(मानिसहरू पत्रकारले भाषा बिगारे भन्छन् । साहित्यको भाषा स्तरहीन भयो भन्ने गुनासो व्यापक छ । विद्यार्थीको भाषा खत्तम छ भन्न कसैले सोच–विचारै गर्नुपर्दैन । कर्मचारीको भाषाको कन्तबिजोक छ । राष्ट्रपति र प्रधानमन्त्रीका कार्यालयको भाषाको दयनीयता तिनका सूचना र वक्तव्यले विज्ञापित गर्छन् । क्याम्पस र विश्वविद्यालयको, उपकुलपतिका कार्यालयहरूको भाषा कति तन्नम छ भन्ने सामाजिक सञ्जालमै देखिइरहेको छ । बजारका साइनबोर्ड, कुनै पनि कार्यालयका सूचना, क्याम्पस र विश्वविद्यालयका प्रश्नपत्रदेखि राजनीतिक दलहरूका वक्तव्यसम्म अनि विविध विषयका शिक्षक र प्राध्यापकहरू सम्मको भाषा कहालीलाग्दो छ ।

यसको जिम्मेदार को ? कसले बिगारेको हो भाषा ? के साराका सारा नेपालीहरू भाषा बिगार्ने अभियानमा लागेका हुन् ? भाषा बिग्रिनु वा बिगारिनुका दोषी उनै हुन् ? कि उनीहरू अरू कसैले चलाइरहेको भाषाघाती कुचक्रका निरीह निरीह शिकार हुन् ? भाषा बिगार्ने सरकारी आदेश विरुद्ध सर्वोच्च अदालतले अघिल्लो हप्ता गरेको फैसलाका सन्दर्भमा पढ्नोस्— ६ महीना अघि साहित्यपोस्टमा प्रकाशित यो आलेख, जसले यी प्रश्नको उत्तर दिनेछ । सन्दर्भ पत्रकारिताको भए पनि यसमा राज्य र जनजीवनका सबै अंग, पेशा, व्यवसाय र वर्गको प्रतिबिम्ब देख्न÷ठम्याउन सकिने छ । —सं.)

आउनोस्, एउटा प्रश्नको उत्तर खोजौं ।

प्रश्न हो : ‘मानिसहरू पत्रकारले भाषा बिगारे भन्छन् । के यो सत्य हो ?’

प्रश्न भुइँमा नझर्दै तपाईंको उत्तर हाजिर भइसक्यो होला । उत्तर दिनुभन्दा पहिले प्रश्न के हो भनेर त बुझौं ।

म देखिरहेको छु, यस प्रश्नभित्र तीनवटा प्रश्न लुकेर बसेका छन् । तिनको अनुहार फरक छ, बोली फरक छ र मनसाय पनि फरक छ । एउटा प्रश्न ‘क्रिया’ सँग सम्बन्धित छ, अर्को ‘कर्म’ सँग सम्बन्धित छ र अझ अर्को चाहिं वस्तुतथ्यसँग सम्बन्धित छ । अथवा भन्नोस्, एउटा कामप्रति, अर्को कुराप्रति र अझ अर्को भने यथार्थप्रति अभिमुख छ ।

त्यसैले आउनोस्, एउटा प्रश्न जस्तो लाग्ने यस प्रश्नभित्र रहेका तीनवटै प्रश्नको उत्तर खोजौं— पालैपालो ।

प्रश्न एक :

‘मानिसहरू पत्रकारले भाषा बिगारे भन्छन् । के यो सत्य हो ?’ यस प्रश्नमा लुकेको (‘क्रिया’ सँग सम्बन्धित) पहिलो प्रश्न हो— मानिसहरू पत्रकारले भाषा बिगारे भन्छन् भन्ने कुरा सत्य हो कि होइन ? अर्थात्, मानिसहरूले यस्तो भन्ने गरेका छन् कि छैनन् ?

यस प्रश्नको उत्तर सोझो र स्पष्ट छ— ‘सत्य हो ।’ अर्थात् पत्रकारले भाषा बिगारे भनेर मानिसहरूले भन्ने गरेको सत्य हो । मानिसहरू यसो भनिरहेका छन् नै । होइन त ?

