“भाषा बनाउने प्रयोगकर्ता हुन् । अतः भाषाको संप्रभुता प्रयोगकर्तामा हुन्छ । त्यसैले अंग्रेजीमा पी–यू–टी पुट् र बी–यू–टी बट् भएको हो । त्यो प्रयोगकर्ताले बनाएको हो । भाषाशास्त्री वा वैयाकरणले बनाएको भए त्यस्तो हुने थिएन । तिनले भाषा बनाउँदैनन् ।”

…………..

“हाल पढाइने ‘नेपाली उच्चार्य वर्णमाला’ मा लेख्य वर्णमालाका यी १४ वर्णहरू छैनन्— ई, ऊ, ऋ, ऐ, औ, अं, अः, त्र, ण, श, ष, क्ष, त्र, ज्ञ । किनभने नेपाली भाषामा यी वर्णहरूको उच्चारण हुँदैन रे ! नेपालीभाषीले यीमध्ये कतिपय वर्ण उच्चारण गर्न सकेनन् भने माउ भाषा संस्कृत मात्रै होइन विश्वका प्रमुख भाषाहरू– अंग्रेजी, फ्रेन्च, स्पानिश, जर्मन, हिन्दी, उर्दू लगायत अनेक भाषामा दक्ष हुन सक्तैनन् । शिक्षाको लक्ष्य के हो ? नेपालीभाषीलाई सनातनदेखिका निधि यी वर्णबाट उपलब्ध हुने भाषिक सम्पदा सम्पन्न बनाउनु हो कि विपन्न बनाउनु ?”

……………………………

‘म नेपालको जीवितमा सबैभन्दा बूढो भाषाशास्त्री हूँ । तर म ती प्रातःस्मरणीय गोपाल पाँडेका अगाडि आफूलाई यौटा भुसुनु पनि मान्दिनँ । … मेरा लागि नेपाली भाषाको महान् (पाणिनिभन्दा पनि ठूलो) व्यक्ति गोपाल पाँडे हुन् । ठूलठूला एमए, डबल एमए, पीएचडी गर्नेहरूलाई भन्दा म एसएलसी मात्र पढेका भए पनि नेपाली भाषाको स्वरूप निर्माण गर्न दत्तचित्त भएर लाग्ने प्रतिभा गोपाल पाँडे ‘असीम’ लाई मान्दछु ।’

—बालकृष्ण पोखरेल

‘मैले भाषाशास्त्रमा पीएचडी गरेको छु, तँ भुसुनु लेखकले के जानेको छस् र मेरो विषयमा बोल्ने कुचेष्टा गर्छस् ?’ भन्नेलाई नेपालीका भाषाशास्त्रीहरूका भीष्मपितामह प्रा. बालकृष्ण पोखरेलको जवाफ हो यो ।

भाषा बनाउने प्रयोगकर्ता हुन् । अतः भाषाको संप्रभुता प्रयोगकर्तामा हुन्छ । अनुवंश शास्त्र भन्छ, मान्छेको व्यक्तित्वमा वंशकोष (जीन) को ठूलो भूमिका हुन्छ । पूर्वीय शास्त्र भन्छन्, शिशुले गर्भदेखि नै सिक्छ । विज्ञान भन्छ, शिशु जन्मेको क्षणदेखि अनुकरण गरेर सिक्छ । मनोविज्ञान भन्छ, अनुकरण नै उसको सिक्ने प्रमुख विधि हो । उसले अनुकरण गर्ने पहिलो कुरा हो भाषा ।

भाषाको पहिलो प्रयोगकर्ता त्यो हो जसले आमाको स्तनबाट निस्केको पहिलो बिगौतीको रसपानभन्दा पनि पहिले आमा र धाईआमाहरूको मुखबाट निस्केका प्रथम ध्वनिहरूको रसपान पनि गर्नलाग्छ । आमाका दशधारा दूधका सिर्कासँगै उसको मातृभाषा हुर्कन्छ ।

भाषाको पहिलो प्रयोगकर्ता ऊ र ऊजस्तै अरू मान्छे हुन् । दोस्रो प्रयोगकर्ता त्यो भाषा बोल्ने अरू सबै हुन् । तेस्रो प्रयोगकर्ता ती हुन् जसको अभिलेख हुन्छ— लेखक, सम्पादक, पत्रकार, गायक र कलाकार आदि । तिनमा पनि लेखक र भाषाको अत्यन्त गहिरो सम्बन्ध हुन्छ । त्यसैकारण विकसित भाषाका स्तरीय शब्दकोशकारहरू शब्दार्थ प्रमाणित गर्न त्यस भाषाका प्रतिष्ठित लेखकहरूले प्रयोग गरेका मानक शब्दको उदाहरण दिन्छन् । किनभने भाषाको संप्रभुता प्रयोगकर्तामा हुन्छ । त्यसैले अंग्रेजीमा पी–यू–टी पुट् र बी–यू–टी बट् भएको हो । त्यो प्रयोगकर्ताले बनाएको हो । भाषाशास्त्री वा वैयाकरणले बनाएको भए त्यस्तो हुने थिएन ।

