‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’का लागि तीन आख्यानकृतिको अन्तिम सूची जारी भएको छ ।
पहिलो पुस्तकको रूपमा आख्यान लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका आख्यानकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को अन्तिम सूची सार्वजनिक गरिएको हो ।
पुरस्कारको अन्तिम सूचीमा विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’, भागवत खनालको कथासङ्ग्रह ‘बाबा मेरो पीआर आयो’ र सागर खड्काको उपन्यास ‘‘राइपाली भन्ज्याङ’ ’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ प्रदान गरिनेछ ।
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ का लागि ०८० सालभरि प्रकाशनमा आएका मध्ये ३७ आख्यानका कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा ३७ कृतिहरूबाट १० कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ आख्यानका कृतिको ‘छोटो सूची’ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ आख्यानका कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।
साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजक अश्विनी कोइरालाका अनुसार असार १५ (दही चिउरा खाने दिन) को अवसर पारेर साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । र, त्यही समारोहमा विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिनेछ ।
कोइरालाले भन्नुभयो, ‘अन्तिम सूचीमा परेका तीन आख्यानका कृतिहरू आ-आफ्नै अलग विशेषताका साथ अब्बल छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणा र पुरस्कार वितरण गरिनेछ ।’
दही–चिउरा खाने तथा पुरस्कार वितरण समारोह एअरपोर्टअगाडिको एपेक्स बिजनेस होटलमा असार १५ गते शनिबार ठिक २ बजेबाट सुरु हुनेछ ।
अन्तिम सूचीका समावेश तीन कृतिः
१. अडिएका पाइला – विष्णु सापकोटा
क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका विष्णु सापकोटाको पहिलो पुस्तक हो उपन्यास ‘अडिएका पाइला’ । उपन्यास प्रेममा आधारित छ जसमा जीवन–दर्शन तथा अध्यात्मको गहिरो प्रभाव भेटिन्छ । एक अनौठो प्रेमकथालाई सूक्ष्म रुपमा केलाइएको यो उपन्यास पढिरहँदा पाठकहरुले बौद्धिक विलासिता भरपूर गर्नेछन् ।
त्रिभुवन विश्वविद्यालयमा केही वर्ष अङ्ग्रेजी साहित्य प्राध्यापन गरेका सापकोटा हाल क्याम्बोडियामा कार्यरत् छन् । उनले लामो समयबाट समाज साहित्य तथा राजनीतिमाथि राष्ट्रिय दैनिकहरुमा निरन्तर लेख्दै पनि आएका छन् ।
३ सय ३४ पृष्ठमा फैलिएको उपन्यासलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।
२. बाबा मेरो पीआर आयो – भागवत खनाल
साहित्यकार भागवत खनालको कथासङ्ग्रह हो ‘बाबा मेरो पीआर आयो’ । खनालका कथाहरुमा नवीन घटनाक्रम, विविध चरित्र तथा व्यापक परिवेश भेटिन्छ । कथालाई चलचित्रझैँ पाठकको मस्तिष्कमा उतार्न सक्नु उनको लेखनको विशेषता रहेको पाइन्छ ।
उनका कथाहरु समाजिक छन्, तीनलाई नजानिँदो तवरले आउने लेखकको दार्शनिक पक्षले कथालाई परस्कृत बनाएका छन् । भाषा शैली र शिल्पी उनको शक्तिका रुपमा देखापरेका छन् ।
पुस्तकलाई विनीता खनालले प्रकाशनमा ल्याएकी हुन् । सङ्ग्रहमा २४ शीर्षकमा कथाहरु सङ्ग्रहित छन् ।
५. राइपाली भन्ज्याङ – सागर खड्का
युवा साहित्यकार सागर खड्काको पहिलो पुस्तक हो उपन्यास ‘राइपाली भन्ज्याङ’ । उपन्यास बुद्धि र कुसुमको प्रेमकथा हो जो बालसखा हुन् । साथै, यो सैनिक बनी भरियाहरु अगाडि लगाएर गाउँ आउने सपना बोकेका बालसखाहरुको कथा पनि हो ।
उपन्यासमा प्रेम र बालइच्छा मात्रै छैन, समाज र सङ्घर्षको कथा पनि छ । अन्धविश्वास र हिँसाले पिल्सिएको समाजका कथा–व्यथा र सामाजिक असन्तुष्टिलाई बुद्धिका माध्यमबाट पाठकको हृदयसम्म पुर्याउन उपन्यासकार सफल देखिएका छन् । बाल्यकालीन स्मृति तथा बैँसालु बदामासीहरुको सुन्दर प्रस्तुतिले उपन्यास पठनीय बनेको छ ।
२ सय ७८ पृष्ठमा फैलिएको उपन्यासलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।