महाशिवरात्रिका अघिल्ला शृङ्खलाहरूमा भगवान् श्रीपशुपतिनाथको महिमा, पाशुपत दर्शन, पशुपति क्षेत्रको प्राकृतिक अलौकिकता र प्राचीन सभ्यताको विषयहरू प्रस्तुत भैसकेको छ । यो महाशिवरात्रि शृङ्खलाको यो लेखनीमा श्रीपशुपतिनाथ र स्नानिकटका जीवन्त सांस्कृतिक अभ्यास र तिनको आयामलाई प्रस्तुत गरिएको छ ।

१. आगम र निगम पूजा परम्पराको स्रोत

भगवान् श्रीपशुपतिनाथको नित्य पूजा अन्तर्गत प्रथमतः भट्टहरू भण्डारीहरू रुद्राक्षको माला ग्रहण गरी रुद्रन्यासपूर्वक मन्दिरमा प्रवेश गर्दछन् ।  नित्य गर्भ गृहको नैर्ऋत्य कोणमा आदिकलश र पूर्णकलशको स्थापना गरी वैदिक र तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिन्छ, साथै दिक्पाल तथा गणेश र वासुकिको पूजन र अर्घ्य स्थापना हुन्छ । त्यसपछि आदिकलशका जलले पशुपतिनाथको स्नान तथा रुद्राभिषेक, पूर्णकलशका जलले पशुपतिनाथको स्नान, पञ्चवक्त्रको आवाहन एवं पूजन, पशुपतिनाथको ऊध्र्ववक्त्र स्वरूप मस्तकमा श्रीयन्त्रलेखन र पूजन, गर्भ गृहमा स्थापित विभिन्न देवीदेवताको पूजन, बालभोग, पशुपतिनाथको शृङ्गार तथा आरती र अन्त्यमा शंखजलार्पण र पुष्पाञ्जलि गर्ने गरिन्छ ।

नित्यपूजाका अतिरिक्त श्री पशुपतिनाथमा पर्व विशेष अनुसारका दिनहरूमा विभिन्न पूजाहरू हुन्छन् । प्रत्येक मास पूर्णिमामा हुने श्रीपशुपतिनाथको महास्नान पूजा हुन्छ, र यो विधिमा परम शिव र पराशक्तिको प्रतीक स्वरूप श्रीयन्त्रको निर्माण गरी पूजा अर्चना गर्ने परम्परा रहेको छ । महास्नानपूजाका विधि, परम शिव एवं पराशक्ति र यस महास्नानपूजाको तात्त्विकता एवं सान्दर्भिकताको वर्णन मात्रले एउटा पुस्तकको आकार लिन जान्छ । समग्रमा श्रीपशुपतिनाथको पूजा विशिष्ट प्रकारले र आगम तथा निगम विधिमार्फत पूजा हुने गरेकाले श्री पशुपतिनाथलाई आगम र निगम पूजा परम्पराको स्रोतको रूपमा लिइन्छ ।

२. समुदाय र गुठीमा आधारित परम्पराको निरन्तरता

श्री पशुपतिनाथमा सम्पन्न हुने प्रत्येक कार्यमा परम्परा देखि नै विशेष समुदाय जोडिएको छ । मूल पुजारी दाक्षिणात्य शैव मार्गी त्रिलिङ्गा द्रविड रहने, र पुजारी समेत निश्चित नियममा रहनुपर्ने हुन्छ । पुजारी वेदवेदान्त तथा तन्त्रको ज्ञानका साथै निश्चित विधि अनुसार दीक्षित हुनुपर्ने, गुप्तवास बस्नुपर्ने, विशेष प्रक्रियापछि पशुपतिनाथ मन्दिर प्रवेश हुने र मूल भट्टमार्फत पाशुपत तथा श्रीयन्त्र मन्त्र लिनुपर्ने प्रचलन छ । त्यसैगरी श्रीपशुपतिनाथको मन्दिरको पूजा कार्यमा सहयोग गर्न र मालसामानको संरक्षण गर्न मूल भण्डारी सहित अन्य भण्डारीहरू रहने व्यवस्था छ । भण्डारीहरू निश्चित प्रक्रिया र समुदायबाट मात्र प्रतिनिधित्व गर्ने प्रचलन छ भने बिसेट नाइके, बिसेटहरू एवं नित्य पूजा, पर्व, मेला एवं जात्रा सम्पन्न गर्न द्वारे, पचली नाइके र अन्य मन्दिरका पुजारीहरू निश्चित समुदायबाटै रहने व्यवस्था छ ।

