
“म पनि हेमांग सरको प्रारम्भिक अभियानमा खूब रमाएको थिएँ र उहाँको व्याकरणको रमाउँदै रिभ्यू लेखें, त्यसको अनुवादमा पनि सहयोगी भएँ । तर पछि मात्रै त्यो भ्रमपथ पत्ता लाग्यो, आज अलिकति पश्चात्ताप गर्दछु ।”
“प्रा.बालकृष्ण पोखरेलले भन्नुभएको छ, ‘संस्कृत, अंग्रेजी तथा अन्य छिमेकी भाषाहरू नेपालीका थांग्रा (ट्रेलिस सपोर्ट) हुन् । तिनलाई नचलाउनुहोला ।’ हेमांग सरले ठूलो आँट गरेर त्यस थांग्रामा चढ्दै नेपाली भाषालाई तानेर लछारेर भुइँमा सुताइदिनुभो ।”
……….
आधुनिक नेपाली भाषाले स्थिरता प्राप्त गर्ने समयमा यसलाई हल्लाउने चलाउने विद्वानहरू जन्मिए । ठेकीमा जमाउन हालेको दूधलाई छिनछिनमा हल्लाइरहने हो भने कहिल्यै जम्दैन । त्यस्तै स्थिति आयो । नेपाली भाषाले कति भूकम्प खप्तै आएको हो तर विगतका दशक यता यसको लेख्य कथ्य दुवै स्वरूपको नवीकरण गर्ने विद्वानहरू सक्रिय भएपछि यो निकै डराएको छ । किनभने स्थिरताको जगै भत्किंदै छ ।
यसको नेतृत्व विद्वान प्रा.डा.हेमांगराज अधिकारीले लिनुभयो । तीन दशकदेखि उहाँ बिस्तारै अघि बढ्नुभयो— भाषा भत्काउने अभियानमा । त्यसो त उहाँको उद्देश्य अर्थहीन थिएन, यसलाई भत्काइसकौं अनि नयाँ स्वरूप जन्मिनेछ भन्ने थियो तर त्यो प्रत्युत्पादक प्रक्रिया रहेछ भन्ने कुरा आज थाहा हुँदैछ ।
उहाँले तीन चरणमा ती भत्काउने कार्य पूरा गर्नुभयो । पहिलो चरणमा उहाँले सरल वा सरलीकरण नामको हतियार लिनुभयो । सुन्दाखेरि राम्रो लाग्ने— भाषा सरल हुनुपर्छ भन्ने एउटा मीठो असत्य नारा मात्र थियो तर हामीले धेरै वर्ष पत्यायौं । यही अवसरमा उहाँले व्याकरण लेख्नुभयो, पाठ्यक्रममा लगाउनुभयो, शब्दकोश निर्माण गर्नुभयो, पाठ्यक्रममा समावेश गर्नुभयो । ठाउँठाउँमा आफ्ना शिष्यलाई काँधमा लाठा बोकाएर द्वारपाल राख्नुभयो । र, त्यसरी भित्रभित्रसम्म नेपाली भाषामा अनर्थको प्रवेश भयो, गराइयो । खासगरी पाठ्यक्रम लाग्ने गौंडामा आफ्ना भक्तहरूलाई तैनाथ राखेर आफ्नो नियम छिराउँदै पसाउँदै पास गराउँदै लानुभयो ।
खगराज, दीनानाथ आदिले प्रा.डा.हेमांगराज अधिकारी जस्ता उद्भट विद्वानमाथि सन्देह गर्नुपर्ने कारण थिएन; ठूलो साहस गरेर यत्नपूर्वक उहाँले भाषाको मुटु धमनी सबै फेर्ने काममा सफल हुँदै जानुभयो । यति कुरामा विश्वविद्यालयबाटै सफल हुनुभो । त्यस क्रममा नेपाली भाषा ससाना नानीहरूलाई सिक्न सिकाउन कठिन छ, यसको सरलीकरण गर्नुपर्छ, सर्वप्रथम वर्णविन्यास भत्काउनुपर्छ, यसलाई बहुविकल्पयुक्त बनाउनुपर्छ, यसो गरे पनि त्यसो गरे पनि उसो गरे पनि हुन पाउनुपर्छ भन्ने तर्क पास गराउनुभो । हामी भ्रमित हुँदै गयौं ।
