादकसँग भने— “तपाईं ‘रचना’ को सम्पादकीय पुरानै नियम अनुसार लेख्नुहुन्छ । त्यसले हाम्रा एम.ए. का विद्यार्थीमा हामीले बनाएको नयाँ नियमबारे शंका उत्पन्न गराएको छ । ‘रचना जस्तो स्तरीय पत्रिका तपाईंको नियम मान्दैन भने हामीले किन मान्नु ?’ भन्छन् । तपाईं हाम्रो नयाँ नियम अनुसार सम्पादकीय लेख्नुस् न !” मैले भनें, “म तपाईंहरूले लागू गर्न खोज्नु भएका नियमसँग सहमत छैन !”

गत ५१ वर्षदेखि ‘रचना’ को सम्पादकीय भरसक नेकशुलेकै आधारमा लेखिन्छ । हामीले बुझेसम्म २०१५ सालदेखि प्रकाशित मदन पुरस्कार गुठीको मुखपत्रिका ‘नेपाली’ र २०२८ सालदेखि प्रकाशित ‘अभिव्यक्ति’ पनि नेकशुलेलाई नै आधार मान्दछन् ।

नयाँ वैयाकरणहरूले नेपाली उच्चार्य वर्णमालाबाट यी १४ वर्ण हटाइदिएका छन्— ई, ऊ, ऋ, ऐ, औ, अं, अः, ञ, ण, श, ष, क्ष, त्र, ज्ञ (अनिवार्य नेपाली शिक्षण निर्देशिका, त्रिवि, पाठ्यक्रम विकास केन्द्र, २०६६, साझा प्रकाशन) । ती भाषाशास्त्रीका मत अनुसार आम नेपालीभाषी यी वर्ण उच्चारण गर्दैनन् । अतः यी वर्णलाई नेपाली उच्चार्य वर्णमालाबाट हटाएको हो । तिनको यस दाबाको आधार के हो ? आजसम्म कसैले नेपालभित्र र नेपाल बाहिरका करोडौं नेपालीभाषीको उच्चारणको सर्भे गरेको छ र ?

शिक्षाको लक्ष्य के हो ? अशिक्षितलाई शिक्षित बनाउने कि शिक्षितलाई अशिक्षित बनाउने ? हाम्रा सन्तानलाई ती १४ वटा वर्ण उच्चारण गर्न सक्षम बनाएर संस्कृत लगायत विश्वका सबै प्रमुख भाषामा सुयोग्य हुने बाटोमा लगाउने कि तिनको उच्चारण गर्नै नसक्ने बनाएर अयोग्य हुने बाटोमा लगाउने ?

अंग्रेजी एक प्रमुख विश्वभाषा हो । अंग्रेजी र संभव भए अरू प्रमुख विश्वभाषाहरू नबोली विश्वको प्रतिस्पर्द्धामा उभिन संभव छैन । त्यसको लागि ‘श’ को उच्चारण अनिवार्य छ । नेपालका मैथिली, भोजपुरी, अवधी र अन्य नेपाली राष्ट्रिय भाषा तथा हिन्दी, उर्दू लगायत दक्षिण एशियाका भाषामा पनि ‘श’ को उच्चारण नगरी योग्यता हासिल गर्न संभव छैन । के हाम्रो शिक्षाको अभिप्राय हाम्रा सन्तानको मुखबाट ‘श’ खोसेर तिनलाई पंगु बनाउनु हो ?

हाम्रा भाषा हैकमीहरूका व्याकरण अनुसार नेपालका ‘कोशी’ हरू ‘कोसी’ भएका छन् । ‘कोशी अञ्चल’ ‘कोसी अन्चल’ भएको छ । ‘ई’ कार नहुने भएपछि ‘कोसि’ हुने होला । संस्कृतको तत्सम शब्दमा बाहेक ‘ण’ को उच्चारण गर्न नपाइने उर्दी उहाँहरूको छ । नेपालीमा ‘ण’ वर्ण नभएको बारे बीबीसीको बहसमा एक वैयाकरणले भनेको सुनियो— किन ‘कर्णाली’ भन्नु पर्‍यो ? ‘कर्नाली’ भने भैहाल्छ नि ! ‘राणा’ हरूले ‘राना’ भने हुन्छ । उनीहरूले आफ्नो थरको उच्चारण बारे अनुसन्धान गर्नुपर्छ ।’ विद्वान वैयाकरणको कस्तो हास्यास्पद तर्क हो यो !

