(संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्ने ‘नियम’ मान्ने हो भने हाम्रो भाषा कहाँ पुग्छ ? हाम्रो लिपि कहाँ पुग्छ ? हामी कहाँ पुग्छौं ? प्रस्तुत छ एक दशक अघिको यो विचारोत्तेजक आलेख, जसले भाषाप्रेमीहरूको मन–मस्तिष्क रन्थन्याएको थियो र एउटा आन्दोलनलाई जन्म दिएको थियो । –सम्पादक ।)
…………………
“संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्ने विवेकहीन लहडबाजीले देवनागरी लिपिलाई घात गर्दै अन्ततः नेपाली भाषाको जरा काट्नेछ ।“
…………….
‘विद्या र बुद्धिको उद्देश्य द्वन्द्वको वृद्धि होइन ।’
तपाईंले यसरी लेख्तै आएको यो वाक्य आजभोलि अर्कै किसिमले लेख्न उर्दी जारी भएको छ– खास गरी विद्यालयहरूमा । सो बमोजिम यो वाक्य यसरी लेख्नुपर्छः
‘विद्या र बुद्धिको उद्देश्य द्वन्द्वको व्रिद्धि होइन ।’
तपाईंलाई लाग्ला– धत्, यस्तो पनि कहीं हुन्छ? कुन उटुंग्याहाको काम हो यो?
यो कुनै उटुंग्याहाको काम होइन । यो त राज्यले जारी गरेको उर्दीको करामत हो । यसले भन्छ– ‘संयुक्त’ अक्षरलाई संयुक्त रूपमा नलेख्नू । ‘असंयुक्त’ बनाउनू । जोडिएको अक्षर खुट्टा काटेर लेख्नू । शिक्षकले विद्यार्थीलाई यस्तै सिकाउनू । जसले यसरी लेख्तैन, त्यसलाई फेल गर्नू ।
तपाईं भन्नुहोला– किन ? संयुक्त अक्षरले के बिराए र तिनलाई भत्काउनुपर्यो ? करोडौं मानिसले पुस्तौं पुस्तादेखि लेख्तै आएका अक्षर एक्कासि भत्काइदिने अधिकार राज्यलाई कहाँबाट प्राप्त भयो ? अक्षर प्रयोगकर्तालाई पूर्वजहरूबाट अविच्छिन्न उत्तराधिकारका रूपमा प्राप्त स्थायी सम्पदा हुन् कि राज्यका अस्थायी चेकपोस्ट ? छँदाखाँदाका अक्षर बिगारेर, हेर्दै वितृष्णा लाग्ने खालको लेखाइ लादेर किन रोप्न खोजिएको हो अन्योल र अराजकताको बीउ ?
तपाईंका प्रश्न हामी सबैका हुन् । तर यिनको जवाफ कसैले दिएको छैन । दिन जरूरी पनि ठानेको छैन । न राज्य संयन्त्रले, न त पछाडि बसेर त्यसलाई अनधिकार–चेष्टा गर्न उक्साउने स्वघोषित भाषाधिकारीहरूले नै । उर्दी भनेकै यस्तै हुन्छ । त्यसले तपाईंलाई जवाफ दिन र चित्त बुझाउन जरूरी ठान्दैन । त्यसले त राज्यशक्तिको आडमा स्वेच्छाचारी तवरले ङ्याक्छ मात्र ।
अर्धसाक्षर महाकवि ?
