प्रिय पाठकवृन्द,

यो महाभारतीय रोमाञ्चक जगत्मा आज म हजुरहरुलाई लिएर जाँदैछु : सृष्टि–क्रमतिर

यस सकल ब्रह्माण्डको चराचर जीवनका सर्जक एवम् पालक भगवान् विष्णु हुनुहुन्छ । उहाँको नाभिकमलमा समुत्पन्न चतुर्मुख ब्रह्मा हुनुहुन्छ । उहाँका छ जना मानसपुत्रहरु विश्ववन्द्य रहेका छन् : मरीचि, अंगिरा, अत्रि, पुलस्त्य, पुलह र क्रतु । यी सबै परमशक्तिशाली महर्षिहरु हुन् । यिनैबाट सृष्टिक्रम सम्पन्न हुँदै गएको मानिन्छ ।

मरीचि

मरीचिका पुत्र भए महर्षि कश्यप । कश्यप समस्त जगत्का आदिकारण हुन् ।

अंगिरा

अंगिराका तीन पुत्र लोकविख्यात छन् : बृहस्पति, उतथ्य र संवर्त । यी तीनै उत्तमव्रती रहे ।

अत्रि

अत्रिका असंख्येय पुत्रहरु भए । ती सबै वेदवेत्ता, सिद्ध र शान्तचित्त महर्षि मानिन्छन् ।

पुलस्त्य

पुलस्त्यका पुत्रहरु राक्षस, वानर, किन्नर र यक्षजातिमा जन्मिए ।

पुलह

पुलहका सन्तानहरु शरभ, सिंह, किम्पुरुष, व्याघ्र, ऋक्ष, र ईहामृग अर्थात् चितुवा जातिका जन्मिए ।

क्रतु

क्रतुका सन्तान क्रतु अर्थात् यज्ञ जत्तिकै पवित्र, तीनै लोकमा विख्यात, सत्यवादी, व्रतपरायण एवम् भगवान् लोकदीपक सूर्यका अग्रगामी साठी हजार बालखिल्य ऋषिहरु भए ।

….

दक्षप्रजापति र तिनका कन्याहरु

लोकपिता ब्रह्माका दायाँ अंगुष्ठबाट महातपस्वी शान्तात्मा महर्षि दक्ष प्रजापति समुत्पन्न भए, त्यसै गरी बायाँ अंगुष्ठबाट दक्षकी पत्नी दाक्षी उत्पन्न भइन् । तिनका गर्भबाट दक्ष प्रजापतिका पचास कन्या उत्पन्न भए । ती सबै परमसुन्दरी थिए । दक्षका पुत्रहरु सबै नष्ट भएका हुँदा उनले तिनै कन्याहरुलाई पुत्रिका बनाएर राखे । यी कन्याबाट जन्मिएका पुत्रले नै मेरो पुत्रको प्रतिनिधित्व गरोस्  भन्ने संकल्प नै छोरीलाई पुत्रिका बनाउने विधि हो ।

ती पचास कन्या मध्ये दक्षप्रजापतिले दश कन्या धर्मलाई, सत्ताइस कन्या चन्द्रमालाई र तेह्र कन्या महर्षि कश्यपलाई विधिपूर्वक समर्पित गरिदिए ।

धर्मका १० पत्नीहरु

धर्म ब्रह्माजीका दाहिने स्तनबाट उत्पन्न भएका सन्तान थिए । धर्मका दश पत्नीहरु हुन् : कीर्ति, लक्ष्मी, धृति, मेधा, पुष्टि, श्रद्धा, व्रिmया, बुद्धि, लज्जा, र मति । यी सबै धर्मका द्वार हुन् । यिनै द्वारा धर्ममा प्रवेश गरिन्छ ।

चन्द्रमाका २७ पत्नीहरु

लोकव्यवहारका लागि सत्ताइस नक्षत्रका रूपमा ती प्रख्यात छन् : अश्विनी, भरणी, कृत्तिका, रोहिणी आदि ।

अष्टावसु

दश दक्षपुत्रीबाट धर्मका आठ जना पुत्रहरु जन्मिए , जसलाई अष्टावसु भनिन्छ । ती यसप्रकार छन् : धर, ध्रुव, सोम, अह, अनिल, अनल, प्रत्यूष र प्रभास । धर र ध्रुव धूम्राका, चन्द्रमा मनस्विनीका ,अनिल श्वासाका, अह रताका , अनल शण्डिलीका र प्रत्यूष र प्रभास प्रभाताका पुत्र हुन् ।

यसबाट के स्पष्ट हुन्छ भने सत्यका पूर्वोक्त दश बाहेक अरु पनि दक्षपुत्रीहरु पत्नी थिए ।

