समुद्रमन्थनबारे हामीले कहीँ न कहीँ, कुनै न कुनै रूपमा सुनेका वा पढेका छौं । यो प्रसिद्ध कथाबारे यहाँ सविस्तार वर्णन गर्ने कोसिस गरेको छु । समुद्रमन्थन अत्यन्तै प्रसिद्ध पाैराणिक कथा हो । यो कथा भागवत पुराण, महाभारत तथा विष्णु पुराणमा पनि पढ्न र सुन्न पाइन्छ ।

समुद्रमन्थन गर्नुपर्ने कारण के थियो भने ऋषि दुर्वासाले देवराज इन्द्रलाई श्रीहीन हुनु भनी दिएको श्रापले देवताहरू कमजोर भई दानव राज बलिले सम्पूर्ण त्रिलोक आफ्नो हातमा लिए । तसर्थ, देवराज इन्द्रको श्रापमोचनका गरी देवताहरूको श्री र शक्ति फर्काउनु थियो । यसका लागि समुद्रमन्थनद्वारा अमृत निकाल्न जरुरी थियो । त्यो अमृत देवताहरूलाई पियाएर उनीहरूलाई अजर अमर बनाई दानवहरूको संहार गर्नु थियो । सँगै एउटा प्रश्न पनि उठ्छ- ऋषि दुर्वासाले देवराज इन्द्रलाई किन श्राप दिए ? यो पनि जानौं ।

एकपटक स्वर्गलोकमा इन्द्र र ऋषि दुर्वासाको भेट हुँदा इन्द्रको स्वागतबाट खुसी भएर ऋषि दुर्वासाले इन्द्रलाई श्रीफूल उपहार दिए । ऋषिले उपहार दिएको फूल इन्द्रले उति महत्त्व दिएनन् र त्यो फूल आफ्नो एक हात्तीको टाउकोमा राखिदिए । आफूले दिएको पुष्प-उपहार इन्द्रले हात्तीलाई दिएपछि ऋषि दुर्वासा अत्यन्तै क्रोधित भए । उसै त दुर्वासा त्यसमाथि आफ्नो उपहारको मान राख्न नसकेपछि क्रोधमा दुर्वासाले इन्द्रलाई “श्रीहीन हुनू” भनी श्राप दिए । त्यही कारण इन्द्र श्रीहीन भई उनको राज्यमा अपराध र अराजकता व्याप्त भयो । देवताहरू शक्तिमा कमजोर भए । ऋषि दुर्वासाले इन्द्रलाई दिएको श्रापसम्बन्धी थप विवरण यो कथाको अन्तपछि दिइएको छ ।

समुद्रमन्थनबाट सबैभन्दा पहिलो कालकुट विष निस्कियो भने सबैभन्दा अन्तिममा अमृत निस्किएको थियो ।

कथा आरम्भमा राजा बलिको राज्यकालमा देवताहरूभन्दा राक्षसहरूको शक्ति बढी हुँदै थियो । शुक्राचार्य राक्षसहरूका गुरु भएकाले गुरुको शक्ति पनि राक्षसहरूलाई प्रदान थियो । यस्ता केही अनुकूलताले बलि राजाले तीनै लोकमा आफ्नो राज्य विस्तार गरी आधिपत्य जमाएका थिए । स्वर्गलोकमा भने बलिराजा मध्येकै एक बलि कालकेतुले इन्द्रलाई परास्त गरी शासन गर्न थाल्यो । असुरहरूको बढेको यस्तो शक्तिका कारण देवताहरूमा ठूलो भय थियो ।

यस्तो विपदावस्थामा देवताहरू सहायताका लागि ब्रह्माजीकोमा गए । ब्रह्माजीले पनि देवताहरूको सहयोग गर्न असमर्थ रहेकोले ब्रह्मासहित सबै देवतागणहरू भगवान् विष्णुकहाँ गए । सबै देवतागणले विष्णुसमक्ष स्वर्गलगायत तीनै लोकमा असुरराज बलिको कारण आफ्नो दुरावस्थाको बयान गरे । भगवान् विष्णुले देवताहरूको समस्या सुनी भने, “हे देवगण हो, यसबेला दैत्यहरूको शक्ति बढेकोले उनीहरूलाई परास्त गर्न सकिने अवस्था छैन ।

तसर्थ, देवताहरूले उनीहरूसँग मैत्रीभाव राखी सन्धि गर्नु । उनीहरूसँग मित्रताको हात बढाई तिमीहरूले समुद्रमन्थन गर्ने प्रस्ताव राख्नु । देवता र दैत्यहरूको संयुक्त प्रयासले समुद्रमन्थनको कार्य सहज हुनेछ । समुद्रमन्थनको नतिजाले त्यहाँबाट कालजयी अमृत निस्कनेछ । त्यो अमृत देवताहरूले पान गर्नु । त्यसबाट देवताहरू अमर हुनेछौ र दैत्यहरूलाई युद्धमा सहजै परास्त गर्न सकिनेछ ।

विष्णुको सल्लाहअनुसार देवराज इन्द्र बलि राजासँग गई मित्रताको हात बढाए । उनीहरूका बीच मित्रता पनि कायम भयो । एकदिन इन्द्रले बलिराज कालकेतुसँग समुद्रमन्थन गरी अमृत निकाल्ने योजना सुनाए । देवता र दानवहरू मिली यो कार्य गर्न सहजै सकिन्छ र यसबाट अमृत निस्कनेछ । हामी दुवैले अमृत पियौं भने सबै अजर अमर हुनेछौं । प्रस्ताव राम्रो थियो । बलि राजा र दानवहरू देवताहरूसँग मिली समुद्रमन्थन गर्न सहमत भए ।

यो सहमतिपछि समुद्रमन्थनको तयारी सुरु भयो । समुद्र ठेकी थियो । समुद्र मथ्नका लागि मदानी, नेती आदि सामग्री चाहियो । आपसमा छलफल गरी मन्दराचल पर्वतलाई मदानी र वासुकी नागलाई मदानीका वरिपरि बाँधी नेती बनाउने निणर्य भयो । मन्थन कार्यका लागि वासुकी नागको आँखाबाट पुरोहितका रूपमा नेतङ प्रकट भए । यति भएपछि विधिपूर्वक मन्दराचल पर्वतलाई मदानीका रूपमा समुद्रभित्र हालियो, तर मदानी थाम्ने कुनै आधार नभएपछि हेर्दाहेर्दै मदानी समुद्रमा डुब्यो । समुद्रमन्थन कार्य असफल हुने देखेपछि भगवान् विष्णु तुरुन्तै समुद्रभित्र पसेर कछुवाको रूप धारण गरी मन्दराचल पर्वतरूपी मदानीलाई आफ्नो पिठ्युँमा राखेर डुबेको मन्दराचनल पर्वतलाई ठीक उचाइमा उचाले । मन्दारचल पर्वत बोक्न त्यसबेला कछुवारूपी विष्णुले आफ्नो पिठ्युँ एक लाख योजन चौडाइमा फैलाएका थिए ।

भगवान् विष्णुको यो अवतारलाई १० मुख्य अवतारमध्ये कछुवा अवतारको रूपमा लिइन्छ । पर्वतको मदानी ठडिएपछि वासुकी नाग मदानीको वरिपरि नेती बनेर बेरिए । अब नेतीको मुखपट्टि कसले तान्ने ? र पुच्छरपट्टि कसले तान्ने ? भन्ने विषयमा दानवहरूले विवाद उठाए । यसमा देवताहरूले दानवहरूलाई नै नेतीको टाउको वा पुच्छर रोज्न मौका दिए । यस विवादको सहज समाधान भएपछि वासुकी नागको टाउकोपट्टी दानव र पुच्छरपट्टी देवताहरूले नेती तान्न तयार भए । भगवान् नारायणले यही बेला देव र दानवलाई असीमित बल प्रदान गरे । श्री नारायणले मन्थन कार्यमा वासुकी नागलाई पनि पीडा नहोस् भनी आफ्नो मायाले वेहोस् जस्तै बनाइदिए ।