ङ्याकेको उदाहरण खोज्न टाढा जानुपर्दैन । नवमुद्रित पाठ्यपुस्तकहरू हेर्नोस्– लेखनाथ, सम र देवकोटादेखि गोपालप्रसाद रिमाल र भूपि शेरचनसम्म, गुरुप्रसाद मैनालीदेखि पारिजातसम्म, सबै–सबैका रचनाबाट तिनले लेखेर गएका संयुक्त अक्षर भत्काइएको छ । मानौं हाम्रा सम्पूर्ण स्वनामधन्य साहित्यकार, जसले नेपाली वाङ्मयलाई यो उचाइ दिए, अर्धसाक्षर थिए र तिनले संयुक्त अक्षर लेखेर अक्षम्य गल्ती गरे । त्यसैले आजका ‘पूर्णसाक्षर’ सरकारी विद्वानहरू त्यो गल्ती सुधारिदिएर उनीहरूमाथि कृपा गर्न लागिपरेका छन् ।
राष्ट्रका बौद्धिक विभूतिहरूलाई त ङ्याक्न संकोच नमान्नेहरूले विद्यालय शिक्षकहरूलाई भुसुना सरह पनि नठान्दा के उदेक मान्नु ? हुन पनि, राज्ययन्त्रले उनीहरूलाई बौद्धिक व्यक्तित्व होइन, एउटा यान्त्रिक पुर्जा वा बढीभन्दा बढी हुलाकी ठानेको छ– जसको काम निर्धारित पाठ्यवस्तु निर्धारित ढाँचामा निर्धारित पात्रहरूमा हस्तान्तरित गर्नु मात्र हो । यस प्रक्रियामा शासकीय आदेशमाथि प्रश्न, असहमति वा बौद्धिक हस्तक्षेप गर्न सक्ने भूमिका तिनलाई दिइएकै छैन, न त तिनका ‘पेशागत’ संघ–संगठनले नै यो भूमिका दिलाउन पहल गर्नु जरूरी सम्झेका छन् । त्यसैले विद्यालय र त्यहाँका शिक्षक, मनमा जतिसुकै असहमति र ग्लानि बोकेर भए पनि, चूपचाप आदेश पालन गर्न बाध्य छन् ।
संयुक्त अक्षरका खुट्टा भाँच्ने यो उर्दी २०६९ साउन २३ गते नेपाल सरकारका ‘माननीय शिक्षा मन्त्रीको निर्णयबाट’ जारी भएको हो । यसले भद्दा लाई ‘भद्दा’, विद्या लाई ‘विद्या’ र उद्धार लाई ‘उद्धार’ लेख्नू भन्ने उदाहरण सहित (बुँदा नं. ५.२) संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्न आदेश मात्र दिएको छैन, ‘विद्यालयमा यसै अनुसार प्रयोग गर्नुपर्नेछ’ र ‘विद्यार्थीको लेखन पक्षको मूल्यांकन पनि यसै अनुसार हुनेछ’ भन्ने फरमान समेत जारी गरेको छ । उर्दी जारी गराउन उनीहरू नै सक्रिय थिए, जसले २०६८ पुस २८ गते ‘नेपाली भाषा सङ्गोष्ठी’ को नाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट “संयुक्त वर्णहरूलाई यथासम्भव हलन्त व्यञ्जनका साथ लेख्न प्रोत्साहित गर्ने । जस्तै रक्त, पद्य, विद्वान्, उद्देश्य, भक्ति, श्रृङ्खला आदि”, भन्ने निर्णय (१–घ) गराएका थिए । (यद्यपि त्यसरी लेख्न प्रज्ञा प्रतिष्ठान स्वयंले भने अस्वीकार गर्यो, नत्र उसको नाम आज ‘प्रग्याँ प्रतिष्ठान’ भइसकेको हुन्थ्यो !)
