दाप्चा भेगको इतिहास अन्वेषणमा लिच्छविकालीन अभिलेख र प्रमाणहरू औचित्यपूर्ण देखिन्छन् । पलाञ्चोकमा राजा मानदेव, खोपासीमा शिवदेव र अंशुवर्मा एवं कुशेश्वर मन्दिर, दुम्जामा अंशुवर्माको शिलालेखहरू यो क्षेत्रको तत्कालीन इतिहास र सभ्यताको परिचायक हुन् । कुशेश्वर मन्दिर, दुम्जाको उत्तरपूर्वको सत्तलपछाडि खण्डित अवस्थामा रहेको शिलालेखमा “. . . . किर्ति . . . . श्रीकलहाभिमानी नृप . . .पुण्य . . .मा . . .” गरी ५ शब्दहरू मात्र स्पष्ट देख्न सकिन्छ (धनबज्र बज्राचार्य, लिच्छविकालका अभिलेख) । तथापि पलाञ्चोक र खोपासीका शिलालेखहरूका सबै लिपिहरू उतार गर्न सकिने अवस्थामा छ ।
खोपासिको अभिलेखमा द्वारोद्घाटन यात्रा र कैलाश यात्रामा यो भेगका थुमैपिच्छे सबै घरलाई कमेराको डल्ला बुझाउन उर्दी गरिएको छ । पशुपति क्षेत्रमा प्रचलित प्राचीन कैलाशयात्रा, कुण्डयात्रा, लिङ्गयात्रा, तीर्थयात्रा, उपलिङ्ग–यात्रा र ज्योतिर्लिङ्ग–यात्राहरूको प्रचलन मध्यकालपछि मात्रको हो । तसर्थ त्यो समयको कैलाश यात्रा के हो भन्नेमा अस्पष्ट छ ।
पहाडी थातथलोहरू उच्च डोल परेको ठाउँमा हुन्थे भने बेसीको छुट्टै विशिष्टता र उपयोगिता रहन्थ्यो । भक्तपुरको अनन्तलिङ्गेश्वरको राजा नरेन्द्रदेवको शिलालेख अनुसार कार्तिक शुक्ल एकादशीको दिन गाउँबेसी गर्ने मूलबाटोहरू सफा गर्न उर्दी जारी गरेका छन् (धनबज्र बज्राचार्य, लिच्छविकालका अभिलेख) । यसको अर्थ गाउँबेसी गर्ने चलन लिच्छविकालमै थियो भन्ने अर्थ राख्दछ ।
त्यो समय झरेली प्रथाअनुसार बाटोहरू गाउँले मिलेर सफा गर्दथे । बाटोको किनारमा विश्रामका लागि रुख रोप्ने, कुवा खन्ने र चौतारो चिन्ने गरिन्थ्यो । लामो कोशको बाटोमा पाटी र सत्तलहरू बनाइन्थ्यो, जसमा बटुवाहरू रातबिहाल, हुरी र वर्षाबाट जोगिन्थे । कुवा खन्न नमिल्ने ठाउँमा ढुंगेधारा बनाई पानी छोडिन्थ्यो । नेपालमा ढुंगेधारा बनाउने कार्यको आरम्भ लिच्छविकालमै शुरु भएको हो ।
लिच्छविकालीन समयमा यो भेगका बस्ती र घरहरू कस्तो थिए भन्ने अन्योल छ । यद्यपि कमेरोले घर पोत्ने चलन भने छैठौं शताब्दीमै रहेको खोपासीको शिवदेव–अंशुवर्माको शिलालेखले पुष्टि गर्दछ ।
गाउँबस्तीहरूमा धर्म र आस्थामा गहिरो जनविश्वास थियो । देवीदेउताको मानमनितो नपुगेमा अनिष्ट र महासंकट हुने भय रहन्थ्यो । तसर्थ अहिलेको जस्तो जथाभाबी मन्दिर बनाउने, देवीदेउता स्थापना गर्ने, भाकल वा पूजा गर्ने चलन थिएन । घर–गाउँको आडबाट सकभर देवीदेउता टाढा स्थापना गर्ने चलन थियो ।