धर

धरका दुई पुत्र भए : द्रविण र हुतहव्यवाह ।

ध्रुव

समस्त लोकहरुलाई ग्रस्त गर्ने भगवान् काल ध्रुवका पुत्र भए ।

सोम

मनोहरा नामक पत्नीका गर्भबाट सोमका चार  पुत्र भए : वर्चस्वी, शिशिर, प्राण र रमण ।

अह

अहका पनि चार पुत्र भए : ज्योति, शम, शान्त र मुनि ।

अनल

अनलका पुत्र कुमार स्कन्द भए । जो निगालाका घारीमा जन्मिएका थिए । शाख, विशाख, नैगमेय यी तीन स्कन्दका भाइ भए । षट्कृत्तिकालाई आमा मानेकाले यिनलाई कार्तिकेय पनि भनिन्छ ।

अनिल

अनिलकी पत्नी भइन् शिवा । उनका दुई पुत्र भए : मनोजव र अविज्ञातगति ।

प्रत्यूष

प्रत्यूषका पुत्र लोकविख्यात देवलमुनि भए । देवलका पनि दुई पुत्र थिए । ती दुवै क्षमाशील र मनस्वी थिए ।

प्रभास

प्रभासकी पत्नी थिइन् : बृहस्पतिकी बहिनी । तिनका गर्भबाट प्रभासका पुत्र भए : विश्वकर्मा । ती हजारौँ शिल्पकर्मका निर्माता र देवताका मिस्त्री थिए ।

….

धर्म

ब्रहमाजीका दाहिने स्तनबाट धर्म प्रकट भएका थिए । तिनका तीन जना श्रेष्ठ पुत्र भए : शम, काम र हर्ष । यी सबै आफ्ना तेजले समस्त जगत्का धारक हुन् । शमकी पत्नी हुन् प्राप्ति । कामकी पत्नीको नाम हो रति । हर्षकी पत्नी हुन् नन्दा । समस्त जगत् यिनैमा प्रतिष्ठित छ ।

सूर्य र संज्ञा

त्वष्टाकी छोरी संज्ञा भगवान् सूर्यकी पत्नी हुन् । ती परमसौभाग्यशालिनी छिन् । तिनले अश्विनी घोडीको रूप धारण गरेर अन्तरिक्षमा दुई अश्विनीकुमारलाई जन्माइन् ।

कश्यप र उनका पत्नीद्वय दिति र अदिति

मरीचिपुत्र महर्षि कश्यपका दिति र अदिति दुइ पत्नी भए । तीमध्ये दितिबाट दैत्य र अदितिबाट आदित्य जन्मिए । अदितिका इन्द्र आदि बाह्रजना छोरा जन्मिए जसलाई द्वादशादित्य भनिन्छ । जेठा इन्द्र र कान्छा उपेन्द्र अर्थात् भगवान् विष्णु, जसमा समस्त लोक प्रतिष्ठित छ ।

यसरी आठ वसु, एघार रुद्र, बाह्र आदित्य एवं प्रजापति र बषट्कार ई तेत्तीस प्रमुख देवता भए ।

….

रुद्रहरुको एक अलग गण छ । साध्य, मरुत् र वसुहरुको पनि पृथक् पृथक् गण छ । यसैगरी भार्गव र विश्वेदेवका पनि आ–आफ्नै गण छन् । विनतानन्दन गरुड र अरुण अनि बृहस्पति पनि आदित्यका रूपमा गनिन्छन् । अश्विनीकुमा, सर्वौषधि र पशु यिनलाई गुह्यकसमुदायमा राखेर हेर्नुपर्छ । यी सबैको नामस्मरण गरेर मनुष्यजाति पापमुक्त बन्दछ ।

भगवान् भृगु ब्रह्माजीको हृदयबाट समुत्पन्न हुनुभयो । भृगुका विद्वान् पुत्र भए : कवि । कविका पुत्र भए : शुक्राचार्य । यिनी योगका आचार्य र दैत्यका गुरु भए । शुक्राचार्य नै योगबलबाट मेधावी, ब्रह्मचारी र व्रतनिष्ठ भएर बृहस्पतिका रूपमा पनि प्रकट भए र देवताका गुरु बने । स्वयं लोकगुरु ब्रह्माले आफ्ना नाती शुक्राचार्यलाई समस्त जगत्को योगक्षेमका कार्यमा नियुक्त गर्नुभयो ।