संयुक्त अक्षरः उभिन नसक्नेलाई सहारा
प्रश्न उठ्छः संयुक्त अक्षरलाई छुट्याएर, जोडिएको अक्षर खुट्टा काटेर लेख्ता के बिग्रन्छ त ? यसो गर्न किन नहुने ? सामान्य वर्णमालाले नै काम चलाउन सकिन्छ भने संयुक्त अक्षरको लेठो किन बेसाउने ? के नोक्सान छ आखिर, यसो गर्दा ? यो आलेख मूलतः यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास हो, जसको निष्कर्ष छ– यसरी लेख्न हुँदैन । किन भने, यो देवनागरी लिपिमा लेखिने नेपाली भाषाको प्रकृति विरुद्ध छ । यसले नेपाली भाषालाई घात गर्छ ।
देवनागरी वर्णमाला पढेका हामी सबैलाई थाहा भएकै कुरा हो– व्यञ्जन वर्ण ‘अर्धमात्रक’ अर्थात् आधा अक्षर मात्र हुन् । ती खुट्टा काटिएका हुन्छन् । एक्लै, आफ्नो मात्र भरमा उभिन सक्तैनन् । तिनलाई उभिन स्वर वर्णको सहायता चाहिन्छ । त्यही भएर वर्णमालामा समेत क–ख–ग–घ लेखिन्छ, यद्यपि ती क्–ख्–ग्–घ् हुन् । तिनमा अकार तिनलाई उभ्याउन, अड्याउन लगाइएको हो ।
वर्णहरू मिलेर शब्द बन्छन् । जब शब्दको प्रयोग हुन्छ, त्यसवेला ऊ गतिमान हुन्छ । हिंड्न थाल्छ । त्यसमा रहेका वर्णले पनि सँगसँगै हिंड्नुपर्छ । खुट्टा काटिएका, स्वरसँग नजोडिएका, एक्ला व्यञ्जन आफ्नो भरमा उभिन त सक्तैनन् भने हिंड्न सक्ने त झन् कुरै भएन । त्यसैले शब्दका बीचमा खुट्टा काटिएका अक्षर छुट्टै राख्न, लेख्न मिल्दैन । राखिंदैन । सकेसम्म राख्नुहुँदैन ।
देवनागरी लिपिको नियम वा प्रकृति नै हो– स्वरहीन वर्ण (व्यञ्जन) त्यसपछिको वर्णमा गएर जोडिन्छन् । अर्थात् तिनले उभिन अर्काको सहारा खोज्छन् । व्यञ्जन लगत्तै स्वर छ भने ऊ त्यसमा लपक्क टाँसिन्छ र क–का–कि–की को रूप धारण गरेर सग्लो अक्षर बनिहाल्छ । तर ऊ एक्लो छ र स्वरको ‘खुट्टा’ पाएको छैन भने आफूपछि आउने व्यञ्जनमा टाँसिन पुग्छ । जस्तै ‘भक्त’ मा ‘भ’ स्वरसँग मिलेर उभिएको छ तर ‘क्’ बेसहारा छ । त्यसैले ऊ त्यसपछि आउने ‘त’ मा टाँसिन पुगेको छ । ‘त’ स्वयं पनि स्वरसँग मिलेकाले मात्र उभिएको छ र त्यही स्वरका आधारमा ‘क्’ लाई सहारा दिन समर्थ भएको छ । उसलाई आफ्नो आधार प्रदान गरेर ‘क्त’ बन्न पुगेको छ ।
रमाइलो कुरा के भने, स्वरको खुट्टा प्राप्त गरेर उभिएको व्यञ्जनले (‘भक्त’ मा जस्तो) एउटा अर्को बेसहारा (हलन्त) व्यञ्जनलाई मात्र आधार दिंदैन, दुई वा त्यसभन्दा बढी व्यञ्जनलाई पनि सहारा दिन्छ । जस्तै, ‘सन्ध्या’ मा ‘या’ ले ‘न्’ र ‘ध्’ दुई बेसहारा व्यञ्जनलाई सहारा दिएको छ; ‘माहात्म्य’ मा ‘य’ ले ‘त्’ र ‘म्’ लाई आधार दिएको छ; ‘चन्द्र’ मा ‘र’ ले ‘न्’ र ‘द्’ लाई बोकेको छ । (यही देवनागरी लिपिमा लेखिने, संस्कृतमा ‘समग्र’ अर्थ बुझाउने कृत्स्न शब्दलाई भाववाचक बनाउँदा ‘कार्त्स्न्य’ शब्द बन्छ, जसमा ‘य’ ले ‘र्–त्–स्–न्’ थप चारवटा व्यञ्जनलाई वहन गरेको छ ।)
