१.

‘कुकुर पालुम् न !’

उसले कालेलाई देखेपछि इच्छा व्यक्त गरेको थियो । उसकी आमाले शुरूमा आपत्ति जनाई । त्यसपछि बाउले ।

बाउ अर्थात् म ! मैले भनेँ, ‘यो काले रोगी छ, बूढो छ । यसको सेवा गर्न सक्छस् ? सक्छस् भने यसैलाई पालौँ ।’

ऊ रोगी, बूढो कालेलाई पाल्न, हेरचाह गर्न राजी भयो तर उसकी आमा राजी भइन ।

यसको अर्थ, उसलाई घृणा गरिन्थ्यो भन्ने हैन। काले घरबाहिर बसिरहन्थ्यो । मेरी आमाले तीन समयको खाना दिनुहुन्थ्यो । ऊ पनि दिउँसोभरि कता कता डुल्थ्यो वा अल्छी मानेर कतै पल्टिरहन्थ्यो तर खाने बेलामा ढोकाछेउमा उभ्भिइरहेको हुन्थ्यो।

ऊ घरभित्र छिर्न पाउँदा खुसी हुन्थ्यो तर केहीबेरमै खाना खाइसकेपछि ऊ ढोकाबाहिर खेदिन्थ्यो । यसमा उसले कहिल्यै गुनासो गरेन ।

प्राचीन मिश्रमा यस्ता बूढा कुकुरहरूलाई विशेष सम्मानका साथ एउटा गाउँमा राखिन्थ्यो । त्यसको नाउँ नै किनोपोलिस अर्थात् कुकुरको शहर राखिएको थियो । त्यहाँ कुकुरमाथि आक्रमण गर्नु अपराधको श्रेणीमा राखिएको थियो! यो काले कसैको घरमा पालिएको शिष्ट कुकुर थियो तर बुढेशकाल लागेपछि यसलाई सम्भवतः घरबाट निकालिदिए । मैले भेट्दा ऊ रोगी थियो । लुतोले घिनलाग्दो देखिएको थियो । जसले पालेको थियो, ऊ घिनलाग्दो हुन थालेपछि निकै टाढा र अनकञ्टार ठाउँमा ल्याएर छाडेको हुनुपर्छ । उसले पनि मालिक खोज्ने जाँगर चलाएन र जहाँ छाडिएको थियो, त्यहीँ बसिरह्यो ।

हुन त वरिपरि अरू पनि भुस्याहा कुकुरहरू थिए तर तिनले पनि यसलाई कहिल्यै दुःख दिएनन् । यो एउटा अदबी कुकुर थियो । सधैँ आफूमै मग्न ! पक्कै यसले जीवनमा धेरै भोगेको हुनुपर्छ । उसले केही कुरामा पनि धेरै आशक्ति देखाएन । मूल सडकमा मासु पसल थियो । यो अदबी कुकुरलाई जसले पनि माया गर्थ्यो र उसले चाहेको भए त्यही मासु पसल छेउमा डेरा जमाउन सक्थ्यो तर उसले त्यसमा कहिल्यै आशक्ति देखाएन । हुनसक्छ, उसको अनाशक्ति देखेरै अरू कुकुरले पनि यसलाई सम्मान गरेका हुँदा हुन् ।

कुकुरलाई अचेल कुकुर भन्न पाइँदैन, मनुमित्र भन्नुपर्छ तर मलाई यस्ता पोलिटिकल्ली करेक्टेड शब्दले यिनको प्राचीनता मार्छन् झैँ लाग्छ । सम्मान शब्दले होइन, व्यवहारले हुनुपर्छ । कालेले हाम्रो घरबाट पर्याप्त सम्मान पायो । शुरूमा अरूको कुकुर, के कसो हो भन्ने डरले यसलाई अँगाल्न सकेनौँ तर पछि उसले आफ्नो इज्जत यसरी कमायो कि अहिले म उसैका लागि यत्तिका शब्दहरू खर्च गरिरहेको छु ।

कहिलेकाहीँ सोच्छु… इज्जत त कुकुरले पनि आर्जन गर्नु पर्दो रहेछ !

