एक दिन दैत्यगुरु शुक्राचार्यकी प्रिय पुत्री देवयानी वनविहार गर्न भनेर गइन् । दुर्दैववश उनकी दासी बनेकी, दैत्यराज वृषपर्वाकी पुत्री शर्मिष्ठा पनि एक हजार दासीगण सहित उनका सेवामा उपस्थित थिइन् । ती सबै अनेक आनन्दमय क्रीडा गर्दै त्यो रमणीय वनमा रमाइरहेका थिए । त्यसै वेला नहुषपुत्र राजा ययाति त्यहाँ घुम्दै फिर्दै आइपुगे । उनले शर्मिष्ठासहित सहस्र दासीहरू द्वारा चरणसेवा गरिएकी, दिव्य सुन्दरी देवयानीलाई देखे । उनले सन्निकट आएर उत्सुकताका साथ तिनीसँग परिचय गर्न चाहे । देवयानीले आफू दैत्यगुरुकी छोरी देवयानी र सेवारता दैत्यराजकी छोरी शर्मिष्ठा अनि अरु सबै दासी भएको कुरा सगर्व कहिन् । देवयानीको जिज्ञासामा उनले पनि आफ्नो परिचय दिए र आफू शिकार खेल्दै यस रमणीय वनमा आइपुगेको पनि बताए । तिर्खा लागेकाले जलाशयको खोजी गर्दै यता आइपुगेको कुरा पनि भने । ती परमसुन्दरी देवयानीले राजा ययातिका सामू अत्यन्त विनम्रता र सुकुमार भङ्किमापूर्वक, समस्त दासीगणसहित मुख्य दासी शर्मिष्ठाका साथ आफू पनि उनको अधीन हुने कामना व्यक्त गरिन् । राजा ययातिलाई नै आजीवन एक असल साथी एवम् पूज्य पतिदेवका रूपमा वरण गर्ने अठोट पनि सुनाइन् ।
ययातिले भने : हे गुरुनन्दिनी, म तपाईंको योग्य छैन । किनभने म क्षत्रिय हुँ , तपाइँ ब्राह्मणकन्या । म यो दुःसाहस गर्न सक्दिनँ । ब्राह्मण क्रुद्ध विषधरसमान भयङ्गर हुन्छन् ।
देवयानीले भनिन् : हे राजन्! हजुरले नै इनारमा खसेकी मलाई हात समाएर उद्धार गर्नुभएको थियो । यसरी पहिले नै मेरो पाणिग्रहण गरिसकेको हुँदा हजुर बाहेक म अरु कसैलाई पनि पतिदेवका रूपमा वरण गर्न सक्दिनँ ।
ययातिले भने :
एकमाशीविषो हन्ति शस्त्रेणैकेन वध्यते ।
हन्ति विप्रः सराष्ट्राणि पुराण्यपि हि कोपितः ।। महाभारत आदि. ८२।२५
हे भद्रे ! विषधारी सर्पले त एक जनालाई मात्र मार्छ, शस्त्रले पनि एकै जनाको मात्र वध गर्दछ तर क्रोधित बनेको एउटै ब्राह्मणले समस्त नगर र सिंगो राष्ट्रलाई नै विनष्ट गर्न सक्दछ । तपाइँका पिता गुरु शुक्राचार्यको क्रोधको शिकार म हुन चाहन्नँ, मलाई माफ गर्नुहोस् ।
देवयानीले भनिन् : हजुर यस विषयमा निर्भय रहनुहोला, किनभने हजुरले मेरो याचना गर्नुभएको होइन, बरु मैले नै हजुरलाई पतिदेवका रूपमा कामना गरेकी हुँ । स्वयं मेरा पिताले स्वेच्छया कन्यादान गरेर हजुरलाई ज्वाइँ बनाउनुहुनेछ, एकै छिन पर्खनुहोस् ।
यति भनेर अटल आत्मबलकी स्वामिनी देवयानीले आफ्नी धाईआमालाई पिताका समीप पठाइन् । केही क्षणमै दैत्यगुरु शुक्राचार्य त्यहाँ उपस्थित भए । आफ्नी प्रिय पुत्रीको मनसुबा बुझेर उनले राजा ययातिलाई भने :
हे वीर नहुषनन्दन राजन् ! मेरी यी प्यारी छोरीले तपाईंलाई पतिका रूपमा वरण गरेकी छिन् । अब तपाईं यी मेरी कन्यालाई ग्रहण गर्नुहोस् र आफ्नी पटरानी बनाउनुहोस् । मैले आज्ञा दिएँ । यसमा तपाईंलाई कुनै पाप लाग्ने छैन । मेरी छोरीका साथ, यिनकी दासी बनेकी यी दैत्यराजपुत्री शर्मिष्ठा पनि एक हजार सेविकाहरूका साथ मैले तपाईंलाई समर्पण गरें । तर, यिनलाई चाहिं तपाइँले कहिल्यै पनि आफनो शय्यामा नलैजानुहोला ।