यहाँ चर्चा गरिए बाहेकका अरू (उनीहरूले हटाएका) वर्णहरू पनि नेपालीमा बाक्लै प्रयोग हुन्छन् । हाम्रो दायित्व सनातनदेखिका सम्पदाको संरक्षण गरेर सम्पन्न हुनु हो कि तिनको संहार गरेर विपन्न हुनु ?

अतः हामीले नेभाप्रसको नेकशुलेलाई नै आधार मान्ने निर्णय गरेका छौं । ‘रचना’ प्रधान सम्पादकले ‘ललितपुर घोषणापत्र–२०६८’ मा झुक्किएर हस्ताक्षर गरेको होइन । धेरै विचार गरेर गरेको हो । नेभाप्रसको नेकशुलेलाई साझा प्रकाशनले २०५४ सालसम्म प्रकाशित गरिरहेको थियो । त्यसपछि पनि प्रकाशित गर्‍यो होला । त्यही नेकशुले निर्देशिकालाई सामान्य तथा सूक्ष्म परिवर्तन गरेर सामयिक बनाउनु पर्छ; यसो गरे भासबाट भाषालाई उकास्न सकिन्छ । नेपाली भाषा प्रयोगकर्ताहरूबाट नेकशुलेको त्यस्तो परिमार्जित निर्देशिकाले मान्यता पाउनेछ र स्वीकार गरिनेछ भन्ने हाम्रो विश्वास छ ।

(रचना पूर्णाङ्क ११७ फागुनचैत २०६८)

===

यसै मेसोमा प्रस्तुत छ, उपर्युक्त सम्पादकीय/आलेखमा संकेतित ‘भाषाशास्त्री/वैयाकरण’ को प्रतिक्रिया :

भासमा परेको भाषाबारे दुईचार कुरा

हेमाङ्ग राज अधिकारी

रचना ११७ (२०६८) अङ्कमा ‘भासमा परेको भाषा’ शीर्षकमा लेखिएको सम्पादकीय पढेपछि मलाई पनि केही कुरा प्रतिक्रिया र टिप्पणीका रूपमा व्यक्त गर्न मन लाग्यो । निश्चय नै नेपाली भाषाको हिज्जेबारे भएका अहिलेका चर्चाले सिङ्गै भाषालाई आक्रान्त पार्न खोजिएको छनक पाइन्छ । महाकवि देवकोटाले ‘भाषा भासिन जान्छ भासहरूमा दौडेर चाँडो अलि, अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि’ भनेर भावको प्रवेग अनुसार शब्द नपाउँदाको समस्यालाई सङ्केत गरेका थिए । तर यसलाई हिज्जेको प्रसङ्गमा बठ्याइँका साथ ल्याएर धसाउन खोजिएको आभास हुन्छ ।

आजका भाषाविद्, व्याकरणकार वा कोशकारले प्रयोक्ताहरूकै भाषाको अध्ययन गर्ने हुन् । यिनले आफैँ भाषा सृजना गरेर अध्ययन गर्दैनन् । यिनको अध्ययन वस्तुगत तथ्यमा आधारित हुन्छ । भाषामा अन्तर्निहित व्यवस्थालाई खोजबिन गर्ने काम यिनले गरेका हुन्छन् । भाषामा निहित नियमितता र अपवादलाई यिनले निष्कर्षका रूपमा प्रकाशमा ल्याएका हुन्छन् । भाषा वैज्ञानिक अध्ययनमा भावुकताका कुराको स्थान रहँदैन । अहिलेका भाषाविद्हरू भाषामाथि शासन गरिन्छ भन्ने कुरामा विश्वास गर्दैनन् । भाषा लोक व्यवहार हो । यसको समकालिक प्रकृति र प्रवृत्तिलाई पहिल्याउनमा यिनको जोड हुन्छ ।

