नेपाली साहित्यमा गैरआख्यान कृति (निबन्ध, नियात्रा, संस्मरण, अनुसन्धान आदि) प्रकाशनमा ल्याएर पहिलोपटक प्रवेश गरेका गैरआख्यानकारहरू (डेब्यु लेखक) का लागि खुसीको खबर । डेब्यु गैरआख्यान कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ २०८० का लागि उत्कृष्ट ८ गैरआख्यानका कृतिहरूको सूची सार्वजनिक गरेका छौँ ।

यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

यो सूची नयाँ लेखकहरूका २०८० सालमा प्रकाशन भएका मध्ये हामीलाई प्राप्त १९ गैरआख्यानका कृतिबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टिमले छानेको हो ।

छानिएका डेब्यु गैरआख्यान कृतिहरूमा जिग्मे लामाको ‘अमरभूमि’, राजेन्द्र कार्कीको ‘खाइराइड’, आस्था भट्टराईको ‘फूलबारीको जुके गणतन्त्र’, उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’, चन्द्रमणि गुरागाईँको ‘भीरगाउँदेखि भीमचौरीसम्म’, गोमविक्रमको ‘मगर संस्कृति, परम्परा र गरिमा’, डा. जगदीश चन्द्र बरालको ‘वन, समुदाय र म’ तथा कुञ्जल शुभेच्छु लुइटेलको ‘मैले पढेका किताब’ रहेका छन् ।

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल गैरआख्यानकृतिमध्ये उत्कृष्ट एकलाई ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिने छ ।

‘०८० सालभरमा नयाँ लेखकका १९ भन्दा बढी नै गैरआख्यानका कृतिहरू प्रकाशनमा आएका छन्, तर हामीले सोधखोज गर्दा नयाँ लेखकका १९ कृतिहरू पुरस्कारका लागि प्राप्त गर्यौँ ।’, पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘यो सूची तिनै उपलब्ध डेब्यु गैरआख्यानका कृतिहरूबाट छानिएको हो ।’

कोइरालाका अनुसार यी ८ वटा गैरआख्यानका कृतिले नयाँ लेखकहरूले के लेख्दैछन्, र नयाँ पुस्ताले कमै रूचि राखेकाे गैरआख्यान विधाको भविष्य कस्तो छ भन्ने कुराको सङ्केत गरेको छ । ‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप अघिल्लो वर्षझैँ यसपटक पनि तीन विधामा ३ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगद र ताम्रपत्रले सम्मान गर्ने योजना बनाएका हौँ ।’ प्रधानसम्पादक कोइरालाले भने ।

०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।

०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीन विधामा क्रमशः प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ र डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’लाई प्रदान गरिएको थियो । अघिल्लो वर्षझैँ यस वर्ष पनि तीन विधाका उत्कृष्ट तीन डेब्यु कृतिलाई ५०-५० हजार राशिसहित सम्मान गर्न लागिएको हो ।

‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादक तथा स्वतन्त्र निर्णायकहरूलाई जिम्मा लगाइने छ । उहाँहरू प्रदान गरेको अङ्कका आधारमा छोटो सूची सार्वजनिक गरिने छ ।’, साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलले भने, ‘हाम्रा निर्णायकहरू लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्ने कुरामा विश्वास राख्नुहुन्छ । यही कारण यी ८ वटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट समूह पूर्ण विस्वस्त छ ।’

‘साहित्यपोस्ट उत्तम आख्यान र गैरआख्यान पुरस्कार’को प्रायोजन साहित्यपोस्ट व्यवस्थापन समूहले आफैँ गरेको हो । पुरस्कार प्रायोजन बारे प्रधानसम्पादक कोइराला भन्छन्, ‘साहित्यपोस्ट सञ्चालनमा यसै पनि ठुलो खर्च भइरहेकाे छ । त्यसमाथि यो पुरस्कारको प्रायोजन गर्दा नवपुस्तामा उत्साह बढ्छ भने यस्तो प्रभावकारी काम गर्न चुक्नु हुन्न भन्ने अभीप्रायमा साथ यी २ पुरस्कारको प्रायोजन हाम्रो समूहले गरेको हो ।’

‘साहित्यपोस्ट उत्तम काव्य तथा आख्यान पुरस्कार’को लामो सूची यसअघि नै सार्वजनिक गरी सकिएको छ ।

प्रस्तुत छ, २०८० सालका उत्कृष्ट ८ डेब्यु गैरआख्यानकृतिहरूको सूची:

१. अमरभूमि – जिग्मे लामा (नर बहादुर)