प्रश्न दुई :

‘मानिसहरू पत्रकारले भाषा बिगारे भन्छन् । के यो सत्य हो ?’ यस प्रश्नमा लुकेको (‘कर्म’ सँग सम्बन्धित) दोस्रो प्रश्न हो— पत्रकारले भाषा बिगारे भनेर मानिसहरूले जे भनिरहेका छन्, त्यो सत्य हो कि होइन ? अर्थात्, मानिसहरूले भनेको कुरा (वा भनौं, लगाएको आरोप) मा सत्यता छ कि छैन ?

यस प्रश्नको उत्तर पनि सोझो र सरल नै छ— ‘सत्य हो ।’ अर्थात्, पत्रकारले भाषा बिगारेकै छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन जता हेर्नोस्, भाषा भद्रगोल छ । (यद्यपि, यो उत्तर स्वयंमा अर्धसत्य, अथवा भनौं आभासी सत्य मात्र हो, जसको खुलासा तेस्रो प्रश्नले गर्नेछ ।)

पत्रकारले भाषा बिगारेको कुरा अरूले गर्दै पर्दैन, सबैभन्दा बढी पत्रकारले नै गरिरहेका छन् । दुर्लभ अपवादलाई छाडिदिने हो भने, हरेक पत्रकार अरूले भाषा बिगारेका अनन्त गुनासा र आक्रोश बोकेर हिंडेको छ अनि आफ्नो भाषा राम्रो र सटीक हुन नसकेकोमा चिन्तित एवं लघुताभासग्रस्त पनि छ । ती गुनासा र आक्रोश, ती चिन्ता र लघुताभास आजको नेपाली पत्रकारिताका यथार्थ हुन् ।

सञ्चार माध्यम जतिखाले भए पनि सञ्चारको, अनि पत्रकारिताको आधारभूत माध्यम त आखिर भाषा नै हो र भाषा मात्र नै हो । भाषा ठीक नभए कस्तो पत्रकारिता, केको पत्रकारिता ? तर, नेपाली पत्रकारिता प्रायः भाषाकै मामिलामा तीन बल्ड्याङ खाइरहेको भेटिन्छ । हिज्जे गलत हुन्छ, शब्दचयन ठीक हुँदैन, वाक्यगठन मिलेको हुँदैन, अनावश्यक शब्द थुप्रिएका हुन्छन्, अर्थ नलागेर अथवा उल्टो र अवाञ्छित अर्थ लागेर वाक्य हास्यास्पद बनिरहेको हुन्छ । पत्रकारको भाषा हेर्दा के देखिन्छ भने ऊ साला र शाला, नसा र नशा, सहर र शहर, सायर र शायर, पुरा र पूरा, उनी र ऊनी, जाति र जाती, दिन र दीन, चिर र चीर, खालि र खाली, गाडा र गाढाका बीच रहेको अर्थभेद समेत छुट्याउन सक्तैन । ऊ इस्पातलाई स्पात, एस्कर्टिङलाई स्कर्टिङ, मेगावाटलाई मेघावाट लेख्न लजाउँदैन । ग्रीन पार्कलाई ग्रिन (ङिच्च गर्ने) पार्क भन्छ, मार्कशीटलाई मार्कसिट (अंक–कुर्सी ?) ठान्छ अनि शेक्सपियरलाई सेक्सपियर (यौन–जोडा) मान्छ । ऊ ‘कुकुरको जनसंख्या’ बढेको र ‘दुई दर्जन आयल निगम’ का कर्मचारी निलम्बित भएको समाचार लेख्छ । ‘मृतकहरू फुटपाथमा हिंडिरहेको’ देख्छ अनि मृतकको ‘अन्तिम’ दाहसंस्कार भएको खबर प्रसारण गर्छ । एउटा वाक्यमा दुई–तिहाइ अंग्रेजी शब्द हालेर नेपाली भाषालाई बिरानो बनाउन असजिलो मान्दैन ।

