दैत्यराज वृषपर्वाकी छोरी थिइन् – शर्मिष्ठा,
अनि दैत्यगुरु शुक्राचार्यकी छोरी थिइन् – देवयानी ।
ती दुवै थिए– एकै उमेरका सखी, जो अहिले भरखर जवानीमा पाइला टेक्दै थिए । दुवै थिए अग्घोर राम्रा, एक से एक रूपसी । दुवै आफूलाई मै हुँ ! भन्ने खालका ।
एक दिन एउटा दिव्य वनमा रहेको कुनै निर्मल जलाशयमा धेरै सखीहरुका साथ मिलेर उनीहरु जलक्रीडा गर्दै थिए । त्यसैबेला देवराज इन्द्र स्वर्गलोकबाट मनमौजी पाराले सयर गर्दै त्यहाँ आइपुगे । ती सुन्दरीहरुको त्यो क्रीडा देखेर उनी मक्ख परे र कौतुकवश वायु बनेर उनीहरुले जलाशयका किनारमा राखेका रेशमी वस्त्रहरु उडाएर यताका उता, उताका यता पारिदिए ।
केही वेरमा ती सबै सखीहरु जलक्रीडाले सन्तृप्त भएर जलाशयबाट निस्किए र आ–आफ्ना लुगा लगाउन थाले । संयोग कस्तो परेछ भने– इन्द्रको उपद्र्याइँले शर्मिष्ठाका लुगामा देवयानीका लुगा, देवयानीका लुगामा शर्मिष्ठाका लुगा मिसिन गएछन् । शर्मिष्ठाले आफ्ना भन्ठानेर देवयानीका लुगा खुरुखुरु लगाइन् ।
बस् , झगडाको बीउ यत्ति नै थियो ।
….
देवयानीले आफ्ना लुगा शर्मिष्ठाले लगाएको देखेपछि रनक्क तातेर भनिन् :
अरे ए्इ दानवकी सन्तान, मेरी शिष्या भएर पनि तैंले मेरो लुगा लगाउने हिम्मत कसरी गरिस् रे ! तँलाई सज्जनहरुको आचार व्यवहार के थाहा? हे जंगली केटी, तैंले मेरा लुगा लगाउने जुन दुस्साहस गरिस्, त्यसको फल अब चाख्लिस् ।
शर्मिष्ठा पनि के कम? दानवराजकी छोरी, देवयानीलाई केही गन्दिनथिइन् । भनिन् :
ए टपरे बाहुनकी छोरी! तैंले आफूलाई के भन्ठानेकी छेस् ? मेरा पिता बसिरहेका वेला होस् कि सुतिरहेका वेला, तेरा बाउले विनयशील सेवक झैं तल जमीनमा उभिएर मेरा पिताको स्तुति गाउँछन् । तँ भीखमंगाकी छोरी होस् । तेरा बाउले स्तुति गर्छन् अनि हामीले दिएको दान लिएर जीविका चलाउँछन् । तिमीहरुजस्तो हामी अरुका अगाडि हात पसार्दैनौं । अरे भीखमंगाकी सन्तान ! छाती पिटी पिटी रो कि भुइँमा लडबुडी गर् , तर मसँग पंगा न ली । तेरो हातमा त केही पनि छैन । हेर्, मेरो हातमा त हतियार पनि छ । तैंले मसित फुइँ देखाउनु व्यर्थ हो बुझिस् । म तँलाई भुसुना जति पनि गन्दिनँ । धेर निहुँ खोजिस् भने ऐले दासीहरुलाई लगाएर तँलाई यहाँबाट घोक्य्राएर निकालिदिन्छु, अनि खालिस् !
दानवपुत्रीका यस्ता दुर्वचन सुनेर रीसले आगो बनेकी देवयानीले शर्मिष्ठाका जिउमा हात हालिन् र आफ्ना लुगा तान्न थालिन् । शर्मिष्ठाको पनि रीसको पारो चढ्यो । उनी निकै बलियी पनि थिइन् । दुवैको लड्डी पर्यो । नजीकै एउटा इनार थियो– पानी सुकेको, घाँसफूसले भरिएको । शर्मिष्ठाले देवयानीलाई बलपूर्वक धकेल्दै लगेर त्यसै घनघोर शुष्क इनारमा खुरमुर्याइदिइन् र अब यहीं मरोस् भन्दै आफू चाहिं केही नभएको जस्तो गरेर चूपचाप दरबारतिर लागिन् ।
….