उहाँले दोस्रो जुक्ति वर्णभन्दा माथि चढेर शब्दलाई हल्लाउने कुरा सोच्नुभयो । यी शब्द जोड्ने, यी फुकाल्ने । यो अनावश्यक, व्यर्थ र तर्कहीन कुरा थियो; तर त्यसैगरी आफ्ना भक्तहरूको सहयोगले ठाउँठाउँ बेलामौकामा बसीबसाइ सम्मेलनहरूमा कीर्ते पास पनि गराउँदै जानुभयो । हामी अझ अन्योलमा पर्यौं— एउटै अवधारणा, वस्तु वा तत्व छ; तर ‘विश्व’ र ‘विद्यालय’ फुकालिए । संसारकै भाषाविज्ञानमा नभएको नितान्त नौलो कुरा नेपालीमा देखेर भित्रभित्रै हाँस्यौं, तर उहाँसित प्रतिवाद गर्न सकिंदैन किनभने उहाँका दुईवटा भयंकर ठूला शक्ति हुन्— कसैको कुनै कुरा नसुन्ने र आफ्ना तर्कहीन कुरामा अडिग रहने । उनै पाठ्यक्रममा भाषाशैलीमा विद्यावारिधितिरको शोधग्रन्थमा अड्केका विद्यार्थीबाट बलात् ती कुराको पालना गराउनमा उहाँ सफल हुनुभयो ।
मान्छेले ठाने, त्यत्रा विद्वान अघि लाग्नुभएको कुरा, होला तानि । अघि पञ्चायतकालमा यस्तै भो; उनीहरूले यो संसारकै विशिष्ट प्रजातान्त्रिक व्यवस्था हो भने, हामीले हो हो भनेर तीस वर्ष ताली पड्कायौं । आज फेरि हेमांग सरको भाषाविज्ञान सुनी बसेर ताली पड्काउन सिक्यौं । हामीले हरेक शासन सत्तामुनि बसेर ताली पड्काउने तालीम पाएका छौं । धेरै पछि मात्र थाहा पाउँदा रहेछौं; म पनि हेमांग सरको प्रारम्भिक अभियानमा खूब रमाएको थिएँ र उहाँको व्याकरणको रमाउँदै रिभ्यू लेखें, त्यसको अनुवादमा पनि सहयोगी भएँ । तर पछि मात्रै त्यो भ्रमपथ पत्ता लाग्यो, आज अलिकति पश्चात्ताप गर्छु ।
उहाँलाई एकेडेमीको अटल आसन प्राप्त भयो । यहाँ आएपछि अघि गर्दै ल्याएको कर्मलाई अझ तीव्रतासाथ विस्तारित गर्ने सुमार्ग मिल्यो । यहाँ शब्दकोष बनाउने, शैली लेखाउने, प्रूफ हेराउने, कार्यपत्र तयार गराउने अरू अनेक प्राज्ञहरू उपलब्ध छन् । अब जसले हेमांग पथ पक्रियो उसले काम दाम नाम सबै कमाउने भयो । बिस्तारै बिस्तारै नेपाली भाषा व्याकरण भत्काउँदै ठाउँठाउँमा गौंडा ढुकेर आफ्ना सिद्धान्त लागू गराउने काम झन् तीव्रतासाथ अघि बढ्यो । उहाँमा अरूको तर्क, आग्रह, निवेदन सबै कुरालाई निस्तेज पारेर जबर्जस्ती आफ्नो मात्र स्थापित गर्ने जुन शक्ति छ, त्यस्तो प्रतिभा अरू कुनै विद्वानमा पाइँदैन ।
एक दुईपल्ट म एकेडेमीसम्मै गएँ, उहाँसित बोल्न खोजें— विशेष गरी यी आगन्तुक शब्दको प्राण किन लिंदै हुनुहुन्छ ? दशकौंदेखि अंग्रेजी भाषा (विज्ञान) पढाइरहेका हामीलाई तपाईंको नियमले हुर्मत काढ्यो । हामी क्लासमा एउटा उच्चारण र लेख्य संस्कार बताउँछौं, नेपालीमा तपाईंले सबै दाँदे लाइदिनुभो । निरङ्कुशतापूर्वक भत्काइदिनुभो । उहाँ भन्नुहुन्छ— यो यस्तै हुन्छ, अरू भाषामा पनि यस्तै हुन्छ । तर राम्ररी हेर्दा जगतका कुनै भाषामा यस्तो छैन । संसारको कुनै भाषाको लेख्य रूप औच्चार्यसँग मिल्दैन, मिलाउनु पर्दैन; नेपालीमा नजाने कुन लोकबाट आएको छ ! तर, एउटा अर्थहीन तर्कले वक्तालाई थला पार्दिनुहुन्छ । उहाँ शक्तिमा हुनुहुन्छ, निर्भीक र अडिग ।