नेकशुले (नेपाली कसरी शुद्ध लेख्ने ?) १९९१ का निर्माताहरू त्यस वेलाका प्रतिष्ठित भाषा प्रयोक्ता मात्र थिएनन् । पुष्कर शमशेर जस्ता प्रतिष्ठित भाषाविद् समेत थिए । त्यो तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको थियो । आजभन्दा लगभग ८० वर्ष पुरानो कुराको प्रमाण दिएर त्यसपछिका अध्ययन तथा चिन्तनलाई धूमिल बनाउनु कत्तिको उचित हुन्छ ? प्रबुद्ध वर्गले मनन गर्नु पर्ने वेला आएको छ । नत्र हामीलाई पनि संस्कृतको नीतिश्लोकमा भनिए झैँ ‘बाबुको कुवाको पानी भनेर क्षार जल पिउने कातर व्यक्ति’ भन्ने आरोप नलाग्ला भन्न सकिँदैन ।

नेपाली उच्चार्य वर्णमालाबाट १४ वर्ण हटाइएको आरोप पनि सत्य होइन । पहिलो कुरा त नेपालीमा ई ऊ ऋ अं अः ञ ण श ष क्ष ज्ञ जस्ता वर्ण संस्कृत वर्णमाला अनुसारका नेपाली लेख्य वर्ण हुन् । नेपाली भाषाका प्रयोक्ताका सहज जिब्रोमा यिनलाई क्रमशः इ उ रि अम् अह् यँ न स छ्य ग्यँ का रूपमा उच्चारण गरिन्छ । इ, उ दीर्घ पनि उच्चरित भए पनि नेपालीमा अर्थ विभेदक भएर देखिँदैनन् । केही वर्ण चाहिँ एकभन्दा बढी वर्णको संयुक्त स्वरूपमा उच्चरित भएका देखिन्छन् । यो कुरा भाषा विज्ञान पढेको जुनसुकै विद्यार्थीलाई थाहा हुन्छ । हामीले संस्कृत वर्णमालामा भएका कतिपय वर्ण (लिपिचिह्न) नेपाली उच्चारणमा भेटिंदैनन् भनेका हौं । यो भाषाको वैज्ञानिक अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा भनिएको हो । त्यसैले नेपालीमा उच्चार्य वर्णमाला र लेख्य वर्णमालामा कतिपय भिन्नता रहेका छन् । परम्परागत नेपाली वर्णमालामा रहेका सबै वर्णहरू सोही रूपमा उच्चरित हुन्छन् भन्नु गलत बुझाइ हो । यो कुरा प्रयोक्ताहरूले श, क्ष, ज्ञ जस्ता वर्ण प्रयोग भएका शब्दहरू उच्चारण गरेको ध्यानपूर्वक सुनेमा वा आफैँले उच्चारण गरेर सचेत रूपमा सुन्दा थाहा पाउन सकिन्छ । कागको पछि लाग्नु भन्दा कान छाम्नु उपयुक्त हुन्छ भने झैँ आफैँ पनि यसमाथि उठेको भ्रम निवारण गर्न अग्रसर हुनु उचित हुन्छ । हामीले आफूले बोलेको भाषाका वर्णको उच्चारणको अन्तर्निरीक्षण आफैँले पनि गर्न सक्छौँ । यति त गरेका छैनौँ । स्वतः प्रमाणित गर्न सकिने कुरालाई परतः प्रमाण जुटाउन करोडौं नेपालीको सर्भेतिर अलमल्याउनुको तुक देखिँदैन ।

शिक्षाको लक्ष्य अशिक्षितलाई शिक्षित बनाउने त हुँदै हो, शिक्षितलाई पनि अझ शिक्षित बनाउने हो । संसारका भाषाको लेखनका लागि नयाँ लिपि कम बनेका छन् । धेरै भाषामा पुराना लिपिबाट नै काम चलाइन्छ । रोमन लिपिमा विभिन्न भाषा लेखिए झैँ देवनागरी र अरबी लिपिबाट पनि अनेकौँ भाषा लेखिन्छन् । लिपिमा भएका प्रत्येक लिपि चिह्न सबै भाषामा उच्चरित हुँदैनन् । आफ्नो भाषाको उच्चार्य व्यवस्थाको आवश्यकता अनुसार तिनबाट लिपिचिह्न लिएर लेख्य परम्पराको विकास गरिन्छ । रह्यो, अन्य भाषाका लिपिचिह्न र तिनको उच्चारण सिक्ने कुरा । हामीलाई हाम्रो भाषाका उच्चार्य वर्ण र लेख्य वर्ण के कति छन्, छुट्याउन त यति ठुलो पहिरो छ, अन्य भाषाहरूको उच्चारण सुरक्षित गर्ने कुराको बोझ थप्नु कति उपयुक्त होला ? शोचनीय छ ।