(द्रष्टव्य: आधुनिक मानव चिकित्सा पद्धतिमा एनेस्थिया प्रविधिद्वारा शरीर र शरीरका खास अङ्गहरूमा कुनै चिरफार गर्न त्यस क्षेत्रलाई औषधि हाली लट्याइन्छ । वैदिक कालमा पनि विशेष कार्यका लागि शरीरमा पीडा नहोस् भनी एनेस्थेसिया जस्तै दिइन् कुनै प्रविधि थियो भन्ने कुरा समुद्रमन्थनमा वासुकी नागलाई भगवान् श्री नारायणले पीडामुक्त गरिदिएको घटना स्मरण गर्न सकिन्छ । यहाँ विष्णुले “माया एनेस्थेसिया” प्रयोग गरी वासुकी नागलाई पीडामुक्त गराएका थिए ।) ।

देव र दानवहरूले नेतीलाई दुवैतिरबाट तान्ने र छोड्ने गर्न थालेपछि मन्दारचल पर्वतको मदानी समुद्रमा घुम्न थाल्यो । मदानीको बेजोड घुमाइले समुद्रमा उच्च ज्वारहरू आकाशतिर उठ्न थाले । समुद्री छालहरू भकभक गरी उम्लिए जस्तो ठूला ठूला पानीको बूँद र फोकाहरू आकाशतिर वायुसँग बाफ बनी उड्न थाले । देवताहरूले आफूतिर नेती तान्दा मदानीको घुमाइले देवताहरूतिर समुद्री आँधी ल्याउँथ्यो भने विपरीत दिशाबाट दानवहरूले आफूतिर नेती तान्दा मदानीको घुमाइले दानवहरूतिर समुद्री आँधी ल्याउँथ्यो ।

समुद्रमन्थनको यो क्रम केही समय चलेपछि एकाएक समुद्रबाट नीला रङको “कालकुट विष” निस्क्यो । विष यति कडा थियो, यसबाट उत्पन्न ज्वालाले देवता र दानवहरू शक्तिहीन जस्तै भए । उनीहरू विषको ज्वालामा पिल्सिन थाले । अचानक आइलागेको आपत् व्यवस्थानका लागि सबैले भगवान् शंकरको स्तुति गरे । भगवान् शंकर तत्काल प्रकट भई त्यस विषलाई हातमा उठाई मुखबाट निलिदिए । भगवान् शंकरले निलेको विष घाँटीबाट तल पेटमा झर्न नपाउँदै माता पार्वतीले त्यो विषलाई शिवजीको घाँटीमै अड्काइदिइन् । शंकर भगवान्को घाँटीमा अड्किएको त्यो विषको प्रभावले शंकरदेवको घाँटीको रङ नै नीलो भयो । त्यही समयदेखि भगवान् शंकरको नाम नीलकण्ठ भनेर रहन गयो ।

त्यही विषको सानो अंश शंकरको हातबाट पृथ्वीमा झर्‍यो । त्यो विष सर्प, बिच्छी आदि जस्ता जनावरले सेवन गरेको हुनाले तिनीहरू विषालु भए ।

समुद्रमन्थनबाट उत्पन्न भएको पहिलो कालकुट विषको व्यवस्थापन भएपछि देवता र दानवहरू फेरि नेती तान्न थाले । यसपटकको मन्थनबाट “कामधेनु गाई” निस्कियो । ऋषि वशिष्ठले त्यो कामधेनु गाई प्राप्त गरे । समुद्रमन्थनबाट अमृत निकाल्नु थियो । अमृत ननिस्कएसम्म मन्थन प्रक्रिया जारी रह्यो । समुद्रमन्थनबाट जम्मा चौध विभिन्न प्रकारका वस्तुहरू निस्किए । यसरी निस्किएको तेस्रो वस्तु थियो- “उच्चैःश्रवा घोडा” । यो घोडा देवराज इन्द्रले लिए ।

चौथो वस्तुमा “ऐरावत हात्ती” निस्कियो, जसलाई देवराज इन्द्रले राखे । पाँचौं वस्तुमा “कौस्तुभमणि” निस्कियो जसलाई भगवान् विष्णुले लिए । छैठौंमा “कल्पवृक्ष” निस्कियो जसलाई देवलोकमा राखियो । सातौंमा “अप्सरा रम्भा” निस्किन् जसलाई देवलोकमै पठाइयो । आठौंमा “महालक्ष्मी” निस्किन् जसले श्री विष्णुलाई वरण गरिन् । नवौंमा “वारुणी” प्रकट भइन् जसलाई असुरहरूले ग्रहण गरे । दशौंमा “चन्द्रमा” निस्किए । एघारौंमा “पारिजात वृक्ष” निस्कियो । बाह्रौंमा “शंख” निस्कियो । तेह्रौंमा “धन्वन्तरि वैद्य” निस्किए । चौधौंमा धन्वन्तरि वैद्यसँगै “अमृत घडा” निस्कियो ।

जुन उद्देश्यले समुद्रको मन्थन भएको थियो, त्यो पूरा भएको थियो । मन्थनबाट अमृत निस्कियो । देवताहरू यो अमृत चलाखीपूर्वक आफू मात्र पिउन चाहन्थे । विष्णुको प्रारम्भिक सल्लाह पनि यही थियो तर दानवहरू देवताहरूभन्दा बलिया भएकोले यसलाई बलपूर्वक खोसेर आफू पिउन चाहन्थे । भयो पनि त्यस्तै । धन्वन्तरि वैद्यको हातबाट दानवहरूले त्यो अमृतघडा खोसेर लिए । चरित्र र कर्ममा यसै त दुष्ट दानवहरू, अमृत उनीहरूको भागमै थिएन । अमृत हात परे पनि कसले पहिला पिउने भन्ने कुरामा उनीहरूबीच विवाद भयो । उनीहरू आपसमै भिड्न थाले । देवताहरू कमजोर भएकोले निरीह दर्शक बनेर हेर्नुबाहेक निरुपाय थिए । अमृत देवताहरूको हातमा थिएन, दानवहरूको भाग्यमा थिएन । अर्थात्, अमृत न देवताहरूसँग थियो, न दानवहरू पिउन सकिरहेका थिए ।

यही बेला भगवान् विष्णु मोहिनी रूप लिएर प्रकट भए । मोहिनी रूप कस्ती थिइन् भने देवता र दानव त कुरै छोडौं, स्वयम् ब्रह्मज्ञानी ऋषि, कामदेव आदिलाई पनि आफ्नो वशमा पार्न सक्ने भगवान् शंकर पनि मोहिनीको रूपसँग आकर्षित भए । त्यस्ती सुन्दरी मोहिनी रूप आफूतिर आउँदै गरेको देखेर दानवहरूले अमृतको सट्टा मोहिनी रूपतिर ध्यान लगाउन थाले । त्यति ठूलो मेहनतपछि प्राप्त अमृत पनि मोहिनी रूपका अगाडि छायामा पर्‍यो ।

असुरराजले सोधे, “हे सुन्दरी ! तिमी को हौ ? के हामी देवता र दानवहरूबीचमा अमृतपानको विषयलाई लिएर भइरहेको विवादको समाधानका लागि आएकी हौ कि ? हो भने आऊ, बरु तिमी नै हामीलाई यो अमृतपान गराऊ ।”

दानवराजको कुरा सुनी मोहनी रूप विष्णुले भने, “हे देवता तथा दानवहरू हो, तिमीहरू दुवै ऋषि कश्यपका सन्तान भएकाले नातामा दाजुभाइ हौ । तिमीहरू आपसमै मिलेर अमृतपान गर भनेर म तिमीहरूलाई सल्लाह दिन्छु । म त मन लागेको गर्दै हिँड्ने स्वेच्छाचारी स्त्री हुँ । मेरो विश्वासमा तिमीहरू नआऊ ।”