कालेलाई देख्दा मलाई उसको शाखासन्तानको सम्झना हुन्थ्यो । कहाँबाट, कहाँ आइपुगेको होला ! यसका पुर्खाहरू कहाँका थिए होलान् !

इतिहासकारहरू भन्छन्, कुकुर घरपालुवा हुन थालेको १३ हजार वर्ष वरपरदेखि हो रे ! त्यो भन्दा पहिले के थिए होलान् ? जङ्गली कुकुर कसरी घरपालुवा भयो होला ? कसले बनायो होला ?

पक्कै कुनै गर्भिणी स्त्रीले गर्भिणी कुकुर्नी फेला पारेकी हुँदी हो ! उसले छाउराछाउरी घर ल्याएर पालेकी हुँदी हो । गर्भिणी स्त्रीले आफ्ना सन्तानसँगै छाउराछाउरी पनि हुर्काएकी हुँदी हो । अथवा, गर्भ खेर गएकी कुनै स्त्रीको मन बहलाउन उसको प्रेमीले छाउरो उपहारमा दिएको हुँदो हो । उसले छाउरोलाई आफ्नै सन्तानसरी हुर्काएकी हुँदी हो । ऊसित बात मारी होली, उठ् भन्दा उठ्ने बनाई होली, बस् भन्दा बस्ने पारी होली । यसरी उसले एउटा कोरा छाउरोलाई तालिम दिएकी हुँदी हो र जवान बनाएकी हुँदी हो । जवान छाउरोले गर्भिणी स्त्रीको प्रेमीलाई पछि शिकारमा सहयोग गर्न थालेको हुँदो हो । यसबाट पुरूषले कुकुरलाई कसरी काममा लगाउने भनी सिक्दै जाँदा उसले शिकार सँगसँगै पशुपालनका लागि पनि सहयोगी पनि भएको हुँदो हो । हुँदाहुँदा स्वयं शिकार हुने कुकुरको प्रजाति, मानिसको मित्र हुन पुगेको हुँदो हो।

अहिले त यस्ता कुकुरले मान्छेको उपचारसमेत गर्न थालेका छन् । यी नहुँदा हुन् त शहरी क्षेत्रका आधाभन्दा बढी मानिसहरू डिप्रेसनको शिकार हुँदा हुन् । यी अचेल साथीभन्दा बढी भएका छन् । कतिका लागि बच्चा (सन्तान)सरह नै भएका छन् ।
मेरी एक जना साथी थिई । उसलाई म सानी भन्थेँ । उसको कुकुर्नी मर्दा १३ दिन नून बारेकी थिई ।

मेरा एक जना साथी छन्, घरमा दुई वटा कुकुर पालेका छन् । उनका ती कुकुरलाई कुकुर भन्न पाइँदैन । तिनका नाउँले बोलाउनु पर्छ । अझ एक जना चिनजानका साथीकी पत्नीले त आफ्नो टोलभरिका भुस्याहाहरूलाई दिनमा दुई पटक मासुभात खुवाउने गर्छिन् । उनका पतिले भन्थे, ‘म तिनै ‘बच्चा’का लागि बढीभन्दा बढी मिहिनेत गरिरहेको छु । महिनामा ५० हजारभन्दा बढी त तिनको खानामा खर्च हुन्छ ।’

हिजो छाडी अस्ती हाम्रो कालेको पनि देहान्त भयो । बिहान मोर्निङ वाकमा जाँदा सडकमा बेजान लडिरहेको थियो। ठक्कर दियो कि ? अँहँ, त्यस्तो निशान थिएन । बूढो भएरै मर्यो ।

बूढीले भनी, ‘दुःखै बिसाएछ !’