यी दुई तह अर्थात् शब्द फुकाल्ने, ह्रस्व–दीर्घ खुला गर्ने, आगन्तुकलाई इच्छानुसार लडाउने आदि कर्म सम्पन्न गर्न सफल भएपछि यसपालि तेस्रो आविष्कार प्रकाशित भयो र संयुक्त वर्णमाथि उहाँ जाइलाग्नुभयो । यसले देशभरि ठूलो होहल्ला उत्पन्न भयो । यो देशमा भाषाको सारा जिम्मा एकजनाले मात्र पाएको हो कि ? यो के गरेको ? औचित्यहीन कुरा लागू गर्न उहाँ कस्सिएको देखेर यसको प्रतिरोध गर्न जगत तात्यो । त्यसो त यो तताइ आजको मात्र होइन, भाषा भत्काइएको उत्तेजना चरम स्थितिमा पुग्यो भन्ने कुरा २०६७ को भाषा सम्मेलनपछि शुरू भएको थियो । सबैले विरोधमा लेखे— प्रा.टंक न्यौपाने, मुकुन्दशरण उपाध्याय, शरच्चन्द्र वस्ती, तारालाल श्रेष्ठहरूले विमतिमा लेखे । मैले पनि एक लेख लेखें, ‘भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं । यस्ता रचनाहरू संकलन गरेर इनरुवाका अथक साहित्यसेवी श्री शशीप्रसाद बजगाईंले ‘साहित्य सौगात’ को ‘नेपाली भाषा विशेषांक’ प्रकाशित गराउनुभयो । यो २०७० सालको कुरा थियो । झन्डै ३०० पृष्ठको विरोध आयो तर यसलाई हेमांग सरले नसुनेझैं, नदेखेझैं गरेर उडाइदिनुभयो । कसैले कुरा उठाउँदा भन्नुहुन्छ, ‘ए, ती ता पुराना परम्परावादी कुरा हुन् ।’ शरच्चन्द्र वस्ती, चूडामणि गौतम, हरि अधिकारी, खगेन्द्र संग्रौला, बलदेव गाउँले, अभि सुवेदी, केदार शर्मा, ध्रुवहरि अधिकारी, रोचक घिमिरे, मोहन मैनाली, राजेन्द्र दाहाल जस्ता तीन दर्जन स्रष्टा चिन्तकले भाषा भत्काइएको स्थितिमा चिन्ता र विरोधमा बोल्दै लेख्तैछन् ।
वास्तविकता के हो भने उहाँको विचार न पुरानाले लिएका थिए, न कुनै नयाँ भाषाशास्त्रीले । संसारको कुनै भाषा सरल वा जटिल छैन । जे छ छ; त्यो परम्परा हो, भावात्मक कुरा हो, अभ्यास र मनोविज्ञानले निर्माण गर्ने सूक्ष्म कुरा हो । जगतले यही तथ्य स्वीकार्छ र कुनै भाषाभित्र उहाँजस्ता शक्तिशाली व्यक्तिले प्रवेश गरेर एक्लै आम प्रयोक्ताको भावना विपरीत प्रहार गर्ने आँट कसैले गर्दैन । तर यतिखेर यो संकटापन्न स्थितिमा कोही पनि त्यसको सामना वा प्रतिकार गर्ने छैन; अनेक ऐतिहासिक कारणले प्रा.डा.हेमांगराज अधिकारीसँग टाँसिएर जोडिएकाहरू फुत्त उफ्रेर अन्तै पुग्दैछन्, अझै पनि उहाँलाई मैले कत्रो अनर्थ गरेंछु भन्ने बोध छैन ।
उहाँको प्रयत्नले हाम्रो नेपाली भाषा भारतीय नेपालीले पढ्न लेख्न नसक्ने स्थितिमा पुग्यो । हालै भारतीय नेपालीहरूले साहित्य एकेडेमीको नेतृत्वमा एक मानक कोश बनाउने निर्णय गरेका थिए । ‘त्यसका लागि तपाईंहरूले कुन कुराको आधार लिनुहुन्छ ?’ भनी साहित्य एकेडेमीले प्रश्न गर्दा भारतका नेपाली विद्वानले ‘नेपालको नेपाली शब्दकोशको’ भनी उत्तर दिए । त्यसपछि भारतीय विद्वानले सल्लाह दिए, ‘त्यो हुन सक्तैन, नेपाली कोशमा मानकता भत्केको छ; आफ्नै परम्परा अनुसारको भारतीय भाषाविज्ञान र नेपाली प्रचलनलाई ध्यानमा राखी प्रामाणिक कोश निर्माण गर्नोस् ।’ त्यसपछि त्यो प्रोजेक्ट स्वीकृत भयो । अब भारतीय नेपाली भाषाका कोष र व्याकरण भिन्न हुने निश्चित छ । यसको श्रेय उनै हेमांग सरलाई छ, जबकि विश्वभरि अंग्रेजीको एउटै कोर्स चल्छ । अझ लेख्य परम्परा यता अत्यन्तै तीव्र गतिमा भत्काइएकाले गर्दा यो हिंडेको बाटो नै नचिनिने हुँदैछ ।