त्यस स्त्रीको कुरा सुनी दानवराजले फेरि भन्यो, “अब त झन् तिमीमाथि विश्वास बढेर गयो । अब तिमीले नै हामी सबैलाई यो अमृतपान गराउनुपर्छ । तिमी यसलाई जसरी बाँड्न चाहन्छ्यौ, त्यसरी नै बाँड । हामी स्वीकार गर्दछौं ।” दानवराज पूर्ण रूपले कामान्ध भइसकेको थियो । अब उसलाई अमृतपान होइन, स्त्रीभोगको इच्छाले अन्धो बनाइसकेको थियो । स्त्रीरागको अन्धताले दानवराजले मूल स्थितिको पहिचान नै गर्न सकेन ।

दानवराजको कुरा सुनी मोहिनीरूप विष्णुले त्यो अमृतघडा आफ्नो हातमा लिँदै भने, “उसो भए तिमी देव र दानवहरू अलग अलग पङ्क्तिमा उभ ।” देव र दानवहरूले तुरुन्तै दुई पङ्क्ति बनाएर उभिए । त्यसपछि मोहिनी विष्णुले अमृतघडा लिएर खित्काको मादकता छोड्दै देवताहरूको पङ्क्तिबाट सुरु गरी देवताहरूलाई अमृतपान गराउन सुरु गरे । उता दानवहरू भने अमृतपानको पालोभन्दा मोहिनीको रूपमा लट्ठ थिए । उनीहरूले अमृतपानको अवसर कतिबेला आउला भन्ने विषय नै बिर्सिए । मोहिनीको देखिने सौन्दर्यले उनीहरूको चेत मदहोस भइसकेको थियो ।

मूर्खहरूको समूहमा पनि कोही न कोही एउटा विद्वान् हुन्छ भने विद्वान्हरूको समूहमा पनि कोही न कोही एउटा मूर्ख हुन्छ । मोहिनीको रूपसौन्दर्यमा लट्ठ भइसकेका दानवहरूमध्येबाट स्वरभानु नामको एक दैत्यले भगवान् विष्णुको यो चाल थाहा पाइसकेको थियो । उसले तत्कालै आफ्नो दैत्यरूपलाई देवरूपमला बदल्यो र देवताहरूको लामबद्ध पङ्क्तिको अन्तमा गएर उभियो । मोहिनीरूप विष्णुले अमृतपान गराउँदै जाँदा औतारी दैत्य स्वरभानुलाई देवता ठानी अमृत पिलाए । जब उसले अमृतपान गर्‍यो, ठीक त्यही बेला अमृतको मात्रा उसको घाँटीभन्दा तल पुग्न नपाउँदै चन्द्रमा र सूर्यले विष्णुको स्मरण गरी स्वरभानु देवता नभई दानव भएको कुरा बताए । स्वरभानु दैत्यले आफूमाथि नै छल गरेको सूचना पाएपछि विष्णुले आफ्नो सुदर्शन चक्र निकाली स्वरभानुको शिरकलम गरिदिए ।

स्वरभानु दानवको शिर र शरीर छुट्टियो तर अमृतको प्रभावले ऊ मरेन । उसको शिर राहु र शरीर केतु बनेर आकाशमा स्थापित भए । चन्द्र र सूर्यले दिएको सूचनाको आधारमा विष्णुले आफूलाई शिरच्छेदन गरेको कारण राहु र केतुले चन्द्र सूर्यलाई स्थायी शत्रु ठाने । आज पनि हामी आकाशमा चन्द्रग्रहण र सूर्यग्रहण देख्छौँ । ग्रहण तिनै राहु र केतुको चन्द्र सूर्यमाथिको प्रतिशोधपूर्ण कारबाही हो ।

सबै देवताहरूलाई अमृत पिलाई मोहिनी रूप विष्णु अन्तर्ध्यान भई वैकुण्ठ गए । अचानक मोहिनीरूप स्त्री अलप भएपछि दानवहरू झस्किए । देवताहरूले मात्र अमृतपान गरेको र दानवहरू अमृतपानबाट वञ्चित भएपछि दानवहरूको होस् बल्ल खुल्यो । उनीहरूले देवताहरूमाथि अनायास आक्रमण गरे । यता देवताहरूले मात्र अमृतपान गरेकाले उनीहरू अमर भइसकेका थिए । अमृतको प्रभावले ऋषि दुर्वासाले दिएको श्रापबाट देवराज इन्द्र पनि मुक्त भइसकेका थिए । फेरि देवता र दानवहरूका बीचमा भयङ्कर युद्ध भयो । देवताहरूले युद्धमा बलि राजालाई परास्त गरे । परास्त बलि राजाबाट देवताहरूले गुमेको स्वर्ग र उनीहरूले पहिलेको श्री, ऐश्वर्य, तागत सबै प्राप्त गरे ।

समुद्रमन्थन बयान इति ।

०००

समुद्रमन्थनबाट प्राप्त १४ रत्नहरू केके थिए ?

समुद्रमन्थनबाट १४ अलग अलग तत्त्वहरूको उत्पत्ति भएका थिए जो माथि समुद्रमन्थन खण्डमा पनि उल्लेख गरिएको छ । यिनीहरूको छोटकरीमा वर्णन यस प्रकार छ ।

१. कालकुट विष

समुद्रमन्थन गर्दा सबैभन्दा पहिले निस्किएको तत्त्व हो कालकुट विष । यो अत्यन्तै तीव्र ज्वालासहितको विष थियो । यसको चपेटामा आउने वरिपरिका सबै वस्तुहरू छिनभरमा जल्न सक्ने शक्ति यसमा थियो । कालकुट विषको प्रभावलाई तह लगाउन भगवान् शिवको आराधना गरे । शिवले त्यो विष मुखबाट निल्न घाँटीतिर छिराउँदा पार्वतीले विषलाई घाँटीको बीचमै रोकिदिएकी थिइन् । यसो गर्दा भगवान् शिवको जीवन पनि तलमाथि हुनसक्थ्यो । कालकुट विष शिवको घाँटीमा अड्किएपछि त्यसको प्रभावले शिवको घाँटी नीलो रङमा परिणत भयो । यसैले भगवान् शिवलाई नीलकण्ठ पनि भनिन्छ ।

२. कामधेनु गाई

समुद्रमन्थनमा उत्पन्न भएको दोस्रो रत्न हो कामधेनु गाई । यो गाई सामान्य गाई जस्तो विशेषता भएको गाई होइन । यस गाईले यज्ञका सामग्री अथवा अग्निहोत्र उत्पन्न गर्ने क्षमता राख्दथ्यो । यसैले ऋषि वशिष्ठले यज्ञादि गर्नका लागि कामधेनु गाईलाई आफूले लिए । पौराणिक कथाअनुसार कामधेनु गाईमा दैवी शक्ति थियो । कामधेनु गाईको दर्शन पाउने व्यक्तिमा पनि चमत्कारिक परिवर्तन वा लाभ पाउन सक्थ्यो । कामधेनु गाईका अरू पनि विशेषताहरू थिए । जस्तै कुनै आपद्विपद् आइपर्दा यसबाट मुक्ति दिलाउँथ्यो । आफूले राखेको मनोकाङ्क्षा पनि कामधेनु गाईले पूरा गर्न सक्थ्यो ।

कामधेनु गाईको दुध अमृतसमान थियो । यस गाईको महिमा कस्तो थियो भने जसरी देवतामा भगवान्मा उत्तम विष्णु, तलाउमा उत्तम समुद्र, नदीमा उत्तम गङ्गा, पर्वतमा उत्तम हिमालय, भक्तमा उत्तम नारद, पुरहरूमा उत्तम कैलाश भए जस्तै गाईहरूमा उत्तर कामधेनु गाईलाई मानिन्छ । कामधेनु गाईको विषयमा महाभारतमा श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्रमा ज्ञान दिइरहँदा आफ्नो परिचय दिँदै भनेका थिए, हे अर्जुन, म गाईहरूमा कामधेनु हुँ ।”

