नमोबुद्धमा बौद्ध यात्रुहरू आगमन हुने सिलसिला प्रमाणिक रूपमा ईसाको पहिलो शताब्दीदेखि भेटिन्छ । जोहन ब्रोउगले क्याम्ब्रिज विश्वविद्यालय प्रेसबाट प्रकाशित ‘खोतान र नेपालका किम्बदन्ती’ शीर्षकको आफ्नो अनुसन्धान आलेखमा धेरै चासो दिएर नमोबुद्ध प्रसङ्ग उल्लेख गरेका छन् । उनले तत्कालीन खोतान (हालको चीनको सिन्जियाङको निश्चित भू-भाग समेटिने) राज्यको नेपाल सम्बन्ध र नमोबुद्धलाई विभिन्न दृष्टिकोणले समीक्षा गरेका छन्  ।

खोतान एक प्राचीन बौद्ध राज्य थियो, जुन सिल्क रोडको एउटा शाखामा अवस्थित थियो । यो राज्य तारिम नदी जलाधार क्षेत्र र पामिर पठार हुँदै ताक्लामकान मरुभूमिको दक्षिणी किनारसम्म फैलेको थियो । यसको प्राचीन राजधानी युटियन थियो ।  त्यो समय चीनमा हान राजवंश र पछि ताङ राजवंशको उदय भएको थियो । करिब १ हजार बर्ष अस्तित्वमा रहेको यो बौद्ध राज्य तीव्र इस्लामीकरण र तुर्कीकरणको चपेटामा पर्‍यो । अन्ततः सन् १००६ मा मुस्लिम कारा-खानिद खानतेले खोतान राज्य नै कब्जा गरे ।

जोहन ब्रोउगको आलेख अनुसार तत्कालीन खोतानमा कश्मीरबाट दुई जना बुद्ध शिष्यहरू आएका थिए, र ना-रो-बोड भनिने पवित्र भूमि छनोट गरी बौद्ध चैत्य बनाएका थिए । त्यहाँ बोधिसत्त्व सा-सेनले आफ्ना दुई सन्तान ब्राह्मणलाई दिएर त्यसको बदलामा प्राप्त गरेको जग्गामा “नमो-ह्बू-ग्दोह” चैत्य बनाएको उल्लेख भएको छ ।

नेपालमा ‘नमोबुद्ध’ र तिब्बतमा ‘नमो-ह्बू-ग्दोह’ उच्चारण समान रूपले गरिने जोहन ब्रोउगको तर्क छ । डेनिअल राइटले विस्मयादिबोधक नराखी ‘नमो-ह्बू-ग्दोह’ सम्बोधन गरेको उक्त शब्दले स्थानलाई नै जनाउने तर्क गरेको देखिन्छ । नमोबुद्ध नाम नेपाल र खोतानमा मात्र प्रयोग भएको देखिनुले यो क्षेत्रको सम्बन्ध प्राचीन खोतानसम्म थियो भन्ने तर्क गर्न सकिन्छ ।

ईसाको पहिलो शताब्दीदेखि नै चिनियाँ यात्रीहरूले नेपाल यात्रा गर्नुमा रेशम मार्ग अर्थात् सिल्क रोडको मुख्य देन थियो । यात्रीहरू रेशम मार्गको माध्यमबाट चीनबाट भारत हुँदै नेपाल आउने गर्दथे, र उनीहरूले चीनमा फर्केर यात्रा वृत्तान्तहरू लेखेका थिए । रेशम मार्गले त्यो समयको चीनको संवृद्धिलाई उन्नत स्तरमा टेवा दिएको थियो भने यो मार्गबाट नै व्यापार तथा वाणिज्यसँगै धार्मिक र सांस्कृतिक विचारहरूको विस्तार र आदानप्रदान भएको थियो ।

चीनमा बुद्ध धर्मको विस्तार हुनु यही मार्गको मुख्य सांस्कृतिक उपलब्धि मानिन्छ ।  त्यो समय चीनमा ताओ-विचार पनि विस्तारको क्रममा रहेको र बुद्धका बिचारहरू ताओ-विचारसँग सम्मिलन हुँदै कालान्तरमा दुवै धर्म सापेक्षिक रूपमा अन्तरघुलित हुन पुगेको देखिन्छ । एक अर्थमा सांस्कृतिक आदानप्रदानका माध्यमबाट बुद्ध धर्मलाई चीनले आफ्नै संस्करणमा रूपान्तरण गर्‍यो ।

