‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’का लागि तीन गैरआख्यान कृतिको अन्तिम सूची जारी भएको छ ।

पहिलो पुस्तकको रूपमा गैरआख्यान लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को अन्तिम सूची सार्वजनिक गरिएको हो ।

पुरस्कारको अन्तिम सूचीमा जिग्मे लामाको ‘अमरभूमि’, उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’ र गोमविक्रमको ‘मगर संस्कृति, परम्परा र गरिमा’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ प्रदान गरिनेछ ।

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ का लागि ०८० सालभरि प्रकाशनमा आएका मध्ये १९ गैरआख्यानका कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा १९ कृतिहरूबाट ८ कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ गैरआख्यानका कृतिको ‘छोटो सूची’ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ गैरआख्यानका कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।

साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजक अश्विनी कोइरालाका अनुसार असार १५ (दही चिउरा खाने दिन) को अवसर पारेर साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । र, त्यही समारोहमा विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिनेछ ।

कोइरालाले भन्नुभयो, ‘अन्तिम सूचीमा परेका तीन गैरआख्यानका कृतिहरू आ-आफ्नै अलग विशेषताका साथ अब्बल छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणा र पुरस्कार वितरण गरिनेछ ।’

दही–चिउरा खाने तथा पुरस्कार वितरण समारोह एअरपोर्टअगाडिको एपेक्स बिजनेस होटलमा असार १५ गते शनिबार ठिक २ बजेबाट सुरु हुनेछ ।

 

अन्तिम सूचीका समावेश तीन कृतिः

१. अमरभूमि – जिग्मे लामा (नर बहादुर)

पच्चीस वर्षदेखि समाजिक विकासका कार्यहरुमा संलग्न हुँदै आएका ग्रामीण विकासविद् तथा बौद्ध ध्यानका अभ्यासकर्ता जिग्मे लामा (नर बहादुर) को यात्रा वृत्तान्त हो ‘अमरभूमि’ । लामाले पुस्तकमा दिगो सुख र अमरत्वको खोजी गरेका छन् ।

लामाले पुस्तकमा कर्णाली र कैलाश क्षेत्र हुुँदै देश तथा विदेशका विविध भूगोल, समाज तथा इतिहासको वृत्तान्त कहेका छन् । साथसाथै, अन्तर्मनको सुख तथा समृद्धिको खोज पुस्तकको केन्द्रमा रहेको देखिन्छ । गैरआख्यान अध्ययनका पारखीहरुका लागि पुस्तक गतिलो खुराकका रुपमा तयार भएको छ ।

पुस्तकलाई बुक्स हिमालयले प्रकाशनमा ल्याएको हो । १२ अध्यायमा सङ्ग्रहित पुस्तक ‘त्यो विशाल ताला’बाट सुरु भएर ‘मायावी जीवन’मा टुङ्गिएको छ ।

 

२. बुद्धकालीन समाज – उमाकान्त पौड्याल

अनुसन्धानकर्ता उमाकान्त पौड्यालको पहिलो पुस्तक हो ‘बुद्धकालीन समाजः पालि त्रिपिटकको साक्ष्यमा) अनुसन्धान विधाको पुस्तकमा लेखकले बुद्धकालीन समाजका विविध पक्षहरुको रहस्योद्घाटन गर्दै बौद्ध धर्मका परिभाषिक शब्दहरुलाई सरल र सहज भाषाशैलीमा व्याख्या गरेका छन् ।

पालि भाषामा रहेका बुद्धका वचनहरुलाई प्रमाणिक तथा विश्वसनीय मानिन्छ । बुद्धकालीन समाजको ऐनाको रुपमा रहेको यो पुस्तकमा पालि भाषामा रहेका बुद्धवचनहरुलाई सङ्कलन गरी त्यसको व्याख्या गरिएको छ । पुस्तकमा बुद्धकालीन राज्यहरु, राज्यव्यवस्था, बुद्धका धार्मिक मन्तव्य, धार्मिक सम्प्रदाय, वर्णव्यवस्था, संस्कृतिलगायत कुराहरुलाई मिहीन ढङ्गले प्रस्तुत गरिएको छ ।

३ सय १ पृष्ठमा फैलिएको यो पुस्तकलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

 

३. मगर संस्कृति, परम्परा र गरिमा – गोमविक्रम

पत्रकार तथा साहित्यकार गोमविक्रम क्षेत्रीको अनुसन्धानमा आधारित पुस्तक हो ‘मगर संस्कृति, परम्परा र गरिमा’ । पुस्तकमा मगर जाति, संस्कृति र यसका गौरवशाली व्यक्तिवहरुका बारेमा उल्लेख गरिएको छ ।

पुस्तकमा मगर जातिका साँस्कृतिक पक्षहरु सोरठी, घाटु, पैसेरु, मारुनी र यसको अभ्यासलगायतका कुराहरु उल्लेख छ जुन आफ्नो संस्कृति र परम्परा बुझ्न नयाँपुस्ताका लागि महत्त्वपूर्ण रहेको देखिन्छ । साथै, मगर जाति तथा समुदायको इतिहास र संस्कृति बुझ्न चाहने सबैका लागि पुस्तक पठनीय छ ।

२१६ पृष्ठमा फैलिएको पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।