भाषाशास्त्रीले मानव भाषाको वैज्ञानिक अध्ययन गर्छ । वैयाकरणले भाषा–प्रयोगको अनुशासन र अपवाद बताउँछ । कोशकारले शब्दको अर्थ, उत्पत्ति र प्रयोग बताउँछ । तिनले भाषा बनाउँदैनन् । बढी भूमिका हुने विद्वानले यीमध्ये कुन भूमिका वा भूमिकाहरूको सम्पादन गरेको हो त्यो हेर्नु पर्छ । .

भाषाका प्रमुख पात्र प्रयोगकर्ता भए पनि अहिले नेपाली भाषासंसारमा धेरै प्रयोगकर्ता एकातिर र वैयाकरण र कोशकार अर्कोतिर भएको अवस्था छ । व्याकरण र शब्दकोशका आधारमा भाषा बन्छ भन्ने भ्रमले यस्तो भएको हो । तथ्य के भने भाषाको आधारमा त्यसको व्याकरण र शब्दकोश बनेको हुन्छ, व्याकरण र शब्दकोशका आधारमा भाषा बनेको हुँदैन । भाषा मूल कुरा हो ।

हालका वैयाकरणहरूले बनाएको नेपाली उच्चार्य वर्णमालामा लेख्य वर्णमालाका यी १४ वर्णहरू छैनन्— ई, ऊ, ऋ, ऐ, औ, अं, अः, त्र, ण, श, ष, क्ष, त्र, ज्ञ (अनिवार्य नेपाली शिक्षण निर्देशिका २०६६) । किनभने नेपाली भाषामा यी वर्णहरूको उच्चारण हुँदैन रे ! यस उच्चार्य वर्णमालाको अभिप्राय के हो ? नेपालीभाषीले यीमध्ये कतिपय वर्ण उच्चारण गर्न सकेनन् भने संसारका प्रमुख भाषामा प्रवीणता हासिल गर्न सक्तैनन् । नेपालीहरू माउ भाषा संस्कृत मात्रै होइन विश्वका प्रमुख भाषाहरू– अंग्रेजी, फ्रेन्च, स्पानिश, जर्मन, हिन्दी, उर्दू लगायत अनेक भाषामा दक्ष हुन सक्तैनन् । शिक्षाको लक्ष्य के हो ? नेपालीभाषीलाई सनातनदेखिका निधि यी वर्णबाट उपलब्ध हुने भाषिक सम्पदा सम्पन्न बनाउनु हो कि विपन्न बनाउनु ? यीमध्ये कतिपय वर्णको नेपालीमा बाक्लै प्रयोग हुन्छ । के नेपालीमा तिनको उच्चारण हुँदैहुँदैन त ? वा तिनको उच्चारण गर्नु गल्ती हो ?

यस सन्दर्भमा १९९१ सालमा पहिलो पटक प्रकाशित ‘नेपाली कसरी शुद्ध लेख्ने : शब्दविचार’ (साझा प्रकाशन २०५४) नामक गाता सहित आठ पेजको पुस्तिकालाई सम्झिनु पर्छ । त्यो पुस्तिका २ पैसामा पाइने हुनाले दुई पैसे व्याकरण भनेर प्रख्यात थियो । त्यो पुस्तिका भाषा र व्याकरणका सबै मर्यादा पुर्‍याएर लेखिएको थियो । त्यसलाई त्यसबेलामा अग्रपंक्तिका भाषा प्रयोगकर्ता मिलेर लेखेका थिए । पुस्तिकामा मृगेन्द्र शमशेर, हेमराज पाण्डे र बालकृष्ण शमशेरको नाम छ ।

प्रस्तावनामा बालकृष्ण शमशेरले लेखेका छन्, ‘ज्यादै सजिलो, ज्यादै छोटकरी, ज्यादै उदार नियम भए हाम्रा लेखाइमा एकता होला भनेर …व्याकरणचन्द्रिकाबाट केवल पदविचार प्रकरणका सार खिची …यो पुस्तिका तयार पारिएको छ ।’

