“शब्दहरूको पृष्ठभूमि र इतिहास हुन्छ । तिनको जन्मस्रोत हुन्छ । तिनको पुर्ख्यौली पहिचान त्यतैबाट आउँछ । आफ्नो मौलिक स्वरूपमा यात्रा गर्दै आएका आगन्तुक शब्दहरूलाई तत्समको दर्जा नदिई जथाभावी काट्दा र लाछ्दा ती हिंडेर आएको गोरेटो मेटिन्छ, तिनको मुहान विस्मृत हुन्छ । र, ती जननीविनाका बतासे सन्तान बन्न पुग्छन् । यसो गर्नु वास्तवमा तिनको पहिचान हरण गर्नु र तिनको मौलिकताको तेजोवध गर्नु हो । यसो गर्नु वास्तवमा सजिलीकरणका नाउँमा विकृतीकरणतर्फ लहसिनु हो । हाम्रा शास्त्रीहरू त्यसै त गरिरहेछन् ।”
“भाषा महलका संवेदनशून्य र अराजक कैंचीकर्मीहरूबाट नेपाली कांग्रेसको त झन् हरिबिजोकै भएको छ । पदको हानथाप र अभिमानको टक्करमा घरीघरी दुई चिरा भए पनि वृद्ध कांग्रेस अझै एउटै संरचनाभित्र हल्लिरहेको छ । तर भाषामा भने कांग्रेस भत्किएर तीन थान भइसक्यो । डिकमाथि थोप्लो भएको थोप्ले ‘कांग्रेस’ एउटा, डिकमाथि चन्द्रबिन्दु भएको चन्द्रे ‘काँग्रेस’ अर्को र हलन्ते ‘ङ्’ भिराइएको हलन्ते ‘काङ् ग्रेस’ झन् अर्को । यो भद्रगोल भाषाका अधिनायकहरूको अनुपम कीर्ति हो ।”
…………………………………………………
शब्द डिक दिइएका किरिङमिरिङ रेखा र थोप्लाहरूको कोरा योग मात्र होइन । शब्द त जिउँदा मानिसका जिउँदा भावना बोक्ने सजीव चित्र पो हो । शब्दको विशिष्ट आकृति हुन्छ । त्यो आकृतिले जादूगरी दृष्टिको बाटो गरी संवेदनतन्तुमा स्पर्श गर्दा त्यहाँ झङ्कार पैदा हुन्छ । त्यो झङ्कारबाट मस्तिष्कमा एउटा बिम्ब बन्छ । अनेकौं पटक उही शब्द हेर्दा, लेख्दा र उच्चारण गर्दा त्यो बिम्ब स्मृतिको पर्दामा अमिट रूपले छापिन्छ । र, त्यो स्वस्फूर्त आदतका रूपमा मानिसको संस्कारको अभिन्न, प्रिय र अविस्मरणीय अंश बन्न पुग्छ । अनि चित्ररूपी शब्दसित हाम्रो सौन्दर्यबोधी चेतनाको गहिरो नाता गाँसिन्छ ।
म सानो छँदा मेरा ‘दशैं’, ‘आकाश’, ‘शहीद’ आदिमा मोटो श को प्रचलन थियो । मैले मोटो श को ‘दशैं’ लेखें र लेखें मोटै श को ‘आकाश’ र ‘शहीद’ पनि । हेर्दै, लेख्दै र उच्चारण गर्दै जाँदा मेरो स्मृतिपटमा मोटो श भएका ‘दशैं’, ‘आकाश’ र ‘शहीद’ का अर्थपूर्ण बिम्बहरू अङ्कित भए । मोटो श को ‘दशैं’ ले मेरो मनमा उत्सवी उमङ्गका तरङ्गहरू जगाउँथ्यो । कल्पनाको आकाशमा त्यसले आँगनमा खसी काटेको, निधारमा टीका लगाएको, मामा माइजूका हातबाट दच्छिना थापेको, सेरोफेरोमा खुशियाली नाचेको आदिका दृश्य र क्रियाहरूको जीवन्त लहर उठाउँथ्यो । जब भाषा फाँटका शास्त्रीहरूले ‘दशैं’ को मोटो श लाई अपहरण गरी पातलो स सट्टा भर्ना गरे, ‘दशैं’ शब्दले ल्याउने मेरो उमङ्ग तिनका हातबाट अपहरित भयो । मोटो श को ‘आकाश’ ले मलाई विराट् शून्यता, सुन्दर नीलिमा र आकाशका अन्य अनेकन् दृश्य, क्रिया र गतिहरूको झल्को दिन्थ्यो । अटूट अभ्यासबाट मैले राम्ररी चिनेको र अन्तरङ्ग साइनो गाँसेको ‘आकाश’ को ‘श’ लाई मासेर बनाइएको कृत्रिम तथा बिरानो ‘आकास’ बाट मेरो मानसमा आकर्षण होइन केवल विकर्षणको भावना उत्पन्न हुन्छ । जब म यो ‘आकास’ देख्छु, मलाई त्यो ‘आकाश’ को उखर्माउलो न्यास्रो लागेर आउँछ ।