संयोगवश केही वेरपछि नहुषपुत्र राजा ययाति त्यस ठाउँमा आइपुगे । एउटा हिंसक पशुको आखेट गर्दै उनी त्यहाँ आइपुगेका थिए । प्यासले आकुल भएका ययातिले आहा! बल्ल पानी पिउन पाइने भयो भनेर ठूलो आशाले त्यस इनारमुनि हेरे । तर अचम्म, त्यहाँ पानी त थिएन, मान्छे पो थियो । मान्छे पनि कस्तो भने अग्निशिखाका समान तेजस्विनी, देवांगनातुल्य सुन्दरी नारी । तिनीमाथि दृष्टि पर्नासाथ मृदु स्वरमा राजाले सोधे :
तिमी को हौ ? तिम्रा नङ लालिमायुक्त छन्, कानमा मणिमय कुण्डल चम्किरहेका छन्, तिमी षोडशी जस्ती देखिन्छ्यौ । तिमी घोर चिन्तामा डुबेकी जस्ती छौ । घासफूस र लहराहरुले जेलिएको यो इनारमा कसरी खस्यौ? तिमी कसकी छोरी हौ सुमध्यमे ! मलाई सबै कुरा भन ।
देवयानीले भनिन् :
देवताहरुले मारेका दैत्यहरुलाई जसले आफ्ना विद्याका बलले पुनरुज्जीवित गराउनुहुन्छ त्यस्ता प्रज्ञावान् गुरु शुक्राचार्यकी म छोरी हुँ । उहाँलाई पक्कै पनि थाहा छैन होला म यस दुरवस्थामा फँसेकी छु । अनि रूप, बल र वीरताले सम्पन्न तपाईं चाहिं को हुनुहुन्छ नि ? अनि यहाँ कसरी पाल्नुभयो, म यो सब जान्न चाहन्छु ।
ययातिले भने :
हे भद्रे, म राजा नहुषको छोरो ययाति हुँ । एउटा हिंसक पशुको आखेट गर्दागर्दै यहाँ आइपुगें । गलेर लखतरान परेर, तिर्खाले व्याकुल बनेर यहाँ पक्कै पानी होला भन्ठानेर हेर्दा पो तिमीलाई देखें ।
देवयानीले भनिन् :
राता राता नङवाला औंला भएको यो मेरो दाहिने हात समाएर मलाई यस इनारबाट उद्धार गर्नुहोस् । मैले थाहा पाएँ– हजुर उच्च कुलमा जन्मनुभएको रहेछ । अनि शान्त स्वभाव भएका, पराक्रमी र यशस्वी वीर पनि हुनुहुँदो रहेछ, कृपया मलाई यस इनारबाट उद्धार गर्नुहोस् ।
राजा ययातिले पनि यिनी ब्राह्मणकन्या रहिछन् भन्ने बुझेर, उनको सुकोमल मृदु दाहिने हात समाएर उनलाई इनारबाट सकुशल बाहिर निकाले । अनि भने :
हे भद्रे, अब स्वेच्छया जहाँ मन लाग्छ जाऊ , तिमीलाई अब कुनै भय छैन ।
ययातिको कुरा सुनेर देवयानीले भनिन् :
राजन्, हजुरले मेरो पाणिग्रहण गर्नुभएको छ, हजुर अब मेरो प्रियतम हुनुहुन्छ, पति हुनुहुन्छ, मलाई आफूसँगै लिएर जानुहोस् ।
ययााति अलिकति झस्किए, अलिकति डराए, अनि भने :
हे भद्रे, म त क्षत्रियवंशको हुँ, तिमी ब्राह्मणकन्या हौ, तिमीसँग मेरो समागम हुनु ठीक होइन । हे कल्याणि, फेरि गुरु शुक्राचार्य यस समस्त जगत्का नै गुरु हुनुहुन्छ । तिमी उहाँकी छोरी हौ । मलाई उहाँसँग पनि डर लाग्छ । तिमी मेरा निम्ति योग्य छैनौ, म पनि तिम्रा निम्ति योग्य पुरुष होइन ।
देवयानीले भनिन् :
हे राजन्, यदि मैले भन्दा मलाई आफूसँग लैजान मान्नुहुन्न भने पनि ठीकै छ, तर म पिताजीलाई भन्न लगाएर पनि हजुरलाई नै वरण गर्छु के ! अनि त म हजुरको योग्य भैजाउँली नि ।
ययातिले केही भन्न सकेनन् । ती अनुरागवती परमरमणी युवती देवयानीसँग सप्रेम विदा भएर राजधानीतिर फर्किए ।
….
त्यसपछि के भयो ?
प्रिय पाठक बन्धु, त्यो रोचक उपाख्यान अर्को शुक्रवार यहीं प्रस्तुत गरिनेछ । अवश्य पढ्नुहोला ।
सप्रेम साधुवाद, सबैको जय होस् ।
….
महाभारत, आदिपर्व, ७८ अध्यायमा आधृत ।
२०८१ असार २८ गते शुक्रवार, ॐ अक्षरालयः ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।