“सरलता र एकरूपताका नाममा नेपाली भाषालाई संकीर्ण, अनुदार, असहिष्णु एवम् एकाधिकारी प्रकृतितर्फ घिच्याउने र भाषिक कलहको बीउ रोप्ने अधिकार कसैलाई छैन ।”

“हिज्जे व्याकरण, शास्त्र, विज्ञान (आदि) मध्ये केही होइन । जीवित मान्छेको छालाले झैं प्रत्येक भाषाको हिज्जेले पनि काँचुली फेर्दा ढोल पिट्दैन ।”

“२०४० मा हामी झर्रोवादीहरू संस्कृत तत्सम बाहेक अन्य भाषाबाट आएका शहर, कानून, रसीद, जादू, शायद आदि शब्दलाई नेपाली भोटो लगाइदिएर तद्भवीकृत नगरे अशुद्ध घोषित गर्थ्यौं । त्यसवेला मद्वारा शतप्रतिशत निर्देशित र १५ प्रतिशत घुँडाधस शैलीमा सम्पादित ‘बृहत् नेपाली शब्दकोश’ को यो पापको ‘नेकशुले– २०६९’ मार्फत मैले प्रायश्चित्त गरेको छु ।

० ० ० ०

 

‘काली होऊँ कि कल्चौंडी होऊँ, आफ्ना पोइकी प्यारी रहूँ ।’ यो उखानको सन्देश मलाई हिज्जेलाई लिएर हाम्रा भाषासेवी दिग्गजहरूले संवत् २०६५ मा स्नातकस्तरीय अनिवार्य नेपाली मार्फत अनि माध्यमिक शिक्षा परिषद्, साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठान जस्ता पवित्र संस्थाहरूको काख खुँदेर २०६७ मा कक्षा ११ र १२ को अनिवार्य नेपालीको हिज्जेलाई अदूरदर्शी परिवर्तनको भालाले घोच्दै पुस्तक प्रकाशन मार्फत राष्ट्रको करोडौं रकमको दुरुपयोग गराएपछि थाहा भयो ।

त्यस्ता मुशलप्रवेशीहरूको छिमेकमा म थिइनँ । म त विराटनगरमा बेग्लै प्राज्ञिक चिन्तन–मननमा व्यस्त थिएँ । एकाएक विराटनगरका थुप्रै प्राध्यापक, लेखक र शिक्षकहरू काठमाडौंमा केही दिग्गजले २०५७ देखि २०६७ सम्म गरेका निर्णय अनुसार मुद्रित केही पाठ्यपुस्तक लिएर मलाई घेर्न आए । भने तिनले : तेरा चेला हुन् कि होइनन् यी ? होइनन् भने होइनन् भन् । हुन् भने तैंले सिकाएका चेलाले गरेको अपराध तेरो ठहरिन्छ । भन्,  यस्तो भाँडभैलो मच्चाएर तेरा चेलाले देशको करोडौं रकमको हिनामिना किन गरे ?

