“नेपाली भाषाका राजारजौटाहरूले नेपालकै अन्य भाषाका शब्द नेपालीमा भित्रिंदा तीप्रति असहिष्णु व्यवहार गरिरहेका छन् । विभिन्न समुदाय र जातजातिको ‘अस्मिता तथा पहिचान’ को मूल आधारका रूपमा रहेको उनीहरूको भाषाका शब्दहरू नेपालीमा अपमानित र मूलप्रवाहबाट पृथकीकृत गरिंदैछन्, जसले राष्ट्रिय भाषाभाषीहरूमा नेपाली भाषाप्रति अलगावको भाव र मनस्थिति खडा भएको मात्र नभई बढ्दै गएको छ । नेपाली भाषा जातिवादी र साम्प्रदायिक चरित्रको भाषा हो भन्ने पञ्चायती व्यवस्थाले दिएको सन्देश झन् झन् गाढा हुँदै गएको छ ।”

“शब्दहरूलाई विरूप पारेर पाठ्यपुस्तक तयार गरियो र जबर्जस्ती पढाउन लगाइयो । मेचीदेखि महाकालीसम्म फैलेको सिंगो मधेसी समुदायले पुस्तौंदेखि प्रयोग गर्दै आएका, उनीहरूको मनमस्तिष्क, संस्कार र संस्कृतिमा गहिरोसँग भिजेका शुद्ध शब्दहरूलाई काठमाडौंबाट जारी गरिएको उर्दीले रातारात अशुद्ध घोषित गरिदिएको थियो । शब्दहरूको हिज्जे र रूप उलटफेर गरेर विरूप र विकृत बनाउने यो कृत्य भाषिक निरंकुशताको मर्मान्तकारी उदाहरण थियो ।”

…………….

यतिखेर समाजका प्रत्येक क्षेत्रमा अधिकारको खोजी गरिंदैछ । अधिकार खोजीको एउटा क्षेत्र भाषा पनि हो । भाषाका कारणले आआफ्नो समुदाय वा क्षेत्रको मूलप्रवाहीकरण हुन नसकेको गुनासो लामो समयदेखिको छँदैछ । नेपालका अन्य भाषालाई उपेक्षा गरी केवल नेपालीलाई राज्यले प्रश्रय दिंदा अरूको भाषासँगै उनीहरूको संस्कृति पनि कमजोर भयो । नेपालमा देखा परेको समकालीन द्वन्द्वको एउटा कारण भाषाविशेषलाई दिइएको प्रश्रयले आफ्नो विकासक्रम हरण भएको मुद्दा पनि हो । त्यसैले अब कुनै भाषाले विशेष प्रश्रय पाउने र अन्य भाषाप्रति वक्रदृष्टि लाउने, तिनलाई हेप्ने, तिनको मानमर्दन गर्ने जस्ता अलोकतान्त्रिक विकृतिको अन्त्य हुनैपर्छ । नत्र भाषाकै नाममा अर्को द्वन्द्व निम्तिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

मूलतः नेपाल शब्दहरूको देश हो । यहां भाषिक र सांस्कृतिक विविधतासँगै शब्दसम्पदा पनि विशाल छ । सबै राष्ट्रिय भाषाका शब्दहरू नेपालकै सम्पदा हुन् । यिनको बहुआयामिक उपयोगितावारे विमर्श हुनुपर्छ । नेपालको लामो इतिहासमा अनगिन्ती शब्द जन्मिए, केही शब्द चम्किए, केही लोप भए, केही शब्द फेरि पुनःस्थापित हुँदैछन्, केही शब्दको पुनः परिभाषा गरिंदैछ । भाषिक विकासक्रममा एक–अर्को भाषावीच यी शब्दसम्पदाको स्वाभाविक पैंचोको परिपाटी हुनुपर्छ । यस क्रममा एउटा भाषाले अर्को भाषाका शब्दलाई हेप्न हुँदैन, हेपेको देखिन हुँदैन । विशेष गरी प्रभावशाली भाषाको रूपमा विकसित भएको नेपालीले यो कुरामा विशेष ध्यान दिनुपर्छ । तर नेपाली भाषाका राजारजौटाहरूले नेपालकै अन्य भाषाका शब्द नेपालीमा भित्रिंदा तीप्रति असहिष्णु व्यवहार गरिरहेका छन् । संस्कृतबाट आएका शब्दलाई तत्सम भन्दै तिनको रूप नबिगारी लेख्ने तर अन्य भाषाबाट आएका शब्दलाई आगन्तुकको छुट्टै वर्गमा राख्ने र तिनको रूप बिगारेर लेख्ने रणनीति रहिआएको छ । यसले अन्य राष्ट्रिय भाषाहरू र तिनको शब्दसम्पदालाई अपमानपूर्ण तवरले दोस्रो दर्जामा राख्ने मानसिकता उजागर गर्छ । सामन्ती चरित्रको पञ्चायत कालको उत्कर्षमा नेपाली भाषालाई पनि त्यस्तै चरित्र दिन ल्याइएको यो रणनीति ‘राजतन्त्रको वरद नेतृत्वमा गतिशील’ पञ्चायती मानसिकताको टड्कारो उपज थियो । तर पञ्चायत र राजतन्त्र दुवै ढलेर लोकतान्त्रिक गणतन्त्र आइसकेपछि पनि राष्ट्रिय भाषाभाषीहरूले नेपाली भाषाको संसारमा पञ्चायत र राजतन्त्र नै कायम रहेको पीडाबोध गर्नु परिरहेको छ । कस्तो दुर्भाग्य !

