आध्यात्मिक ज्ञान र भौतिक विज्ञानमा मानव जीवनका निम्ति कुन बढी सार्थक होला ? अध्यात्म र भौतिक विज्ञानमध्ये कुन बढी मानिसको हितमा छ ? उल्लिखित प्रश्नहरूको कुनै समय विवेचना गरौँला, त्यो भन्दा पहिले अध्यात्म र विज्ञान के हो भन्ने सवालमा उत्तर दिनु उपयुक्त हुन्छ ।

के ईश्वरीय तत्त्वको अस्तित्व स्वीकार गर्नु नै अध्यात्म हो त ? वा, भौतिक अवयवहरूको परीक्षण, साधनको आविष्कार, नूतन तथ्यको अन्वेषण र मानव उपयोगी यन्त्रको निर्माणको शास्त्र विज्ञान हो त ?

अध्यात्मवादी (स्प्रीचुअलिष्ट) ले ईश्वरको अस्तित्वको विषयलाई कहिल्यै पर्गेलेका छैनन् । ईश्वरको अस्तित्वलाई चर्चा गर्ने पात्रहरू एकेश्वरवादी (थेइष्ट), बहुश्वरवादी (पोलिथेइष्ट), सर्वाथवादी (प्यानथेइष्ट) र अनिश्वरवादी (एथेइष्ट) हरू नै हुन् । त्यसैगरी ब्रम्हाण्डबाद (कस्मोलोजी), सृष्टिवाद (क्रिएसनलीजम) र विकासवाद (इभोलुसनलीजम) ले पनि ईश्वरको अस्तित्वलाई चर्चा गर्दैन ।

अध्यात्म र विज्ञानबीचको सम्बन्ध शताब्दियौँ देखि चर्चामा छ । विज्ञानलाई तर्क-सङ्गतयुक्त र वस्तुनिष्ठताको क्षेत्रको रूपमा र अध्यात्मलाई विश्वास, रहस्यवाद र व्यक्तिपरक अनुभवसँग जोडेर हेर्ने गरिन्छ ।

आध्यात्मिक चेतनामा दुई आधारभूत तत्त्वहरू पदार्थ र आत्माको सम्मिलन हुन्छ । सँगै, प्रत्येक भौतिक र अभौतिक तत्त्वहरूलाई अलग किसिमले बुझ्ने सामर्थ्य राख्दछ । यो चेतनाले मान्छेको विश्वासलाई आत्मपरक तुल्याउँछ, र दर्शन, सिद्धान्त र आफ्नै स्थितिको वारेको सम्बन्धित ज्ञानले प्रज्ञावान् बनाउन प्रेरित गर्दछ ।

यता विज्ञान के हो, वा कस्तो हो भन्ने कुरामा धेरै चर्चा गर्नु आवश्यक छैन । विज्ञान एक कठोर एवं व्यवस्थित प्रयास हो जसले सबै कुराको बारेमा परीक्षणयोग्य व्याख्या र भविष्यवाणीहरूको रूपमा ज्ञान निर्माण, र व्यवस्थापन गर्दछ । आजको विश्वमा अध्यात्म र विज्ञान दुवै क्षेत्रमा चासो बढ्दै गएको छ, यो स्पष्ट छ कि दुवैको बीचमा महत्त्वपूर्ण सामञ्जस्यता रहन्छ ।

अध्यात्म र विज्ञानलाई मिलाउने प्राथमिक तरिकाहरू मध्ये प्रकृतितत्त्वको अन्वेषण मुख्य विधि हुनसक्छ । अध्यात्म र विज्ञान दुवै ब्रह्माण्डको मौलिक प्रकृति र स्थानमा छन् भन्ने बुझ्न धेरै कठिन छैन । जब विज्ञानले अनुभवजन्य कुराको परीक्षण र प्रयोगको माध्यमबाट त्यो तहमा प्रवेश गर्दछ, अध्यात्मले प्रायः आत्मनिरीक्षण र अनुभूतिपरक भई त्यो स्थितिको बोध गर्दछ ।

मैले बाल्यकालमै पढेको भागवत कुञ्ज (ज्योति प्रसाद गौतम, २००१) का धेरै श्लोकहरू त्यो बेला मलाई कण्ठस्थ थिए, तर आज धेरै विस्मृत छन् । आज भन्दा ८० वर्ष अगाडिको भागवत कुञ्ज गद्यपुस्तकका श्लोकहरू ‘सुखसागर’ भारतमा प्रिय भए जतिकै नेपालमा लोकप्रिय भएको सोध सामग्री हिमाल खबरपत्रिका, साउन २०७३ मा प्रकाशित छ । हिमाल खबरको ‘पुस्तक सम्पदा’मा समावेश उक्त पुस्तकको एउटा श्लोक छ:

