“नेपाली भाषाको सरलीकरण गर्ने निहुँमा ओहदाधारी केही प्राज्ञ र प्राध्यापकहरूले प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल हुने गरी उदेकलाग्दो काम गरिरहेको पाइएको छ । तिनले प्रचलनमा ल्याएका नियम र अभ्यासले त भानुभक्त मात्र हैन, लेखनाथ, देवकोटा र सम लगायतका विभूतिहरूलाई समेत अशुद्ध भाषाका प्रयोक्ता अर्थात् अर्धसाक्षर बासिन्दामा परिणत गर्नेछन् ।”
===
जर्ज अर्वेलले सन् १९४८ मा रचना गरेको आफ्नो कृतिलाई नाम दिए : ‘१९८४’ । हिमाली अधिराज्य भूटानले नयाँ ऐन जारी गर्यो सन् १९८५ मा, तर भन्यो : ‘यो कानून सन् १९५८ देखि नै लागू भएको मानिनेछ ।’
लेखक अर्वेलले सम्भवतः जिज्ञासु पाठकलाई कुत्कुती लगाउन मात्र पछाडिका दुई अंकलाई अघिपछि पारेर ४८ लाई ८४ गरेका थिए, तर यता निरंकुश राजा जिग्मेसिंगेले भने दुर्नियतवश ८५ र ५८ को खेल रचेको थियो । परिणति लगत्तैजसो आइहाल्यो : एक लाखभन्दा बढीको संख्यामा नेपालीभाषी भूटानीलाई गैरनागरिक भनेर देशनिकाला गरियो । नेपाली बोल्नु र तदनुरूपको संस्कृति धान्नु तिनको लागि अभिशाप भयो ।
स्थापित परिपाटी हो, लोकतन्त्र भएका मुलुकमा भूतप्रभावी कानून बनाउने प्रचलन हुँदैन । अर्थात् पहिले भएको कार्यलाई पछि बनाएको कानूनको आडमा ‘अपराध’ ठहर्याउन पाइँदैन । किनभने तत्काल प्रचलित कानूनले दण्डनीय अपराध नमानेको कार्यलाई पछि बनेका ऐन कानून लगाएर कारवाही गर्नु प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुन जान्छ । कुनै दिन कसैले दाहिने पेटीबाट मात्र हिंड्नुपर्ने कानून बनाएर त्यो ऐन १० वर्ष अगाडिदेखि नै बहाल रहेको मानिनेछ भनेर लेखिदियो भने के परिणाम होला ? स्पष्टै छ, विगतका १० वर्षमा देब्रे पेटीवाट हिंडेका लाखौं बटुवा दण्डका भागी (अपराधी) हुन पुग्छन् । के यो अनर्थ हुँदैन ?
नेपाली भाषाको सरलीकरण गर्ने निहुँमा ओहदाधारी केही प्राज्ञ र प्राध्यापकहरूले पनि प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल हुने गरी उदेकलाग्दो काम गरिरहेको पाइएको छ । तिनले प्रचलनमा ल्याएका नियम र अभ्यासले त भानुभक्त मात्र हैन, लेखनाथ, देवकोटा र सम लगायतका विभूतिहरूलाई समेत अशुद्ध भाषाका प्रयोक्ता अर्थात् अर्धसाक्षर बासिन्दामा परिणत गर्नेछन् । किनभने तिनले प्रयोग गरेका हिज्जे (स्पेलिङ) अहिलेका अग्रगामीहरूले तोकेका मानकमा पर्दैनन् । ह्रस्व–दीर्घका नियम र श–ष–स मा निहित विविधतालाई ओहदाधारीहरूले अस्वीकार गरेको स्थिति छ । भानुभक्तको रामायण अहिलेको हिसाबले पूरै काम नलाग्ने रचना हुनजान्छ । कथम् काम लाग्ने श्रेणीमा राख्ने हो भने त्यसलाई अहिले जबर्जस्ती लाद्न खोजिएको हिज्जे विधिमा ढाल्नुपर्ने हुन्छ । साझा प्रकाशनले यस्तै अनर्थकारी काम गर्न लागेको जानकारी पाएपछि त्यस संस्थासित आफूले सम्पर्क राख्न छोडेको कुरा देहावसान हुनुभन्दा केही अघि प्रा.जगन्नाथ शर्मा त्रिपाठीले यस हरफको लेखकलाई भन्नुभएको थियो । लाग्छ, भाषिक अराजकता यस बीचमा अझ बढेको छ । नेपाली भाषालाई विरूप, वर्णशङ्कर र विकृत तुल्याउन जे–जति मानिस जानी–नजानी लागिपरेका छन्, तिनले नेपालीको राष्ट्रभाषा र यहाँको आधाभन्दा बढी जनसंख्याको मातृभाषा नेपालीको सम्मानमा आँच पुर्याउने काम गरिरहेका छन् ।
एउटा समृद्ध भाषालाई भाषिकामा ओराल्ने काम सचेत नेपालीले गर्दैन, गर्नु हुँदैन । विचार गरौं त— नेपालमै नेपाली भाषाको मानकबारे मतैक्य हुँदैन भने मुलुक बाहिर देश–विदेशमा रहेका नेपाली समुदायले कहाँबाट प्रेरणा लिने ? कहाँबाट संरक्षण पाउने ? छिमेकी भारतका विभिन्न ठाउँमा बसोबास गर्ने नेपाली र समुद्रपारका देशहरूमा पढाइ, व्यवसाय गरेर बसेका नेपालीले कुन मानकलाई आधार मानेर भाषाको प्रचलन गर्लान् ?