गाउँघरमा गोठ र धनसारको धूप, मस्टो र कुलायनपुजा, देवीदेउतालाई देउराली भाकल र भूतप्रेतको मन्सो गर्ने चलन व्यापक थियो । रोगव्याधि निर्मूलका लागि शितलामाई र रोगव्याधिले छोएमा झाँक्रीको रोहवरमा बनपूजा हुन्थ्यो ।
बाह्रौं शताब्दीको अन्ततिर राजा आनन्ददेवले दाप्चा सहितको समग्र काभ्रेको भूभागलाई कान्तिपुरमा समाहित गरेका थिए । उनले भक्तपुरमा त्रिपुर दरबार र बनेपामा वसन्तपुर अर्थात् लायकु दरबार बनाएका थिए । राजा आनन्ददेवले नै वि.सं. ११५३ मा बनेपा–चण्डेश्वरी मन्दिर बनाएको र देवमाला वंशावलीहरूका अनुसार चण्डेश्वरीको आज्ञाले बनेपा सहित सात नगर बसालेका थिए (हरिराम जोशी, बनेपा, पूर्वोक्त) ।
मध्यकाल र मल्लकालमा गाउँ भेगलाई ‘मौजा’को रूपमा अधीनस्थ गर्ने चलन थियो । उनै आनन्ददेवले दाप्चा र आसपासको क्षेत्रलाई भने सात नगर बाहिरको ‘मौजा’ कायम गरेको प्रमाण भेटिन्छ । स्थानीय उत्पादन र स्रोतलाई करको रूपमा उठाउने बाहेक मौजाको रेखदेख राजाको जिम्मेवारीमा थिएन ।
मध्यकालमा राजाहरूको मौजाको रूपमा रहेका भूभाग बिर्ताको रूपमा बाँड्दथे । यो भेगका अधिकांश बाहुन–क्षेत्रीहरूले मध्यकालदेखि मल्लकालको समयमा बिर्ता पाएर आबादी शुरु गरेको देखिन्छ ।
पृथ्वीनारायण शाहले एकीकरणका बखत घुलिखेल–देवीस्थानमा भक्तपुरका राजा रणजित मल्लको किल्ला थियो (सुर्यविक्रम ज्ञवाली, पृथ्वीनारायण शाह) । रणजित मल्लले यही किल्ला मार्फत फूलबारी, श्यामपाटी, दाप्चा र सुनथान लगायतको भेगको रेखदेख गर्दथे । पृथ्वीनारायण शाहले काभ्रेको चौकोट र धुलिखेल आक्रमण गर्ने ध्येयले फूलबारी, श्यामपाटी र सुनथानमा सैन्य किल्ला तैनाथ गरेका थिए । उनी चौकोट र धुलिखेललाई वरिपरिबाट घेरेर रणनीतिक रूपले युद्ध जित्ने दाउमा थिए ।
पृथ्वी नारायण शाहको विजय पश्चात्पछि विद्यमान सामन्त प्रथाले जरो गाडेको देखिन्छ । गाउँमा धेरै जमिनहरू ठूला मुखिया, थरी र जिम्मुवालको अधीनमा रहन्थ्यो । उनीहरूले दुनियाँदारले कमाएको जमिनको तिरो आफै उठाउँथे र सेनाको मुकाममा दाखिला गर्दथे । पृथ्वीनारायण शाहले एकीकरण गरेपछि कुलो काटेर धान लगाउन मिल्ने जग्गामा धान लगाउनु भन्ने आदेश गरेका थिए ।
गाउँलेले उक्त आदेशपछि बाँझो पाखो र टारीहरूमा समेत खेत र बारी बिराएका थिए । अहिले पनि अति भिरालो पाखोमा बारीका पाटाहरू प्रशस्त भेटिन्छन् । घर भएको ठाउँमा पनि असली धान उब्जाउ हुने भए घर अन्यत्र सार्नु भन्ने पृथ्वीनारायण शाहको उपदेश थियो । राज्य विस्तारको लागि आवश्यक सम्पत्ति जुटाउन तिरोको रूपमा धान उठाउने व्यवस्था थियो ।