त्यो तयार पार्न चक्रपाणि चालिसे, सोमनाथ सिग्देल, तीर्थप्रसाद ढुंगाना, पुष्कर शमशेर, रुद्रराज पाण्डे, नरेन्द्रमणि आ.दी., गोपाल पाँडे ‘असीम’, हरिनाथ खनाल समेत नेभाप्रसका त्यसबेलाका २४ जना अत्यन्त प्रतिष्ठित भाषा प्रयोगकर्ताले गहन विमर्श गरेका थिए । तीबाहेक त्यसबेलाका अरू विद्वान् भाषा प्रयोगकर्ताको सल्लाह लिइएको थियो । त्यसले भाषा प्रयोगकर्ता र वैयाकरणको चित्त बुझाएको थियो । त्यो बेला ‘नेकशुले’ नेपाली भाषा प्रकाशिनी समितिको त्यो मुख्य सन्दर्भ–व्याकरण थियो र पछि त्यसको उत्तराधिकारी साझा प्रकाशन लगायत सबैको भयो ।

‘नेकशुले’ ले नेपाली भाषाको कसैले गर्न नसक्ने सेवा गरेको छ । त्यही पढेर र त्यसकै अनुसार लेखेर आजका धेरै साहित्यका महारथीहरू भएका हुन् । नेभाप्रसको उत्तराधिकारी साझा प्रकाशनले अहिलेसम्म त्यसैलाई आधार मानेको छ भन्छन्, ‘गरिमा’ का पूर्व सम्पादक होम भट्टराई । ‘गरिमा’ का अहिलेका सम्पादक अविनाश श्रेष्ठ पनि त्यसैलाई एक आधार मान्छु भन्छन् । होम भट्टराई भन्छन्— त्रिवि नेपाली विभाग र पाठ्यक्रम विकास केन्द्रका पुस्तक चाहिं उनकै निर्देशिका अनुसार छाप्ने बाध्यता छ । त्यसको उदाहरण हो साझाबाट २०६६ मा प्रकाशित ‘निर्देशिका’, जसको आवरणमा ‘त्रिभुवन विश्व विद्यालय’ लेखेको छ । अब ‘त्रिभुवन विश्वविद्यालय’ लेख्नु गल्ती हो !

‘नेकशुले’ ले नेभाप्रस र साझा प्रकाशन बाहेक नेपाली भाषाका विशिष्ट साहित्यिक प्रकाशन, लेखक र सम्पादकहरूलाई पनि मार्गनिर्देश गरिरहेको छ । ५३ वर्षदेखि लगातार छापिइरहेको मदन पुरस्कार गुठीको मासिक प्रकाशन ‘नेपाली’ का सम्पादक कमल दीक्षितको मार्गनिर्देशक ‘नेकशुले’ हो । २०१८ सालदेखि लगातार निजी लागतमा प्रकाशन गरिरहेका ‘रचना’ द्वैमासिकका सम्पादक रोचक घिमिरे हुन् वा २०२८ सालदेखि लगातार निजी लागतमा प्रकाशन गरिरहेका ‘अभिव्यक्ति’ द्वैमासिकका सम्पादक नगेन्द्रराज शर्मा, उनीहरू आफ्नो सम्पादकीय लेखनको आधार ‘नेकशुले’ लाई बताउँछन् । उस्तै पर्दा उनीहरू प्रज्ञा प्रतिष्ठानको २०४० सालको शब्दकोशको सहयोग लिन्छन्, त्यसपछिका ‘प्रवर्द्धित’ संस्करणहरूको होइन ।

रोचक घिमिरे भन्छन्, एक प्रतिष्ठित वैयाकरणले भने— हाम्रा एमएका छात्रहरू ‘रचना जस्ता स्तरीय पत्रिकाले सम्पादकीयमा ‘शहीद’ लाई ‘सहिद’ लेख्ने जस्तो नियम मान्दैनन्, हामीले किन मान्नु ?’ भनेर हामीलाई असजिलो पार्छन्, तपाईं पनि हाम्रो नियमले लेखिदिनोस् न ! तर रोचकले उनको नियम मानेनछन् । भनेछन्, ‘मेरो सम्पादकीयको आधार नेकशुले नै हुन्छ । तपाईंहरू जे गर्नुहोस् ।’ ‘शारदा’, ‘रूपरेखा’, ‘भानु’ जस्ता उच्चस्तरीय पत्रिकाका सम्पादक बालमुकुन्ददेव पाण्डे, उत्तम कुँवर, भवानी घिमिरेले ‘नेकशुले’ लाई नै आधार माने । भाषामा भाँडभैलो हुनुअघि गोरखापत्र प्रकाशनको आधार ‘नेकशुले’ नै थियो ।