यस्तै अनन्त विसंगतिका कारण नेपाली पत्रकारिताले बेलाबखत आफ्नै बीचबाट समेत निकै निर्मम टिप्पणी झेल्ने गरेको छ । जस्तै :

“भाषिक दक्षताको अभावमा हाम्रो पत्रकारिता बोधो, निष्प्रभावी, आफैं अलमलिएको र अरूलाई अलमल्याउने बन्न पुगेको छ; चकचके बच्चाले घण्टे सूई निकालिदिएको भित्तेघडीको लंगुर झैं असञ्चार र अपसञ्चारका दुई ध्रुवबीच अर्थहीन अनन्त–यात्रामा उसिनपसिन भइरहेको ।

“पत्रकारितालाई राज्यको चौथो अङ्ग भनेर महिमामण्डित गर्ने गरिएको छ । तर यसको भाषा र सम्प्रेषणीयतालाई नियाल्ने हो भने यो कसैले नदेखोस् भनेर ढाकछोप गरेर राख्नुपर्ने अङ्ग जस्तो प्रतीत हुन्छ । पहिले यसलाई देखाउन लाज नहुने अङ्ग त बनाऔं, चौथो अङ्गको कुरा त्यसपछि गरौंला !”

(नेपाली पत्रकारिताको भाषा, राज्यको रूपान्तरण/मासिक, वैशाख–जेठ २०६५)

प्रश्न तीन :

‘मानिसहरू पत्रकारले भाषा बिगारे भन्छन् । के यो सत्य हो ?’ यस प्रश्नमा लुकेको तेस्रो प्रश्न भने वस्तुतथ्य वा भनौं समग्र सत्यप्रति लक्षित छ । त्यो हो— मानिसहरूले पत्रकारमाथि लगाएको यो आरोप कति सही, कति उचित हो ? अर्थात्, पत्रकारकै कारणले मात्र भाषा बिग्रेको हो कि भाषा बिग्रनुको वास्तविक कारण अर्कै छ ?

यो चाहिं सबैभन्दा गम्भीर प्रश्न हो । र, यसको उत्तर अघिल्ला दुई प्रश्नको उत्तर भन्दा विपरीत छ— ‘सत्य होइन ।’ अर्थात्, नेपाली भाषा पत्रकारले बिगारेका होइनन् । यसको वास्तविक कारण अर्कै छ । भाषा बिगार्ने वास्तविक खलनायक अरू नै छन्, जसले नायकको मखुन्डो लगाएर नेपाली भाषा ध्वस्त पार्ने दारुण कुचक्र चलाएका छन् । पत्रकार त त्यस कुचक्रबाट पीडित निरीह पात्र मात्र हुन् ।

तपाईं भन्नुहोला— कसरी ? आउनोस्, यसबारे अलिकति चर्चा गरौं ।

सर्वप्रथम नेपाली भाषाको शिक्षा प्रणालीलाई नै हेर्नोस् । प्राथमिकदेखि स्नातक तहसम्म नेपाली भाषा अनिवार्य विषयका रूपमा पढाइन्छ । बितेका तीन दशकको मात्र कुरा गर्ने हो भने पनि लाखौं नेपाली स्नातक भएका छन् । तर, तीमध्ये सय त के हजारमा एक जनाले पनि एक अनुच्छेद शुद्ध नेपाली लेख्न सक्तैन । शुद्ध लेख्न सक्छु भन्ने आँट र आत्मविश्वास नै उसमा हुँदैन । प्रमाण तपाईंकै वरिपरि छरपस्ट छन् । कम्तीमा स्नातक तह पूरा गरेका सरकारी, गैरसरकारी र निजी क्षेत्रका कर्मचारीहरू, समाजसेवी र अनेकखाले अभियन्ताहरू, सामाजिक सञ्जालमा ज्ञान वितरण गर्नेहरू, साहित्यकार बन्न लागिपरेकाहरू, विभिन्न तहका राजनीतिकर्मी र तिनका कृपाकांक्षीहरू आदि–इत्यादिको अशुद्ध, कृत्रिम र विकृत नेपाली भाषा तपाईंले झेलिरहनुभएकै छ । अरूको कुरा छोडौं, विभिन्न विश्वविद्यालय र राष्ट्रपति, प्रधानमन्त्री कार्यालयहरूका सूचना, विज्ञप्ति र वक्तव्यहरू, जो बेलाबखत सामाजिक सञ्जालमा प्रकट भइरहेका हुन्छन्, उच्च शिक्षा प्राप्त गरेकामध्ये पनि उत्कृष्ट ठहरिएकाहरूको नेपाली भाषा कति दयनीय छ भन्ने ऐना देखाउन पर्याप्त छैनन् र ?