यो कार्यमा तैनाथ जमिनदारहरूले आफूखुसी बिर्ताबार र रैकर जमिनहरू हडप्थे । सेनाका जवानहरूले पनि तलबको सट्टामा रैकर जमिन दर्ता गरी पाउने चलन थियो । केही असली जग्गाहरूमा मुखिया, थरी र जिम्मुवालहरूले पनि आँखा लाउँथे । सरकारले चाहेमा जग्गा जुनसुकै समय हडप्न पाउँथ्यो, र मुआब्जाको चलन थिएन ।
रणबहादुर शाहले वि.सं. १८४३ मा यो भेगबाट जग्गाको तिरो, कुत, पोत उठाउने कार्यमा ‘चौधरी’ नियुक्त गरेका थिए । पोत, कुत र करको अवस्था राजाको परिवर्तनसँगै फरक हुनु स्वाभाविक थियो । एउटा अभिलेखमा त्यो समय नेवारलाई पहाडी इलाकामा जग्गा लिन बन्देज गरिएको कुरा उल्लेख गरिएको छ । पछि रणबहादुर शाहले अब्बल मात्रामा कर उठाउन धन नेवार नामका चौधरीलाई हटाएर लक्ष्मि खवासलाई नियुक्त गरेका थिए ।
दाप्चा, पनौतीदेखि पलाञ्चोक सम्मका जग्गालाई बिर्ता, छाप र गुठ गरी तिन प्रकारले विभाजन गरिएको थियो । त्यसै अनुसार जग्गाको कुतको व्यवस्था गरिएको थियो । कुतको रूपमा बिर्ता र छाप जग्गाबाट चौधरीले घ्यू-तेल र गुठवालाबाट खसी वा बोका सरकारलाई बुझाउनुपर्दथ्यो ।
वि.सं. १८५४ मा रणबहादुर शाहले विभिन्न स्थानमा चेक पोइन्ट तोकेका थिए । चेक पोइन्टमा व्यापारीहरूद्वारा ओसारपसार हुने सामानहरूको खरिद बिक्रीमा कर उठाउन टक्सारी र भन्सारीको व्यवस्था भएको थियो । उनीहरूले तामा, फलाम, सिसा, मैन, चिराइता, कुथी, जटामाशी, अलैंची, कपास, तेजपात र कागजमा बिक्रेता र खरिदकर्ता दुवैबाट १ प्रतिशत कर उठाउँदथे ।
प्राकृतिक विपत्तिहरूको समयमा कर माफी हुन्थ्यो । कर लगाइएका सामानहरू मात्र बिक्री गर्न अनुमति हुन्थ्यो । यो क्षेत्रमा कानपुर कालापानी, खनालथोक चरंगे र झिकु–दोभानमा चेक पोइन्ट तोकिएको थियो ।
राणाकालमा भने जमिनको तिरो एकनास गराउन जग्गा नापिको चलन शुरु भएको थियो । धान लगाउन नमिल्ने जमिनको तिरो धेरै तिर मिनाहा वा न्यून मात्रामा हुन्थ्यो ।
प्रकोप र जनस्वास्थ्यका दृष्टिकोणले भेगको इतिहास कहालीलाग्दो रहेको अनुमान छ । वि.सं. १७७५ साल तिर अनौठो रोगले यो भेगका अधिकांश गाउँहरू सखाप भएको अनुमान छ । वि.सं. १७७३ को आसपास विश्वभर प्लेगको महामारी रहेकोले त्यो रोग प्लेग नै रहेको अनुमान गर्न सकिन्छ । त्यसैगरी वि.सं. १७९६ देखि वि.सं. १८०० सम्म नेपालमा बिफरको महामारी अत्यधिक थियो, जसको प्रकोपमा यो भेग पनि ग्रस्त रहेको अभिलेखहरू भेटिन्छ ।