कहीं बोक्ने, कहीं डोर्याउने
यसरी बनेका अक्षर नै संयुक्त अक्षर हुन्, जसमा स्वरको खुट्टा हालेका (स्वरयुक्त) व्यञ्जनले अन्य (स्वरहीन) व्यञ्जनलाई दुई किसिमले हिंडाउँछन्– क. बोकेर, ख. भर दिएर वा डोर्याएर । बोक्ने सधैं तल हुन्छ, बोकिने सधैं माथि । यही ढाँचामा बनेका छन्— द्य, द्म, द्व, द्ध, त्त, प्त, ब्द, न्द्र, र्क, क्त, प्र आदि संयुक्त अक्षर । ध्यान दिएर हेर्नुभो भने देख्नु नै हुनेछ– यी सबैमा बोक्ने वा आधार दिने अक्षर तल छन्, बोकिने वा आधार प्राप्त गर्ने (हलन्त) अक्षर माथि । यसै क्रममा श्र, क्ष, त्र, ज्ञ र ॐ ले अझ विशिष्ट रूप प्राप्त गरेका छन् । भर दिएर वा डोर्याएर हिंडाउने ढाँचाका अक्षर चाहिं म्म, क्क, प्व, फ्न, ष्य, च्च, न्त, न्ध आदि हुन् । यिनमा पहिले आएका हलन्त व्यञ्जनलाई त्यसपछि आएका अक्षरले भर दिएको वा डोर्याएको सहजै देख्न सकिन्छ ।
यसप्रकार ‘खुट्टा काटिएका वर्ण एक्लै उभिन सक्तैनन् र तिनले आफू उभिन अनिवार्यतः त्यसपछिको वर्णको सहारा खोज्छन्’ भन्ने आधारभूत मान्यताकै कारण देवनागरी लिपिमा संयुक्त अक्षर बनेका हुन् । यद्यपि, संयुक्त अक्षर हुनुको कारण यति मात्र होइन । हाम्रा अक्षरका पछाडि तन्त्रदेखि सृष्टि–रहस्यसम्मका अनेकौं गूढ कुरा लुकेका छन्, जसको महत्ता र इयत्ता बुझ्न धेरै गहिराइमा डुबुल्की मार्नुपर्छ– शास्त्र र साधना दुवैका माध्यमबाट । र, देवनागरी रोमन (अंग्रेजी लिपि) जस्तो ‘वर्णात्मक’ होइन, ‘अक्षरात्मक’ लिपि हो । रोमनमा ‘ब’ भन्नुपर्दा व्यञ्जन र स्वर वर्ण बेग्लाबेग्लै (ba) लेखेर उच्चारण मात्र एकमुस्ट गरिन्छ । देवनागरीमा भने ब् र अ दुवै वर्ण मिलाएर एउटा अक्षर ‘ब’ बनाइन्छ; ‘ब’ लेखेर ‘ब’ नै उच्चारण गरिन्छ । (लेख्ता ‘बी–ए’, भन्दा ‘ब’– को घनचक्कर यसमा छैन ।) बाह्रखरी त्यही हो । संयुक्त अक्षर त्यसैका अनुक्रम हुन् । यिनको महत्त्व अक्षरभन्दा कम पटक्कै छैन, कहीं त अझ विशिष्ट छ । बेग्लै रूपाकार र डिजाइनका दृष्टिले पनि यिनको अर्थ र महत्ता छ । संयुक्त अक्षर मास्ने कदमले हाम्रो लिपिको अक्षरात्मक चरित्रमा आघात पार्छ; यसलाई वर्णात्मकतातिर धकेल्छ ।
संवेदनशील र लचिलो
खुट्टा काटेका वर्ण एक्लै उभिन सक्तैनन् भन्ने कुरामा नेपाली भाषा आफ्नो मातृभाषा संस्कृत भन्दा पनि बढी संवेदनशील देखिन्छ कहिलेकाहीं । त्यसैले, मूल संस्कृतमा अन्त्यमा खुट्टा काटेर लेखिने थुप्रै शब्दलाई समेत खुट्टा नकाटी लेख्न यसले सहज–स्वाभाविक मानेको छ । जस्तैः भगवान, श्रीमान, हनुमान, शक्तिमान, महान (अझ त्यसमा ‘ता’ थपेर ‘महानता’ पनि) आदि । अनुकरणात्मक शब्दका बीचबाट समेत खुट्टा काटिएको वर्ण हराउँदै गएको छ । तर, संवेदनशील भए पनि यो जडसूत्रवादी चाहिं छैन । त्यसैले कहीं कतै बढी असहज महसूस गर्दा, अपवादस्वरूप, शब्दका बीचमा खुट्टा काट्न पनि यसले संकोच गरेको छैन । जस्तैः खड्ग, उद्गार, उद्भव आदि । यति मात्र होइन, विद्या, पद्म आदि लेख्ने कसैको बानी छ भने त्यसमा पनि आपत्ति मान्नुपर्दैन; अनौपचारिक विकल्पका रूपमा त्यसलाई स्वीकार्न सकिन्छ, स्वीकारिएकै छ । अझ विद्यार्थीलाई संयुक्त अक्षर सिकाउँदा त ‘द्’ र ‘या’ मिलेर ‘द्या’ बन्छ भन्ने उदाहरण दिन ‘विद्+या’ लेखेर देखाइदिनैपर्छ । सहज–स्वाभाविक रूपले चल्ने यस्ता व्यवहारले कुनै समस्या खडा गर्दैनन्, न कुनै हानि नै गर्छन् । तर, जब संयुक्त अक्षरलाई छुट्याएर, खुट्टा काटेर मात्र लेख्नुपर्छ भन्न थालिन्छ, र त्यसरी नलेख्नु गल्ती हो भनेर ‘फेल’ गर्न थालिन्छ, त्यसले एउटा नियम र सिद्धान्तको रूप लिन्छ । राज्यशक्तिको आडमा जबर्जस्ती लादिने, भाषिक प्रकृति विपरीतको यस्तो जड नियम/ सिद्धान्तले भाषा र लिपिको लचिलोपन र स्वाभाविकता त समाप्त पार्छ नै, अवश्यम्भावी घातक दुष्परिणाम पनि निम्त्याउँछ ।
उदेकलाग्दा तर्क
केही गुरुहरूले तर्क गरेको सुनिन्छ– ‘विद्यार्थीलाई संयुक्त अक्षर कसैगरी सिकाउन सकिएन । यसरी लेख्ता संयुक्त अक्षरको झन्झटै समाप्त हुन्छ । हामीलाई सिकाउन सजिलो हुन्छ ।’ संयुक्त अक्षरको खुट्टा काट्ने ‘नियम’ लाद्नेहरूको मुख्य तर्क पनि यही हो क्यारे ! तिनलाई जवाफ दिन आजभन्दा १०५ वर्षअघि १९६८ सालमा लेखनाथ पौड्याल (कविशिरोमणि) ले लेखेको, केटाकेटीलाई वर्णमाला र अंक सिकाउने ३६ पेजी पुस्तक ‘शिशुबोधिनी’ (दोस्रो भाग, जसमा संयुक्त अक्षर लेख्न–पढ्न सिकाइएको छ) को भूमिकाका यी पंक्ति पर्याप्त होलान्– ‘एकचोटि, जोडेका अक्षरहरूको बालकलाई अभ्यास बस्यो भने, जस्तोसुकै संयुक्ताक्षर भए पनि बालकहरू लेख्न–पढ्न सक्ने सहज हुन्छन् ।’ र, आजभन्दा तीन वर्ष अघि प्रकाशित त्यसको पुनर्मुद्रित–संस्करणमा रहेको भूमिकात्मक टिप्पणीका यी वाक्य पनि– “यस्ता किताप र यो ‘विधि’ बाट पढाउनेहरू वा पढे–सिकेकाहरूले संयुक्ताक्षर लेख्न–लेखाउन नजानेको, असजिलो मानेको वा त्यसलाई घाँडो ठानेको कहिल्यै देखिएको छैन, न त सुन्न नै पाइएको छ । तिनीहरूले आजका प्राज्ञ–प्राडाहरूलाई ‘संयुक्ताक्षर पनि पढाउन सक्तैनौ भने के पढाउँछौ ए, तिमीहरू?’ भनेर सोधे भने के होला? ‘नाच्न नजान्नेले आँगन टेढो भन्नु त स्वाभाविकै हो, तर आँगनै भत्काउनुपर्छ भनेर बुल्डोजर चलाउन थाल्दा घर अडिएला कि नअडिएला भनेर सोच्नुपर्दैन?’ भनेको खण्डमा आजका गुरुहरूले के जवाफ देलान्?”