हुन त इतिहासकारहरूले तत्कालीन खोतान – नेपाल सम्बन्धको लहरोलाई खस साम्राज्यको बिस्तारभन्दा अगाडिसम्म पुगेर सोध अध्ययन गर्ने प्रयास गरेका छन् । तारिम उपत्यका (सिङकियाङ) मा शक जातिकै एक प्रशाखा खश जाति थियो, जुन खोतान, काराकोरम, काश्मीर पार हुँदै नेपाल प्रवेश गरेको हुनसक्ने दाबी गरिएको छ । त्यो भन्दा बृहत्तर रूपमा नेपालमा किराँत आगमनको इतिहासले आदिकालीन खोतान समेट्ने अभिमत झन् बलियो छ , जुन कुरा ‘किरातेश्वर सेत्छेने सेनिहाङ लिङदेन (लिम्बू) वंशावली – २०६७’ मा सविस्तार चर्चा गरिएको छ ।

किराँतहरूको आदिम भूगोल ताक्लामकान उपत्यका थियो । तर समयक्रममा ताक्लामकान सहर बालुवाको भूतलभित्र दबिन र लुप्त हुन पुग्यो । ताक्लामकानलाई छाडेर हिँडेकाहरू उत्तर पश्चिम लागे । पामिर पठार नाघेर उनीहरू रमाणिय काशगर र खोतान उपत्यका आइपुगे । काशगरमा फेरी केही वंश विस्तार भयो र तिनीहरू क्रमशः अन्यत्र पनि बसाइँ सर्दै गए । काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान हुँदै मध्यपूर्वसम्म तिनीहरूको वंश फैलियो । काशगरबाट र खोतानबाटै केही भने हिन्दुकुश हुँदै सिन्धुतर्फ फैलिए । तर समस्त सिन्धु क्षेत्रमा पेलानमा परेर बाध्य हुँदै उनीहरू फेरी सुरक्षित ठाउँ खोज्न बाध्य भए । सिन्धु हुँदै पूर्व लागेको एउटा प्रवाहको काश वंश सन्तानहरू वर्तमान नेपाल आइपुगेको अभिमत छन् ।

प्रसङ्ग बस, यो अर्थमा खोतान सम्बन्ध प्रागैतिहासिक हुने देखिन्छ, परन्तु नमोबुद्ध-खोतान सम्बन्ध त्यो समय-साक्ष्यमा समेत स्थापित थियो भन्न खोजेको होइन ।

त्यसैगरी, ईसाको सातौं शताब्दीमा प्रसिद्ध चिनिया बौद्ध यात्री ह्वेन शाङ्गले सन् ६२७ देखि ६२९ सम्म तत्कालीन नेपाल र भारतको भ्रमण गरेका थिए । उनी दुई पटक अलग अलग स्थानबाट अहिलेको नेपाल प्रवेश गरेका थिए । एक पटक भारतको श्राबस्तीबाट कपिलवस्तु र लुम्बिनी आएर फेरी उतै फर्केको उनको यात्रा मानचित्रमा देखिन्छ ।

अर्को पटक उनी भारतको पटना, वैशाली र बज्जी एवम् नेपालको मिथिला क्षेत्र हुँदै काठमाडौँ आएका देखिन्छन् । हालको जनकपुरबाट काठमाडौँ आउने-जाने मार्गमा नमोबुद्ध रहेको स्पष्ट छ, तर यात्रा विवरणमा उनले यो  कुरालाई कतै महत्त्व दिएको पाइँदैन ।

नेपालको प्राचीन इतिहासमा कुनै न कुनै रूपमा समेटिएको नमोबुद्धको पावनतालाई मध्यकाल र मल्लकालको अभिलेखहरूमा भने गुमनाम पारिएको देखिन्छ । यद्यपि नमोबुद्धको सांस्कृतिक विरासत र अस्तित्व भने मौन ढङ्गले अविछिन्न रहेको थियो ।

वि.सं. १४०६ मा बङ्गालका सुल्तान शमसुद्दीन तुग्लक सुनकोसी-रोसी किनार हुँदै यही बाटो काठमाडौँ आएर फर्केका थिए । समसुद्दिन तुग्लकको नेपाल आक्रमणमा पशुपतिनाथको मन्दिर समेत ध्वस्त भएको थियो । उनीहरूले उपत्यकामा पनि भक्तपुरमा सबैभन्दा धेरै वितण्डा गरेको भन्ने भनाई छ । सम्भवतः त्यो समय यो भेग पनि भक्तपुर वा उपत्यकाको अन्य राज्यको अधीनमा थियो । तर उनीहरूले बाटोमा पर्ने नमोबुद्धमा आतङ्क-बढाई कहीँकतै गरे वा गरेनन् त्यो विषय समेत अनविज्ञ छ ।