पच्चीस वर्षदेखि समाजिक विकासका कार्यहरुमा संलग्न हुँदै आएका ग्रामीण विकासविद् तथा बौद्ध ध्यानका अभ्यासकर्ता जिग्मे लामा (नर बहादुर) को यात्रा वृत्तान्त हो ‘अमरभूमि’ । लामाले पुस्तकमा दिगो सुख र अमरत्वको खोजी गरेका छन् ।

लामाले पुस्तकमा कर्णाली र कैलाश क्षेत्र हुुँदै देश तथा विदेशका विविध भूगोल, समाज तथा इतिहासको वृत्तान्त कहेका छन् । साथसाथै, अन्तर्मनको सुख तथा समृद्धिको खोज पुस्तकको केन्द्रमा रहेको देखिन्छ । गैरआख्यान अध्ययनका पारखीहरुका लागि पुस्तक गतिलो खुराकका रुपमा तयार भएको छ ।

पुस्तकलाई बुक्स हिमालयले प्रकाशनमा ल्याएको हो । १२ अध्यायमा सङ्ग्रहित पुस्तक ‘त्यो विशाल ताला’बाट सुरु भएर ‘मायावी जीवन’मा टुङ्गिएको छ ।

 

२. खाइराइड – राजेन्द्र कार्की

निबन्धकार राजेन्द्र कार्कीको पहिलो कृति हो व्यङ्ग्य–सङ्ग्रह ‘थाइराइड’ । विषयवस्तु, प्रस्तुति र बिम्बात्मक व्यङ्ग्यको प्रयोगले कार्कीका निबन्धहरु रसिला बनेका छन् । उनका व्यङ्ग्यहरु समाज तथा व्यक्तिका प्रवृत्तितिर सोझिएका छन् । उनका व्यङ्ग्य–निबन्धमा हास्तचेतका साथै विचार, मौलिकता तथा दार्शनिकताको ओज दर्बिलो छ ।

कविता लेखनमा समेत सक्रिय कार्की हाल क्यानडालाई कर्मथलो बनाई लेखन कर्ममा समेत सक्रिय छन् ।

शीर्ष व्यङ्ग्यसहित ३१ शीर्षकका निबन्धहरु सङ्ग्रहित ‘खाइराइड’लाई फित्कौली अनलाइन मिडियाले प्रकाशनमा ल्याएको हो ।

 

३. फूलबारीको जुके गणतन्त्र – आस्था भट्टराई

नबिल बैङ्कमा अधिकृत रहेकी पछिल्लो पुस्ताकी नियात्राकार आस्था भट्टराईको पहिलो कृति हो नियात्रासङ्ग्रह ‘फूलबारीको जुके गणतन्त्र’ । पुस्तकको शीर्षकबाटै थाहा लाग्छ, पुस्तकमा हाम्रो देशमा राजनीतिको कुरुप अवस्थालाई नियात्राका माध्यमबाट चित्रण गर्न खोजिएको छ ।

यो भट्टराईको सरल भाषामा लेखिएको यात्राकथा हो । उनको भाषामा पकड, सिर्जनशीलता, कल्पना र प्रस्तुतीकरणले नियात्रालाई दर्बिलो बनाएको छ । ‘लुम्लेको हावाले’ शीर्षकबाट सुरु भएको पुस्तक ‘जङ्गलबीचको मङ्गल’मा पुगेर टुङ्गिएको छ ।

१ सय ४० पृष्ठमा फैलिएको नियात्रालाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो ।

 

४. बुद्धकालीन समाज – उमाकान्त पौड्याल

अनुसन्धानकर्ता उमाकान्त पौड्यालको पहिलो पुस्तक हो ‘बुद्धकालीन समाजः पालि त्रिपिटकको साक्ष्यमा) । अनुसन्धान विधाको पुस्तकमा लेखकले बुद्धकालीन समाजका विविध पक्षहरुको रहस्योद्घाटन गर्दै बौद्ध धर्मका परिभाषिक शब्दहरुलाई सरल र सहज भाषाशैलीमा व्याख्या गरेका छन् ।

पालि भाषामा रहेका बुद्धका वचनहरुलाई प्रमाणिक तथा विश्वसनीय मानिन्छ । बुद्धकालीन समाजको ऐनाको रुपमा रहेको यो पुस्तकमा पालि भाषामा रहेका बुद्धवचनहरुलाई सङ्कलन गरी त्यसको व्याख्या गरिएको छ । पुस्तकमा बुद्धकालीन राज्यहरु, राज्यव्यवस्था, बुद्धका धार्मिक मन्तव्य, धार्मिक सम्प्रदाय, वर्णव्यवस्था, संस्कृतिलगायत कुराहरुलाई मिहीन ढङ्गले प्रस्तुत गरिएको छ ।