पशुपति क्षेत्रको सांस्कृतिक सम्पदा र अभ्यासको जगेर्नामा परम्परादेखि नै गुठीहरू जोडिएका छन्, र श्रीपशुपतिनाथ लगायत देवदेवीका मठमन्दिरहरूको नित्य पूजा, भोग र आरती, नैमित्तिक पर्व, पूजा र जात्राहरू गुठीमार्फत हुने गरेको छ । मन्दिर, देवस्थल, धर्मशाला, पाटीपौवा, इनार, पोखरी, तलाउ, धारा, बाटो, घाट, पुल, चौतारा, गौचरन, जङ्गल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय, घर, संस्था बनाउने चलाउने, त्यसको मर्मत र संरक्षण गर्ने लगायतका सांस्कृतिक एवं सांस्कारिक कृत्य र सामाजिक परोपकारी कार्यका लागि गुठी राखिएको पाइन्छ ।

३. अमूर्त सांस्कृतिक सभ्यताको उद्गमस्थल

पशुपति क्षेत्र सांस्कृतिक सभ्यताको उद्गमस्थल हो, र यो क्षेत्र उपत्यकाका सबै जात्रा पर्वहरूको केन्द्र हो  । पशुपति क्षेत्रमा वर्षभरि नै विभिन्न समय एवं तिथिमितिमा चाडपर्व तथा जात्राहरू सञ्चालन भइरहेका हुन्छन् । प्रत्येक वर्षको चैत्रमासदेखि पर्व, जात्रा र उत्सवहरूको शुभारम्भ हुने गरेको छ, र वच्छलेश्वरीको मन्दिरमा चैत्र शुक्ल चतुर्दशीका दिन जम्बुदीप प्रज्वलन गर्ने गरिन्छ । त्यसपछि यन्त्र स्वरूप शिवशक्तिलाई वच्छलेश्वरी मन्दिरमा प्रतिष्ठापनसँगै तान्त्रिक विधिबाट अहोरात्र कालरात्रि पूजा हुन्छ र उपत्यकाको सबैभन्दा ठुलो पाहाँचरे पर्व शुभारम्भ भएको मानिन्छ । चैत्र कृष्ण अष्टमीका दिन ‘दुदु च्याँय् च्याँय्’ जात्रा उपत्यकाभर गर्ने चलन छ, र यो जात्रासँगै देशोद्धार पूजा, पाहाँचरे सहित पशुपति क्षेत्रमा वज्रेश्वरी जात्रा, आकाश भैरव र वच्छलेश्वरी जात्राहरूको प्रचलन छ ।

पशुपति क्षेत्र सांस्कृतिक सम्पदा र अभ्यासको केन्द्र मानिन्छ । नक्साल भगवती जात्रा, आकाशभैरव जात्रा, श्रीजयवागीश्वरी देवीको जात्रा, त्रिशूल जात्रा, गङ्गामाईको जात्रा, गाईजात्रा, खड्ग जात्रा, रोपाइँ जात्रा, श्रीकृष्ण जात्रा, इन्द्रजात्रा, शिवपार्वती जात्रा, गणेश जात्रा, श्रीगुहृयेश्वरीको जात्रा, श्रीनवदुर्गा-भवानी जात्रा, श्री भीमसेन जात्रा, श्रीपशुपतिनाथको छाया दर्शन, माधवनारायण जात्राका साथै विभिन्न समयमा वाग्मती जात्रा, चौसट्ठी लिङ्ग जात्रा, हरिसिद्धि जात्रा, नीलवाराही लगायत जात्राहरू पशुपति क्षेत्रमा प्रचलनमा छन्, वा थिए । महाशिवरात्रि, तीज, ठुलो एकादशी, बडादसैँ, नवरात्री, बालाचतुदर्शी, जनै पूर्णिमा, वैकुण्ठ चतुर्दशी, गुरु पूर्णिमा, धनुर्मास, पवित्रारोहण, दमनारोहण, शीतलाष्टमी, राम नवमी, श्रावणको सोमवार, कृष्ण जन्माष्टमी, गङ्गा-दशहरा लगायतका चाडपर्वहरूमा पशुपति क्षेत्रमा विशेष उत्साह देखिन्छ ।

