नेपाली भाषा, साहित्य र संस्कृतिको भाषिक शैलीलाई बिगार्ने रबैयाका विरुद्ध सर्वोच्च अदालतले बाह्र वर्षपछि सही निर्णय गरिदिएको छ । नेपाली व्याकरणको नियम फेर्न अधिकार कसैको पनि नभएको ठहर गरेको समाचारसँगै यस विषयमा संलग्न भाषाप्रेमीहरूलाई अपार हर्ष लागेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्र, त्रिविवि र सरकारलाई यस फैसलापछि नेपाली भाषाको वर्णविन्यासका ध्वंशीहरूमा ठूलै झापड परेको हुनुपर्छ ।

हाम्रा स्वनामधन्य स्रष्टाहरूले प्रयोग गर्दै आएको शिष्ट परम्परामा आधारित वर्णविन्यास ध्वंश पारेर भाषा भँडुवाको काम गर्न स्वयं भाषासम्बद्ध सरकारी निकायहरू नै लागिपरेका थिए । तिनका भाँडभैलो विरुद्ध २०६९ सालमा स्रष्टाहरूले नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) अभियान थालेका थिए । सो अभियानमा क्रमशः बालकृष्ण पोखरेल, तारानाथ शर्मा, कृष्णप्रसाद पराजुली, प्रा.डा. कुमारबहादुर जोशी, कमल दीक्षित, चूडामणि गौतम, बलदेव गाउँले, शरच्चन्द्र वस्ती, जगदीश घिमिरे, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, उहाँहरूको सशक्त सहभागिता रहेको थियो ।

यसरी नेकशुले अभियान थालिएको दिव्य १२ वर्षमा सर्वोच्चको यस्तो सुखद फैसला आएकोछ । अब सर्वोच्चको फैसला अनुसार सम्बद्घ संस्थाहरू र विकृत वर्णविन्यास प्रयोग गरिरहेका सञ्चार माध्यमहरूले आफूलाई सच्याउँछन् कि सच्याउँदैनन् हेर्न बाँकी छ । सर्वोच्चको यस्तो न्यायोचित फैसलाप्रति पूर्ण समर्थन गर्नु नेपाली भाषा प्रेमी सबैको कर्तव्य हुन आउँछ ! जय नेपाली भाषा !

यसैबीच चूडामणि गौतमको सम्पादनमा ‘वर्णविन्यासघातीहरू कानूनको कठघरामा’ शीर्षकको कृति प्रथम संस्करण २०७४ सालमै प्रकाशित भएको सन्दर्भ यहाँ उल्लेखनीय हुन्छ । सो कृतिले पनि नेपाली भाषा–व्याकरणको शुद्धिकरण अभियानमा सकारात्मक भूमिका खेलेको कुरा यहाँ स्मरणीय हुन आउँछ ।

नेपाली भाषामा आएको विकृति र अन्यौलले आज धेरै अस्पष्टता उत्पन्न गराएको छ । भाषाका विज्ञहरूबाटै निर्णय गराइएका र लेखिएका सामग्रीहरू भाषिक अशुद्धताले भरिभराउ भएको पाइनु दुर्भाग्य हो । सामान्य गल्तीलाई क्षम्य मान्न सकिए तापनि कतिपय शब्द नेपाली भाषाका किताब, पाठ्यक्रम आदिमा लिपिबद्ध भई ती आधिकारिक रूपमा शुद्ध स्वरूपमा लेखिँदै आएको हो । पढिंदै–पढाउँदै, बुझ्दै–बुझाउँदै र लेख्दै–लेखिंदै आएको सन्दर्भ तत्कालको होइन ।

एक प्रकारले शब्दहरूको संरचनामा शुद्धताको ज्ञान सानै कक्षादेखि प्रारम्भ भएको हो । तर अहिलेका नेपाली भाषाका पाठ्यक्रमहरूमा भाषिक विचलनका बग्रेल्ती विवरण पानैपिच्छे भेटिन्छन् । कतिसम्म भने एउटै पानामा दुई थरि अर्थ दिने शब्द प्रकाशित छन् । ह्रस्व, दीर्घको बेवास्ता तथा छुट्याउने र जोड्ने शब्दको एकरूपता पनि पाइँदैन । बालबालिकाहरूको कलिलो मस्तिष्कमा यसले पार्ने प्रभाव निश्चय नै राम्रो हुन सक्दैन ।

अधिकांश विषय अंग्रेजी भाषामा पढ्दै र लेख्दै आइरहेका विद्यार्थीहरूका लागि नेपाली भाषा र वर्णविन्यासका नियम निकै कठिनको लाग्छ । त्यस माथि जथाभावी प्रयोग गरिएको विकृत वर्णविन्यासले सही कुरा छुट्याउन सक्दैन । केही सिकौं, बुझौं, पढौं र लेखौं भन्ने पुस्ता मात्र होइन कि सिक्नै पर्ने, बुझ्नै पर्ने, पढ्नै पर्ने र लेख्नै पर्ने विद्यार्थीवर्ग यसबाट कति प्रताडित होलान् ? अनुमान गर्न सकिन्छ ।