उक्त रणनीति अन्तर्गत पञ्चायत कालमै एक पटक शब्दहरूलाई विरूप पारेर पाठ्यपुस्तक तयार गरियो र जबर्जस्ती पढाउन लगाइयो । मूलतः त्यसबाट मधेसी शिक्षक र विद्यार्थीहरू अत्यधिक मर्कामा परेका थिए । मेचीदेखि महाकालीसम्म फैलेको सिंगो मधेसी समुदायले पुस्तौंदेखि प्रयोग गर्दै आएका, उनीहरूको मनमस्तिष्क, संस्कार र संस्कृतिमा गहिरोसँग भिजेका शुद्ध शब्दहरूलाई काठमाडौंबाट जारी गरिएको उर्दीले रातारात अशुद्ध घोषित गरिदिएको थियो । शब्दहरूको हिज्जे र रूप उलटफेर गरेर विरूप र विकृत बनाउने यो कृत्य भाषिक निरंकुशताको मर्मान्तकारी उदाहरण थियो । जीवनभर शुद्ध शब्दलाई आधार बनाएर विद्यादान गर्दै आएका शिक्षकहरू स्वयम् स्तब्ध भएको त्यस अवस्थामा उनीहरूले बौद्धिक हेपाइ र प्राज्ञिक अपमानको कति तीतो घुड्को पिएर ती पाठ्यपुस्तक पढाउन बाध्य हुनुपर्‍यो होला ?

विडम्बना के भने अहिले पनि त्यो निरंकुशता रोकिएको छैन । हिज्जे वा वर्णविन्यासमा कथित सरलताको नाममा परम्परागत लेखन प्रणालीमा हस्तक्षेप गरिएको छ । नेपालीमा श–ष र दीर्घ इकार–उकार उच्चारण नै हुँदैनन्, त्यसैले लेख्नु पनि पर्दैन भन्ने मान्यता ल्याइएको छ । हिजोसम्म शहर, शहीद, शायर, शिकार लेखिन्थ्यो; अब त्यो गलत घोषित भएर सहर, सहिद, सायर, सिकार लेखिनुपर्ने भो रे ! हिजोसम्म मीत, मीठो, दूध, फूल शुद्ध थियो, अब अशुद्ध घोषित भएको छ र मित, मिठो, दुध, फुल लेख्ने उर्दी जारी भएको छ । देवकोटा लगायत नेपालीकै मूर्धन्य साहित्यकारहरूले आफ्नो रचनामा प्रयोग गरेको हिज्जे समेत गलत घोषित गरी बदल्न थालिएको छ । यो अन्योल र अराजकताका कारण आज स्वयम् नेपाली भाषाका सक्रिय प्रयोगकर्ता (लेखक, साहित्यकार, पत्रकार, वकिल आदि) मध्ये पाँच प्रतिशत पनि ‘म शुद्ध नेपाली लेख्न सक्छु’ भन्न नसक्ने अवस्थामा पुगेका छन् । कति लाजमर्दो !