जुन जुन भाषामा जे जस्ता वर्ण उच्चारण हुन्छन्, ती ती भाषामा तिनको आवश्यकता अर्थ सम्प्रेषणका लागि अनिवार्य हुन्छ । त्यसैले ती सिक्नु पर्छ, सिकिन्छ । सिकाइका लागि यस्तो प्रक्रिया स्वाभाविक हो । जुन भाषा सिक्न खास वर्णको उच्चारण नै आवश्यक पर्दैन, त्यसमा पनि थप बोझ भिराउनु शिक्षणको सिद्धान्त विरुद्ध हुन जान्छ । संसारमा सिक्ने कुरा अनन्त छन् तर समय सीमित छ । त्यसैले प्राथमिकता निर्धारण गर्नु पर्छ । छनोट र स्तरणका कुरा आउँछन् । अहिलेका शिक्षार्थीलाई सहज र सुगम सिकाइ प्रक्रियातिर अभिमुख गराउनु हाम्रो कर्तव्य हो । नेपाली भाषा कुनै एक जातिको भाषा मात्र होइन । यो विभिन्न समाज भाषिक पृष्ठभूमिका वक्ताहरूको भाषा पनि हो । कुनै भाषाभाषीलाई काखा (सजिलो) र अर्कालाई पाखा (असजिलो) पार्ने दृष्टिले यसलाई हेरिनु हुँदैन । यसको मौलिक विशिष्टता ठम्याएर सोही अनुरूप शिक्षण प्रक्रिया छनोट गरिएमा कसैलाई मर्का पर्दैन । एउटा भाषा सिक्दा त्यस भाषाको नियमिततामा शिक्षार्थीलाई प्रवेश गराउने हो । अर्को भाषाका अतिरिक्त विशेषता त्यसमा थोपर्ने होइन । अर्को भाषा सिक्नु पर्ने खण्ड आएमा उसलाई चाहिने थप कुरा त्यही भाषाको नियमितताभित्र पसेर सिक्न सहज हुन्छ ।

भाषा परिवर्तनशील हुनाले लेखनको स्वरूपमा पनि समय समयमा परिवर्तन हुन्छ । कालीदासको क खिइयो भनेर बिलौना गर्नुको खास अर्थ रहँदैन । नेपाली तद्भव शब्दहरूमा ण वर्ण उच्चरित हुँदैन । तत्सम (संस्कृत) शब्दहरूका सन्दर्भमा भने यसको उच्चारण संवर्ण (परिवेशगत भेद) का रूपमा भएको देखिन्छ । त्यसको प्रभावले कर्नालीलाई कर्णाली भनिएको र लेखिएको देखिन्छ । यस्तै कर्नेललाई कर्णेल पनि भनिन्छ । कसैले जर्नेललाई जर्णेल भन्न पनि खोज्ला । तर यी अपवाद हुन् । यिनले तद्भव शब्दमा पाइने नियमितता देखाउँदैनन् । नेपालीमा कुँवर ठकुरीहरूको थरका रूपमा प्रचलित राणा शब्दको ण पनि यस्तै अपवादभित्र पर्छ । प्रत्येक भाषामा केही अपवाद हुन्छन् । अपवाद नभएको भाषा हुँदैन तर यस्ता अपवादलाई नियम बनाउन खोज्नु जिउले पुच्छर नहल्लाई पुच्छरले जिउ हल्लाउन खोज्नु जस्तै हुन जान्छ । हामीले संस्कृतबाट आएका शब्दमा पनि श, ष छुट्याएर उच्चारण गर्दैनौं । शिशु, शासन, निषेध, षट्कोण आदि शब्दमा एउटै स को उच्चारणले काम चल्छ । यस स्थितिमा अङ्ग्रेजीमा श उच्चारण हुन्छ भन्दैमा त्यसको उच्चारण भित्र्याउने पहलमानी कसरतमा लाग्नु हास्यास्पद हुन्छ । भाषाको मानक रूप यसका मौलिक विशिष्टता ठम्याएर तिनका आधारमा खोजिनु पर्छ । अर्को भाषाका विशेषता भित्र्याउने चिन्ता वा आतुरताले र परिधीय भेदलाई प्रोत्साहन गर्न खोज्नाले आफैँ अलमलिने र भ्रमित हुने सम्भावना रहन्छ ।