खै, के बिसायो ! तर आज दुई दिन भयो, मेरो मन चाहिँ एकतमास भएको छ । आज बिहान मोर्निङ वाकमा जाँदा जताततै कुकुर मात्र देखेँ ।

मैले उसलाई खुब मिस गरेँ… थाहा छैन कति दिन गर्नेछु…

कहिलेकाहीँ सोच्छु… कुकुर बनेर पनि मान्छेलाई संवेदित बनाउन सकिने रहेछ !

२.

कुनै समय कोरियामा कुकुरको मासु निकै लोकप्रिय थियो । यसको लोकप्रियताको चुलीमा कोरियाभरि ११५० वटा फारममा कुकुर पालन गरिन्थ्यो ।

ती कुकुरलाई १६०० रेस्टुराँले बकाइदा कुकुरको मासु पाइन्छ भनी प्रचार गरेर बेच्थे ।

अचेल कुकुरको मासुप्रेम घटेर स्थिति कतिसम्म भइसक्यो भने ८२ प्रतिशत कोरियालीहरूले यसको मासुमा प्रतिबन्ध लगाइनुपर्छ भन्दै माग गर्न थाले ।

जब कुकुरहरूले इज्जत पाउँछन्… मान्छेको इज्जत घट्दै जान्छ ।

कहिलेकाहीँ सोच्छु…

३.

अमेरिकाको पेटलुमा, क्याफिफोर्नियामा आयोजित स्कुटर नामक कुकुरले संसारकै कुरूप कुकुरको उपाधि जितेपछि खुसी भएकी मालिक्नी लिन्डा एल्मक्विस्ट ।

कुरूपताको उपाधिमा पनि खुसी हुन सकिन्छ…

कहिलेकाहीँ सोच्छु…

४.

अच्छा, एउटा नैतिक प्रश्न है त !

तपाईंले बिहान कुकुर डुलाउँदै हुनुहुन्छ । (अरे यार मान्नुस् न । मान्नुस् कि, तपाईंले कुकुर पाल्नु भएको छ ।) अनि डुलाउँदै जाँदा अर्को कुकुर्नी डुलाइरहेकी युवती भेटिन्छे । (युवा पनि हुनसक्छ तर अहिलेलाई अलि रोमान्टिक टच दिन मैले युवती भनेको मात्र हुँ ।)
जब तपाईंले ती युवतीतिर हेर्दै मुस्कुराउनु हुन्छ र ती युवतीले भाउ नदिएकामा खिन्न मान्दै गर्दा तपाईंको कुकुर अकस्मात कुकुर्नीलाई फकाउन थाल्छ । हेर्दाहेर्दै कुकुर र कुकुर्नीबीच प्रेमालाप हुन्छ । युवती मुस्कुराउँदै आफ्नी कुकुर्नी लिएर अघि बढ्छे । तपाईं कुकुर लिएर घर फर्कनु हुन्छ ।

केही सातापछि ती युवतीसँग तपाईंको भेट पुनः हुन्छ । यसपाला कुरा अलि अघि बढेर हाइहेल्लो हुन्छ । युवतीले अकस्मात भन्छे, ‘हेर्नुस्, तपाईंको कुकुरका कारण मेरी कुकुर्नी गर्भवती भई । अब त्यसले जन्माउने छाउरा-छाउरीको जिम्मेवारी तपाईंले लिनुपर्छ ।’
तपाईं अवाक् हुनुहुन्छ । र, मनमनै भन्नुहोला, ‘म बरू तपाईंको जिम्मेवारी लिन सकूँला, तपाईंको कुकुर्नीका छाउराछाउरीको चैं भो, सक्दिनँ ।’

अब तपाईं नैतिक रूपमा दोधारमा पर्नुहुन्छ, निर्णायक दोधारमा किनभने जिम्मेवारी लिऊँ भने यो कुकुरले वीर्यदान गरेको मात्र हो, बाँकी काम त कुकुर्नीको भागमा परेको हो । नलिऊँ, स्वार्थी ठानिने डर र एकै झमटमा एउटी स्त्रीसँग हुनै लागेको मिलाप अब बेमेलमा परिणत होला भन्ने डर !