कामधेनु गाईको विषयमा राजा विश्वामित्र र ऋषि वशिष्ठका बीचमा भएको भयानक युद्ध पनि यसै पुस्तकको सप्तर्षि खण्डमा ऋषि विश्वामित्र खण्डमा सविस्तार वर्णन गरिसकिएको छ ।

३. उच्चैःश्रवा घोडा

समुद्रमन्थनबाट प्राप्त तेस्रो तत्त्व हो उच्चैःश्रवा घोडा । यस घोडालाई घोडाहरूको राजा पनि भनिन्छ । यो घोडा देवराज इन्द्रले आफ्नो प्रयोजनका लागि राखे । उच्चैःश्रवाको अर्थ उच्च हुनु, उच्च यशको हुनु, उच्च कानको हुनु, उच्च दर्जाको हुनु जस्ता विशेषणले घेरिएको भन्ने बुझिन्छ । उच्चैःश्रवा घोडाको पोषण अमृतले गरिएको छ । सेतो यो घोडाको रङ हो भने यस घोडाका सात मुखहरू छन् ।

एकपटक यस घोडालाई तारकासुर दैत्यले इन्द्रबाट खोसेर आफूले लिएका थिए । यो कुरा कालिदासकृत महाकाव्य कुमारसम्भवम्मा उल्लेख गरेका छन् । कालिदास सुरुमा एक मूर्ख व्यक्ति थिए । पछि ठूलो साधनापश्चात् यिनी संस्कृत भाषासाहित्यका ठूला विद्वान्को रूपमा प्रख्यात भए । उनको महाकाव्य कुमारसम्भवम्मा उनले हिमालको वर्णन, वसन्त आगमन, पार्वतीको तपस्या र शिवपार्वतीको विवाह वर्णन गरेका छन् ।

यस्तै महाभारतमा श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्रमा ज्ञान दिइरहँदा आफ्नो परिचय दिँदै भनेका छन्, “हे अर्जुन, म घोडाहरूमा उच्चैःश्रवा हुँ ।”

४. ऐरावत हात्ती

समुद्रमन्थनबाट प्राप्त चौथो तत्त्व हो ऐरावत हात्ती । यो हात्ती पनि देवराज इन्द्रले प्राप्त गरे । यो हात्ती स्वर्गको द्वारपाल पनि हो । देवराज इन्द्रले प्राप्त गरेको हुनाले यस हात्तीलाई इन्द्रकुञ्जर र इन्द्रहस्ति नामले पनि जानिन्छ । यस हात्तीका अन्य नाम अम्रमातंग, ऐरावण, अभ्रभूवल्लभ, श्वेतहस्ति, मल्लनाग, हस्तिमल्ल, सदादान, सुदामा, श्वेतकुञ्जर, गजाग्रणी र नागमल्ल हुन् । यो हात्तीका चार दाँत छन् ।

कश्यप ऋषिकी पत्नी कद्रुका नागपुत्रको नाम पनि ऐरावत थियो । ऐरावत हात्तीका नामको पछाडिको कारण के हो भने- सँस्कृतमा “इरा”को अर्थ जल अर्थात् पानी हो । तसर्थ, इरावत् अर्थात् समुद्रबाट निस्किएको हुनाले यसको नाम ऐरावत रहन गएको हो ।

५. कौस्तुभ मणि

समुद्रमन्थनका क्रममा निस्किएको पाँचौं तत्त्वको नाम हो कौस्तुभ मणि । भगवान् विष्णुले प्राप्त गरेको यो मणि अत्यन्तै चम्किलो थियो । जोसँग वा जहाँ यो मणि रहन्छ, त्यो व्यक्ति वा स्थानमा कुनै पनि प्रकारको आपद्विपद् आउँदैन भन्ने विश्वास उतिबेलादेखि नै रहँदै आएको छ ।

कौस्तुभ मणिका विषयमा महाकवि कालिदासले आफ्नो रघुवंश ग्रन्थमा उल्लेख गरेका छन्:

“त्रातेन ताक्ष्र्यात् किल कालियेन मणिं विसृष्टं यमुनौकसा यः ।

वक्षःस्थल व्यापिरुचं दधानः सकौस्तुभं ह्रेपयतीव कृष्णम् ।”

अर्थात् श्री कृष्णले कालिया नागलाई गरुडको डरबाट मुक्ति दिलाएका थिए । यसै बापत कालिया नागले आफ्नो शिरमा रहेको कौस्तुभ मणि उतारेर श्री कृष्णलाई दिएका थिए ।

कालिया नाग श्री कृष्ण हुर्किएको गाउँ व्रजको एक नदीमा बसेको थियो । यो कथा महाभारतमा श्री कृष्णको बाल्यकाल वर्णनमा आउँछ । व्रजवासीका गाईहरू त्यसै गाउँको नदीमा पानी पिउँथे तर कालिया नागले त्यस नदीमा विष फैलाइदिएका कारण थुप्रै गाईहरू मरे । गाउँमा यो घटना सनसनी फैलियो ।

बालक कृष्णले व्रजकै कचहरीमा यो कुरा सुने । त्यसपछि उनले नदीमा डुबेको केटीकेटीहरू खेल्ने सानो खेलौना गोली झिक्ने निहुँ गरी नदीभित्र पसे । उनले त्यहाँ कालिया नागसँग द्वन्द्व गरी परास्त गरे । त्यसपछि कृष्णले कालिया नागलाई जीवन दान दिई त्यहाँबाट अन्तै जानु भनी आदेश दिए । तसर्थ, भागवतमा श्री कृष्णको लीला वर्णन गर्दा पनि कौस्तुभ मणिको चर्चा भएको छ ।

६. कल्पवृक्ष

कल्पवृक्ष समुद्रमन्थन गर्दाको छैठौं रत्न थियो । यसलाई देवलोकमा स्थापित गर्नका लागि इन्द्रलाई दिइयो । इन्द्रले यसलाई सुरकाननमा लगी स्थापित गरे । सुरकानन भनेको देवताहरूले विहार गर्ने वन हो । कल्पवृक्षको विशेषता के हो भने यसले चाहेका सबै इच्छाहरूलाई पूर्ति गरिदिन सक्दछ । यस वृक्षलाई कल्पद्रुप, कल्पतरु, सुरतरु, देवतरु अथवा कल्पलता आदि नामले पनि चिनिन्छ । यो कल्प कल्पसम्म पनि नाश हुँदैन ।

७. रम्भा अप्सरा

समुद्रमन्थनको सातौं रत्नको रूपमा अप्सरा रम्भाको उत्पत्ति भयो । उत्पत्तिकालमै अति सुन्दरी र सुन्दर आभूषणमा विभूषित भएर रम्भा उत्पत्ति भइन् । यिनका हर चाल, हेराइ, हिँडाइ, बोलाइ अत्यन्तै मनमोहक थियो । यिनी स्वयम् देवताहरूसँग गइन् । देवताहरूले पछि रम्भालाई इन्द्रको दरबारमा ल्याए । रम्भा इन्द्रको सभामा प्रमुख नृत्याङ्गना बनेर रहिन् । यिनलाई नृत्यका सबै कलाहरूको ज्ञान थियो ।

द्वापर युगमा रम्भाको विवाह ऋषि शेशिरायणसँग भयो । उनीहरूबाट कालयवनको जन्म भयो । कालयवनको जन्मपश्चात् रम्भा स्वेच्छिक रूपमा स्वर्ग फर्किइन् । कालयवन एक अत्यन्तै शक्तिशाली राजा भए । उनलाई भगवान् शिवले अजेय हुने र यादववंशीहरूले मार्न नसक्ने वरदान दिएका थिए । त्यस समयमा उनी मगधराज जरासंध, चेदी नरेश शिशुपाल, गान्धार नरेश शकुनीका आदिका सहयोगी पनि थिए ।