हामीले प्रयोग गर्ने तमाम शब्द विभिन्न भाषाबाट नेपाल र दक्षिण एशियाका अनेकौं भाषामा आएका छन् । तिनलाई सर्वत्र यथावत् चलाइएको छ । भाषाविज्ञान उही हो । पाठक प्रयोक्ताको मनोविज्ञान उही हो । हामी सारा तिनै सिकाइबाट नेपाली भाषामा पसेका हौं । त्यहाँ प्रयुक्त ती संकेतले ती ध्वनि बोकिरहेको हुन्छ तर यहाँ किन कसरी फुकालिए त्यो आश्चर्य छ । भाषा केवल परम्परा हो, मनोवैज्ञानिक संस्कार हो, यो नियमबद्ध छैन व्यवहारबद्ध छ । संकेतले चल्छ, चलाइन्छ, बुझिन्छ, बुझाउँछ । बलात् संकेत फेर्दैमा भाषावैज्ञानिक भइँदैन तर नेपालीमा एकजनाको शक्तिले यत्रो उल्टापाल्टी पार्यो । यतिखेर नेपाली भाषा विभिन्डिएको छ ।
यता जिल्लातिर जान्छु, गाउँतिर पस्छु, प्रावि शिक्षक होस् वा कलेजको अध्यापक, सामान्य भाषा प्रयोक्ता होस् या उदीयमान स्रष्टा, सबै प्रश्न गर्छन्— तपाईं माथि हुनुहुन्छ, यो के भएको ? कुन पढाउनु ? कुन गल्ती छ भन्नु, कुन लेख्नु लेखाउनु ? सबैभन्दा ठूलो प्रहार त नेपाली लेखक स्रष्टामा परेको छ । उसको मनोविज्ञानमा द्वन्द्व र हीनताबोध थपिएको छ; एक थोक लेख्छ, यता अर्को थोक छ ।
यसले उसमा द्विविधा उत्पन्न हुन्छ, सन्देह भय र आक्रोश हुन्छ । यस्ता अनर्थ नियमका भारीले भाषा प्रयोक्तालाई थिच्ता के हुन्छ ? यता एकेडेमी भाषाको प्रामाणिक संरक्षक मानिएकोमा सबैसबै स्थापित मान्यता भत्काएर हेमांग व्याकरण अनुसारको शैली बलात् प्रयोगमा ल्याइएको छ, अरू प्रकाशनगृहका स्टाइल बुक फरक छन्— स्वाभाविक छ, भत्कन थालेपछि त्यसलाई टेर्न नटेर्न, स्वीकार्न अस्वीकार गर्न सबै स्वतन्त्र भए— यसको सारा जिम्मा उहाँलाई जान्छ ।
त्यसो त अनेकौं भाषासेवीले कलिलो नेपाली भाषालाई आकार दिन आआफ्ना दृष्टिकोण राख्तै आएका हुन् । पं.हेमराज, सूर्यविक्रम ज्ञवाली, महानन्द सापकोटा, तानासर्मा, चूडामणि रेग्मी, मुकुन्दशरण उपाध्याय— उहाँहरूका यसलाई यसो गरौं भन्ने तर्क छन् तर ती व्यक्तिगत प्रस्तावनामै सीमित छन् । मन पर्नेले अनुसरण गर्छन् पनि । मुकुन्दशरणज्यूको विशेष गरी विभक्ति छुट्याउने कर्म महान् स्रष्टा जगदीश शमशेरले पनि प्रयोग गरेको देखिन्छ । जस्तै ‘साहित्य सौगात’ को पृष्ठ ८१ मा केशवशरण लामिछानेको लेख छ : “शहीद, शहर, खुशी लगायत सबै आगन्तुक र तद्भव शब्दमा पातलो स र ह्रस्व गराइएको पनि उपाध्याय लाई चित्त बुझेको छैन । त्रिभुवन विश्वविद्यालय का प्राध्यापक र प्रज्ञा प्रतिष्ठान का प्राज्ञले गरेको तेस्तो निर्णयमा उपाध्याय को विमति रह्यो ।”
प्रा.बालकृष्ण पोखरेलले भन्नुभएको छ, ‘संस्कृत, अंग्रेजी तथा अन्य छिमेकी भाषाहरू नेपालीका थांग्रा (ट्रेलिस सपोर्ट) हुन् । तिनलाई नचलाउनुहोला ।’ हेमांग सरले ठूलो आँट गरेर त्यस थांग्रामा चढ्दै नेपाली भाषालाई तानेर लछारेर भुइँमा सुताइदिनुभो । यसरी उहाँले पुल काटेर नाम चलाउने हुनुभो । यो निरंकुशता तत्काल रोकौं । हामी पुरानामै जाऔं र नेपाली भाषा बचाऔं ।
साभार : अन्नपूर्ण पोस्ट, ८ असोज २०७३



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