प्लेग महामारीको ५० वर्ष जतिपछि वि.सं १८२३ श्रावणमा सिन्धुपाल्चोक केन्द्रविन्दुको करिब ८ रेक्टर स्केलको महाभूकम्प गएको थियो । त्यसको अर्को ६५ वर्षपछि वि सं १८८९ भदौमा पनि ८ रेक्टर स्केलको महाभूकम्प गएको थियो । त्यसैगरी वि.सं. १९७२ सालमा पनि चीनको खासा भन्दा केही माथि तिब्बत केन्द्रविन्दु रहेको ७.७ रेक्टर स्केलको महाभूकम्प गएको थियो । त्यो बाहेक वि.सं. १९९० सालको महाभूकम्पको बारेमा धेरै विषय जगजाहेर छ । उल्लिखित समयमा यो भेगमा धेरै धनजन सहितको क्षति भएको अनुमान गर्न सकिन्छ ।
वि.सं १९७६ सालताका विश्वभर अर्को महामारी आएको थियो । त्यसको एक वर्षपछि वि.सं. १९७६ ताका यस भेगमा समेत त्यो खालको महामारी फैलिएको छ । गाउँघरमा त्यो प्रकोपलाई आँठे भनियो भने जुन स्पेनिस-फ्लुको महामारी थियो । उक्त आँठे ज्वरोले कैयन गाउँ रित्तिएको थियो भने प्रत्येक घरहरूमा मृत्यु परेको थियो । अत्यधिक ज्वरो आउने र बिरामीको मृत्यु हुने लक्षणको महामारीसँग त्यो बेलाका मानिसहरू धेरै त्रसित बनेका थिए ।
तत्कालीन स्पेनिस फ्लुका कारण विश्वभरमा ५ करोडको संख्यामा संक्रमित र २ करोडको संख्यामा मृत्यु भएको थियो । आँठेले थलिएको गाउँ र गाउँलेलाई उठ्न धेरै हम्मे परेको थियो ।
त्योताका यो भेगमा स्पेनिस-फ्लु भित्रनुको कारण उपत्यका आउजाउ गर्नेहरू माध्यम बनेका थिए । उपत्यकामा भने एक वर्ष अगाडि फ्लु भित्रिसकेको थियो । प्रथम विश्वयुद्धमा राणा सरकारले ब्रिटिश इन्डियाका लागि ठुलो सैनिक सहयोग गरेको थियो । उनीहरू फोकल्याण्ड देखि सुमात्रासम्म पुगेर युद्ध लडेका थिए । लडाइँपछि उनीहरू देश फर्किएसँगै फ्लु मुलुक भित्रिएको थियो ।
राणाकालको अन्तिम समयसम्म पनि यस भेगका मानिसहरूको जनजीवन धेरै कठिन र दयनीय थियो । मानिसहरू इमानदार र सोझा थिए । सरदार भीमबहादुर पाँडे, त्यस बखतको नेपालका अनुसार दाप्चा भेगमा ऋणमा आने–व्याजको चलन थियो । आने–व्याजमा ५ घिउ खाने कटाई १ खेतालो र १ जमानी खेतालो पर्छ भन्ने मान्यता थियो । जस अनुसार १०० ऋण रकमको कबोलमा ९५ दिएर वर्षको ७५ रुपैयाँ ब्याज सहित अतिरिक्त १ रुपैयाँ बराबर १ साहु खेतालो र १ जमानीकताको खेतालो तिर्नु अनिवार्य थियो ।
वि.सं. १९९० साल माघको महाभूकम्पपछि सबैको घरबार उठेको समयमा केही टाठाबाठाहरूले राणा सरकारको दैलो चहारेर ऋण लिएका थिए । सोझा गाउँलेहरूले भने सरकारी ऋण लिन हुन्न भनेर डराएका थिए । तर राणा सरकारले ४ वर्षभित्र भूकम्पको समयमा जनताले लिएको ऋण मिनाहा नै गरिदियो ।