अझ केही प्राज्ञ–प्राडा चाहिं ‘कम्प्युटरमा संयुक्त अक्षर नहुने भएकाले यसो गर्नुपरेको’ तर्क गरिटोपल्न पनि हिचकिचाउँदैनन् । यस्तो तर्क गर्दा तिनलाई स्वयंप्रति भित्रभित्रै कुरीकुरी लाग्दो हो । पहिलो कुरा त, यसै लेखमा रहेका सबै संयुक्त अक्षर कम्प्युटरमै टाइप गरिएका हुन् । संयुक्त अक्षर कम्प्युटरमा हुँदैनन् भन्ने तर्क कति जायज छ भन्ने प्रश्नको एउटा उत्तर यही हो । अर्को कुरा, कम्प्युटर भनेको अति आज्ञाकारी यस्तो उपकरण हो, जसले तपाईं जे गर्न लगाउनुहुन्छ त्यही गरिदिन्छ । कुनै कम्प्युटर/प्रोग्राममा संयुक्त अक्षर छुटेका/छुटाइएका रहेछन् नै भने पनि तिनलाई समेट्न लगाए भैहाल्छ । त्यो कुनै समस्या नै होइन । जापानी र चिनियाँ भाषाका अत्यन्त जटिल अक्षर त कम्प्युटरमा समेटिएका छन् भने हाम्रा संयुक्त अक्षर नसमेटिने कुरै आउँदैन । कुकुरले पो पुच्छर हल्लाउँछ, पुच्छरले कुकुर हल्लाउने हो र ?
यस्तै लेख्ने त ?
यो कुरा अहिले झ्वाट्ट हेर्दा सानो र सामान्य देखिन सक्छ । नियम लाद्नेहरूले पनि, पहिलो चरणमा, ङ्याक्न सकिने ठाउँमा खुट्टा काट्ने (जस्तो– विद्या, बुद्ध, शक्ति) र ङ्याक्न ह्याउ नपुग्ने ठाउँमा खुट्टा नकाट्ने (जस्तो– राष्ट्रपति, प्रधानमन्त्री) बाटो पक्रेका छन् । तर, हाम्रो लेख्यभाषा/लिपिको चरित्रलाई बिर्सेर संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्ने सिद्धान्त अपनाउने हो भने, दोस्रो चरणमा, सबै संयुक्त अक्षरमा यो नियम लागू गर्नुपर्ने हुन्छ । त्यसवेला यी शब्दहरू यसरी लेखिनेछन्ः
श्रेष्ठ——————श्रेष्ठ
स्वास्थ्यकेन्द्र———-स्वास्थ्यकेन्द्र
मत्स्येन्द्रनाथ———-मत्स्येन्द्रनाथ
कम्प्युटर————–कम्प्युटर
कम्युनिस्ट————-कम्युनिस्ट
रिसर्च सेन्टर———–रिसर्च सेन्टर
ल्यांग्वेज इन्स्टिच्यूट—ल्याङ्ग्वेज इन्स्टिच्यूट
हामी आजभोलि लेख्छौं–
‘सृष्टि लिम्बू र प्रद्युम्न कार्कीले अग्रगण्य शब्दको अर्थ भन्न नसक्ता स्कूलका सम्पूर्ण छात्रछात्राले आश्चर्य माने ।’
त्यसवेला यो वाक्य यसरी लेखिनेछः
‘स्रिष्टि लिम्बू र प्रद्युम्न कार्कीले अग्रगण्य शब्दको अर्थ भन्न नसक्ता स्कूलका सम्पूर्ण छात्रछात्राले आश्चर्य माने ।’
आज संयुक्त अक्षरमा खुट्टा काट्ने नियम/ सिद्धान्त स्वीकारेपछि भोलि यस्तो लेखाइ अस्वीकार गर्ने ठाउँ नै रहँदैन । हामी यस्तै लेखाइतिर जान चाहेको हो त ?