कालयवनको सन्दर्भ जोडिएकोले यिनको छोटो कथा यहाँ राख्न उचित लाग्यो । कालयवन शक्तिशाली त थिए तर उनको कृष्णसँग वैर थियो । कृष्णसँग वैर हुनुका कारण एकपटक यादववंशीहरूले गाग्र्यत मुनिको अपमान गरेका थिए । गर्ग गोत्रमा जन्मिएकोले उनलाई गाग्र्यत मुनि भनिए पनि उनको वास्तविक नाम शेशिरायण थियो जो कालयवनका पिता थिए । पिताका पालादेखिको वैरभावलाई कालयावनले विरासतकै रूपमा अगाडि बोकेर आए ।

एक दिन कृष्ण र कालयवनका बीच युद्ध भयो । कालयवनलाई शिवजीले अजेय हुने वरदान दिएको कृष्णलाई अवगत थियो । तसर्थ, कालयवनसँग लडाइँ गर्नुभन्दा बुद्धिले परास्त गर्नु उचित ठानी कृष्ण लडाइ गर्दागर्दै लड्न छोडी भाग्न थाले । कालयवन कृष्णलाई खेद्न थाले ।

कृष्ण भाग्दै भाग्दै एउटा पहाडमा रहेको गुफामा पुगी त्यस भित्र पसे । त्यस गुफामा लामो कालदेखि सुतिरहेका ऋषि मुचुकन्दलाई आफ्नो लुगा ओढाई आफू एकापट्टि लुके । कालयवन कृष्णलाई खेद्दै त्यहीँ गुफाभित्र पसे । कृष्णकै लुगाकपडा देखेर कालयवनले हो न हो, अगाडि कृष्ण सुतिरहेको ठानी एक लात हाने । कालयवनको लात्ती-प्रहारले ऋषि मुचुकन्दको निद्रा भङ्ग भयो । ऋषि मुचुकन्द उठे र अगाडि कालयवनलाई देखे । ऋषिको दृष्टि कालयवनमाथि पर्नासाथ उनको शरीरमा आगो लाग्यो र कालयवन उसै अग्निमा डढेर भस्म भए । मुचुकन्दको निद्रा भङ्ग गर्नेलाई ऋषिले हेर्दा मात्र भस्म हुने वरदान थियो । ऋषि मुचुकन्द इक्ष्वाकुवंशी राजा मान्धाताका पुत्र थिए ।

८. देवी लक्ष्मी

समुद्रमन्थनबाट उत्पत्ति भएको आठौं रत्न देवी लक्ष्मी थिइन् । उत्पत्तिमै लक्ष्मी सेतो कमलको फूलमा विराजमान थिइन् । उनको हातमा कमलको रातो फूल थियो । उनको शरीरबाट जाज्ज्वल्यमान कान्तिको आभा प्रस्फुटन भइरहेको थियो । अलौकिक सौन्दर्यकी धनी लक्ष्मीलाई देखेर देवता र दानवहरू उनलाई आफ्नो बनाउन कोसिसमा लागे तर देवी लक्ष्मी स्वयम् अगाडि गएर भगवान् विष्णुलाई वरण गरिन् ।

ब्रह्माकी पत्नी सरस्वती, विष्णुकी पत्नी लक्ष्मी र शिवजीका पत्नी पार्वती हुन् । हिन्दु धर्ममा ब्रह्मा, विष्णु, महेश्वरलाई त्रिदेव जस्तै लक्ष्मी, सरस्वती र पार्वतीलाई पनि त्रिदेवीको रूपमा मानिएको छ । देवी लक्ष्मी धन, दौलत, शान्ति र समृद्धिकी देवी हुन् । हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष तिहारमा धनकी देवी लक्ष्मीको पूजा गर्दछन् । लक्ष्मीको पूजाद्वारा मानिसहरू दरिद्रता, दुर्बल, कृपण, कुपोषण, असन्तुष्टि आदिबाट मुक्त भई धन, दौलत, यश र ऐश्वर्य प्राप्त गर्दछन् । ऋग्वेदको सूक्तमा यो कुरा उल्लेख भएको छ ।

लक्ष्मी शब्दको सामान्य अर्थ धन-सम्पत्तिका रूपमा लिइए पनि यो अनुपयोगी ठानिएको वस्तुलाई पनि उपयोगी बनाउने कला वा क्षमताको चेतन रूप पनि हो । यहाँ धेरै पदार्थहरू छन् । त्यस्तो चेतनयुक्त विशेषताले भरिपूर्ण लक्ष्मीको एक कला मात्र प्राप्त गरे पदार्थका एक एक रूपलाई मानव उपयोगी बनाउन सकिन्छ । यदि त्यस्तो कला, सिप, क्षमता अभिवृद्धि भयो भने मानवजीवन यसै पनि लक्ष्मीयुक्त हुन्छ, सुखमय हुन्छ । यही नै लक्ष्मीका विशेषता हुन् ।

गायत्रीको कृपाले मिल्ने वरदान पनि लक्ष्मी नै हो । यसो भन्नुको अर्थ के हो भने गायत्रीको एक किरण पनि लक्ष्मी रूप हो । यस्तो वरदान जसले प्राप्त गर्दछ, उसले मन र चित्त शान्त गर्न सक्छ । जसले मन र चित्त शान्त गर्न सक्छ, उसको जीवनमा अर्थको कहिल्यै पनि खाँचो हुँदैन । यसलाई अर्को कोणबाट हेर्दा लक्ष्मीको साधना गर्नु भनेको जीवनपायोगी कला सिक्नु हो, जसले अर्थोपार्जनका लागि मद्दत गर्दछ । लक्ष्मीको साधना धन प्राप्तिको बाटो हो भने धन प्राप्ति हुनु लक्ष्मीको वास हुनु हो । पृथ्वीलाई लक्ष्मीमाताको रूपमा लिइन्छ । उनलाई भूदेवी पनि भनिन्छ ।

९. वारुणी

समुद्रमन्थनबाट प्राप्त नवौं तत्त्व हो वारुणी । वारुणीको अको अर्थ हुन्छ मदिरा । अर्थात् देवता र दानवहरूले समुद्रमन्थन गर्दा नवौं तत्त्वको रूपमा वारुणी प्राप्त गरेका थिए । वारुणी अर्थात् मदिरा विष्णु भगवान्को सल्लाहअनुसार दानवहरूलाई प्राप्त भयो । वारुणीले चेतन मनलाई भ्रमित तुल्याउँछ । त्यसैले दानवहरू सधैं मदिरामा डुबेका भ्रष्ट र भ्रमित प्राणीका रूपमा चित्रण गरिन्छ । उनीहरूले चेतनाको उच्च तह प्रयोग गर्न नसक्नुमा मदिरा पनि एउटा कारण हो । मदिराले प्राणीलाई क्षणिक आनन्द त दिन्छ तर दीर्घकालकालीन सोच र योजनाका लागि मदिरा हानिकारक छ ।

(द्रष्टव्य: आधुनिक संसारमा पनि धेरै प्रकारका मदिराहरूको उत्पादन भएको छ । यसलाई विशेष समारोहमा, भोज भेतरमा, विशेष भेटघाट, चाडपर्व आदिमा पनि प्रचुर मात्रामा प्रयोग गरेको पाइन्छ । यसको सही मात्रा प्रयोग गरे कति बिग्रेका सम्बन्धहरू सुधार्न र नयाँ सम्बन्धहरू जोड्न फाइदै गर्दछ भने कैयौं चिसिएर वरफ बनेका विषयवस्तु आदिलाई पगाली नयाँ सुरुआतमा मद्दत पनि गर्दछ । ज्ञातव्य रहोस्, मदिराको किञ्चित मात्रा पनि बढी भयो यसको नतिजा प्रत्युत्पादक नै हुन्छ ।)