आत्मा एउटा सत्य बुझेर छाडी म त अरू युक्त भई

विषयहरूमा रही तटस्थ साम्य हवस् जग असत् बुझी ।।

उल्लेखित शब्दहरू जुनसुकै भावबाट प्रेरित भए पनि आत्मा सत्य छ, र सबै साधनबाट मान्छे युक्त भए त पुगिहाल्यो – जसलाई विज्ञानले नै साथ दिँदै छ त । अव किन बेकारको ‘अध्यात्म वा विज्ञान’ को उल्झनमा फस्नु ? यो अर्थमा विज्ञान कि अध्यात्म भन्ने कुराको निर्क्याैल गरिरहनु आवश्यक नै छैन । अर्थात् मानिस सारथि हो र सारथिको रथले विज्ञान तथा अध्यात्मलाई समान रूपले उपयोग गर्छ, गर्छ ।

आध्यात्मिक चेतनाले जीवन र जगतलाई बुझ्ने माध्यमको रूपमा ध्यान र चिन्तनको महत्त्वलाई जोड दिन्छ। ध्यान र चिन्तनको अभ्यासहरूले वरपरका अन्तर सम्बन्धित वस्तुहरूसँग गहिरो भावना वा मित्रता विकास गर्दछ । यो अर्थमा आध्यात्मिक चेतनाले जगत् र प्रकृतिको बुझ्न अन्तर्दृष्टिको उजागर गर्दछ ।

वस्तु (अब्जेट) का रूपमा भौतिक विज्ञान र अध्यात्म विज्ञान दुइटा फरक नै होइनन्, तर अस्तित्व मात्र अलग देखिने स्थिति छ । जस्तै रथको पैयाँ झैँ, वस्तु फरक होइन तर अस्तित्व फरक हो । भौतिक विज्ञानले पनि मानिसकै सुविधा, सुख र खुसीको निम्ति नवीनतम आविष्कार गरिरहेको छ । अध्यात्म विज्ञानले पनि मानिसकै सूक्ष्म र पारलौकिक सुखको स्थितिमा पुग्न मान्छेलाई अनवरत दिशाबोध गरिरहेको छ ।

आजका केही महापण्डितहरूको बहसमा अल्झनु आवश्यक छैन, ‘तेरो विज्ञान’ भन्ने आक्षेपको प्रतिरक्षामा । अर्थात् अझै ईश्वरको स्थितिको व्याख्यामा गर्नेहरूले विज्ञानलाई आक्षेप गर्नु नौलो भएन । ईश्वरको स्थितिको व्याख्या छोडेर अध्यात्मवादलाई ग्रहण गर्नेहरूले भने यो सत्-तत्त्वलाई स्विकार्न समय पनि त लाग्दैन । अर्थात्, ती महापण्डितहरूका बिचमा ‘यो देउता – मेरो’ र ‘यो – तेरो’ भन्ने लफडा छ, त्यसको अन्त्य हुनु पहिले आवश्यक छ । अन्यथा पण्डितहरूको लडाइँमा आफै मिचिएर देउताले चैँ पुकारा नगरुन्, कवि शिरोमणि  लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’को शैलीमा :

गुडको बैरी मनुष जाति, सूश्क गराई गुणीका छाती

प्राण पखेरु नलिए सम्म, खुश किन हुन्थ्यो हाय अचम्म

पृथिबी तलमा एउटा सम्म, मानिस बाँकी रहँदा सम्म

****

आधुनिक विज्ञान जति उन्नत वा नयाँ आविष्कारको खोजमा पुग्छ, त्यो साधनले अन्ततः मान्छेलाई नै सहज गराउँछ । अब आत्माको चेतनाको उजागरले पनि प्रज्ञावान् बनाउँछ, त्यसले त झन् विज्ञानको उन्नयनलाई सर्वोच्च शिखरमा पुर्याउँदछ ।

शरीरको अन्वेषण विज्ञानको प्रयोगशालाले गर्दछ, तर आत्माको त गरेको छैन जुन कुरा जीवन जगत्, अङ्क २ मा गरिसकेका छौँ । यो अर्थमा भौतिक विज्ञान भनेको शरीर र बाह्य चेतना देखाएको तहको विज्ञान हो । यता अध्यात्म विज्ञान भनेको नदेखिने र आत्मा अथवा चेतनाको विज्ञानले अनुभूति गर्ने तहको विज्ञान हो ।  शरीर नै छैन भने बाह्य चेतना त देख्दैन नै, र विचार पनि स्थिर हुँदैन । तथापि आत्मा अनित्य छ भने जगत् पनि त निरन्तर रहनेछ, परन्तु परिवर्तनशील अस्तित्वमा ।