आज मुलुकको राजनीति विभिन्न भूगोलमा बसोबास गर्नेहरूलाई जोड्ने अनि सबै वर्ग, समुदाय र जातजातिको अस्मिता तथा पहिचानको सम्मान र मूलप्रवाहीकरण गर्नेतर्फ लक्षित छ किनभने दोस्रो जनआन्दोलन मार्फत जनताले व्यक्त गरेको इच्छा यही हो । तर नेपाली भाषाका राजारजौटाहरूका कारण, विभिन्न समुदाय र जातजातिको ‘अस्मिता तथा पहिचान’ को मूल आधारका रूपमा रहेको उनीहरूको भाषा र तिनका शब्दहरू सम्पर्क भाषा नेपालीमा अपमानित र मूलप्रवाहबाट पृथकीकृत गरिंदैछन्, जसले राष्ट्रिय भाषाभाषीहरूमा नेपाली भाषाप्रति अलगावको भाव र मनस्थिति खडा भएको मात्र नभई बढ्दै गएको छ । नेपाली भाषा जातिवादी र साम्प्रदायिक चरित्रको भाषा हो भन्ने पञ्चायती व्यवस्थाले दिएको सन्देश झन् झन् गाढा हुँदै गएको छ । र, यसबाट चिन्तित भाषिक प्रयोगकर्ता तथा वरिष्ठ भाषाशास्त्रीहरूबाट नेपाली भाषाको हिज्जे वा वर्णविन्यासमा लोकतन्त्रको खोजी गर्न थालिएको छ । भाषामा भिजिसकेका, प्रयोगकर्ताले पचाइसकेका, देशभित्र र बाहिर एकनासले प्रचलित शुद्ध–स्वाभाविक हिज्जेलाई थोकको भाउमा जबर्जस्ती परिवर्तन गर्न पाइँदैन र यसो गर्ने अधिकार कहिल्यै कसैलाई हुँदैन भन्ने आवाज उठ्न थालेको छ । नेपाली भाषालाई सदाका लागि समृद्ध बनाउन भनेर ल्याइएका (आफैं भतुवा लाग्न आएका होइन !) शब्दहरूको सम्मान गर्नुपर्छ, तिनलाई ‘आगन्तुक’ (अर्थात् केही दिनपछि फर्केर जाने) भनेर अवमूल्यन गर्न र विरूप पार्न पाइँदैन भन्ने स्वर घन्कन थालेको छ ।

आजको हाँक भनेको नेपाली भाषा स्वयम् मा लोकतन्त्रको खोजी गर्नु हो । नेपाली भाषाप्रति अहिले पनि नेपालका अरू मातृभाषीहरूमा असन्तुष्टि र अव्यक्त द्वेषभाव रहेको पाइन्छ । इतिहासमा नेपाली भाषाका कारणले आफूहरू कुण्ठित हुनुपरेको पीडाबोध उनीहरूमा छ । त्यसैले अहिलेको सन्दर्भमा नेपालको सबभन्दा बढी बोलिने र मुलुकको सर्वाधिक भूगोलमा बुझिने नेपाली भाषाले स्वयम् आफ्नो भाषिक प्रयोगप्रति सजग र संवेदनशील हुन जरूरी छ । भाषाका ठेकेदारहरूले जसरी हिज्जेमा बन्ध्याकरण र कत्लेआम गरेका छन्, त्यसलाई सच्याउनुपर्छ । भाषामाथिको निरंकुश हस्तक्षेपलाई पञ्चायत व्यवस्थालाई झैं उल्टाउनुपर्छ । अन्य भाषाका शब्दहरूलाई पनि नेपालीमा सहज रूपमा अर्थात् तिनको नाक भाँच्ने, आँखा फुटाउने नगरी, श–ष र दीर्घ इकार–उकार आदिको हत्या नगरी, तिनको पहिचान नबिगारी, ससम्मान प्रवेश गराउँदै जानुपर्छ । भाषा फैलिने, विकसित हुने र सबैलाई ग्राह्य हुने यसैगरी हो । छिमेकी भारतमा पनि हिन्दीको विकास प्रान्तीय र क्षेत्रीय भाषाका शब्दसम्पदालाई ससम्मान आफूभित्र समाहित गरेर शब्दभण्डार बढाउँदै जाँदा नै प्रभावशाली रूपमा भएको हो । अहिलेको माग भनेको नेपाली भाषाले स्वयम् आफैंभित्र लोकतन्त्र र न्यायको खोजी गर्नेहरूको आवाजको सम्मान गर्नु हो । त्यसले मात्र भाषामा प्रयोगकर्ताको सम्प्रभुता र लोकतन्त्र स्थापना हुन्छ । र, त्यसले मात्र नेपाली भाषालाई भविष्यको दुर्घटनाबाट जोगाउन सक्छ ।

(सामान्य सम्पादन सहित ।)

साभार : कान्तिपुर २३ जेठ २०७०