उसो त वैदिक साहित्यको अध्ययन गर्दा स्वर्गमा इन्द्रको सभामा विविध खालका वारुणीहरूको प्रशस्तै प्रयोग गरेको पढ्न र सुन्न पाइन्छ । यो मनोरञ्जनको एक महत्त्वपूर्ण साधन पनि हो । शुम्भ निशुम्भ, महिषासुर जस्ता दानवहरूको वध गर्न देवी दुर्गाले युद्ध गर्दा मदिरा पिएको कुरा हामी धार्मिक पुस्तकहरू देवी भागवत् आदिमा पढ्न सक्छौँ ।

समुद्रमन्थन गर्दा प्राप्त भएको वारुणी मदिराकी देवी हुन् । चरकसंहिताले वारुणीलाई मदिराको एक रूप हो भनेको छ । चरकसंहिता आयुर्वेदसम्बन्धी प्रसिद्ध प्राचीन ग्रन्थ हो । चरकसंहिताका उपदेशक अत्रिपुत्र पुनर्वसु हुन्, यसका ग्रन्थकार अग्निदेव र प्रतिसंस्कारक चरक हुन् । खासमा चरक संहिता र सुश्रुतसंहिता प्राचीन आयुर्वेदका दुई संहिता हुन् । वारुणी एक औषधीय गुण भएको पदार्थ पनि हो । कति ठाउँमा वारुणीलाई खजुरको रस हो भनिएको छ । उसो त अहिले बन्ने विविध किसिमका मदिरा जस्तै वाइन पनि अंगुरलाई विशेष मेसिनमा राखी कुहाएर यसबाट मदिरा “वाइन”को उत्पादन गरिन्छ । यस अर्थमा आधुनिक वाइन पनि पुराणकालीन वारुणीको एक प्रकार हो ।

वारुणीलाई शास्त्रमा वरुणकी पत्नी हुन् भनेको छ ।

१० चन्द्रमा

समुद्रमन्थनको दशौं उपलब्धि भनेको चन्द्रमाको उत्पत्ति हो । यसलाई भगवान् शिवले प्राप्त गरे । अहिले पनि शिवको टाउको अर्थात् मस्तकमा चन्द्रमा देख्न सकिन्छ । यसलाई पृथ्वीको कक्षमा स्थापित गरियो र यसले धर्तीलाई परिक्रमा गर्दछ । चन्द्रमाले पछि आफ्नो वंश चलाए र अहिले पनि उनको वंशजलाई चन्द्रवंशी भनिन्छ ।

११. पारिजात

समुद्रमन्थनको एघारौं उपलब्धि पारिजात वृक्ष हो । यो पनि देवताहरूलाई प्राप्त भयो । यस वृक्षको विशेषता के हो भने यसलाई छुँदा वा छेउमा गएर बस्दा पनि मानसिक वा शारीरिक आलस्य, थकानहरू हराउँछन् । पारिजातका पातहरूको रस बनाएर चिसो लागेको बेला, खोकी लागेर घाँटी दुखेको बेला सेवन गरेमा निको हुन्छ । यसका विविध आयुर्वेदीय गुणहरू छन् ।

हिन्दु माइथोलोजीमा पारिजातको एउटा रोचक कथा पनि छ । कथाअनुसार जब समुद्रमन्थनपश्चात् पारिजात वृक्ष निस्कियो, यसलाई स्थापना गर्न देवराज इन्द्रलाई दिइयो । इन्द्रले यसलाई स्वर्गलोकमा स्थापित गरे । कृष्ण चरित्रमा बताएअनुसार, एक दिन कृष्णले स्वर्गबाट इन्द्रसँग मागी पारिजातको बिउ ल्याएर आफ्नी पत्नी रुक्मिणीलाई उपहार दिए । त्यसको केही समयपछि नारद ऋषिले आएर कृष्णकी अर्की पत्नी सत्यभामालाई उकेरा लगाउँदै भने, “हे देवी सत्यभामा ! श्रीकृष्णले स्वर्गबाट अति नै गुणकारी वनस्पति पारिजातको बिउ ल्याएर रुक्मिणीलाई मात्र दिए तर तपाईंलाई केही दिएनन् ।”

नारदको कुराले सत्यभामा ईर्ष्या पैदा भयो । उनले तत्क्षण नै कृष्णको आराधना गरी मागिन्, “हे कृष्ण ! मलाई पारिजातको वृक्ष नै उपहार चाहियो ।” नारीहठका अगाडि कृष्णको पनि केही जोड चलेन । तर पारिजातको वृक्ष त इन्द्रसँग मात्र थियो । अब कृष्णले इन्द्रसँग सत्यभामाका लागि पारिजातको वृक्ष मागे, तर इन्द्रले दिन अस्वीकार गरे । तब देवराज इन्द्र र कृष्णका बीच ठूलो युद्ध भयो । अन्तमा, कृष्णले इन्द्रलाई पराजित गरी स्वर्गलोकबाट पारिजातको वृक्ष नै ल्याएर पत्नी सत्यभामालाई दिए ।

यहाँ सम्झनुपर्ने कुरा के छ भने जब कृष्णले इन्द्रलाई पराजित गरी पारिजातको वृक्ष ल्याउँदै थिए, धर्तीमा आइपुग्नुअगाडि नै इन्द्रले पारिजातलाई श्राप दिए, “पारिजातको फूल राती मात्र फुलोस् र यस वृक्षमा कहिल्यै फल नलागोस् ।” अहिले पनि धर्तीमा पारिजातका वृक्ष प्रशस्तै पाइन्छ । यो वृक्ष इन्द्रको श्राप बोकेर आज पनि राती मात्र फुल्छ र यस वृक्षमा फल लाग्दैन । पारिजातलाई अन्य नाम जस्तै हरश्रृङ्गार, प्राजक्ता, शेफाली र शिउली जस्ता नामले पनि चिनिन्छ ।

१२. पाञ्चजन्य शंख

समुद्रमन्थनको बाह्रौं उपलब्धि पाञ्चजन्य शंख हो । यसलाई भगवान् विष्णुले ग्रहण गरे र आफ्नो दाहिने हातको माथिल्लो भागमा स्थापित गरे । पाञ्चजन्य शंख विजयको प्रतीक पनि हो । अर्को कुरा, समुद्रमन्थनकै क्रममा उत्पत्ति भएकी आठौं रत्न देवी लक्ष्मी र बाह्रौं रत्न पाञ्चजन्य शंख दिदी र भाइ हुन् जसलाई भगवान् विष्णुले प्राप्त गरे । तसर्थ, जहाँ शंख हुन्छ, त्यहाँ विजय हुन्छ, त्यहाँ लक्ष्मीको वास पनि हुन्छ । हिन्दु परम्परामा यस्तो विश्वास गरिएको छ ।

शंख-ध्वनिलाई पवित्र र मङ्गलमय ध्वनिका रूपमा लिइएको छ । यही कारण हिन्दुहरू आफ्नो धार्मिक कर्म वा अनुष्ठानमा शंखध्वनि उत्पन्न गरी विधि पूरा गर्दछन् । यसको माङ्गलिक र स्पष्ट ध्वनिले देवता र मानिसहरूमा मात्र होइन, प्रकृतिजन्य जीव तथा वनस्पतिहरूमा पनि सङ्गीतमय प्रभाव पार्दछ । यसको ध्वनि जहाँसम्म पुग्दछ, त्यहाँसम्म भूत प्रेत आदिले पनि कुनै हानी गर्न सक्दैनन् ।