शरच्चन्द्र वस्तीको ‘हिज्जेमा भाँडभैलो’ शीर्षकमा प्रकाशित करीब ३७ सय शब्दको आलेख (नागरिक, ४ चैत्र) लाई सप्रसङ्ग लिइनुपर्छ । उसैदिन र हिज्जेकै सम्बन्धमा ‘कान्तिपुर’ मा छापिएको उहाँकै अर्को विशद विवेचना (हिज्जेको खेल, लेख्ने जति फेल !) ले भाषिक अराजकतामा लगाम लगाउन आवश्यक मान्नेहरूका निम्ति गहन बहसका बुँदा उपलब्ध गराएको देखिन्छ । ती दुई सामग्रीले पैदा गराएको तरङ्गले नै ११ चैतको ‘ललितपुर घोषणापत्र’ जारी गर्नुपर्ने परिस्थितिको निर्माण गरेको हो । यथार्थमा त्यो घोषणा ‘नेपाली भाषा प्रयोगकर्ताहरूको सङ्कल्प’ को रूपमा मात्र आएको देखिन्छ, तर सरलीकरणको नाममा हिज्जे बिगार्ने अभियानमा जुटेकाहरूमध्ये कसै–कसैले यसलाई सङ्गठित र सुनियोजित हाँकको रूपमा हेरेझैं लाग्दैछ । बुझ्नुपर्ने कुरो हो, भाषा र साहित्यका सेवक/साधक कमल दीक्षित जस्ता व्यक्तिको चिन्ता भाषा प्रयोगकर्ताको सोझो सरोकार बाहेक अरू थोक हुन सक्दैन । विसं १९९१ सालमा छापिएको पुस्तिका ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ (नेकशुले) को ढाँचामा समय सुहाउँदो परिमार्जित आधार–पुस्तिका बनाऔं भन्ने प्रस्ताव उहाँको सदाशयको परिचायक बाहेक अरू के हुनसक्ला र ? त्रिविका गुरु एवं प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरूले बहस, मन्थन गरी स्तरीय नेपालीको चलनलाई टेवा दिन बेलैमा अग्रसर भैदिएको भए अहिलेको बेथिति हुने थिएन । व्यक्तिवादी सोच र लहडले विकृति बढाउन पाउने थिएन । (‘हिज्जेको खेल, लेख्ने जति फेल’ शीर्षक उक्त लेख यही असार १७ गते ‘साहित्यपोस्ट’ मा ससन्दर्भ आइसकेको छ । प्रा.कुमारबहादुर जोशी समेतले सन्दर्भका रूपमा उल्लेख गर्नुभएको ‘हिज्जेमा भाँडभैलो’ शीर्षक अर्को लेख पनि खोजेर छिटै प्रस्तुत गरिने छ । —सम्पादक)
ललितपुर घोषणापत्रले ‘चलनचल्तीमा रहेका शुद्ध शब्दहरूलाई तिनको हिज्जे बिगारेको, विकृत बनाएको’ मा आपत्ति जनाएको रहेछ । ‘श’ र ‘ष’ को प्रयोग हटाएर पातलो ‘स’ मात्र चल्तीमा राख्ने अनि शब्दका शुरू र बीचमा रहेका दीर्घ इकार–उकारलाई ह्रस्व तुल्याउने प्रवृत्तिप्रति असन्तोष प्रकट गरेको रहेछ । अमेरिकामा ओबामा अघिका राष्ट्रपति जर्ज डब्लु बुशलाई ‘बुस’ मा परिवर्तन गर्नु देखादेख तालव्य ‘श’ मासेर दन्त्यमा लैजाने धृष्टता गर्नु मात्र हो । कथम् पातलो ‘स’ ले काम चल्दो हो त अमेरिकीहरूले ‘एस्’ अक्षर मात्र लेख्दा हुन्, एस् पछि ‘एच्’ थप्ने थिएनन् । किन थपे त ? बुझ्नुपर्यो । सोझो कुरो छ, हाम्रो भाषामा विकल्प छन्, पर्यायवाची शब्द छन् भने तिनले नेपालीलाई सम्पन्न, समृद्ध बनाउने दिशामा योगदान गर्छन् (हेर्नुस्, शरच्चन्द्र वस्तीको कृति ‘हाम्रो भाषा’) । भन्नु परोइन, तीनवटा श–ष–स हुनु फराकिलो परिवेश कायम रहनु हो । खुम्च्याएर एउटा ‘स’ मा सीमित राख्नु भनेको आफैंलाई नोक्सान हुने काम गर्नु हो । एउटा ‘स’ मा साँघुरिएर बस्न खोज्दा चारै ‘दिशा’ को अर्थ बुझिने शब्दको रूप फेरिएर शौचमा जाने मल सरह हुनपुग्छ ।