नेपाल संसारको एक्लो देश होइन र नेपाली संसारको एक्लो भाषा पनि होइन । संसारमा अरू पनि धेरै देश छन् र अरू पनि धेरै भाषा छन् । के तिनको हालत पनि यस्तै होला त ? आफ्नो देशमा उच्च शिक्षा हासिल गरेको बेलायतको अंग्रेज, जापानको जापानी, चीनको चिनियाँ, फ्रान्सको फ्रेन्च अथवा जर्मनीको जर्मन नागरिक जन्मदेखि मृत्युसम्म प्रयोग गरिने आफ्नो मातृभाषा, सम्पर्क भाषा, सरकारी कामकाजको भाषामा एक अनुच्छेद पनि शुद्ध लेख्न नसक्ने भएर अनि आफ्नै भाषाप्रतिको आत्मविश्वास गुमाएर निस्कँदो होला त ? के यस्तो कल्पनासम्म पनि गर्न सकिन्छ ? सकिंदैन भने समस्या कहाँनेर छ ? नेपाली नागरिकमा कि तिनलाई आफ्नै भाषामा झन् झन् कमजोर, कुण्ठित र हीनताबोधग्रस्त बनाउने पत्रु शिक्षा प्रणालीमा ?

कुचक्रको अर्को पाटो अझ भयावह छ र बहुआयामिक पनि । नेपाली वर्णमालामा पहिले ५२ अक्षर हुन्थे, ‘उच्चार्य वर्णमाला’ भन्दै तिनलाई घटाएर अब ३५ मा झारिएको छ । स्वरवर्णमा अ, आ, इ, उ, ए ओ मात्र बाँकी छन्, व्यञ्जनमा ञ, ण, श, ष, क्ष, त्र, ज्ञ को पत्तासाफ गरिएको छ । मृत्युदण्डको कानून नभएको देशमा एक–तिहाइ अक्षरलाई सोझै मृत्युदण्ड ! नेपालीले श–ष को उच्चारणै गर्न सक्तैनन् र गर्नु पनि पर्दैन भन्दै जोश, होश, खुशी, शहीद, शहर जस्ता हजारौं शब्दको मोटो ‘श’ लाई जबर्जस्ती पातलो ‘स’ बनाएर तिनलाई विकलांग तुल्याइएको छ । शब्दको शुरू र बीचमा दीर्घ चाहिंदैन, ह्रस्व मात्र लेखे हुन्छ भन्दै तीतो, मीठो, दूध, भूल, कानून, कार्टून जस्ता अरू हजारौं शब्दको पनि दीर्घ हरण गरेर अंगभंग गरिएको छ । नेपाली जिभ्रोले ‘ण’ उच्चारणै गर्दैन, तसर्थ ‘गणेश’ लाई ‘गनेस’ अथवा ‘गँडेस’ मात्र भन्नुपर्छ, ‘वाणी सकियो’ लाई ‘बानी सकियो’ अथवा ‘बाँडिसकियो’ मात्र भन्न मिल्छ, ‘राणाको सन्तान’ लाई ‘रानाको सन्तान’ अथवा ‘राँडाको सन्तान’ मात्र भन्न सकिन्छ जस्ता ‘दिव्यज्ञान’ दिने गरिएको छ । छँदाखाँदाका संयुक्त अक्षरलाई मासेर, फुटाएर विद् या,  रक् त,  विद् वान्, शङ्कर, शङ्ख, सङ्घ, सङ्गठन लेख्न लगाउने प्रयास पनि जोडतोडका साथ चलिरहेकै छ ।