दैत्यगुरु शुक्राचार्यको अभयदान र आज्ञा पाएपछि, प्रसन्नताका साथ राजा ययातिले कन्याका पिता, अब आफ्ना पनि पितातुल्य परमतेजस्वी गुरु शुक्राचार्यको परिक्रमा गरे । शास्त्रोक्त विधिअनुसार देवयानी र ययातिका बीच हर्षोल्लासका साथ मङ्कलमय वैवाहिक विधि सुसम्पन्न भयो । परम पराक्रमी राजा ययाति अब परमरमणी प्रणयकामिनी पत्नी देवयानीका साथ उनकी दासी बन्न पुगेकी दैत्यराजपुत्री शर्मिष्ठा एवम् एक हजार सेविकाका पनि स्वामी बन्न पुगेका थिए ।
…..
राजा ययातिले देवयानीलाई आफ्नो अन्तःपुरमा प्रमुख स्थान दिए । देवयानीको अनुमति लिएर उनकी दासी शर्मिष्ठा र उनका एक हजार दासीगणका लागि एउटा छुट्टै महलको पनि व्यवस्था गरिदिए । प्रणयक्रीडा र खेल बहाड गर्दै उनीहरूका दिन बित्न थाले । यथासमय देवयानीका गर्भबाट एक पुत्ररत्नको जन्म भयो ।
उता दैत्यराजपुत्री शर्मिष्ठा पनि रजस्वला भइन् । यता आफ्नो यौवन यसै खेर गइरहेको, अनि उता देवयानीचाहिं पुत्रवती बनेर धन्य भएकी देखेर उनका मनमा औधी पीर पर्यो । त्यस रमणीय अशोकवनमा आफ्नो ऋतुकाल व्यर्थ गइरहेकामा चिन्तित एवं शोकग्रस्त हुँदै उनी सोच्न लागिन् :
यिनै महाराज ययातिले मलाई पनि गर्भवती तुल्याइदिए त म कति धन्य हुने थिएँ ।
दैवसंयोगवश तेसै बेला राजा ययाति पनि परिभ्रमण गर्दै त्यहीं आइपुगे । शर्मिष्ठाले प्रथमतः सुकोमल दृष्टिपातका साथ उनलाई सविनय प्रणाम गरिन् । अनि सप्रणय आफ्नो मनको बह कहँदै आफूसँग समागम गरी आफ्नो ऋतुकाललाई सफल तुल्याइदिन राजालाई विन्ती गरिन् । राजाले प्रणयवती शर्मिष्ठालाई गुरु शुक्राचार्यको आदेश सम्झाउँदै उहाँको आज्ञा उल्लङ्खन गरेर आफू यस पापकर्मको भागी हुन नसक्ने कुरा बताए ।
शर्मिष्ठाले भनिन् :
समावेतौ मतौ राजन् पतिः सख्याश्च यः पतिः ।
समं विवाहमित्याहुः सख्या मेSसि वृतः पतिः ।। महाभारत, आदि.८२।१९
हे राजन् ! आफ्ना पति र सखीका पति दुवै बराबर मानिएका छन् । सखीका विवाहका साथमा उनका सेवामा रहेका सबै कन्या र दासीहरूको पनि विवाह भएको मानिन्छ । मेरी सखी देवयानीले हजुरलाई पति बनाएकी छन्, यसको अर्थ हो – मेरो पति पनि हजुर नै हुनुभयो ।
त्रय एवाधना राजन् भार्या दासस्तथा सुत : ।
यत् ते समधिगच्छन्ति यस्यैते तस्य तद् धनम् ।।
देवयान्या भुजिष्यास्मि वश्या च तव भार्गवी ।
सा चाहं च त्वया राजन् भजनीये भजस्व माम् ।। तत्रैव–२२,२३
हे महाराज ! तीन व्यक्ति धनका अधिकारी हुँदैनन् : पत्नी, दास र पुत्र । यिनीहरूले जे धन प्राप्त गर्दछन् त्यो सबै उसकै हुन्छ जसका अधिकारमा यी रहेका हुन्छन् । अर्थात् पत्नीका धनमा पतिको, सेवकका धनमा स्वामीको र पुत्रका धनमा पिताको अधिकार हुन्छ । म देवायानीकी दासी हुँ, अनि देवयानी हजुरकी अधीन हुन् । हे राजन्, यी दुवैको भोग गर्ने अधिकार हजुरसँग सुरक्षित छ । त्यसैले बिन्ती छ, हजुर मलाई भोग गर्नुहोस् । मेरो गर्भमा वीर्यसेचन गरेर मलाई कृतार्थ तुल्याउनुहोस्† मेरो ऋतुकाललाई सफल बनाउनुहोस्† मेरो जीवन धन्य बनाउनुहोस्!