पहिलो पटक म ‘शहीद’ शब्दसित मायामोह सहित परिचित भएको गुरुप्रसाद मैनालीको ‘शहीद’ कथाबाट हो । ऊबेलादेखि अहिलेसम्म मैले हजारौं पटक ‘शहीद’ शब्द देखें होला, हजारौं पटक उच्चारण गरें होला । र, कम्तीमा पनि सयौं पटक त मैले ‘शहीद’ शब्द लेखें होला । दीर्घ अभ्यासको प्रक्रियामा मोटो श भएको यो ‘शहीद’ शब्द मेरा आँखामा भिज्यो, मेरो मनमा रिझ्यो र मेरो संस्कारमा पच्यो । अनि ‘शहीद’ शब्द देख्यो कि मेरो मानसमा अद्भुत संकल्प र दृढ इच्छाशक्ति प्रदर्शन गर्दै अकथनीय यातना खपेर मानव मुक्तिको निम्ति आफ्नो जीवन आहुति दिने अत्युत्तम मानवको झल्को आउने भयो । गङ्गालाल श्रेष्ठ, दुर्गानन्द झा, कृष्णसेन ‘इच्छुक’ आदि जस्ताहरूको प्रेरणादायी झल्को । तर कथित सरलताका नाममा र नेपालीमा मोटो ‘श’ को उच्चारण गरिंदैन भन्ने बहानामा ‘शहीद’ शब्दलाई विरूप र कुरूप बनाउँदै ‘सहिद’ लेख्न थालियो । यो ‘सहिद’ मेरा आँखामा बिजाउँछ । यसले मेरो भावलोकमा कुनै तरङ्ग जगाउँदैन । यसले त केवल मेरो ‘शहीद’ को ओज र महत्ताको उपहास गर्छ ।
मेरा हजुरबाले पातलो ‘स’ माथि शिरबिन्दु राखेर आफ्नो नामको पछाडि ‘संग्रौला’ लेखे । मेरा बाले आफ्ना बाको सिको गर्दै मेरा हजुरबाको उही ‘संग्रौला’ लेखे । र, मैले हजुरबा र बाका पदचिह्न पछ्याउँदै उही ‘संग्रौला’ लेखें । शिरबिन्दुधारी यो ‘संग्रौला’ मेरो पहिचानको पर्याय बन्यो । यसलाई देख्ता मेरो मनमा म त्यो हुँ र त्यो म हो भन्ने भावना जागृत हुन्छ । तर कति न भाषा जान्ने हौं भन्नेहरूले मेरो ‘संग्रौला’ को शिरबिन्दुलाई मासेर हलन्ते ‘ङ्’ लेख्ने उर्दी जारी गरे । म ‘संग्रौला’ लेखेर पठाउँछु, खास गरेर साहित्यिक प्रकृतिका पत्रिकाका जागिरे सम्पादक वा प्रूफरीडरहरू ‘संग्रौला’ लाई बदर गर्दै ख्याँस्स ‘सङ्ग्रौला’ बनाइदिन्छन् । यो अतिचार देख्छु र म घरीघरी मर्माहत हुन्छु । मेरा लागि ‘स’ माथिको शिरबिन्दु केवल निर्जीव थोप्लो होइन, यो त मेरो पहिचानको द्योतक पो हो । जगतमा मानिसको स्थान र सामर्थ्य आखिर उसको पहिचानमै त निहित हुन्छ ! थोप्ले ‘संग्रौला’ र हलन्ते ‘सङ्ग्रौला’ को उच्चारण गर्दा निस्कने ध्वनिमा म कुनै अन्तर पाउँदिनँ । अनि बड्ता बाठो भएर ‘जस्तो बोलिन्छ उस्तै लेख्ने’ निहुँमा मेरो थरमा हलन्ते ‘ङ्’ थोपरेर मेरो पहिचानमाथि किन धावा बोलिएको होला ? भाषा फाँटका यी कैंचीकर्मीहरूलाई कताबाट यो अधिकार प्राप्त भयो होला ?