‘कहीं नभाको जात्रा हाँडीगाउँमा’ भने झैं संसारको कुनै पनि जीवन्त भाषामा कल्पना समेत गर्न नसकिने यो गाईजात्रा, यो विकृति राज्यशक्तिको आडमा, उर्दी र आदेशका बलमा शिक्षण संस्थादेखि सरकारी कार्यालयहरूसम्म जबर्जस्ती लादिएको छ, जसले सञ्चार माध्यमदेखि समकालीन साहित्यसम्मलाई आफ्नो चपेटामा पारेको छ । अरू त अरू, उहिल्यै दिवंगत भइसकेका लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम, गोपालप्रसाद रिमाल, भूपि शेरचन आदि स्वनामधन्य साहित्यकार समेत यसको शिकार भएका छन्; पाठ्यपुस्तकहरूमा राखिएका तिनका रचनालाई हिज्जे बिगारेर विकृत तुल्याइएको छ ।

सत्ता र शक्तिको उन्माद यति जब्बर छ, त्यसले अरूको त के कुरा, संविधानको मर्यादालाई पनि इन्कार गरेको छ । संविधानले भाषा भाँड्ने तमाम विकृतिलाई अस्वीकार गर्दै शुद्ध हिज्जेको प्रयोग गरेको छ । तर हाम्रा एकेडेमी, विश्वविद्यालय र शैक्षिक निकायहरू उसले अँगालेको भाषिक सिद्धान्त र व्यवहारलाई गलत घोषित गर्दै त्यसको विपरीत दिशामा भाषालाई घोक्र्याइरहेका छन् । संविधानका एक एक अक्षर यसका अभिन्न अंग हुन्छन् । संविधानका अक्षर र भावनाको (भाषाका सन्दर्भमा उसले प्रयोग गरेको हिज्जे र भाषिक सिद्धान्तको) वर्खिलाफ गर्नु संविधानको अवहेलना र उल्लंघन हो, तसर्थ गम्भीर दण्डनीय अपराध हो । विस्मयको कुरा त के भने, संविधानको मर्यादा जोगाउने सर्वोपरि जिम्मेदारी बोकेका राज्यका अंग र उच्चतर निकायहरू समेत यस अराजकताप्रति मौनव्रत लिएर बसेका छन् ।

भाषा ध्वस्त पार्ने यो भयानक कुचक्र, जसका अरू पनि थुप्रै पाटा छन्, आफैंमा रहस्यमय छ । पर्दा अगाडि देखिएका यसका मुख्य ‘कर्ता’ अर्थात् भाषाका खलनायकहरूलाई औंलामा गन्न सकिन्छ । प्राडा र प्राज्ञको कवच लगाएका तिनीहरू कति कुटिल एवं निर्लज्ज छन् भने मौका हेरी भाषा अभियन्ता र उद्धारकको मुखुण्डो लगाएर भाषाप्रेमीलाई झुक्याउन पनि पछि पर्दैनन् । ती र तिनका सीमित चेला–चपेटाको जत्थाले नेपाली भाषाको शिक्षा प्रणाली मात्र कब्जा गरेको छैन, स्कूल–कलेजमा नेपाली पढाउने गुरुहरूको दिमाग पनि अपहरण गरेको छ; एकेडेमी, विश्वविद्यालय र राज्यका शैक्षिक निकायहरूको विवेकलाई पनि बन्धक बनाएको छ । यसले नेपाली भाषालाई अन्योल, अराजकता, संकुचन र अधःपतनको चक्रव्यूहमा फसाएको मात्र छैन; नेपालीमा जे गरे पनि हुन्छ, जसरी लेखे पनि हुन्छ, यसलाई अरू भाषा (अंग्रेजी आदि) लाई जस्तो गम्भीरतापूर्वक लिनुपर्दैन, किन भने यो धेरै अगाडि बढ्न सक्ने र सशक्त भाषा होइन भन्ने गहिरो आम–मानसिकता समेत निर्माण गरिदिएको छ । कथित उच्च शिक्षितहरूले ‘मलाई राम्ररी नेपाली लेख्न आउँदैन’ भन्दा लज्जा होइन, गर्व र शैक्षिक आभिजात्य महसूस गर्नु यसैको परिणाम हो ।

