पारिजातको ९०औँ जन्मजयन्ती विशेष

“परिभाषित आँखाहरू” पारिजातको नवौँ तथा अन्तिम उपन्यास थियो, बोनीलाई उपन्यास मान्दा ।

विसं २०३६ सालपछि पारिजात साहित्य लेखनमा भन्दा सामाजिक गतिविधि, सांस्कृतिक गतिविधि, राजनैतिक गतिविधि तथा गैर सरकारी संस्थाका गतिविधिमा बढी संलग्न भइन् । तीसको दशकको शुरुमा राल्फामा संलग्न उनी प्रलेसमा पनि सक्रिय थिइन् । यो कालखण्डमा पनि उनको लेखन निरन्तर र सक्रिय थियो ।

पारिजात

तर विसं चालीसको दशकको शुरुदेखि त पारिजातले साहित्यमा सक्रिय हुने समय नै पाइनन् । यद्यपि उनले यौटा उपन्यास लेख्न विषय पाएको, पात्रहरुले दिन रात लखेटेको जस्ता अभिव्यक्ति दिइरहन्थिन्, आजभोलि एकछिन एकान्त पाएर आँखा चिम्लनुहुँदैन, अथवा राती बिछौनामा बसेर बेड ल्याम्प निभाउनु हुँदैन, उपन्यास बोल्न थाल्छु । एउटा माछा जस्तो शरीर भएकी स्वास्नीमान्छे मलाई कागजमा उतार भन्न आउँछे । बिजुली जस्तो एक जोर आँखा मसँग जुधाउँछे र भन्छे – मलाई अभिव्यक्त गर्दिनौ ?

उनकी अमेरिकी मित्र बार्बरा निम्री अजिज पनि उनलाई उपन्यास लेख्नका लागि प्रेरित गरिरहने, उपन्यास शुरु गरिसक्यौ ? उपन्यास लेख्नु गुरुत्तर काम हो, लेख भनिरहन्थिन्, चिट्ठीमा, खबरमा ।

अन्ततः त्यो उनले लेख्न चाहेको उपन्यास लेख्ने दिन जुर्यो, साइत आयो र लेख्न थालिन् । विसं २०४५ साल मङ्सिरमा शुरु गरेर २०४६ साल असोजमा पूरा पनि गरिन् ।

अब उपन्यास छाप्नका लागि प्रकाशकको जरुरी थियो । त्यसको लागि टाढा जानु नपर्ने भयो । खगेन्द्र सङ्ग्रौलाको अध्यक्षतामा स्थापना गरिएको स्रष्टा प्रकाशनबाट सो उपन्यास प्रकाशन गर्ने भद्र सहमति थियो ।

त्यसबीच उपन्यासमाथि निकै बहस तथा कुराकानी भयो । उपन्यास प्रकाशकले चाहेजस्तो नभएको, प्रगतिवादी दृष्टिले कमजोर भएको जस्ता चर्चा गरियो र अन्ततः स्रष्टा प्रकाशनले पारिजातको उपन्यास प्रकाशन नगर्ने निधो गर्‍यो । यो निधोले पारिजातको आत्म सम्मानमा चोट पुर्‍यायो । उनलाई एक प्रकारको असहनीय पीडा भयो । आफ्नै सर्कलका साथीभाइ, प्रगतिवादी विचारवालाहरू पारिजातको यो उपन्यासको विपक्षमा जाँदा पारिजात अत्यन्त मर्माहत भइन् र स्यो म्होन्दो पत्रिकाको तर्फबाट स्योम्हेन्दो प्रकाशन नाम राखी उपन्यास प्रकाशित भयो ।

परिभाषित आँखाहरू

परिभाषित आँखाहरू

खासमा त्यो उपन्यास पारिजातले लेख्दै जाने, राजेन्द्रप्रसाद अधिकारीले साफी गर्दै जाने गरिएको थियो । यसरी पहिलो पाठक राजेन्द्र प्रसाद अधिकारी भए । त्यसपछि स्रष्टा प्रकाशनका लगानीकर्ता मुरारी अर्यालले पढे । त्यसपछि खगेन्द्र सङ्ग्रौला र नीनु चापागाईंले पनि पढे । चारैजनाले उपन्यासलाई मन पराएनन् । तर उनीहरूले पारिजातलाई सोझै केही भन्न सकेनन् र हरिगोविन्द लुइँटेललाई दूत बनाएर उपन्यास पुनर्लेखनका लागि सन्देश पठाए । तर पारिजात आफ्नो लेखनप्रति विश्वस्त थिइन् ।