स्पष्टै छ, संस्कृतबाट आएका शब्द र अन्य भाषाबाट आएका शब्द छुट्याउने खूबी भाषाशास्त्री वा वैयाकरणको हाराहारीमा हरेक प्रयोक्तासित हुँदैन । हुन्छ भन्ने अपेक्षा गर्नु परिपक्वता होला त ? प्रयोगकर्ताको हैसियतले हामीले देखेको अर्को कुरो के हो भने गुरु, पण्डित, शेर्पा, गोर्खा जस्ता अनेक लवजलाई अंग्रेजी शब्दकोशमा हिज्जे मिलाएर, उच्चारण किटेर प्रविष्टि दिइसकिएको छ र यस्तो चलन बढ्दो छ । शेर्पा लेख्दा ‘एस्’ मात्र नलेखेर ‘एस्–एच्’ को हिज्जे लेखिन्छ । नेपालीमा पनि उदारतापूर्वक नेपालकै अन्य भाषाका र प्रचलित विदेशी शब्दहरूलाई स्वागत गर्दै जानुपर्छ । यसका लागि नेपाली शब्द र लवजरूपी औजारलाई अर्जाप लगाई अद्यावधिक गराइराख्नु आवश्यक हुन्छ । ‘फाली मासेर करुवा’ भन्ने उखान चरितार्थ गराउनेतिर लाग्नु उचित होइन । यहाँनेर प्राध्यापक टंक न्यौपानेको कथन सान्दर्भिक लाग्छ— ‘भाषामा विकल्प खुला राखिनुपर्छ, उदार हुनुपर्छ ।’
भाषाका कथ्य र लेख्य रूप हुन्छन् भनिन्छ । यही ‘भाषा’ शब्दलाई पनि कथ्यमा मूर्धन्य ‘ष’ को उच्चारण अनुरूप पार्न नसकिएको हुनसक्छ (अर्थात् रेडियो/टेलिभिजनका समाचार वाचिका/वाचकले दन्त्य ‘स’ को उच्चारण गरेका हुनसक्छन्) । तर लेख्यमा ‘भासा’ लेख्ने हिम्मत अहिलेसम्म कसैले गरेको देखिंदैन । आखिर किन ? सरलीकरण अभियानमा दगुरेका नर–नारी स्वयंले पनि अभिलेखमा राख्नुपर्दाको लेखमा त ‘भाषा’ कै प्रयोग गर्ने गरेका छन् । त्यसै पनि बोलीचालीमा व्याकरणको हेक्का त्यत्तिविधि गरिंदैन । यो अनुभवसिद्ध कुरो हो । अर्को शब्दमा, बोल्दा अशुद्ध बोलिए पनि लेख्दा शुद्ध लेख्ने गरिन्छ । बोल्दा अशुद्ध बोलियो भन्दैमा लेख्दा पनि अशुद्धै लेख्नुपर्छ र त्यसैलाई मानक मान्नुपर्छ भन्ने जिद्दी गर्न थालियो भने त्यसले भाषालाई कसरी उँभो लगाउला ?
साहित्यकार, पत्रकार, वकील, न्यायाधीश, प्रशासक भाषालाई अत्यधिक खेलाउने चलाउने समुदाय हुन् । शिक्षक, प्राध्यापकहरूको त कुरै भएन । तसर्थ यी दिशा–निर्धारक (ट्रेन्डसेटर) हरूले नेपालीलाई स्तरीय, सम्मानित भाषाको रूपमा कायम राख्न हरहमेशा तयार रहनुपर्छ, चनाखो रहनुपर्छ । नीच मारेर बस्नु हुँदैन । जोश छ भन्दैमा भाषालाई संकीर्ण र कमजोर बनाउने हदसम्मको लहडबाजी राम्रो होइन । होश राखेर अघि बढ्नु आवश्यक हुन्छ कि ?
कविशिरोमणि लेखनाथ पौड्यालले ‘साहित्यको फुटबल’ कवितामा ‘भाषाको छ विशाल चौर जसमा गर्दै ठुलो तर्खर’ भन्ने पंक्ति लेख्दै भाषालाई फराकिलो चौरका रूपमा खुला राख्न आवश्यक पर्ने कुरा औंल्याउनुभएको छ । यसको अर्थ, अभिप्राय ठम्याऔं र आदरार्थीमा प्रयुक्त तँ, तिमी, तपाईं, हजूरहरूलाई पनि नमिल्काऔं । अंग्रेजी ‘यू’ मा खुम्च्याइए झैं नखुम्च्याऔं । विज्ञेषु किमधिकम् ?
साभार : ‘कान्तिपुर’ २०६९ वैशाख ५ गते मंगलवार
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।