द्वापरयुगमा श्रीकृष्णले आफ्ना साथमा सुदर्शन चक्र र पाञ्चजन्य शंख बोकेको कुरा कृष्ण चरित्र र महाभारत ग्रन्थमा पनि पाइन्छ । श्रीकृष्णलाई विष्णुको अवतार मानिएकोले पनि पाञ्चजन्य शंख कृष्णका साथमा रहेको भन्न सकिन्छ । खासगरी प्रकृतिमा तीन प्रकारका शंखहरू पाइन्छन्- (१) दक्षिणावर्ती शंख (शंखको पेट दायाँतिर खुला भएको), (२) मध्यावर्ती शंख (शंखको पेट मध्य भागमा भएको) र (३) वामावृत्ति शंख (शंखको पेट वायाँतिर खुला भएको) । यी तीनै विशेषताहरूभन्दा भिन्नै विशेष प्रकारको शंख थियो पाञ्चजन्य शंख ।

पाञ्चजन्य शंखको विशेषता कस्तो थियो भन्नेबारेमा महाभारतमा वर्णन गरिएको छ- श्रीकृष्णका गुरु महर्षि सन्दिपनी थिए जहाँ कृष्ण, बलराम र सुदामाले सँगै शिक्षा लिए । शिक्षा पूरा भएपछि गुरुदक्षिणा दिने पालो थियो । कृष्णले गुरुदक्षिणा दिन खोज्दा गुरु सन्दिपनीले भने, “कृष्ण, सक्छौ भने हराएको मेरो छोरो पुनरदत्तलाई खोजेर ल्याइदिनू, सक्दैनौ भने गुरुदक्षिणा चाहिँदैन ।”

महर्षि सन्दिपनीको पुत्र पुनरदत्तलाई कुनै दैत्यले नदीको किनारबाट अपहरण गरेको थियो । गुरुको आदेश पाई कृष्ण पुनरदत्तलाई खोज्न गए । पुनरदत्तलाई कुनै दैत्यले लगेको कुरा थाहा पाई कृष्ण दैत्य नगरी गए । त्यहाँ कृष्णले एउटा शंखको भित्री भागमा त्यो दैत्य सुतिरहेको देखे । त्यस दैत्यलाई कृष्णले जगाई पुनरदत्तको बारे सोधे । दैत्यले पुनरदत्तलाई यमलोकतिर पुर्‍याइदिएको बतायो । तब कृष्णले त्यस दैत्यलाई मारी शंख आफूसँगै लिए ।

त्यसपछि उनी सीधै यमलोकतिर गए । यमलोकमा द्वारपालले ढोकामै कृष्णलाई रोके । आफू रोकिनुपरेपछि तब कृष्णले आफूसँग रहेको त्यो शंखलाई फुके । त्यो शंखको ध्वनिले यमलोक नै थर्कमान भयो । शंखको यस्तो भयावह ध्वनि सुनेर यमराज आफै अगाडि आए । यमराजले श्रीकृष्णलाई साक्षात् विष्णुको रूपमा देखे । त्यसपछि यमराजले विनम्रतापूर्वक पुनरदत्तको आत्मालाई कृष्णको जिम्मा लगाइदिए ।

पुनरदत्तको आत्मा प्राप्त भएपछि कृष्णले उसको शरीर पुनर्उत्पादन गरी त्यस शरीरमा आत्मा भरिदिए । त्यसपछि कृष्ण गुरुपुत्र पुनरदत्तसहित गुरु सन्दिपनी आश्रममा आए । कृष्णले पुनरदत्त र उक्त शंख गुरुदक्षिणाबापत गुरुसमक्ष राखिदिए । आफ्नो पुत्र जीवितै उद्दार भई आएकोमा गुरु सन्दिपनीले अत्यन्तै प्रेमभावले कृष्णलाई आशीर्वाद दिए । त्यसपछि गुरुले कृष्णलाई त्यस शंखको विषयमा बताउँदै भने, “यो सामान्य शंख होइन, समुद्रमन्थन गर्दा प्राप्त भएको पाञ्चजन्य शंख हो यो । हे कृष्ण, यो तिमी र तिम्रो उद्देश्यका लागि धर्तीमा आएको हो । यो तिम्रो लागि हो, तिमी नै राख ।”

त्यसपछि कृष्णले त्यो पाञ्चजन्य शंख लिई फुकेर एक नयाँ युगको प्रारम्भ भएको उद्घोष गरे ।

पाञ्चजन्य शंखको महिमा यहाँ यति नै ।

१३. धन्वन्तरि

समुद्रमन्थनका क्रममा उत्पत्ति भएका तेह्रौं रत्न थिए भगवान् धन्वन्तरि । धन्वन्तरि अर्को अर्थमा एक वैद्यराज थिए । उत्पत्ति हुँदै धन्वन्तरि चार भुजा भएका, कालो वर्णका थिए । यिनी हातमा अमृतले भरिएको स्वर्ण कलश लिएर निस्किए । भगवान् धन्वन्तरिले हातमा बोकेर ल्याएको अमृत वितरणमा केके भयो भन्ने वर्णन माथि गरिसकिएको छ । त्यसपछि देवराज इन्द्रले यिनको प्रार्थना एवम् भक्ति गरी स्वर्गमा वैद्यराजको पद लिन अनुरोध गरे । उनले इन्द्रको सो पदलाई स्वीकार गरी स्वर्गलोकमा देवताका वैद्य बने ।

पछि पृथ्वीमा मनुष्य जातिमा विविध प्रकारका रोगव्याधिहरू फैलियो । मनुष्य जातिमा ठूलाठूला सङ्क्रामक रोगहरू फैलिएर भारी मात्रामा मानव विनाश हुन थाल्यो । मानवमृत्यु रोकथामका लागि देवराज इन्द्रले धन्वन्तरिलाई पृथ्वीलोकमा जन्म लिई त्यहाँका बासिन्दाहरूलाई औषधीमुलो गरिदिन अनुरोध गरे । वैद्यराज धन्वन्तरिले पनि इन्द्रको अनुरोध स्वीकार गर्दै काशीका राजा दिवोदास भई पृथ्वीमा अवतार लिए । यसपछि यिनले आयुर्वेद औषधि र उपचारका लागि एक ग्रन्थ “धन्वन्तरि संहिता” लेखे र यस संहिताको व्याख्या र प्रयोग विधिबारे उपदेश पनि दिए ।

हिन्दु मान्यताअनुसार धन्वन्तरि भगवान् विष्णुका अवतार हुन् । विष्णुका झैँ यिनका पनि चार हात छन् । माथिल्ला दुई हातमा विष्णुले जस्तै शंख र चक्र धारण गरेका छन् भने बाँकी अन्य दुई हातमा औषधि र अमृत कलश लिएका छन् । यिनले दिवोदासका रूपमा जन्म लिएकाले यिनको वंश दिवोदास वंश भयो । दिवोदासले नै काशीमा पहिलो शल्यचिकित्सा महाविद्यालयको स्थापना गरे । त्यस महाविद्यालयमा प्रथम प्रधानाचार्य सुश्रुतलाई बनाइयो जो दिवोदासका शिष्य र ऋषि विश्वामित्रका छोरा थिए । आधुनिका कालमा आयुर्वेदका आदि आचार्य सुश्रुतलाई नै मानिएको छ ।

सुश्रुतले पनि औषधिविज्ञानमा आधारित सुश्रुत संहिता लेखेका छन् । यस संहितामा सुश्रुतलाई विश्वको पहिलो शल्यचिकित्सक मानिएको छ । सुश्रुत संहितामा सुश्रुतले लेखेका छन्- ब्रह्माजीले आयुर्वेदका बारेमा एक लाख श्लोक लेखेका छन् जसमा एक हजार अध्याय छन् । त्यसलाई प्रजापतिले पढे । प्रजापतिबाट अश्विनी कुमारले पढे । अश्विनी कुमारबाट इन्द्रले पढे । इन्द्रबाट धन्वन्तरिले पढे । धन्वन्तरिबाट सुश्रुत मुनिले पढे ।