४. वैदिक मठआश्रम र अखडाहरूको केन्द्र

पशुपति क्षेत्रको पावनता सनातन धर्ममा आबद्ध विभिन्न सम्प्रदायहरूका सन्त, महन्त, महात्मा र साधुहरूले पशुपति क्षेत्रमा बसी ध्यान, जप, तप र साधनाका कारण पनि प्रख्यात भएको हो । मठ तथा आश्रमका साधु सन्तहरू मार्फत भक्तजनहरूले आफ्नो जिज्ञासा र निष्ठा बोध गर्ने गरेको, सनातन धर्मको संरक्षण र प्रवर्द्धन भइरहेको एवं सनातनी ज्ञानको आभाले पशुपति क्षेत्र विश्वभर चिनिएको हो ।

पशुपति क्षेत्रका शङ्कराचार्य मठ, बद्रीनाथ आश्रम, निर्मल अखडा एवं गुरु नानक मठ, उमा कुण्ड आश्रम, भण्डारेश्वर मठ, नागा अखडा, नागिनी अखडा, वैरागी अखडा, भस्मेश्वर उदासी अखडा, अघोरी अखडा, शिवपुरी बाबा आश्रम, गोरखनाथ मठ, जोसमनी मठ लगायतका स्थल सिद्धसन्तहरूले तप र साधना गरेका स्थान हुन् । भगवान् पशुपतिनाथको सानिध्यमा रहेर जप, तप र साधना गर्नेहरू, र पशुपतिप्रति अगाध आस्था र विश्वास राखेर समेत धेरै धेरै प्रतिष्ठित सन्तहरू पशुपतिमा आउने गर्दछन् । साधु सन्त, उपासक, ज्ञानी, योगी र महात्माहरू पशुपतिनाथका गहना मानिन्छन् । तसर्थ महाशिवरात्रिको अवसरमा आउने सबै साधु सन्तलाई परम्परादेखि नै गुठी र सरकारी निकायले नै ल्याउने र बिदाइ गर्ने प्रचलन छ ।

५. विश्व सांस्कृतिक सम्पदाको धरोहर

पशुपति क्षेत्र अतिविशिष्ट महत्त्व बोकेको सांस्कृतिक सम्पदा र अभ्यासहरूको केन्द्र हो, साथै सनातन धर्मका अनुयायीहरूको सबै वैदिक, सांस्कृतिक एवं सांस्कारिक कृत्यहरू पशुपति क्षेत्रमा जीवन्त अभ्यासमा रहेको देखिन्छ । सांस्कृतिक र धार्मिक तथा कलावस्तुका दृष्टिकोणले अतिविशिष्ट महत्वका अन्य सांस्कृतिक सम्पदाका धरोहर र क्षेत्रहरूलाई समेटेर काठमाडौँ उपत्यका एक सांस्कृतिक विश्व सम्पदा स्थलको रूपमा सन् १९७९ मा युनेस्कोले सूचीकृत गरेको हो । यो अर्थमा पशुपति क्षेत्र विश्व मानव समुदायको साझा सांस्कृतिक सम्पदा स्थल हो, र यहाँका प्रत्येक धरोहरहरू जीवन्त सांस्कृतिक अभ्यासका केन्द्र हुन् ।

पुनश्च: श्री पशुपतिनाथको सम्पूर्ण महिमा सीमित लेखनीहरूमा समेट्न सम्भव हुँदैन । श्रीपशुपतिनाथको महिमा र दर्शनका अतिरिक्त पशुपति सान्निध्यका प्रतिकात्मक सम्बन्ध राख्ने सम्पदातिनको अवस्थितिमान्यता र अभ्यासहरूमा केन्द्रित ‘महाशिवरात्रि’ लेखनीको यो अन्तिम अङ्क हो । शृङ्खला लेखनमा लेखकले श्रीपशुपतिनाथको बारेमा गरेको खोज र अध्ययनमा आधारित विषयवस्तुहरू समेटेका छन् । लेखकका विषयवस्तुहरूले पशुपति क्षेत्रमा हुने वर्तमान  गतिविधि, अभ्यास वा कार्यहरूलाई समेट्दैन ।