यो विरोध मेरै सामुन्ने गरिनुको औचित्य के थियो भने,  डा.तारानाथ शर्मा, डा.बल्लभमणि दाहाल, कोशराज रेग्मी, प्रा.चूडामणि रेग्मी आदि महारथीको अति उर्वर गिदीमा झर्रोवादको बीजारोपण गर्ने तथाकथित भाषाप्रेमी मै थिएँ । झर्रोवाद अनुरूप नेपाली हिज्जेको रूपान्तरण गराउनलाई त्रिवि मार्फत विराटनगर, पाल्पा, पोखरा र काठमाडौंमा विशेषज्ञको टोली घुमाउने परम्पराका सूत्रधारहरूमध्ये अग्रणी मै थिएँ क्यार । यसै क्रान्तिकारी टोलीको नेता भएकाले होला, इच्छा नहुँदा नहुँदै पनि २०३६ वैशाख १ देखि लागू हुने गरी प्राज्ञ परिषद्को भाषातर्फको सदस्य हुन मलाई बाध्य पारियो । ‘खस जातिको इतिहास’ लेख्ने अठोट थन्क्याएर म पाँच वर्षसम्म भाषातर्फको प्राज्ञ भएँ । मलाई प्राज्ञ हुन बाध्य पार्नेको इच्छा पूरा गर्न मैले एकेडेमीको ‘बृहत् नेपाली शब्दकोश’ को निर्देशकीय सम्पादन अँगाल्नैपर्‍यो । नढाँटी भन्छु म, यस कोशमा दिमाग धेरैको खर्च भएको छ । पसिनाको कुरा गर्ने हो भने ४० प्रतिशत कृष्णप्रसाद पराजुलीको, २० प्रतिशत हर्षनाथ शर्मा भट्टराईको, १५ प्रतिशत मेरो, १० प्रतिशत गोपीकृष्ण शर्मा गौतमको, २ प्रतिशत विशेष सम्पादकद्वयको र बाँकी अन्यको परेको छ ।

यस कोशमा मैले मेरो प्यारो झर्रोवादको अनुकूल व्यापक क्रान्ति ल्याउँला भन्ने आशा मेरा क्रान्तिकारी चेलाहरूको थियो । तर मलाई एकान्तमा बोलाएर ‘यसतर्फ लागेर नब्बे सालको भुइँचालो नल्याउने’ राय कविवर माधवप्रसाद घिमिरेले दिनुभयो । दर्शनशास्त्रका छात्र भए पनि उहाँ मसँग तर्क गर्न धकाउनुहुन्थ्यो । तैपनि संक्षेपमा जिरे खोर्सानी झैं उहाँको सल्लाह थियो— ‘परिवर्तनको नाममा भाँडभैलो प्राज्ञको धर्म होइन ।’  उहाँलाई नटेरी मैले आफ्नो निर्देशनमा प्रकाशित उक्त कोशमा ०.५ प्रतिशत क्रान्ति चाहिं लागू गरें । त्यस अर्धप्रतिशत क्रान्ति ल्याए बापत मैले भाषाका उपयोगकर्ताहरूबाट खाएका गाली सम्झँदा आङ जिरिंग गर्दै छ । आज मलाई अर्थ लाग्दै छ, आधा प्रतिशतको कुरो परै जाओस्, यदि ‘क्रान्ति’ हो भने हामीलाई चौथाइ प्रतिशत पनि चाहिंदैन । त्यसैले होला प्रतिवर्ष सूर्य महाराजले बाह्र संक्रान्ति ल्याएर पनि एउटै क्रान्ति नल्याएका ! चाहे हिज्जे भनौं, चाहे वर्तनी भनौं, चाहे खिप्ती भनौं या हिज्ज्यौनी नैं भनौं, कुरो उही हो । यसलाई हरेक पाँचौं वर्षमा भिन्न रङले भित्तो सिंगार्ने रङ्गकर्मी चाहिंदैन । हिज्जेलाई खासखास याममा परेवा अथवा चीलले झैं प्वाँख झार्ने आवश्यकता पनि पर्दैन । यसलाई न हिउँदमा साँपले झैं काँचुली फेर्ने शिशिरार्तव शायनधर्म (हाइबर्नेसन) चाहिन्छ, न ता बर्खामा केही भ्यागुताले झैं काँचुली फेर्ने ग्रीष्मार्तव शायनधर्म (एस्टिभेसन) नै चाहिन्छ ।