कि यता लाग्ने ?
कुरो यतिमा टुंगिंदैन । यो चरण पूरा भएपछि, तेस्रो चरणमा तर्क आउनेछ– क–ख–ग–घ/क–का–कि–की पनि त व्यञ्जन वर्ण स्वरसँग जोडिएर बनेकाले एक प्रकारका संयुक्त अक्षर नै हुन् नि । संयुक्त अक्षरलाई छुट्याउने भएपछि यिनलाई चाहिं किन जोडेर लेख्ने ? रोमनमा जस्तो बेग्लाबेग्लै लेखौं, झन् ‘सजिलो’ हुन्छ । संयुक्त अक्षर मात्र होइन, बाह्रखरी नै पनि पढ्ने झन्झटबाट मुक्ति पाइन्छ ।
त्यो तर्क अनुसार, माथि उल्लिखित शब्दहरू यसरी लेख्नुपर्ने हुन्छः
श्रेष्ठ——————–श्र्एष्ठ्अ
स्वास्थ्यकेन्द्र————स्व्आस्थ्य्अक्एन्द्र्अ
मत्स्येन्द्रनाथ————म्अत्स्य्एन्द्र्अन्आथ्अ
कम्प्युटर—————-क्अम् प् य्उट्अर्अ
कम्युनिस्ट—————क्अम्य्उन्इस्ट्अ
रिसर्च सेन्टर————-र्इस्अर्च्अ स्एन्ट्अर्अ
ल्यांग्वेज इन्स्टिच्यूट—–ल्य्आङ्ग्व्एज्अ इन्स्ट्इच्य्ऊट्
अनि, ‘सृष्टि लिम्बू र प्रद्युम्न कार्कीले…’ वाक्यको सम्भावित रूप पनि हेरिहाल्नोस्–
‘स्र्इष्ट्इ ल्इम्ब्ऊ र्अ प्र्अद्य्उम्न्अ क्आर्क्ईल्ए अग्र्अग्अण्य्अ श्अब्द्अक्ओ अर्थ्अ भ्अन्न्अ न्अस्अक्त्आ स्क्ऊल्अक्आ स्अम्प्ऊर्ण्अ छ्आत्र्अछ्आत्र्आल्ए आश्च्अर्य्अ म्आन्ए।’
तर, यो चरण/चलन शुरू हुन नपाउँदै यसको घोर विरोध हुनेछ । मानिसले भन्नेछन्– यो त अति नै हुन्छ । लेखाइ एकदमै विरूप हुन्छ । पढ्नै नसकिने । त्यसवेला ‘सजिलोवाद’ का प्रवर्द्धकहरूले सजिलै भन्नेछन्— ‘त्यसो भए बरु रोमन लिपिमै लेखौं । संसारका अरू पनि थुप्रै देशले यसो गरेका छन् । लिपि बदलिएर के हुन्छ, भाषा त जस्ताको तस्तै रहिहाल्छ नि !’