यसै गरी महर्षि भृगुले अर्का निर्दोष पुत्रलाई पनि जन्म दिनुभयो, उनको नाम हो महर्षि च्यवन । उनी अत्यन्त धर्मात्मा, यशस्वी र तपोनिष्ठ थिए । मनुकी छोरी आरुषीसँग उनको विवाह भयो । उनीहरुबाट एक तेजस्वी पुत्र जन्मिए जसको नाम हो : और्व । आफ्नी आमाको ऊरु अर्थात् जाँघ फोडेर जन्मिएकाले उनको नाम और्व रह्यो । ती अत्यन्त शक्तिशाली थिए । और्वका सय भाइ छोरामध्ये एक जना छोरा ऋचीक भए, ऋचीकका छोरा जमदग्नि ऋषि । जमदग्निका चार भाइ छोरामध्ये परशुराम कान्छा थिए । उनी जितेन्द्रिय, सद्गुणान्वित, शस्त्रकुशल र क्षत्रियकुलसंहारक थिए । और्वका सयभाइ छोराहरुका हजारौं सन्तान भए , तिनले यस जगत्मा भृगुवंशको विस्तार गरे ।

लोकपिता ब्रह्माजीका अरु पनि दुई भाइ छोरा थिए । तिनले समग्र जगत्को धारण पोषण अदि काम गर्दछन् । तिनको नाम हो धाता र विधाता । यी दुवै भाइ मनुका साथ रहन्छन् । कमलासना लक्ष्मी देवी तिनै दुइ भाइकी बहिनी हुन् ।

वरुणको बीजबाट उनकी जेठी पत्नी देवीले एक जोडा छोरा छोरी जन्माइन् : ती हुन् बल र सुरा ।

एक समय यस्तो पनि आयो जब सारा प्रजा भोकले पीडित हुन थाले र एक अर्कालाई नै मारेर खान थाले । त्यसै बेला त्यहाँ अधर्म प्रकट भयो । समस्त प्राणीलाई नाश गर्नु नै त्यसको काम थियो । अधर्मकी पत्नी भइन् निर्ऋति । तिनबाट तीन छोरा जन्मिए : भय, महाभय र मृत्यु । मृत्युकी न त पत्नी थिई न सन्तान, किनभने उसले त सबैलाई अन्त्य गर्दछ ।

देवी ताम्राले काकी, श्येनी, भासी, धृतराष्ट्री र शुकी यी पाँच विख्यात सन्तान जन्माइन् । काकीले उल्लू र श्येनीले बाजलाई जन्माए । भासीले कुखुरा र गिद्धहरु जन्माई । धृतराष्ट्रीले सबै प्रकारका हाँस, कलहाँस, रजहाँस र चखेवाहरु जन्माई । शुकीले शुगाहरुलाई जन्म दिई ।

क्रोधवशाले नौ प्रकारका क्रोधजनित कन्याहरुलाई जन्म दिइन् : मृगी, मृगमन्दा, हरी, भद्रमना, मातंगी, शार्दूली, श्वेता, सुरभि, र शुभलक्षणसम्पन्ना सुरसा ।

समस्त मृगजाति मृगीका सन्तान हुन् । भालु र ससाना मृग सृमर मृगमन्दाका सन्तान हुन् । ऐरावत भद्रमनाका सन्तान हुन् । घोडा, वानर र लंगूर हरीका सन्तान हुन् । सिंह बाघजाति र चितुवाहरु सबै शार्दूलीका सन्तान हुन् । हात्तीहरु मतंगीका सन्तान हुन् । दिग्गजहरु श्वेताका सन्तान हुन् । सुरभिका दुइ सन्तान भए : रोहिणी र गन्धर्वी । रोहिणीले विमला र अनला जन्माइन् । उनले गाइ गोरु जन्माइन् । अनलाले सातप्रकारका वृक्ष जन्माइन् : खजूर, ताल, हिन्ताल, ताली, छोटा खजूर, सुपारी र नरिवल । अनलाकी शुकी नाम गरेकी छोरी थिइन् ।

सुरसाको छोरो जन्मियो कंक । उनले एकशिरा सर्पहरु पनि जन्माइन् ती एकसय थिए । सुरसाका तीन कमलनयनी छोरीहरु पनि जन्मिए । तिनबाट समस्त वनस्पति, लता, गुल्महरु ज्न्मिए । ती हुन् : अनला, रुहा , विरुधा ।

विनाफूल नै फल लाग्ने विरुवाहरु नै अनलाका पुत्र हुन् , फूलबाट फल लाग्नेहरु हुन् रुहाका सन्तान अनि बाँकी सबै वीरुधाका सन्तान हुन् ।

उता अरुणकी पत्नी श्येनीबाट दुई सन्तान भए : सम्पाति र जटायु ।

यो समस्त सृष्टिको उत्पत्तिक्रम जसले पढ्दछ ऊ सबै पापबाट मुक्त बन्दछ ।

महाभारत, आदिपर्वबाट