हिज्जे व्याकरण, शास्त्र, विज्ञान (आदि) मध्ये केही होइन । जीवित मान्छेको छालाले झैं प्रत्येक भाषाको हिज्जेले पनि काँचुली फेर्दा ढोल पिट्दैन । र्‍याङ र ठ्याङ मिलाएर टिप्पन कोर्न मिल्ने शिशु होइन हिज्जे । ‘समाज’ बुझाउने ‘मान्छ्यौलो’ लाई हाम्रा पूर्वजले कहिले जन्म दिए भन्न सकिन्न । झर्रोवादीहरूले मन्छ्यौल्याइँ (सामाजिकता), मन्छ्यौलवाद (समाजवाद) आदि शब्द जन्माएर जस–अपजस के पाउने हुन्, भविष्यले बताउला । जमर्को (प्रयास) झर्रेलीहरूको आविष्कार होइन । खोजी मात्र हो । यसलाई राजा वीरेन्द्रले समेत रुचाउनु हाम्रो सौभाग्य हो । तर झर्रेलीहरूद्वारा जन्माइएका जमर्क्याउनु (प्रयास गर्नु–गराउनु) जस्ता शब्दहरूको भविष्य अज्ञात छ । यदि भविष्यले यिनको स्वागत गरेछ भने जन्मदाताले दिएको अनुहारको अपमान गर्नु उचित कार्य होइन । हिज्जे भनेको शब्दको अनुहार भएकै कारण बङ्गालीले यसलाई ‘बानान’ भनेका होलान् ।

हिज्जे अवश्य शब्दको अनुहार हो । यस अनुहारको नखशिख वर्णन सम्भव छ । यो यसरी वर्णनीय भए पनि मूर्ति भने होइन, किनभने यो नैसर्गिक अस्मिता हो । यसो ता एक प्रकारका मूर्ति नै हुन् कसैकसैले अचेल राजमार्गको विकल्पमा लेख्ने गरेका ‘लोकमार्ग’ पनि । यी कृत्रिम ढलौटे मूर्तिहरू सही–बेसही के हुन् भनी जाँच्लान् हाम्रा राजबिराज, राजगन्ज सिनुवारी, राजावास आदि झैं स्थल नामहरूले अथवा राजबहादुर, राजेश्वर देवकोटा, लोकराज बराल आदि झैं व्यक्ति नामहरूले । भन्नाले, नैसर्गिक मूर्ति झैं भाग्यशाली गठित मूर्ति हुँदैनन् । तर जम्मै मानवनिर्मित मूर्ति अभागी नभए झैं केही स्रष्टाप्रस्तावित हिज्जे पनि प्रशंसनीय हुन सक्छन् । उदाहरणार्थ हामी महाकवि देवकोटाका स्निग्धगोबरी, स्वच्छ मान्द्रिलो, बमनवेदान्त आदि झैं सुन्दर प्रयोगलाई लिन सक्छौं ।

‘नेपाली कसरी शुद्ध लेख्ने ? हिज्जे विचार २०६९’ (नेकशुले–२०६९) को समर्थनमा म एक्लो मात्र होइन, कमलमणि आचार्य दीक्षित, डा.तारानाथ शर्मा, मुकुन्दशरण उपाध्याय, डा.कुमारबहादुर जोशी, कृष्णप्रसाद पराजुली, नगेन्द्रराज शर्मा घिमिरे, रोचक घिमिरे, जगदीश घिमिरे लगायतका झन्डै एक सय विद्वान् छन् । त्यसमा हस्ताक्षर गरेपछि, हैकमवादी शैलीमा नेपाली पाठ्यपुस्तकमा भाँडभैलो पाराले हिज्जेमा विकृति ल्याउन चाहनेका विरुद्ध केही गर्नेछु भन्दै आफूले गृहनगर विराटनगरमा गरेको प्रतिज्ञा आंशिक रूपमा भए पनि पूरा भएको मैले बोध गरें । मैले सबैका सामुन्ने गरेको प्रतिज्ञाका सुनी जान्ने एक साक्षी प्राज्ञ कृष्णभूषण बल पनि हुनुहुन्छ । यस भाँडभैलोवादी हिज्जे परिवर्तनका विरुद्ध उच्च स्वरले बोल्ने एक वक्ता उहाँ पनि हुनुहुन्थ्यो । वाणी प्रकाशन, विराटनगरका सम्पूर्ण नेपालीविद् र पूर्वाञ्चलका सबै उर्वर मस्तिष्क यस्तो गाईजात्रे हिज्जे परिवर्तनको विपक्षमा थिए । ‘नेकशुले – २०६९’ मा सही गरेपछि बल्ल मैले बुझें, माधवप्रसाद घिमिरेले ‘बृहत् नेपाली शब्दकोश’ मा नब्बे सालको भुइँचालो नल्याउने सल्लाह सुटुक्क मेरो कानमा नदिनुभएको भए आज २०६७ तिर मच्चिएको भाँडभैलो २०४० मै मच्चिने थियो । मैले त गुरुजनलाई आदर गर्न सिकेकाले मात्र जोखिमको भुमरीमा पर्नबाट म बँचें । तर मै विज्ञ, मै सर्वज्ञ, मै दिग्गज र मै कुर्सीमा बस्ने प्रमुख भनी दम्भ गरेको हुँदा पाठ्यपुस्तकमा हिज्जेको परिवर्तन गर्नेहरूको विरोध विराटनगरभन्दा धेरै राजधानीमा चर्केको मैले पाएँ ।