भाषा महलका संवेदनशून्य र अराजक कैंचीकर्मीहरूबाट नेपाली कांग्रेसको त झन् हरिबिजोकै भएको छ । पदको हानथाप र अभिमानको टक्करमा घरीघरी दुई चिरा भए पनि वृद्ध कांग्रेस अझै एउटै संरचनाभित्र हल्लिरहेको छ । तर भाषामा भने कांग्रेस भत्किएर तीन थान भइसक्यो । डिकमाथि थोप्लो भएको थोप्ले ‘कांग्रेस’ एउटा, डिकमाथि चन्द्रबिन्दु भएको चन्द्रे ‘काँग्रेस’ अर्को र हलन्ते ‘ङ्’ भिराइएको हलन्ते ‘काङ् ग्रेस’ झन् अर्को । छनलाई वस्तु एउटै छ तर भाषाको भाँडभैलोले गर्दा त्यो तीनवटा हुन पुगेको छ । यो भद्रगोल भाषाका अधिनायकहरूको अनुपम कीर्ति हो । विडम्बनावश, लक्ष्य, अग्रसरता र गति सबै कुरा गुमाएको प्रतीत हुने कांग्रेस भाषामा आफूलाई तीन थान बनाइएकोमा चुपचाप छ ।
नेपाली भाषाको कथित सरलीकरण र एकरूपीकरणको उन्मादी क्रीडाले मलाई पुरानो एउटा घटनाको याद दिलाउँछ । कुरा विक्रमाब्दको तीसको दशकको हो । नेकपा (माले) को छातामुनि ओत लागेका साहित्यमा रुचि राख्ने केही युवाहरूमा भाषामा केही ‘नयाँ’ गरेर देखाउने बाललहड जागेर आयो । तिनले जनताका लागि भाषा सजिलो बनाउने सूत्र जपे । र, त्यो जपनालाई साकार रूप दिन तिनले ‘संकल्प’ नामक पत्रिकामा उभिएर नेपाली भाषाको चरित्र, मौलिकता र मर्ममाथि अन्धाधुन्ध तरबार चलाए । तिनले इकार जति जम्मै ह्रस्व लेख्ने र पातलो ‘स’ ले पेलेर बाँकी दुई ‘श–ष’ को अस्तित्व नै मेटिदिने अन्ध–अभियान छेडे । आफैं लेख्नु, आफैं छाप्नु, आफैं पढ्नु र आफैं मक्ख पर्नु तिनको दिनचर्या बन्यो । त्यो उन्मादी क्रीडामा तिनलाई साथ दिने कोही भएन । त्यसैले त त्यो विनाशलीला धेरै दिन टिक्न सकेन । अनि आफ्नै विरूप पत्रिकाले मुख छोपेर बिचरा ती युवाहरू मैदानबाट भागे । नेपाली भाषाको सरलीकरण र एकरूपीकरणका हठधर्मी अभियन्ताहरूले नेपाली भाषालाई पुर्याउन खोजेको वास्तवमा त्यतैतिर हो । अर्थात् अन्ततः इकार उकार जति सबै ह्रस्व र एउटै पातलो ‘स’ को चौतर्फी बिगबिगी । नीति वचन भन्छ— अति सर्वत्र वर्जयेत् । छाँटले त्यो दिन धेरै टाढा छैन जब यी महान् शास्त्रीहरू भाषासम्बन्धी आफ्ना तजबिजी सूत्रहरूले मुख छोपेर त्यसैगरी मैदानबाट अलप हुनेछन् ।
