“असंख्य पाठ्यपुस्तक र अनेकौं शब्दकोशहरू धमाधम प्रकाशित भए— मनपरी हिज्जे प्रयोग गरेर । यसरी नोक्सान गरिएको अरबौं रुपैयाँ राजस्वको ‘भूलचूक, लेनीदेनी’ को हिसाब देशको अदालत र जनताले माग्ने नै छ । तर, सामान्य पाठक र लेखकले पटक–पटक कहिले मन्त्रालयको आदेश, कहिले अदालतको फैसलाले भोगिरहनुपर्ने मानसिक यातनाको हर्जाना कसले दिने ?”

“म पाठकसँगै एउटा सामान्य लेखक पनि हुँ । शिक्षा मन्त्रालयको आदेश पालन मैले गर्नु के अपराध थियो ? मैले लेखेका पुस्तकहरूको भाषा भावी पुस्ताका लागि मेरो मूर्खताको हास्यास्पद प्रमाण किन बनाइयो ? यस्ता प्रश्नहरूले म स्वयं रन्थनिएको छु ।”

“बालकृष्ण गुरु एक छिन चूप लागेर मसँग भन्नुभएको सम्झन्छु— भाइ, विचारको फाँटमा पनि भूलचूक, लेनीदेनी हुँदोरहेछ । नेपाली भाषाको वर्णविन्यास सम्बन्धी मेरा विचारमा पनि केही भूलचूक लेनीदेनी भएका रहेछन् । यस भेलामा म मेरा विचारलाई सच्याउँछु र माफी माग्छु ।”

…………………

भाषामा हुने स्वाभाविक गतिशीलता भाषाको अबाध्य वैशिष्ट्य भए पनि सहज भाषिक सम्प्रेषणीयता र बोधगम्यताका लागि भाषाको एउटा सर्वमान्य मानक स्वरूप किंवा मानक व्याकरण र शुद्ध–सुनिश्चित वर्णविन्यासको अपरिहार्यतालाई अस्वीकार गर्न सकिन्न । नेपालमा बोलिने सवा सयभन्दा बढी भाषामध्ये साझा सम्पर्क भाषाको रूपमा नेपाली भाषा नै रहेको अवस्थामा नेपाली भाषाको एउटा मानक स्वरूप कायम रहनु अनिवार्य हुन्छ । तर, दुर्भाग्यवश विगतका केही दशकहरूदेखि नेपाली भाषा र साहित्यलाई क्रिकेटको मैदान बनाइयो, जहाँ आत्मरतिमा लीन स्वघोषित कप्तानहरूले आ–आफ्नै टीम र खेल–नियम बनाएर मनपरी चौका र छक्का हान्दै हुल्लडबाजी मच्चाइराखे ।

हाम्रो सभ्यता र संस्कृतिको विकासको आधारशिलाको रूपमा रहेको तीन कोटि नेपालीको साझा भाषाको व्याकरणलाई जसले पायो उसैले कन्दुक ठानी लात्ती हान्दा, नेपाली मुटु छियाछिया भएको अवस्थामा २०६८ चैत्रमा मित्र शरच्चन्द्र वस्तीको एउटा लेख ‘कान्तिपुर’ मा प्रकाशित भयो— ‘हिज्जेको खेल, लेख्ने जति फेल ।’ त्यो हामीमध्ये धेरैको सोचको अभिव्यक्ति थियो । लगत्तै अनन्य भाषासेवी, श्रद्धेय, कीर्तिशेष कमलमणि दीक्षितको फोनपछि फोन आउन थाले । उहाँले नेपाली भाषाको वर्तनीबारे गम्भीर अन्तर्संवादको आयोजनको आवश्यकता अनुभव गर्नुभएको थियो । मित्र वस्तीज्यूसित म निरन्तर संवादमा थिएँ ।