जब ‘नेकशुले’ लाई मार्ने प्रयास भयो, त्यसैबेलादेखि भाषामा भाँडभैलो शुरू भयो । त्यो भाँडभैलो २०३४ सालमा शुरू भयो र २०६७ सालमा उत्कर्षमा पुगेको छ । अब अति भयो भनेर प्रयोगकर्ता जुर्मुराएका छन्, भाषाशास्त्रमा पीएचडी नगरेका भए पनि । प्रा.बालकृष्ण पोखरेलको निर्देशनमा २०४० सालमा प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको नेपाली बृहत् शब्दकोशले ‘नेकशुले’ लाई ‘पनि’ आधार मानेको थियो । त्यसमा ‘शहीद’ थियो । ‘सहिद’ थिएन । त्यसमा ‘शहर’ थियो र ‘सहर’ पनि थियो । त्यही शब्दकोश परिवर्द्धित भएर २०६७ सालमा आइपुग्दा ‘शहीद’ शहीद भयो । ‘शहीद’ का लागि ‘सहिद’ हेर भनियो । झन्डा प्राज्ञ भएपछि गुन्डा ‘सहिद’ नभए के होस् ? ‘शहर’ झन् ठूलो शहीद भयो । शब्दकोशबाटै हरायो ।

त्यसलाई भुसुनाले खाइदिए । अर्थात् नेपालीमा खगेन्द्र संग्रौला र अभि सुवेदीको ‘शहीद’ चल्दैन, उनका प्रूफ पढ्नेको ‘सहिद’ चल्छ । किशोर नेपालको ‘शहर’ चल्दैन, उनको प्रूफ पढ्नेको ‘सहर’ चल्छ । नेकशुले भन्छ— जुनसुकै भाषाबाट हाम्रो भाषामा मिल्न आएका तत्सम (जस्ताको तस्तै) शब्द उही भाषाको अनुसार प्रयोग गरिन्छन्, जस्तै शहर : सहर । त्यसमा ‘शहर’ लाई मूल र ‘सहर’ लाई अपवादका रूपमा मान्यता दिएको छ ।

‘नेकशुले’ बनाउने विद्वानहरू विवेकी थिए । ८० वर्षअघि उनले भाषाका मुख्य सरोकारवाला यसका प्रयोगकर्ता हुन् भन्ने बुझेका थिए । भाषासँग न्याय गर्नु उनीहरूको ध्येय थियो । यस सन्दर्भमा बालकृष्ण पोखरेल र होम भट्टराईको संवाद (गरिमा २०६८ कात्तिक) मननीय छ । यस लेखमा परेका पोखरेलका कथन त्यसै संवादका अंश हुन् । बालकृष्ण पोखरेल भन्छन्—

‘नेपाली भाषाको निर्माण गर्दा लेख्य र कथ्य स्वरूपबीच गालेमोले गर्नु हुँदैन । कथ्य रूपको मानकीकरण कथ्यकै इलाकामा सीमित भएर गर्नुपर्छ । लेख्य र कथ्यलाई गालेमोले गर्‍यो भने भयंकर ठूलो भूल हुनेछ । नेपाली जस्तो हजार वर्षभन्दा पुरानो लेख्य परम्परा भएको भाषालाई त्यस्तरी खेलबाड गरेर, आँखा चिम्लेर यान्त्रिक तरीकाबाट मिलाउन सकिंदैन । त्यसमा प्रादुर्भावको सिद्धान्तलाई पनि ध्यान दिनु पर्दछ, आफैंले बनाएको कुनै प्राक्कथनलाई कडी बनाउनु हुँदैन ।’

विवादको कारण के हो भने लेख्य र कथ्यको अलग स्तरीकरण गर्नुपर्छ भन्ने संस्कारतिर भाषाविदहरूको ज्ञान बढेको छैन । एकेडेमी हिजो जन्मियो । त्यो भोलि विसर्जन हुन सक्छ । पहिले यौटा त्रिवि थियो । अहिले धेरै विश्वविद्यालय भइसके । हिजोसम्म प्रमाणपत्र पढाउँथ्यो, आज पढाउन छोड्यो । भोलि त्रिविले मानविकी नै हटाउने निर्णय गर्ला । तर उसले जे निर्णय गरे पनि पनि साझा प्रकाशन भनेको ‘नेकशुले’ हो । त्यसले आफ्नै दृष्टिकोण राख्नुपर्छ । कुनै मिटिङले पास गर्दैमा त्यसलाई मानिहाल्नु पर्ने आज्ञाकारी संस्थाको नाम होइन ‘साझा’ । त्रिवि र एकेडेमीले निर्णय गरे भन्दैमा साझा त्यसमा बग्नु हुँदैन ।

सबैले बसेर छलफल गरौं । त्यसै अनुसार नयाँ ‘नेकशुले’ निकालौं । त्यसैबाट यो समस्या समाधान गरौं ।’

साभार : कान्तिपुर२०६८ चैत २५