के गर्नुहुन्छ यस्तोमा ? जिम्मेवारी भन्नेबित्तिकै त्यहाँ रकमको कुरा आउँछ । रकम भन्नेबित्तिकै एउटा सामान्य जागिरेका लागि कति सकस पर्ला, त्यो तपाईंले कहिलेकाहीँ कल्पनासमेत नगर्नु भएको हुनसक्छ ।

कहिलेकाहीँ यसको सही जवाफ गर्भवती कुकुर्नीको गर्भपात पनि हुनसक्छ तर कुकुर्नीको स्वास्थ्य हेरिकन त्यो पनि अनैतिक हुनसक्ला वा कुकुर्नीले नचाहेको गर्भपात एउटा पुरूषको निर्णयमा हुनसक्छ कि सक्दैन ? त्यसमाथि कुकुर्नीका सन्तान ईश्वरका बरदान भन्ने धारणा राख्ने धार्मिक मान्यताकी युवती परी भने ?

अब सोचेर भन्नोस्, यस्तो अवस्थामा तपाईंको जवाफ के हुन्छ ?

(२०२३, अक्टोबर २८ को न्युयोर्क टाइम्सको एउटा नैतिक प्रश्न ।)

५.

सन् २०२३, अप्रिलमा रकी नामक एउटा कुकुर मालिकको पछि लाग्दै बेलायतकै सबैभन्दा अग्लो पहाड चढ्न निस्कियो । ३,२०९ फिट अग्लाईमा पुगेपछि एउटा ढुंगामा गोडा ठोक्किएपछि कुकुर हिँड्नै सकेन । अनेक उपाय लगाउँदा पनि ३२ केजीको यो कुकुरलाई तल झार्न सकिएन । मालिकले यसपछि उद्धार टोलीलाई फोन गरेर बोलाउनु पर्यो । १३ सदस्यीय टोलीले पनि रकीलाई स्ट्रेचरमा राखेर पहाड तल झार्न सहयोग गरे ।

कुकुरप्रतिको यो किसिमको करूणा विरलै देखिन्छ तर मैले भने यस्तो दृश्य भने प्रायः दिनहुँ नै देख्ने गर्छु ।

मेरा सम्पादक गुणराज लुइटेलको कार्यकक्षमा चराहरू आउँछन् र उनीहरूका लागि राखिएका चाराहरू टिप्छन् । कुनै दिन उहाँले चारा राख्न बिर्सनु भए, छेउमै आएर कागले गुनासो गर्छ, भँगेरा र रूपीहरू (रूपी त होइन कि क्या हो !) चिर्बिर गर्न थालिहाल्छन् । पछिल्लो समय त उहाँले पानीको भाँडोसमेत राखिदिनु भएको छ । जहाँ उनीहरूले प्यासले आलसतालस भएका बेला पानी पिउने गर्छन् ।

शनिबार प्रायः हामी तारेभीर फेदीसम्म यात्रा गर्छौं । यात्रामा केही कुकुर उहाँलाई पछ्याउँदै हिँड्छन् । यात्रामा उहाँले बरू आफ्नालागि खाजाको कुनै परवाह गर्नुहुन्न तर कुकुरहरूका लागि केही न केही बोकिरहनु भएको हुन्छ ।

आज घर फर्कंदै गर्दा उहाँलाई पछ्याइरहेको कुकुरलाई हेर्दै यसलाई प्यास लागेजस्तो छ भन्नुभयो । उहाँले एउटा प्लेट झिक्नुभयो र आफूले बोकेको बोतलको पानी खन्याइदिनु भयो । नभन्दै त्यो पानी कुकुरले बडो हतारोका साथ चाट्यो, मानौँ तिर्खाले उसको सातै जान लागेको होस् ।