उनको भनाइ थियो – उपन्यासमा सचेत ढङ्गले जीवनको सहजशीलताको निर्वाह गरिएको छ ।

खगेन्द्र सङ्ग्रौलाहरूलाई लाग्यो – उपन्यासमा सहजशीलता होइन, कृत्रिम घटना र नाटकीयताको भरमार छ ।

त्यसैले खगेन्द्र सङ्ग्रौलाको नेतृत्वमा पारिजातको उपन्यास “परिभाषित आँखाहरू” प्रकाशनका लागि अस्वीकृत गरियो ।

पारिजातले डा. ध्रुवचन्द्र गौतमसँग एक अन्तर्वार्तामा भनिन्, “यो लेख्न जति कठिनाइ अरू कुनै उपन्यास लेख्दा भएन । पात्र जटिल, समय जटिल, अभिव्यक्त गर्न नै एकदम जटिलताको सामना गर्नु पर्‍यो । … यसमा समय अनुकूल पात्र छन् । समय अनुकूल पनि लेख्नु परेको छ, समयलाई नङ्ग्याउनु पनि परेको छ । दोसाँधमा बसेर लेखिएको उपन्यास हो यो ।… यस उपन्यासमा ‘शिरीषको फूल’ भन्दा भयानक पात्र छ ।”

उपन्यास स्रष्टा प्रकाशनले प्रकाशित नगरेको तुष उनले भूमिकामा यसरी लाक्षणिक रूपमा व्यक्त गरिन्, “धन्यवाद ती महानुभावहरूलाई पनि नदिइरहन सक्तिन, जसले जानीजानी मलाई तनाउपूर्ण स्थितिमा पारिदिएका छन् ।”

उपन्यास प्रकाशित भइसकेपछि उपन्यासको बारेमा भ्रम फैलाइएको भन्दै उनले उपन्यासको प्रतिरक्षामा भनिन्, “रचनामा कृत्रिम ढङ्गले क्रान्ति थोपर्न खोज्नेहरूले मेरो उपन्यासमा उपस्थित सहजशीलताको महत्ता बुझिदिएनन् । उपन्यासको अवमूल्यन गरियो र मेरा पाठकहरूमाझ भ्रम फिंजाइयो ।…सोझो हिसाबले हेर्दा कतिले पोर्नोग्राफी पनि भनेका छन् । तर महिलाहरूलाई अति सहज लाग्यो । यसलाई कसैले अश्लील मान्छ नै भने बिहा नगरे भयो, प्रेम सम्बन्ध नगरे भयो ।”

यो उपन्यासको समीक्षा नकारात्मक रूपमा प्रकाशित भएपछि पारिजातलाई यति असह्य भयो कि, आफैंले नामाकरण गरेको र आफ्नो नाम तथा छद्म नाममा स्तम्भहरू लेखेर प्रत्येक अङ्कमा “राम्रो” पारिश्रमिक पाउने नारीप्रधान पत्रिका “अस्मिता” मा स्तम्भ लेखन नै लेख्न छाडेकी थिइन् । अस्मितामा लेखिएको थियो, …सस्ता किसिमका नाटकीय घटनाहरू उपन्यासमा आउँछन्, तिनको यथार्थता विश्वासिलो छैन । बिज्जुले टिकट ब्ल्याक गर्नु, बगली मार्नु, बलात्कृत हुनु, बलात्कारको समयमा पानी पर्नु, रामसुख जस्तो नोकर, वेश्यावृत्तितर्फ धकेलिनु, भाग्नु, तिलस्मी पात्र मनोहरले सहायता गर्नु, एउटा आदर्श परिवारमा शरण पाउनु, राजन सरको प्लेटोनिक लभ, यी सब सस्ता हिन्दी सिनेमा र उपन्यासका फर्मुलाहरू हुन्, जसबाट उपन्यासलाई बचाउन सकेको भए राम्रो हुने थियो ।

तर सिर्जना भनेको यस्तो शक्तिशाली बस्तु हो, जुन समय र काललाई पार गर्दै जीवन्त रहन्छ । पारिजातको उपन्यास अस्वीकार गर्ने स्रष्टा प्रकाशनको अस्तित्व कतै देखिन्न । अस्मिता पत्रिका बन्द भयो, त्यो इतिहासको गर्तमा कतै होला । तर पारिजातको त्यो अस्वीकार गरिएको उपन्यास “परिभाषित आँखाहरू” आज पनि पाठकहरूले पढिरहेकै छन्, लेखिकाको देहान्त भएको तीन दशक पार भैसक्दा पनि ।