नेपाली भाषाका प्रयोगकर्ताहरूमा यी शास्त्रीहरूले उत्पन्न गर्ने भयका आयामहरू अनेक छन् । ‘जब नयाँ शब्दकोश वा पुरानो शब्दकोशको नयाँ संस्करण आउँछ, मेरो मुटु ढुकढुक हुन्छ,’ यसो भन्छन् ‘अभिव्यक्ति’ का सम्पादक नगेन्द्रराज शर्मा । उनले किनेको नयाँ शब्दकोश धेरै दिनदेखि टेबुलमा कागजको खोलको कैदमा छ । त्यो खोलेर हेर्न डर लाग्छ । शास्त्रीहरूका करकमलबाट यसपाला कुन वर्ण मुर्गा भयो र कुन शब्द ऊँट भयो सम्झँदैमा रिङ्गटा लागेर आउँछ उनलाई । नेपाली भाषाका सारा प्रयोगकर्ताहरूको साझा भय हो यो । मनपरीका उस्ताद भनिन लायकका शास्त्रीहरू घरिघरि उर्दी जारी गर्छन्— यो ‘स’ राख, त्यो ‘श’ लाई डाँडो कटाऊ । यो ‘न’ राख, त्यो ‘ण’ लाई नर्क चलान गर । ‘लक्ष्मीप्रसाद’ लाई च्यात र ‘लक्ष्मी प्रसाद’ लेख । ‘बालकृष्ण’ लाई भत्काऊ र ‘बाल कृष्ण’ लेख । ‘कान्तिपुर’ लाई तोड र ‘कान्ति पुर’ लेख । अहो ! यो ज्यादतीको हद हो !
भाषाका शास्त्रीहरू शब्द बनाउने शिल्पी होइनन् । शब्द त भाषाका प्रयोगकर्ताहरूबाट पो बन्छ । दीर्घ अभ्यास र प्रचलनद्वारा शब्दले निश्चित स्वरूप धारण गर्छ । शास्त्रीहरू सनकको भरमा शब्दको त्यो स्वरूप परिवर्तन गर्ने अधिकारी पनि होइनन् । खुबै भए तिनले जुन वर्ण वा शब्द जस्तो छ त्यो त्यस्तो किन छ भन्ने कुराको व्याख्यासम्म गर्लान् । भाषासम्बन्धी नियमहरू वा मानकहरू भाषाविशेषको चरित्र, मौलिकता र मर्मभित्रै खोजिन्छन्, बाहिरबाट ती जबरजस्ती थोपरिंदैनन् । तर हाम्रा अघोरी शास्त्रीहरू अँध्यारो कोठामा बसेर भष्मासुरे मुद्रामा निधार खुम्च्याउँदै मनचिन्ते नियमहरू कोरल्छन् र मिचाहा मानकहरू कथ्छन् । अनि हिटलरी पाराले कथित नियम र मानकहरू प्रयोगकर्ताहरूका थाप्लामा बजार्छन् । सुन्नोस् है परम ज्ञानी शास्त्री महोदयहरू ! यो हजूरहरूको निरङ्कुशताको पराकाष्ठा हो ।
जस्तो बोलिन्छ उस्तै लेखूँ भन्नु अति सरलीकृत जिद्दी हो । जुनसुकै भाषामा पनि सबै शब्दको लेख्य रूप र बोल्य रूप निरपेक्षरूपले उस्तै हुँदैन । अनेकौं शब्द त्यस्ता हुन्छन् जुन लेखिन्छन् एक ढङ्गले र बोलिन्छन् अर्कै ढङ्गले । निरन्तरको अभ्यासबाट संस्कारित हुँदै जाँदा प्रयोगकर्तालाई शब्दको रूप र ध्वनिको त्यो भेद सहज र स्वाभाविक लाग्छ । र, त्यो स्वस्फूर्त आदत बन्छ । अंग्रेजी भाषाका कुरा गरूँ । त्यसमा लेखिन्छ ‘फुटुरे’, भनिन्छ ‘फ्यूचर’ । लेखिन्छ ‘नातुरे’, भनिन्छ, ‘नेचर’ । डीओ ‘डु’ हुन्छ तर जीओ ‘गु’ हुँदैन । एउटै वर्णबाट भिन्नभिन्न शब्दमा भिन्नभिन्न ध्वनि उत्पन्न हुन्छ । अंग्रेजी भाषामा यस्तो विविधताको त बगुन्द्र बगालै छ । तैपनि त्यो भाषा सिकिएकै छ, बोलिएकै छ, शुद्धसँग लेखिएकै छ । वर्ण र शब्दको यो अनेकरूपी चरित्रलाई अंग्रेजीमा किन मानिएको र धानिएको होला ? हाम्रोमा झैं त्यहाँका शास्त्रीहरूले सरलीकरण र एकरूपीकरणको अभियान किन नचलाएका होलान् ? नबुझेर ? नजानेर ? कि ल्याकत नपुगेर ?