पत्रकार पनि, अन्य पेशा र विषय–क्षेत्रका नेपाली झैं, यही शिक्षा प्रणालीको उत्पादन हो र समग्रमा यही कुचक्रको निरीह ‘शिकार’ हो । गैरजिम्मेदार शिक्षा प्रणालीले उसको स्वाभाविक, स्वस्फूर्त भाषिक क्षमतालाई बोधो, निस्तेज र अन्योलग्रस्त बनाइदिन कुनै कसर बाँकी राखेको छैन भने भाषाद्रोही कुचक्रले चौतर्फी रूपमा क्षतविक्षत बनाइएको भाषा र रुग्ण भाषिक परिवेश उसको थाप्लामा थोपरिदिएको छ । शब्दकोशबाट शुद्ध शब्द हटाइएका छन्, सही हिज्जे गायब पारिएको छ, आज किनेर ल्याएको शब्दकोश भोलि खारेज हुन थालेको छ, भाषाका मानक भत्काइएका छन् र बिग्रेको भाषाकै चौतर्फी राइँदाइँ छ । घाम जत्तिकै टडकारो यो यथार्थलाई बेवास्ता गरेर उसैमाथि भाषा बिगारेको आरोप लगाउनु कति जायज होला ? ‘पत्रकारले भाषा बिगारे’ भन्नु कति न्यायोचित होला ?

वास्तविकता त के हो भने, यति प्रतिकूल र यतिसारो निराशाजनक परिस्थितिका बीच पनि नेपाली भाषालाई कसैले सरल, सहज, स्पष्ट, प्रवाहमय र सबैका निम्ति सम्प्रेषणीय बनाउँदै ल्याएको छ भने त्यो पत्रकारले नै हो । नत्र अरूको भाषा हेर्नोस्, कस्तो छ ? अझ पत्रकारको भाषामाथि चर्को प्रश्न उठाउने ‘गुरुजी’ हरूकै भाषा नियाल्नोस्— त्यो कति जेलिएको, अस्पष्ट, असम्प्रेषणीय र पट्यारलाग्दो हुन्छ ? यसो विचार गरिहेर्नोस् त, तिनकै भरमा बस्नुपरेको भए र पत्रकारिता नभएको भए आज नेपाली भाषाको रूप कस्तो हुन्थ्यो होला ? हो, धेरै पत्रकार भाषामा कमजोर होलान्, लापरवाह होलान् र अरूको जस्तै तिनको पनि भाषा विरक्तलाग्दो होला, परन्तु नेपाली भाषालाई आजको गति, चमक, ताजापन र जीवन्तता दिएको पनि पत्रकार र पत्रकारिताले नै हो । आफूले आफैंलाई परिष्कार गर्दै; आफ्नै योग्यता र आफ्नै संकल्पशक्तिको बलमा । ‘गुरुजी’ हरूका कारण होइन, ‘गुरुजी’ हरूका बावजूद ! ‘सत्य’ यही हो ।

कुरैकुरामा कुरो तन्किंदै यहाँ आइपुग्यो । तर यो आलेख, शुरूमा भनिए झैं, सामान्य जस्तो लाग्ने फगत एउटा प्रश्नको उत्तर खोज्ने प्रयास मात्र हो । यही मेसोमा, एउटा फुच्चे वाक्यमा पनि अर्थ र अभिप्रायका अनेक पत्र लुकेका हुन्छन् र हरेकले पृथक् आयाम समेटेका हुन्छन् भन्ने उदाहरण समेत प्रस्तुत हुन पुग्यो । भाषा मायावी हुन्छ नि त !

(सामान्य लेखकीय परिमार्जनका साथ /’प्रयास‘–२०२३)