यसैबीच, छोरीसित भेट्न विराटनगर आएको थिएँ । प्रसिद्ध भाषाशास्त्री प्रो.बालकृष्ण पोखरेल गुरु स्नेहवश मलाई भेट्न आउनुभएको थियो । वार्तालापको क्रममा गुरुले अमर भाषासेवी दीक्षितज्यू, वस्तीज्यू आदिले ललितपुरमा भाषाको हिज्जे सम्बन्धी अन्तःक्रियाका लागि आयोजना गरेका विशेषज्ञ भेलामा सहभागी हुन सुझाउ दिनुभयो । यस सम्बन्धी घोषणापत्र (नेकशुले–२०६९) जारी हुने कुरा पनि सुनाउनुभयो । गुरु एक छिन चूप लागेर मसँग भन्नुभएको सम्झन्छु— ‘भाइ, विचारको फाँटमा पनि भूलचूक, लेनीदेनी हुँदोरहेछ । नेपाली भाषाको वर्णविन्यास सम्बन्धी मेरा विचारमा पनि केही भूलचूक लेनीदेनी भएका रहेछन् । यस भेलामा म मेरा विचारलाई सच्याउँछु र माफी माग्छु ।’ पछि परिस्थितिवश, यस भेलामा सहभागी हुन नसके पनि प्रिय वस्तीज्यूको सौजन्यले नेकशुले–२०६९ चाहिं पढ्ने सौभाग्य पाएँ । नेपाली वर्तनीले एउटा स्थिर मानक स्वरूप ग्रहण गरेको अनुभव गरें र प्रसन्न भएँ । तर, दुर्भाग्यवश भाषा–साहित्यको मैदानमा निरन्तर चल्ने वर्णविन्यासको यो कन्दुक–क्रीडा रोकिएन । खेलको मैदानमा आत्मरतिमा रत स्वघोषित कप्तानहरूको मनमानी सिट्ठीफुकाइले कान मात्र होइन, दिमाग पनि खाइराख्यो ।

केही समय पश्चात् म व्यक्तिगत कामले काठमाण्डौ गएको थिएँ, तर यस यात्राले मानक शब्दकोश निर्माणबारे एउटा ऐतिहासिक, गम्भीर र अविस्मरणीय चिन्तनसत्रको आयोजन गर्ने मंगलमुहूर्त जुरायो । सहभागी मात्र तीन जना थियौं— अभिभावक कमलमणि, मित्र वस्तीज्यू र म । वर्तनीको मानक रूप निर्धारण गरी नेकशुले–२०६९ बनिसकेकाले तदनुरूप मानक समावेशी नेपाली शब्दकोशको निर्माण र प्रकाशन गर्ने सहमतिमा पुगेर हामी घर फर्कियौं । शब्दकोश निर्माण सम्बन्धी हाम्रो योजनाबारे मैले डा.माधव पोखरेल लगायतका विद्वानसँग विमर्श थालें ।

भोलिपल्ट शब्दऋषि आदरणीय चूडामणि गौतम र भाषाविद् तथा चिन्तक मित्र शरच्चन्द्र वस्तीको आगमन मेरो डेरामा हुँदा म उत्फुल्ल भएँ । स्वतःस्फूर्त रूपमा यस अभियानमा सक्रिय सहयोग गर्ने र समावेशी शब्दकोशको निर्माण गर्ने शिवसंकल्प दोहोर्‍याउनुहुने हाम्रा मनीषीका आप्तवचनले हामी थप ऊर्जस्वित भयौं । यसपछि आएका आदरणीय चूडामणि गौतमका अनेक कोशग्रन्थहरू कोसेढुङ्गा सिद्ध भएका छन् । ‘बृहत्तर नेपाली शब्दकोश’ नेपालीको अभूतपूर्व र अमर कीर्ति हो ।

सम्मानित सर्वोच्च अदालतले गत असार ९ गते गरेको फैसलाद्वारा कुनै पनि सरकारी निकायमा नेपाली भाषाको वर्णविन्यास–व्यवस्था र व्याकरणमा परिवर्तन गर्ने अधिकार नरहेको कुरा स्पष्ट गरिसकेको छ । यस फैसलाबाट २०६९ साउन २२ गतेका दिन तत्कालीन शिक्षामन्त्रीले गरेको परम्परागत वर्णविन्यासमा परिवर्तनको निर्णय स्वतः निस्तेज भएको छ र नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय नेपाली विभाग, पाठ्यक्रम विकास केन्द्र तथा शिक्षा मन्त्रालय— यी चारवटै किटान गरिएका निकायले नेपाली भाषा र वर्णविन्यासमा अख्तियारको दुरुपयोग गरी कानूनले नदिएको काम गरेको स्पष्ट भएको छ । यसप्रकार, विगत दुई दशकमा सरकारी निकायबाट जारी गरिएका लिखतको भाषा, पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित पाठ्यपुस्तकको भाषा, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित शब्दकोश र अन्य अनेक ग्रन्थहरूका ठेलीहरूको भाषा, त्रिभुवन विश्वविद्यालय– नेपाली विभागले स्वीकृत गरेका अनुसन्धान लगायत अन्य थुप्रै प्रकाशनको भाषा, निजी क्षेत्रबाट दैनिक जीवनमा प्रयुक्त हुँदै आएको दुई दशकदेखिको भाषा लगायत सम्पूर्ण पत्र–पत्रिकाको भाषा मानकताको दृष्टिले अमान्य हुन पुगेको छ ।