शब्दहरूको पृष्ठभूमि र इतिहास हुन्छ । तिनको जन्मस्रोत हुन्छ । तिनको पुर्ख्यौली पहिचान त्यतैबाट आउँछ । आफ्नो मौलिक स्वरूपमा यात्रा गर्दै आएका आगन्तुक शब्दहरूलाई तत्समको दर्जा नदिई जथाभावी काट्दा र लाछ्दा ती हिंडेर आएको गोरेटो मेटिन्छ, तिनको मुहान विस्मृत हुन्छ । र, ती जननीविनाका बतासे सन्तान बन्न पुग्छन् । यसो गर्नु वास्तवमा तिनको पहिचान हरण गर्नु र तिनको मौलिकताको तेजोवध गर्नु हो । यसो गर्नु वास्तवमा सजिलीकरणका नाउँमा विकृतीकरणतर्फ लहसिनु हो । हाम्रा शास्त्रीहरू त्यसै त गरिरहेछन् ।
बर्बर अवस्थाबाट प्रविधि र संस्कृति सिक्दै सभ्यतामा प्रवेश गर्ने मेसोमा मानिसले मर्यादाको पाठ सिक्दै गयो । नाङ्गै जन्मिने मानिसले लाज ढाक्न वस्त्र लगाउन सिक्यो । वस्त्र कृत्रिम आवरण हो । सजिलो त नाङ्गै हिंड्नु हुन्छ । इँजार बाँध, इँजार फुकाऊ । टाँक लगाऊ, टॉक फुकाऊ । जिप्पर लगाऊ, जिप्पर फुकाऊ । हेर्नुस् त कत्रो झमेला छ ! तर झमेला छ भन्दैमा लाज शरम गुमाएर मर्यादाको तेजोबध गर्दै हिंडिदैन । भाषाको हकमा पनि कुरो यस्तै हो । सजिलीकरण र एकरूपीकरणका नाउँमा भाषालाई मर्यादाच्युत गरिंदैन, भाषाको चीरहरण गरिदैन । विडम्बनावश हाम्रा शास्त्रीहरू गरे हुन्छ भन्छन् !
छापिन लागेको मेरा कथाहरूको एकमुष्ट सँगालोमा ‘शहीद’ शीर्षकको एउटा स्यानो कथा छ । शास्त्रीहरूको उर्दीको जुवामा नारिन अभिशप्त हुँदा यो ‘सहिद’ भएर आउँछ, मैले कल्पना गरें । आफ्नै कल्पनाबाट मलाई औडाहा भयो । कम्प्युटरको पर्दामा मैले अनेकौं पटक आफ्नो प्रिय ‘शहीद’ लेखें । अनि आखिर यसलाई मुर्गा नबनाई छाड्दैनन् भनेर ‘सहिद’ लेखें । लेखें, केरें र घरीघरी फेरें । यो सब गर्दा मलाई त्यसैत्यसै औडाहा भइरह्यो ।
आखिरमा मेरा भाषा सम्पादक होमनाथ भट्टराईछेउ बिन्ती बिसाएँ, जनी गरेर कमसेकम मेरो परिचित र प्रिय ‘शहीद’ को रक्षा गरिपाऊँ । असीम निगाहसाथ तिनले ‘हुन्छ’ भने । त्यो ‘हुन्छ’ सुन्दा मेरो चित्तका सहस्र द्वारहरूबाट आनन्दको अजस्र वर्षा भयो । शास्त्री हजूरहरू आफ्नो नक्कली ‘सहिद’ लाई काखी च्यापेर हिंडिरहून्, म मेरो सक्कली ‘शहीद’ लाई मरिगए छाड्दिनँ ।
साभार : ‘कान्तिपुर’, १८ चैत २०६८
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।