‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’का लागि तीन काव्यकृतिको अन्तिम सूची जारी भएको छ ।

पहिलो पुस्तकको रूपमा काव्य लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका कविहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को अन्तिम सूची सार्वजनिक गरिएको हो ।

पुरस्कारको अन्तिम सूचीमा कवि देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, प्रकाश रम्घालीको कवितासङ्ग्रह ‘साँझको सङ्गत’ र सुशीला खड्का हसिनाको कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’ प्रदान गरिनेछ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’ का लागि ०७९ सालभरि प्रकाशनमा आएका मध्ये २८ काव्यकृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा २८ काव्यकृतिहरूबाट ११ कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ काव्यकृतिको ‘छोटो सूची‘ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ काव्यकृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।

साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजक अश्विनी कोइरालाका अनुसार असार १५ (दही चिउरा खाने दिन) को अवसर पारेर साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । र, त्यही समारोहमा विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिनेछ ।

कोइरालाले भन्नुभयो, ‘अन्तिम सूचीमा परेका तीन काव्यकृतिहरू आ-आफ्नै अलग विशेषताका साथ अब्बल छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणा र पुरस्कार वितरण गरिनेछ ।’

दही–चिउरा खाने तथा पुरस्कार वितरण समारोह एअरपोर्टअगाडिको एपेक्स बिजनेस होटलमा असार १५ गते शनिबार ठिक २ बजेबाट सुरु हुनेछ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

“यो पुरस्कारको उदेश्य नै नयाँ लेखकलाई पुरस्कृत गर्ने हो । यो सोच नै मलाई सर्वाधिक मन परेको विषय हो । नयाँ लेखकहरुको कृतिबारेमा यसरी बारम्बार चर्चा परिचर्चा हुनु र पुरस्कृत हुनुले लेखकमा थप उर्जा र जिम्मेवारी पनि बढाउँछ ।”, भौकाजी भन्नुहुन्छ, “नयाँ नयाँ खोज र नेपालीपनको उत्कृष्ट रचनाले नेपाली साहित्यको भण्डार भरियोस्, नवोदित लेखकहरूसँग यही अपेक्षाका साथ यो पुरस्कार प्रायोजन गरेको हुँ ।”

अन्तिम सूचीका समावेश तीन कृतिः

१. अश्वत्थामाको निधारबाट बागमती बग्छ – देवव्रत

पछिल्लो समयका सशक्त युवा कवि देवव्रतको कवितासङ्ग्रह हो ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ । सिमान्तकृतहरुको आवाजलाई बुलन्द बनाउनु, जीवन र जगतको विचरण गर्नु तथा कवितालाई वैचारिक शिल्पीमा उतार्नु देवव्रतको खुबी हो । बिम्ब तथा प्रतिकको भरपूर प्रयोग तथा कवितामा नवीनता उनको विशेषता रहेको देखिन्छ ।

यो कवितासङ्ग्रहलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा फरक बान्कीका ३८ थान कविताहरु सङ्ग्रहित छन् ।

 

२. पहिरोभित्रको घाम – सुशीला खड्का ‘हसिना’

कवि सुशीला खड्का ‘हसिना’को नवीनतम काव्यकृति हो ‘पहिरोभित्रको घाम’ । वर्तमान समाजमा व्याप्त दूषित मानसिकता तथा मानिसले मानिससँगै गर्ने अमानवीय व्यवहारलाई सुशीलाले आफ्नो कविताको विषय बनाएकी छिन् । विविध किसिमका समाजिक दृव्र्यवहार, मानिसका द्वैद चरित्र तथा सामाजिक विसङ्गतीको चित्रण हसिनाका कविताका विशेषताका रुपमा देखिएका छन् ।

पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा ५५ थान कविताहरु सङ्ग्रहित छन् ।

 

३. साँझको सङ्गत – प्रकाश रम्घाली

पछिल्लो समयका प्रभावशाली कवि प्रकाश रम्घालीको कवितासङ्ग्रह हो ‘साँझको सङ्गत’ । रम्घालीले कवितामार्फत आफूले बाँचेको समयको विशिष्ट अनुभवलाई काव्यिक तवरमा लयबद्ध गरेका छन् । जीवनको महत्त्वपूर्ण समय सैनिक सेवारमा रहेका उनका कवितामा युद्ध र द्वन्द्वभन्दा बढी मानवीय संवेदनाको गहिराइ पाइन्छ । फौजीका जटिल अनुभूतिलाई समेत उनले नौलो आयामहरुका साथ कवितामा पस्केका छन् ।

पुस्तकलाई ईटर्नल पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा छोटा आयतनका ४४ शीर्षकमा कविताहरु सङ्ग्रहित छन् ।