पानी पिएपछि बरू कुकुर तृप्त भयो होला, उहाँ तृप्त हुनु भएन । कुकुर अलि अगाडि बढेपछि अलि अगाडि दही च्यूरा खाएर बचेको च्युरा पानीसँग मुछेर कुकुरका अघिल्तिर राखिदिनु भयो । त्यो च्यूरा पनि उसले मज्जाले खायो । कुकुर पनि सन्तुष्ट, उहाँ पनि सन्तुष्ट !
उहाँलाई चराचुरूङ्गी र कुकुरले परैबाट चिन्छन्, पछ्याउँछन् पनि ।

कहिलेकाहीँ देख्छु… पशु र चराचुरूङ्गीको समेत ख्याल राख्ने मान्छे खुसी हुन्छ ।

(स्ट्रेचरमा बोकिएको कुकुर चाहिँ बेलायतको । तस्बिरः एजेन्सी)

६.

आमा चाहिँ छेउको पसलमा सामान किन्न निस्की । ३ वर्षे काखे बच्चो नजिकै खेलिरहेको थियो । रेखदेखका लागि छेउछाउमा साथीहरू थिए । एकैछिन अघि खेलिरहेको क्रिस्टोफर रामिरेज छेउको कुकुरको पछि लाग्यो ।

कुकुर हिँड्दाहिँड्दै जङ्गल छिर्यो । बच्चो क्रिस्टोफर पनि जङ्गलतिरै छिर्यो ।

सामान किनेर आइपुग्दा छोरो त बेपत्ता ! अब फेला पर्ला, तब पर्ला, अहँ ! केही उपाय लागेन ।

घण्टौँपछि क्रिस्टोफरकी अत्तालिएकी आमा छोरोको खोजखबर गरिदिन अमेरिकाको टेक्ससस्थित म्याग्नोलिया प्रहरीलाई गुहारी ।
देख्नेहरूले भने, ‘कुकुरसँगै हिँडिरहेको थियो ।’

कुकुर त फर्कियो, छोरो भने फर्किएन ।

प्रहरी, छरछिमेक अनि स्वयंसेवी सयौँको संख्यामा मिलेर जङ्गलमा खोजी गरे । दिन बित्दै गयो, क्रिस्टोफरलाई फेला पार्ने आशा पनि मर्दै जान थाल्यो ।

अन्ततः गएको साता हराएको ठाउँबाट ८ किलोमिटर पर, भोक-प्यासले आलस-तालस क्रिस्टोफर फेला पर्यो ।

धन्न जङ्गली जनावरले उसलाई सिध्याएनछन् !

कहिलेकाहीँ सोच्छु…

७.

कुकुर र बिरालो बीचको भिन्नता:

जब कुकुर पाल्नेले कुकुरलाई भोजन दिन्छ, कुकुरले सोच्छः “मलाई भोजन दिने मान्छेहरू पक्कै भगवान् हुनुपर्छ ।”

जब बिरालो पाल्नेले बिरालोलाई भोजन दिन्छ, बिरालोले सोच्छः “मलाई भोजन दिनेहरू मेरा भक्त हुन्, नत्र किन चढाउँथे ! म पक्कै उनीहरूको भगवान् हुँ ।”

८.

कुकुरहरू तीन प्रकारका हुन्छन् :

मासु पसलका कुकुर

घरमा पालिएका कुकुर

र, डुकुलन्ठक कुकुर

मासु पसलका कुकुरहरू परैबाट चिनिन्छन्, जो टुन्न पेटले हिँड्नै नसक्ने गरी मोटाएका हुन्छन् । तिनलाई मिहिनेतै नगरी खान पाइहालिने भएकाले संसारको ऐसी कि तैसी शैलीमा पल्टिरहन्छन् ।

घरमा पालिएका कुकुर अदब, तमिज सबै सिकेका सौम्य हुन्छन्, तिनलाई कुन बेला के गर्ने भन्ने थाहा हुन्छ ।

गल्लीका डुकुलन्ठक कुकुर चाहिँ ती हुन्, जसलाई एक छिन चुरोट नखाइदिनु न है भनेर अनुरोध गर्दा पनि उल्टै झम्टन्छन् ।

कहिलेकाहीँ… बेहोर्छु…