सोझा गाउँलेहरू घटना र करणीले पटक पटक प्रताडित हुने गरेका थिए । वि.सं २००० मा जुद्ध शमशेरले पहिलो पटक नेपालमा औद्योगिक सर्भे गरेका थिए । मुलुकभर सर्भेका लागि डोरहरू खटाइए । त्यो भन्दा अगाडि नै गाउँभरि हल्ला चल्यो, ‘शून्य सालमा लिएको ऋण सरकारले मिनाहा गर्छ रे …’। ठिक त्यसैगरी, १९९० सालमा महाभूकम्पको ऋण सरकारले मिनाहा गरिदिएको थियो, र सोझाहरूले विश्वास नगर्ने कुरै थिएन । नभन्दै औद्योगिक सर्भेका डोरहरू बस्तीमा पुगे ।
उनीहरूको प्रश्नावलीमा ऋणका कुराहरू धेरै थिए: किन ऋण लिएको, कति ब्याज, कहिले तिर्ने, शर्त के छ, कसरी तिर्ने आदि इत्यादि ।सरकारका प्रतिनिधिहरू गाउँ पसेर कहिल्यै यस्ता कुरा सोधेका थिएनन् । गाउँलेलाई अचुक विश्वास जाग्यो, सरकारले शून्य सालमा लिएको ऋण मिनाहा गर्छ रे ।
गाउँलेहरू आफ्नो घरमा डोर आउनुभन्दा अगाडि नै साहुकहाँ पुगेर आने–ब्याजमा ऋण लिएको तमसुक भटाभट बनाउन थाले । नचाहिएको ऋण पनि उनीहरूले बोके र तमसुक कागजको जोहो गरे । तर समय क्रममा सरकारले त्यो ऋण तिर्ने कुरै थिएन । शून्य सालको ऋणको चक्करमा दाप्चा भेगका सोझा गाउँलेहरू धेरै परेको सुन्न पाइन्छ ।
यो भेगको असाध्ये दुःख भनेको नुनको जोहो गर्नु थियो । अरू बेला जे जस्तो भएपनि चाडपर्वहरूमा खाँचो नहुने गरी नुनको जोहो गर्नु बाध्यता नै थियो । नुनका लागि भोटकोशी बगरै–बगर भोटतिर जानु पर्दथ्यो । राणाकालको अन्त्यतिर मात्र नुनको व्यापारका लागि भोटेकोशी किनारमा केही पसलहरू खुल्न थालेका थिए ।
वि.सं. २०१८ सालसम्म काभ्रे र सिन्धुपाल्चोकको सम्पूर्ण भूभाग पूर्व १ नम्बर अन्तर्गत पर्दथ्यो । पूर्व १ नम्बरमा २८ औजा मौजाहरू रहेका थिए जस अन्तर्गत दाप्चा, तेमाल, पलाञ्चोक र काभ्रे छुट्टाछुट्टै मौजाहरू थिए । नुनको अतिरिक्त पूर्व १ नम्बरको मुकाम चौतारा रहेकाले दाप्चा भेगका मानिसहरू प्रशासनिक कामका लागि ग्राम विकास केन्द्रको तत्कालीन मुकाम चौतारा आउजाउ गर्नुपर्ने बाध्यता थियो ।
ग्राम विकास केन्द्रका रूपमा रहेको चौतारा मुकामको अस्तित्व २०१८ सालमा अन्त्य भएको थियो ।
(दाप्चाको ऐतिहासिक जनजीवनमा आधारित लेखकको खोजमूलक आलेख ‘सुनसान माथ्लो हटिया’ प्रकाशन भैसकेको छ । तसर्थ लेखकले दोस्रो भागको रूपमा अगाडि नसमेटिएका र अनुसन्धानको क्रममा प्राप्त थप विषयवस्तुलाई मात्र यहाँ समावेश गरेका छन् ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।