३ सय १ पृष्ठमा फैलिएको यो पुस्तकलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

 

५. भीरगाउँदेखि भीमचौरीसम्म – चन्द्रमणि गुरागाईँ

पूर्वशिक्षक तथा तत्कालीन दुलाहरी आदर्श गाउँ पञ्चायतका मुखियासमेत भएका चन्द्रमणि गुरागाईँको आत्मकथा हो ‘भीरगाउँदेखि भीमचौरीसम्म’ । गुरागाईँ ०२६ सालमा दुलाहरी गाउँ पञ्चायतको बहिदार, ०३३ सालमा मुखिया र २०३८ सालमा खरदारसमेत भएका थिए । त्यस समयको परिवेश र घटनाहरु यो पुस्तकको केन्द्रमा रहेको छ ।

पुस्तकका गुरागाईँको जीवनकथासहित भीरगाउँको कथा, पाथीभरादेवीको महिमा, विदेश यात्राका अनुभवहरु, राजनीतिक घटनाक्रम तथा गिरफ्तारीलगायतका कुराहरु समेटिएका छन् ।

पुस्तकलाई गुरागाईँ उपसभापतिसमेत रहिसकेको भानु साझा पुस्तकालय, सुन्दरहरैँचाले प्रकाशनमा ल्याएको हो । अनिता पौडेल सम्पादक रहेको पुस्तक १ सय ९८ पृष्ठमा फैलिएको छ ।

 

६. मगर संस्कृति, परम्परा र गरिमा – गोमविक्रम

 

पत्रकार तथा साहित्यकार गोमविक्रम क्षेत्रीको अनुसन्धानमा आधारित पुस्तक हो ‘मगर संस्कृति, परम्परा र गरिमा’ । पुस्तकमा मगर जाति, संस्कृति र यसका गौरवशाली व्यक्तिवहरुका बारेमा उल्लेख गरिएको छ ।

पुस्तकमा मगर जातिका साँस्कृतिक पक्षहरु सोरठी, घाटु, पैसेरु, मारुनी र यसको अभ्यासलगायतका कुराहरु उल्लेख छ जुन आफ्नो संस्कृति र परम्परा बुझ्न नयाँपुस्ताका लागि महत्त्वपूर्ण रहेको देखिन्छ । साथै, मगर जाति तथा समुदायको इतिहास र संस्कृति बुझ्न चाहने सबैका लागि पुस्तक पठनीय छ ।

२१६ पृष्ठमा फैलिएको पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।

 

७. वन, समुदाय र म – डा. जगदीश चन्द्र बराल

वनकर्मी डा. जगदीश चन्द्र बरालको अनुभूति तथा अनुभवजन्य संस्मरणात्मक पुस्तक हो ‘वन, समुदाय र म’ । पुस्तकमा लेखकले वन, समुदाय र आफूले गरेको सङ्घर्षको कथा प्रस्तुत गरेका छन् ।

पुस्तकमा नेपालको वन व्यवस्थापनको प्रारम्भिक अवस्था, सफलता, चुनौती, सङ्घर्ष, नीति–निर्माणका प्रक्रिया तथा वैदेशिक अनुभवलाई सरल भाषामा समेटिएको छ । वन, जल र जनावरका विषयमा रुचि राख्ने पाठक तथा नीतिनिर्माता र प्रशासकहरुका लागि पुस्तक महत्त्वपूर्ण बनेको छ ।

३ सय ५२ पृष्ठमा फैलिएको पुस्तकलाई सिमल बुक पब्लिकेसन्सले प्रकाशनमा ल्याएको हो ।

 

८. मैले पढेका किताब – कुञ्जल शुभेच्छु लुइटेल

तेह्र वर्षका किशोर कुञ्जल शुभेच्छु लुइटेलको पठन–अनुभूतिहरु सङ्ग्रहित पुस्तक हो ‘मैले पढेका किताब’ ।

पुस्तकमा विशिष्ट साहित्यकारहरु माधव घिमिरे, रमेश विकल, जनकप्रसाद हुमागाईँ, कविताराम श्रेष्ठदेखि पछिल्लो पुस्ताका लेखहरुका समेत गरी ३८ बालकृतिहरुका बारेमा लेखिएका आलेखहरु समावेश छन् । विधागत रुपमा कृतिमा बालकविता, बालकथा, बालजीवनी तथा चित्रकथासम्मका बारेमा लेखिएका आलेखहरु समेटिएका छन् ।

पुस्तकलाई युनाइटेड स्कुलले प्रकाशनमा ल्याएको हो भने वितरकका रुपमा शब्दार्थ प्रकाशन रहेको छ ।