हामी धेरै नेपालीहरू पुस्तक उपहार दिने दिवस मनाउँदैनौँ । प्रणय दिवसको दिन अन्तर्राष्ट्रिय पुस्तक उपहार दिने दिवस भए पनि यो चलन नेपालमा प्रभावकारी बन्न सकेको छैन । प्रत्येक वर्ष प्रणय दिवस आउँछ भन्ने धेरै जनालाई थाहा छ । सोही दिन पर्ने ‘अन्तर्राष्ट्रिय पुस्तक उपहार दिवस’ थोरैलाई मात्र थाहा छ ।
नेपाल विभिन्न परम्पराले भरिपूर्ण छ । त्यसमध्ये वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा हामी प्रत्येक वर्ष मनाउँछौँ । सरस्वतीलाई विद्याकी देवीका रूपमा चिन्छौँ र सरस्वती पूजा विशेष तरिकाले मनाउँछौँ । सरस्वती पूजाको दिन हामी हाम्रा साना नानीहरूलाई अक्षर चिनाउने लेख्न सिकाउने पनि गर्छौँ ।
पश्चिमा मुलुकबाट सुरु भएको पुस्तक उपहार दिवस पछिल्लो समयमा पुस्तकप्रेमीले एकअर्कासँग पुस्तक साटासाट गरी मनाउन थालेको पाइन्छ । प्रेम र सद्भावसँगै ज्ञान साटासाट गर्ने माध्यमका रूपमा पुस्तक दिवस मनाउन थालिएको पाइन्छ । यस वर्ष नेपालमा अन्तर्राष्ट्रिय पुस्तक उपहार दिवस, प्रणय दिवस र सरस्वती पूजा एकै दिन परेकाे छ । कतिपय पुस्तकप्रेमीहरूले सरस्वती पूजाको दिन पुस्तक उपहार दिँदै आउनुभएको छ । यो कार्य देशव्यापी भने बन्न सकेको छैन ।
यस वर्षबाट सरस्वती पूजाको दिनलाई ‘राष्ट्रिय पुस्तक उपहार दिवस’का रूपमा मनाऔँ, जसरी केही वर्ष अघि ढाका टोपी लगाएर टोपी दिवस मनाउन थालेका थियौँ । एकै जनाले धेरै जनालाई पुस्तक उपहार दिन सकिँदैन तर एक जनाले एक जनालाई उपहार दिन सकिन्छ । आफ्नो मिल्ने साथी अथवा आफूसँग नजिक भएका जोकोहीलाई पुस्तक उपहार दिन सकिन्छ । आफूले जसलाई पुस्तक उपहार दिइन्छ उसले फेरि आफैँलाई उपहार फर्काउने हो । बुझ्ने भाषामा एकअर्का बिच पुस्तक साटासाट गर्ने हो ।
कस्ता पुस्तक उपहार दिने :
आफूलाई अत्यन्त धेरै मन परेको तर साथीले नपढेको ।
साथीले पढ्न चाहेको तर साथीले नपढेको ।
साथीसँग सल्लाह नगरी उपहार दिँदा साथीले पढिसकेको वा साथीसँग भएको पुस्तक पर्न सक्ने भएकाले सल्लाह गरेरमात्र पुस्तक उपहार दिने ।
नेपाली भाषामा लेखिएका जुनसुकै विधाका पुस्तकहरू उपहार दिने । (जस्तैः उपन्यास, कथा, कविता, गजल, मुक्तक, संस्मरण, गैरआख्यान, धार्मिक, खोज अनुसन्धानमूलक, आध्यात्मिक, राजनैतिकलगायत)
पुस्तक उपहार दिनुका सकारात्मक पक्ष :
पुस्तक उपहार दिने चलनले पठन संस्कृतिको विकासमा सहयोग पुग्छ ।
पुस्तक पढिरहने व्यक्तिको ज्ञानको भण्डार फराकिलो बनाउँछ ।
पुस्तक उपहार दिवस देशव्यापी भयो भने लेखक, प्रकाशक, पुस्तक विक्रेता र पाठकलाई फाइदा हुन्छ ।
पुस्तक पढ्ने बानीले समाजको चेतनामा विकास पुग्छ ।
राष्ट्रिय पुस्तक उपहार दिवस किन मनाउने ?
नेपालमा पठन संस्कृति अत्यन्त न्यून छ । पछिल्लो समय हाम्रो धेरै समय फेसबुक, युट्युब र भिडियो गेमले खाइरहेको छ । फेसबुक र युट्युबमा आउने थोरै कुराले हामीलाई फाइदा पुग्छ तर धेरै कुराले अलमल्याइरहेको हुन्छ । पछिल्लो समय भिडियो गेममा पनि पब्जी र फ्री-फायर आतङ्कको रूपमा फैलिरहेको छ । जसले जीवनमा कुनै फाइदा गर्दैन । यही दलदलमा फँसिरहेका छन् नेपालका अधिकांश बालबालिका ।
अझै पनि हाम्रो समाजमा कक्षागत पुस्तकबाहेकका पुस्तक पढ्दा मानसिक सन्तुलन बिग्रिन्छ, बाहिरी पुस्तक पढेर फाइदा छैन, बाहिरी किताब पढ्दा कक्षागत किताबलाई असर पार्छ भन्ने भ्रम जीवितै छ । बुझ्न आवश्यक छ, बाहिरी पुस्तक पढ्दा कुनै पनि बेफाइदा हुँदैन । यस्ता भ्रम हटाउन र बालबालिकालाई पुस्तकप्रति आकर्षित गराउन देशव्यापी पुस्तक उपहार दिने चलन चलाउन आवश्यक छ ।
सरस्वती पूजाकै दिन किन मनाउने ?
सरस्वती पूजाको दिन पुस्तक उपहार दिवस मनाउन धार्मिक तथा साँस्कृतिक हिसाबले उपयुक्त छ ।
पुस्तक उपहार दिने चलन विद्यालयसम्म पुर्याउने हो भने वार्षिक लाखौँ पुस्तकप्रेमी थपिन्छन् ।
सरस्वती पूजाको दिन पुस्तक साटासाट गर्दा पाठकलाई हेर्ने नजर पनि सकारात्मक हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।