यस प्रस्तावका पक्षमा थप तर्क यस्ता हुनेछन्ः
– पढ्न–लेख्न सजिलो हुनेछ ।
– यसै पनि उसै पनि रोमन लिपि सिक्नैपर्छ । सिकिरहेकै छौं । थप देवनागरी सिक्नुपर्ने झन्झटबाट सदाका लागि मुक्त भइनेछ ।
– संसारभरिका मानिसले हामीले लेखेको पढ्न सक्नेछन्, अनायास विश्वव्यापी भइनेछ ।
अन्तिम प्रहार
त्यसवेला यो तर्क अस्वीकार गर्न सक्ने स्थिति बाँकी रहनेछैन । त्यतिवेला यो काम फत्ते गराउन बाह्यशक्ति र पैसाले पर्दाबाहिरै आएर, प्रत्यक्ष र खुला रूपमै निर्णायक भूमिका खेल्नेछ । लिपि जोगाउनुपर्छ भन्ने आवाज प्रतिगामी ठहरिनेछ र हामी आफ्नै आँखासामु आफ्नो लिपिलाई आर्यघाट पठाइएको घोषणा टेलिभिजनको प्रत्यक्ष प्रसारण मार्फत सुन्न–हेर्न बाध्य हुनेछौं । ‘सजिलोवादी’ र ‘संयुक्ताक्षर–उन्मूलनवादी’ हरूले त त्यसवेला विजय–उत्सव मनाउलान्, तर देवनागरी लिपिमा लेखिने नेपाली भाषा सदाका लागि समाप्त हुनेछ ।
अनि नेपाली भाषा यसरी लेखिन थाल्नेछः
– Hami Nepali haum.
– Nepali Hamro bhasha ho.
– Hamilai Nepali bhashama garba chha.
– Srishti Limboo ra Pradyumna Karkile agraganya shabdako artha bhanna nasakta schoolka sampurna chhatrachhatrale ashcharya mane.
आज यो कुरा सुन्दा अनौठो लाग्ला । अतिरञ्जित कल्पना जस्तो । तर, एक–डेढ दशक अघिसम्म कल्पनै नगरिएका, हामीले कहिल्यै नचाहेका कैयौं कुरा हाम्रै नामबाट आज हामीमाथि जसरी थोपरिएका छन्, त्यसतर्फ विचार गर्दा आज सामान्य जस्तो लाग्ने वितण्डाले भोलि यो दुर्गति निम्त्याउने अवश्यम्भावी देखिन्छ । हिज्जेका नाममा अराजकता मच्चाएर र राष्ट्रिय भाषाहरूबाट नेपालीमा आएका शब्दहरूको हिज्जे तोडमरोड गरेर हिमाल–पहाड–तराईका विभिन्न समुदायको मनमा जसरी चोट पुर्याइँदैछ र त्यसमार्फत नेपाली भाषा विरुद्ध जसरी घृणाको बीउ रोपिंदैछ, त्यसले पनि यसमा विस्फोटक भूमिका खेल्न सक्छ । कुनै पनि जातिलाई परास्त गर्न त्यसको धर्म, संस्कृति र भाषालाई समाप्त गर्नुपर्छ भन्ने अनुभवसिद्ध रणनीति अन्तर्गत आज पर्दा पछाडिबाट काम गरिरहेकाहरूले त यो मौका गुमाउनेछैनन् नै ।
अन्त्यमा
संयुक्त अक्षर हाम्रा विशिष्ट सम्पदा हुन् । पूर्वजहरूबाट प्राप्त हुँदै आएका जीवन्त र अमूल्य सम्पदा । यिनको खुट्टा काट्ने उर्दी नेपाली भाषाको जरा काट्ने उपक्रम हो । शुरूमै यसलाई अस्वीकार गरेनौं भने सिद्धान्तको रूप ग्रहण गरेर यसले हाम्रै आँखासामु नेपाली भाषाको धरहरा ढाल्नेछ । डेढ–दुई सय वर्ष पुरानो भौतिक संरचनालाई त राष्ट्रिय सम्पदा मानिन्छ र त्यसलाई भत्काउने अधिकार कसैलाई हुँदैन भने यिनलाई भत्काउने अधिकार कसैलाई कसरी प्राप्त हुन सक्छ ?
साभार : शिक्षक मासिक, २०७३ जेठ
साथै, नेपालखबर अनलाइन
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।