नेपाल एकीकरण पूर्व श्यामपाटी, फुलवारी र बुच्चाकोट केही भूभाग भक्तपुरले मौजाको रूपमा राखेको थियो । त्यो समयमा भक्तपुरका राजाहरूले नै नमोबुद्धको संरक्षणमा चासो दिएको पाइन्छ । रणजीत मल्ल भक्तपुरका अन्तिम राजा थिए र उनी जनप्रेमी एवं आध्यात्मिक पनि थिए । उनले नमोबुद्धको चैत्यमै अखण्ड दियो बाल्ने प्रयोजनका लागि सिम रिम्टि खेत ४ रोपनी नामदेबता गुठीका नाममा अर्पण गरेका थिए, जुन कुरा पूर्णिमा अंक २०, भाग १, पत्र अभिलेखमा प्रकाशित छ । उनले नमोबुद्धलाई ‘नामदेबता’ र सम्बद्ध व्यवस्थापनलाई गुठी भनी सम्बोधन गरेका छन् । पूर्णिमामा छापिएको पत्रको अंश जस्ताको तस्तै:

श्रीपसुपतीजंयतो

१. स्वस्ति श्रीमन्येपसुपतित्यावीश्रीमाहारामधोराजश्रीश्रीजये रणजीतमल्लदे–

२. वानाम जवा जमरवीजयेनाम  – – – ।।।

३. स्वस्ति श्री ३ नामदेवताका थान नीभ दीयो बालनाका नीमीत्त

४. सीम रुम्टो षेत चार रोपनी श्रीदेवताकन मैनै गुट् राष्या. मैले

५. गर्या x x x x x काजी गौरौ उमराव जो यो षेतमहा घटीव–

६. ढी नगरी ह व मेरो गुनगार साछी प्रधां जैसींह गोरौ श्रीपसुपति

७. श्री कृष्णचंन थापा श्री ग्रमरसींह अधिकारी मीती माघसुदी

८. ९ सं १८०६ लौषक साछी चुकु  – – –

राजा पृथ्वी नारायण शाहले पनि एकीकरण पश्चात् नमोबुद्ध चैत्यको नैमित्तिक पूजा आराधना, पर्वतमाला एवं सम्पदा सहित काफलका रुख र वनको संरक्षण गर्न पुजारीलाई आदेशपत्र दिएका थिए । पत्रमा नमोबुद्ध क्षेत्रको वनलाई ‘नामब्रु’ सम्बोधन गरिएको छ, उक्त पत्र तहबिल कार्यालय अन्तर्गत भद्रकाली गुठीमा संरक्षणमा छ । उक्त विवरण पूर्णिमा पत्रिका, वर्ष १० अंक १ मा प्रकाशित छ ।  पूर्णिमामा छापिएको पत्रको अंश जस्ताको तस्तै:

श्रीदुर्गा सहाये

१. स्वस्ति श्रीमंमाहाराजधीराजकस्ये रुषका  – – – आगे नामब्रु – – – का

२. पुजाहारिलाई २ घरकन नामडोउको पुजाहारी अघीदेषी पनी नरौहेरा आज हामी–

३. ले पनी तीमीहरूकन थामोबक्सीउं पूजा गर बाकी थानको काफलको रूख–

४. मा रनफ गरेको नामोउधोको x x x x काफल x x x x को चौता

५. छ पनी गर जो त्यौ वं काटला सोंड गर पाउ त्यो वनको चीताई गर तमीहरूला–

६. ई कसले थीचोमीचो गराउयन संवत १८३० जेष्टसुदी माडौ

इतिहासका विभिन्न विषयहरूको निरूपण गर्न छुट्टै अध्ययन आवश्यक पनि छ । तथापि नमोबुद्ध क्षेत्र ऐतिहासिक र सांस्कृतिकका अतिरिक्त प्राकृतिक पर्यटकीयले एक सुन्दर र पवित्र स्थान हो । नमोबुद्ध क्षेत्रमा बुद्धमार्गी तामाङ जातिको बाहुल्यता रहेको छ, र विश्वशान्ति तथा चराचरका सम्पूर्ण प्राणीको हितमा समर्पित हुने सन्देश नमोबुद्धको हो भन्नेमा शङ्का छैन । यो अर्थमा बुद्ध धर्ममा रुचि राख्ने, प्रकृतिमा शान्तिमय कायाकल्पको अनुभव गर्ने र आध्यात्मिक तथा सांस्कृतिक सम्पदाको अनुपम अन्तर्दृष्टि प्राप्ति गर्न खोज्नेहरूको निम्ति नमोबुद्ध एक उत्कृष्ट गन्तव्य हो ।