शर्मिष्ठाका यी युक्तियुक्त एवं मर्मस्पर्शी वाणी ययातिलाई अत्यन्त समुचित र रुचिकर प्रतीत भए । अनि उनले तिनलाई विधिवत् भार्याका रूपमा स्वीकार गरेर त्यही एकान्त वनमा ती परमसुन्दरी दैत्यराजपुत्री शर्मिष्ठासँग सन्तृप्तिकर समागम गरे । उनी गर्भवती भइन् । यथासमय उनले पनि एक देवपुत्रजस्तो सुन्दर छोरो जन्माइन् ।
….
एक दिन देवयानीले कतैबाट सुनिन् : शर्मिष्ठाले त कस्तो देवदूतजस्तो छोरो जन्माइछे नि !
उनी चिन्तित हुँदै हतारहतार शर्मिष्ठाको छेउमा गइन् र रिसाउँदै भनिन् : ए शर्मिष्ठे, तैंले कामलोलुप बनेर यो के पाप गरिस् हँ ?
शर्मिष्ठाले भनिन् : सखी! मैले एकान्त अशोकवनमा एकजना वेदवित् धर्मात्मा ऋषिलाई भेटेकी थिएँ, अनि ती यथेप्सित वरदाता ऋषिसँग मैले धर्मानुसार सम्भोगको याचना गरें । उहाँबाटै यो सन्तान पाएकी हुँ ।
देवयानीले फेरि सोधिन् : उनको नाम, गोत्र र कुलको परिचय चाहिँ के हो नि ?
शर्मिष्ठाले भनिन् : हे मधुर मुस्कानवाली प्यारी सखी! उहाँ सूर्यतुल्य प्रकाशले परिपूर्ण परमतेजस्वी तपोमूर्ति हुनुहुन्थ्यो, यी सबै कुरा सोधिरहने दुःसाहस मैले कसरी गर्न सक्थें र ?
देवयानीले भनिन् : ए ए, तेसो भए त ठीकै छ । तैंले ज्येष्ठ श्रेष्ठ ब्राह्मणबाट सन्तान पाइछस्, राम्रै भएछ ,अब मेरो रिस मर्यो ।
यसपछि ती दुवै सखी खितित्त हाँसे । देवयानीलाई पत्यार भयो । उनले ठानिन् : शर्मिष्ठाले ठीकै भनी ।
….
यसरी कालक्रममा देवयानीका गर्भबाट राजा ययातिका दुई पुत्र जन्मिए : यदु र तुर्वसु । ती इन्द्र र विष्णु जस्ता परमतेजस्वी एवं देवतुल्य प्रतीत हुन्थे ।
त्यसैगरी, उता शर्मिष्ठाबाट पनि कालक्रममै यथासमय क्रमशः यी तीन पुत्र जन्मिए : द्रुह्यु, अनु र पूरु ।
कालान्तरमा देवयानीपुत्र यदुबाट यदुवंशीय राजाहरूको सुविख्यात परम्परा कायम भयो । जसलाई यादव भनियो ।
उता शर्मिष्ठानन्दन पूरुबाट पूरुवंशीय राजाहरूको प्रख्यात वंशविस्तार भयो । तिनै राजाहरूको परम्परा नै पौरवका रूपमा चिनियो ।
महाभारतीय आख्यानका अनुरागी प्रिय बन्धु !
तिनै पूरुवंशीय पौरव राजाहरूको बृहत् आख्यान हो – महाभारत ।
…………….
२०८१ श्रावण १८ गते शुक्रवार ।
अक्षरालय । शुभमस्तु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।