यस्तो भाषिक विचलनले ती अंग्रेजी माध्यमबाट मात्र होइन नेपाली माध्यमबाटै पढेका विद्यार्थीहरू समेत तत्पश्चात् तर्सिने मनस्थितिका हुनु अस्वाभाविक होइन । यस स्थितिमा अन्यौलपूर्ण भाषाका सन्दर्भ–सामग्रीहरूको अध्ययन–अध्यापनले थप अन्यौल सिर्जना नगर्ला भन्न सकिंदैन । भकाभक भइरहेको छ ।

यही कारण कति विद्यार्थीहरू आफ्नै मातृभाषा नेपालीमा कम अङ्क ल्याई अनुत्तीर्ण भएका छन् । अनि तिनलाई नेपाली भाषा भनेपछि मोह भङ्गको अवस्था समेत आएको पाउन सकिन्छ । त्यसैले भताभुङ्ग भाषिक संरचना वा भद्रगोल व्याकरण हुँदा तिनको सिकाइ प्रक्रिया सफल हुन्छ भन्न सकिँदैन । खासगरी पाठ्यपुस्तकहरूमा शुद्ध वर्णविन्यास वा भाषिक एकरूपताका साथै सरल र मीठो भाषाशैलीले सकारात्मक सन्देश दिन्छ ।

यद्यपि यसमा दुःखको कुरा वा चासो र चिन्ताको विषय के पनि हो भने पाठ्यक्रम विकास केन्द्रले सम्बन्धित भाषाविज्ञहरूको विद्वत् समूहकै सम्पादन मण्डलमा किताबहरू प्रकाशन गराउँदै आइरहेको छ ।

समय–समयमा पाठ्यक्रम परिमार्जन गरी प्रकाशन गरिएको भनिएको पनि देखिन्छ । यसरी एउटा किताब कैयौं संस्करणमा छापिएका छन् । तथापि विद्वानहरूको नामावली र परिमार्जन गरिएको भनिए सँगै पाठहरू हेर्दा वर्णविन्यासको कहालीलाग्दो प्रयोग प्रशस्तै भेटिन्छ । यसले सामान्य भाषाप्रेमीलाई पनि दुःखी बनाउँछ र त्यसले चित्त दुखाउँछ ।

हुन त विकृत वर्णविन्यास विरुद्ध शुद्ध भाषिक आन्दोलनको सुरुआत वि.सं. २०३४ सालदेखि नै भएको हो । बितेका चार दशक समयबीच पनि अद्यापि नेपाली भाषामा एकरूपता स्थापित हुन सकेको छैन । मीठो नेपाली भाषामा अशुद्ध वर्णविन्यासको प्रयोगले नमीठो चस्का दिंदा भाषाविद्हरू जागरुक नभएका होइनन् । यसमा मुकुन्दशरण उपाध्याय, शरच्चन्द्र वस्ती, बलदेव शर्मा अधिकारी, चूडामणि गौतम, डा. खगेन्द्रप्रसाद लुईटेल आदिको नाम स्मरणीय हुन्छ ।

त्यसो त झर्रो आन्दोलनमार्फत् डा. तारानाथ शर्मा, प्रा. बालकृष्ण पोखरेलहरूले नेपाली भाषालाई शुद्ध र मौलिक शब्द–संरचनामा प्रयोग गर्न–गराउन ठूलो भूमिका खेलेको कुरा एकातिर छँदै छ । अर्कोतिर प्रचलित मान्यतालाई निमोठेर वर्णविन्यासमाथि आघात पार्ने समूहको अराजक उपस्थितिले नेपाली भाषामा अन्यौल अवस्था निम्त्याएको छ ।

यसै सन्दर्भमा नेपाली भाषालाई शुद्ध, मीठो, सरल र सरस पार्न अहम् योगदान प्रदान गर्ने भाषासेवीहरूको नाम उल्लेख गर्नु सामयिक हुन्छ । स्वनामधन्य ती नामहरू हुन् विद्विच्छरोमणि हेमराज पाण्डे, चक्रपाणि चालिसे, पारसमणि प्रधान, बालचन्द्र शर्मा, गोपाल पाण्डे ‘असीम’, कृष्णप्रसाद पराजुली आदि ।

वर्णविन्यास भनेको वर्ण, शब्द, वाक्य वा अक्षरको व्यवस्थित रखाइ हो । यसले भाषालाई शुद्ध र छरितो पार्छ । वर्णविन्यास लेखनका कुनै पनि रूपसँग सम्बन्धित हुन्छ । भाषामा एकरूपता कायम गर्न र लेखनपद्धतिलाई नियममा बाँधेर राख्ने काम यसले गर्छ । त्यसर्थ मानक वर्णविन्यासको आवश्यकता र यसको महत्व रहँदै आएको छ । हामीकहाँ भाषालाई अनेक किसिमले प्रयोग गर्ने नाममा कहिले एउटै ‘स’ को प्रयोग गरिने, कहिले ईकार ऊकार सबै दीर्घ लेखिने, हलन्त बहिष्कार आन्दोलनहरू पनि भए ।

हुन त यसभन्दा अघिबाटै नेपाली भाषालाई शुद्ध व्याकरणमा लेख्न प्रेरित गराउने उद्देश्यले ‘चन्द्रिका’ र ‘मध्यचन्द्रिका’ जस्ता नेपाली वर्णविन्यासको मानक रूप निर्धारण हुन थालेको देखिन्छ । यसलाई व्यापक सहमतिका साथ आधिकारिता पनि प्राप्त हुँदै आएको पाइन्छ ।