वैदिक कालमा आयुर्वेदबारे अश्विनी कुमारको जो महत्त्व छ, पौराणिक कालमा त्यसको महत्त्व धन्वन्तरिलाई प्राप्त भयो । अश्विनी कुमारको हातमा मधुकलश छ भने धन्वन्तरिको हातमा अमृतकलश छ । सृष्टिका पालनकर्ता विष्णु भएकोले धन्वन्तरिका हातमा अमृतको कलश भएको हो । त्यसैले, धन्वन्तरि विष्णुका अवतार हुन् ।

१४. अमृत

समुद्रमन्थनको मुख्य र अन्तिम तत्त्व नै अमृत हो । खासमा तेह्रौं तत्वका रूपमा निस्किएका धन्वन्तरिले नै साथमा अमृतकलश पनि लिएर निस्किएका थिए । तसर्थ, धन्वन्तरिपछि अमृतलाई चौधौं र मुख्य तत्त्व भनिएको हो किनभने समुद्रमन्थनको मुख्य र प्रथम उद्देश्य नै अमृत निकाल्नु थियो जो धन्वन्तरिसँगै निस्किएको थियो ।

अमृत शब्दको अर्थ खाँदा अमर हुने वस्तु, सुधा, पीयूष अथवा अमरता हो । अमृत शब्द सबैभन्दा पहिले ऋग्वेदमा आएको पाइन्छ र यो शब्द सोमरसको पर्यायवाची शब्दको रूपमा लिन सकिन्छ । समुद्रमन्थनबाट प्राप्त अमृतलाई दानवहरूले बलजफती धन्वन्तरिबाट खोसेर लिए तर कसले पहिले पिउने भनेर आपसमै झगडा गर्न थाले । विष्णुले यही मौकामा मोहिनी रूप धारण गरी दानवहरूबाट छलपूर्वक अमृत लिएर देवताहरूलाई मात्र पिलाए । यसपछि देवताहरू अमर भए ।

०००

इन्द्रलाई दुर्वासा मुनिको श्राप

वैदिक साहित्यमा देवता र दानवहरूको बीचमा, देवता र ऋषिमुनिहरूको बीचमा ठूलाठूला अन्तर्द्वन्द्व र युद्धहरू पनि भएको पाइन्छ । कहिले देवताहरूको कोपभाजनमा ऋषिमुनिहरू पर्ने र कहिले ऋषिमुनिहरूको कोपभाजनमा देवताहरू पर्ने दोहोरो क्रियाप्रतिक्रिया विभिन्न समयमा भइरहेको हुन्छ । यहाँ वर्णन गर्न खोजिएको कुरा दुर्वासा मुनिले इन्द्रलाई दिएको श्रापको कथा हो ।

दुर्वासा मुनि अत्यन्तै रिसाहा ऋषि हुन् । उनको रिस नाकको टुप्पामा नै बसेको हुन्छ । अत्यन्तै सानो कुरामा पनि दुर्वासा ऋषि रिसाउने गर्दछन् । उनी रिसाएको बेला परिणामको कुनै वास्ता नगरी रिस उठाउने व्यक्तिलाई श्राप दिने गर्दछन् । दुर्वासा ऋषिको अर्को विशेषता के थियो भने उनी आफूले चाहेको समयमा बिनासूचना कसैको घर, दरबार वा राज्यमा प्रवेश गर्दथे र अचानक हुने यस्ता भ्रमणहरूमा पनि उनको मान राख्नुपर्दथ्यो । यदि उनलाई यथेष्ट अतिथि सम्मान पुगेन भने पनि उनको रिसको विष स्खलित हुन्थ्यो । एकपटकको कुरा हो दुर्वासा ऋषिले इन्द्रलाई पनि श्राप दिएका थिए ।

कथा यस्तो छ ।

एकपटकको कुरा हो दुर्वासा ऋषि स्वर्गमा इन्द्रलाई भेट्न पुगे । इन्द्र त्यसबेला अप्सरा रम्भासँग बाहिर दिउँसै रतिक्रियामा थिए । गोप्य राखिनुपर्ने यौनसम्बन्ध यसरी खुला रूपमा गरेको देखी ऋषि क्रोधित भइसकेका थिए । तथापि ऋषि दुर्वासालाई देख्नेबित्तिकै इन्द्रले ऋषिको भव्य स्वागत गरे । स्वागत सत्कारमा कुनै कमी थिएन । तसर्थ, इन्द्रको स्वागतबाट खुसी भएर दुर्वासा ऋषिले इन्द्रलाई श्रीफूल उपहार दिए । इन्द्रलाई फूल उपहारमा भन्दा बढी धन दौलतमा रुचि थियो । त्यसैले, ऋषिबाट प्राप्त त्यो फूललाई इन्द्रले खास महत्त्व दिएनन् र उनले त्यो फूल आफ्नो एउटा हात्तीको टाउकोमा राखिदिए । त्यो फूलको प्रभावले हात्ती दिव्य अलौकिक भयो र त्यसै क्षण जङ्गलतर्फ गयो । त्यस हात्तीलाई इन्द्रले पनि रोक्न सकेनन् ।

आफूले दिएको पुष्प उपहार इन्द्रले हात्तीलाई दिएपछि ऋषि दुर्वासा अत्यन्तै क्रोधित भए । उसै त दुर्वासा त्यसमाथि आफ्नो उपहारको मान राख्न नसकेपछि क्रोधमा दुर्वासाले इन्द्रलाई “श्रीहीन हुनू” भनी श्राप दिए । ऋषिको श्रापले इन्द्रको राज्यमा बिस्तारै भ्रष्टाचार बढ्यो । देवताहरूको भ्रष्ट हुन थाले । कोही पनि एक आपसमा मिल्न नसक्ने, एकले अर्कालाई बदनाम गर्न थाले । अमरावतीमा हत्या, हिंसा र अपराधका घटनाहरू दिनानुदिन बढ्न थाल्यो । सबैभन्दा सुखसयल भएको अमरावती अराजकतामा परिणत हुन थालेपछि ब्रह्माण्डमा इन्द्रको ख्याति र मान दुवै घट्यो । राज्यमा ठूलाठूला सङ्कटहरू आउन थाले जसलाई इन्द्रले राजाको हैसियतमा नियन्त्रण गर्न सकेनन् ।

यसरी, दुर्वासा ऋषिले दिएको श्रापको कारण सुरपति इन्द्र श्रीहीन हुन पुगे । यो त्यही समय थियो जुनबेला असुरराज बलिले तीनै लोकमा राज्य गरेका थिए र देवराज इन्द्र दुर्वासा ऋषिको श्रापका कारण सबैभन्दा कमजोर अवस्थामा पुगेका थिए ।

यसपछि विष्णुको सल्लाहअनुसार देवताहरू दानवहरूसँग मिलेर समुद्रमन्थन गरी अमृत निकाले । अमृत निकाल्न दुवैको बराबर योगदान थियो तर दुवैको उद्देश्य भने फरक थियो । भित्रभित्र देवताहरू आफू मात्र अमृत पिउन चाहन्थे, उता दानवहरू पनि आफू मात्र अमृत पिउन चाहन्थे । आखिर चाहना जसको जे भए पनि देवताहरूको पक्षमा ब्रह्मा, विष्णुलगायत शंकर समेतका शक्तिकेन्द्रहरू लागेका थिए । यही कारण, विष्णुको चलाखीले अन्तमा, देवताहरूका हातमा अमृत भाग लाग्यो, दानवहरूको हातमा निःशेष भाग लाग्यो । देवताहरू अमृत पिएर अमर भए । अजर अमर भएका देवताहरूले त्यसपछि दानवहरूको संहार गरे ।

रिचमण्ड, भर्जिनिया, अमेरिका ।