यो १२ वर्षको अवधिमा, नेपाली जनताको रगतका थोपाथोपाले थुपारिएको राजकोषको रकमले असंख्य पाठ्यपुस्तक र अनेकौं शब्दकोशहरू धमाधम प्रकाशित भए— मनपरी हिज्जे प्रयोग गरेर । यसरी नोक्सान गरिएको अरबौं रुपैयाँको ‘भूलचूक, लेनीदेनी’ को हिसाब देशको अदालत र जनताले माग्ने नै छ । प्रकाशन गरिएका लाखौं प्रति पाठ्यपुस्तक, अनेक शब्दकोश र अन्य थुप्रै ग्रन्थहरू ‘कूडादान’ मा फालिने अवस्थाको सिर्जना गर्ने सरकारी तथा अर्धसरकारी निकायहरूले सजायँ के–कति पाउने हुन् भन्ने कुरा अदालत र जनतामा भर परे पनि सामान्य पाठक र लेखकले पटक–पटक कहिले मन्त्रालयको आदेश, कहिले अदालतको फैसलाले भोगिरहनुपर्ने मानसिक यातनाको हर्जाना कसले दिने ?

म पाठकसँगै एउटा सामान्य लेखक पनि हुँ । शिक्षा मन्त्रालयको आदेश पालन मैले गर्नु के अपराध थियो ? मैले लेखेका पुस्तकहरूको भाषा भावी पुस्ताका लागि मेरो मूर्खताको हास्यास्पद प्रमाण किन बनाइयो ? यस्ता प्रश्नहरूले म स्वयं रन्थनिएको छु ।

स्कूल र क्याम्पसमा पढ्दा एउटा वर्तनी, पढाउँदा अर्कै वर्तनी, झर्रोवादी आन्दोलनपछि बेग्लै वर्तनी, पद–पदावली र शैली । २०६९ सालमा शिक्षा मन्त्रालयले मेरो भाषामा परिवर्तन गरी फेरि अर्को अन्योल थपिदियो । यसैबीच ‘ललितपुर घोषणापत्र’ आयो र शतप्रायः दिग्गजहरूबाट भाषाको मानक रूपको निर्धारण गरी ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ (नेकशुले–२०६९) जारी भयो । उता, सरकारी र अर्द्धसरकारी निकायले विकृत वर्णविन्यासकै अभ्यास गरिरहे । यसबीच नेपालको संविधान (२०७२) ले परम्परागत, शुद्ध वर्णविन्यासको प्रयोग गरी त्यसको मानकतालाई फेरि स्वीकृति दियो । हामी कुइराको काग ! कुन भाषिक नियमलाई पछ्याउँदा हाम्रा विद्यार्थी फेल हुँदैनन् भन्ने पीडादायक द्विविधा कायमै रह्यो । भाषिक आन्दोलनका अनेक खेमा देखिए । अनेक स्वघोषित नाइके देखिए । विद्यार्थीको उत्तरपुस्तिका परीक्षणका लागि कुन खेमाका शिक्षकको हातमा पर्ला, त्यो कुन ज्योतिषीले भन्न सक्थ्यो ?

अहिले फेरि नेकशुले–२०६९ ले अदालतद्वारा समर्थन पाएको छ । सम्मानित सर्वोच्च अदालतद्वारा गरिएको फैसला ‘नेकशुले–२०६९’ को मर्म र भावना अनुरूप छ । यो अत्यन्तै स्वागतयोग्य छ । तीन करोड नेपालीको साझा भाषाको यस मानक रूपको निर्धारणमा ऐतिहासिक योगदान दिनुहुने आदरणीय अधिवक्ताज्यूहरूको पसिना र विवेकलाई सलाम गर्दछु । नेपाली लेखक, पाठक, शिक्षक, प्रशासक र सामान्य जनताले माननीय अदालतको फैसलाको सम्मान गर्नु राष्ट्रहितमा छ । फैसलाको अपमान अदालतको मात्र अपमान होइन, राष्ट्रको अपमान र राष्ट्रघात हो ।

सोच्छु, अब त मैदानमा बल अड्काउने दुस्साहस कसैले गर्दैन होला । आत्मरतिमा लीन स्वघोषित कप्तानहरूले मनपरी चौका र छक्का हान्दै हुल्लडबाजी मच्चाएको दृश्य देख्नुपर्दैन होला । अब वर्षौंदेखिको यातनाको अन्त्य हुनैपर्दछ । हामी सबैको प्यारो नेपाली भाषाले उन्मुक्त भएर आफ्नो स्वाभाविक गतिमा अघि बढ्न पाउनैपर्दछ । मलाई ‘खुशी’ लागेको छ, अब ‘विद्वान’ राधाप्रसाद ‘खाँण’ आफ्नो ‘ण’ सहित ‘कर्णाली’ बाट काठमाडौं ‘शहर’ आई पशुपतिनाथमा ‘फुल’ होइन, ‘फूल’ चढाई प्रसाद खान पाउनुहुनेछ !

विराटनगर ।