पाठ्यपुस्तकमा अदूरदर्शी शैलीमा हिज्जेको ताण्डवनृत्य मच्चाउने मध्ये धेरै मेरा चेला थिए । तीमध्ये केहीलाई सोध्दा ओठे जबाफ पाएँ । जबाफ थियो : जे गर्‍यौं सबै तैंले २०३४ मा अभिमुखीकरण अभियानमा पढाएका पाठ अनुसार गर्‍यौं । तैंले २०४० मा लागू गर्ने आँट गरिनस्, हामीले गर्‍यौं । बुझिस् अब त ?

म ती विद्वान् हरूसित रिसाइनँ । आफ्ना अग्रजको काख ‘कुन्नि के जाती (थोक ?)’ गरेर बिगार्ने बालक पनि पछि आदिकवि भानुभक्त, बालागुरु षडानन्द या इतिहास शिरोमणि बाबुराम भए झैं बनून् भनी म तिनलाई आसिक दिन्छु । तर म ठूलो दिग्गज पो, म त उच्च कुर्सीमा आसीन प्रतिभा पो, म त थुप्रै आवेदकहरूको भाग्य बनाउन वा बिगार्न सक्ने अगडमबगडम पो भनी यदि तिनले आफ्नो दम्भलाई अधिमूल्याङ्कनको चन्द्रागिरिमा पुर्‍याए भने तिनलाई थाहा हुनेछैन, मलाई कविवर घिमिरेले २०४० मा दिएको उक्त उपदेशको अर्थ के थियो ।

‘नेकशुले २०६९’ का सन्दर्भमा म के कबोल गर्छु भने, २०४० मा न्यून मात्रामा भए पनि हामी झर्रोवादीहरू संस्कृत तत्सम बाहेक अन्य भाषाबाट आएका शहर, कानून, मालूम, वकील, रसीद, जादू, जासूस, शायद आदि शब्दलाई नेपाली भोटो लगाइदिएर तद्भवीकृत नगरे अशुद्ध घोषित गर्थ्यौं  । २०४० को मद्वारा शतप्रतिशत निर्देशित र १५ प्रतिशत घुँडाधस शैलीमा सम्पादित ‘बृहत् नेपाली शब्दकोश’ को यो पापको ‘नेकशुले २०६९’ मार्फत मैले प्रायश्चित्त गरेको छु । कसैले एक गिलास ‘बीयर’ खाएछ भने ‘बियर’ नखाएको हुँदा तेरो जात गयो म भन्ने छैन । शरच्चन्द्र वस्ती एवम् जगदीश घिमिरे र मेरा अग्रज वरेण्य कमल दीक्षितलाई छोएर मनोमान राजीखुशीसित वचन दिन्छु, यदाकदा कसैले ‘खुशी’ लेखेछ भने, त्यो ‘तत्सम’ नभएर पनि, सोसरहको शुद्ध प्रयोग हो भनी मान्नेछु ।

चाहे अब्बल कोटिमा होस् चाहे दोयममा होस्, चाहे सिममा होस् चाहे चाहारमै किन नहोस्, नेपाली भाषाले अन्तर्राष्ट्रिय प्राङ्गणमा प्रविष्टि पाउन सफल यस युगमा यसलाई खसको मात्र मातृभाषा ठानेर केही नियम बनाउन पाइन्न । हजार वर्षभन्दा लामो लेख्य इतिहास बोकेको सम्पर्क–भाषाको बिरुवा रोपेर मलजल गर्ने अमर आत्मा नागराज (लाङ्गाराज) मगर नरेश अंशुवर्माकी पुत्री भृकुटीका वंशज थिए । अतः चार जात छत्तीस वर्णको साझे फूलबारीको सम्पर्क माध्यमका उच्चार्य र लेख्य दुवै स्वरूपलाई घरघरै अथवा गाउँगावैंमा फरक पर्दै जाने खसकुरेली तथ्यका आधारमा डेनियल जोन्स वा तिनका परवर्तीहरूको तुलाले तौलिंदै बुजुक पल्टने रोगलाई हामीले निको पार्नेपर्छ । खस एक जनजाति हो र सो जनजाति थुप्रै मातृभाषाको वक्ता हो । तिनका स्थानीय खसकुराहरूमा पनि ग्रन्थ लेखिऊन् । तर सम्राट् नागराज झैं मगर महात्माले रोपेको, सुन्दरानन्द बाँडा, धर्मरत्न यमि, हृदयचन्द्रसिंह प्रधान आदि झैं अमर आत्माले गोडमेल गरेको, भवानी भिक्षु, डा.धीरेन्द्र आदि झैं महनीय मनीषीहरूले स्याहारेको, सन्तवीर लामा, पारिजात वाइवा वा डा.हर्क गुरुङ आदि अमूल्य रत्नहरूले माया गरेको औ पश्चिमका पहलमानसिंह स्वारदेखि पूर्वका पारसमणि प्रधानसम्मले मुटुमा स्थान दिएको, आज सात समुद्र पारिका संस्थाहरू मार्फत आयोजित कार्यक्रममा समेत गुन्जिन लागेको स्तरीय नेपालीलाई खसकुरेली जिब्राले नापेर हजार वर्षभन्दा पुरानो लेख्य नेपालीको उच्चार्य गौरवको समेत अवमूल्यन गर्न पाइँदैन । सरलता र एकरूपताका नाममा नेपाली भाषालाई संकीर्ण, अनुदार, असहिष्णु एवम् एकाधिकारी प्रकृतितर्फ घिच्याउने र भाषिक कलहको बीउ रोप्ने अधिकार कसैलाई छैन ।

गत वैशाख अन्तिम साता त्रिविका प्राडाहरूसँगको अनौपचारिक भेटघाटमा ‘तँ बालकृष्णे गुरुले आँखाको अपरेशन गरी अन्धो भएको बेलामा मौका छोपी तँलाई ल्याप्चे ठोकाएर जारी गरेको हो यो नेकशुले–२०६९’ भनी सम्साँझै मलाई अपजस लगाउने मेरा प्यारा छात्रहरूको मति, गति र नियति झन्झन् सुमधुर हुँदै जाओस् भन्ने हार्दिक कामना गर्दछु । साथै, ‘नेकशुले–२०६९’ तयार गर्ने दायित्व वहन गर्ने अवसर मिलेकोमा म शतप्रायः सहभागी विद्वान् हरूप्रति कृतज्ञता जाहेर गर्छु । यो त फगत सूत्रात्मक प्रस्तावना मात्र हो । यसलाई व्याख्या गर्नेहरूको पनि पक्कै खाँचो हुने छैन ।

साभार : कान्तिपुर (कोसेली) ।

शनिवार, ९ असार, २०६९