त्यसैगरी भौतिक विज्ञान पनि मान्छ कै लागि हो । भौतिक विज्ञानमा जति विकास वा आविष्कार भएका छन्, त्यो पनि मानवकै निम्ति उपयोग हुने हो ।

तर विज्ञानको उपयोगको सीमितताको त चर्चा गर्न छुटाउनु हुँदै- हुँदैन । वास्तवमा आजको मान्छेलाई विज्ञानले सुविधाभोग चरमचुलीमा पुर्याएको छ, त्यो कुरा कसैबाट छिप्दैन । र यसको विकृत पाटोको बारेमा चर्चा गर्न त लामै शृङ्खलाको तयारी पनि गर्नुपर्छ ।

आज हामीले उपयोग गरिरहेको विज्ञानका आविष्कारका साधनहरू हाम्रा हजुरबुबाको पुस्ताले त परिकल्पना गरेका थिएनन् । हजुरबुबाको पुस्ताको नेपाली समाजको कैयन दुःख र पिडाका कथा र दृष्टान्तहरू त लेख्नसम्म पनि आँट आउँदैन । आज भन्दा ७०-८० वर्ष अगाडीको नेपाली समाज र जनजीवन त कठिन थियो नै, अकाल वा अल्पायुमै हुने मृत्युहरू पनि सामान्य जस्तै मानिन्थ्यो । मृत्युका परिघटनाहरूको दृष्टान्तको रूपमा यहाँ हाम्रै परिवारले भोगेको नियतिको चित्रण गर्दछु ।

लगभग ७०-८० वर्ष अगाडी, मेरा हजुरबुबा टेकनाथ काफ्लेको बिहेको वर्ष दिन नबित्दै श्रीमतीको निधन भएको थियो रे । दोस्रो बिहेपछि हजुरबुबाको आठ जना छोराहरू र दुई जना छोरीहरू जन्मेका थिए । तर किशोरावस्था पुगेपछि एकपछि अर्को गरी सग्ला चार छोराहरू र विवाह समेत भैसकेको एक जोडी छोराबुहारीको निधन भयो । आफ्नै पिताजीको धामगमनको बेलामा हजुरबुबा जम्मा ७–८ वर्षको हुनुहुन्थ्यो, र पिताजीको दागबत्ती दिन अर्काले हात समाइदिएका थिए रे । त्यसपछि क्रमशः आफ्नै घरमा हजुरबुबाले लगातार दाइ-भाउजू, आमा, एउटी दिदी र एउटी छोरीको समेत मृत्युलाई परोक्ष बेहोर्नु भएको थियो । अर्थात् मेरो हजुरबुबाको निम्ति शोक, वेदना वा  मृत्यु भन्ने चिज अति सामान्य एवं गौण जस्तै भएको थियो, र अन्त्यमा निरन्तर मृत्युहरूको त्यो प्रताडनाले उहाँमा वैराग्यता उत्पन्न हुन पुग्यो ।

त्यसपछि मैले चिनेको मेरो हजुरबुबा आध्यात्मिक साधना एवं भक्तिमार्गको प्रेरक र जगत् कृतार्थ सङ्कीर्तनका आपत्-साधकको स्वरूपमा हो । त्यो आध्यात्मिक चेतनाले दिएको परम सुख उहाँलाई अन्य कुनै साधनले दिएको थिएन । माथि प्रसङ्गमै उद्धरित भागवत कुञ्जकै अर्को श्लोक यहाँ सापेक्ष देखिन्छ :

लोकपाल औ ब्रम्हाकन पनि मृत्युको भय हुन्छ अति

आत्मा नाचिने सम्म रहन्छ जीवकन भय नित्य प्रति ।।

सम्भवतः अध्यात्मको अनुभूति मार्फत आत्मालाई चिनिसकेपछि भय त भाग्छ नै, त्यो चेतनाले दिएको परम सुखलाई विज्ञान  भेद गर्न असम्भव नै रहेछ त  ।

बुद्धोपदेश पनि यही हो – धर्मको शरणमा मनुष्य वा अमनुष्य जुन सुकै प्राणीलाई दुःख हुँदैन, र यसको तात्पर्य काय, वाक् र चित्त तिनै द्वारबाट एकले अर्कालाई हानि गर्दैनन् । यो नै धर्मको शरणको मूल व्रत हो, र शरणगमनको मूल शिक्षा हो- ‘बुद्धं शरणं गच्छामी, धम्मं शरणं गच्छामी’ ।

बुद्धले बुद्धत्व प्राप्तिको माध्यमका रूपमा चेतना, आत्म–अवलोकन, र तर्कलाई अथाह प्रयोगमा ल्याए र आधुनिक विज्ञानको अनुसन्धानहरूबाट प्राप्त हुने निचोडलाई सामान्य स्थितिको रूपमा स्वीकार गर्न निर्देशित गरेका छन् ।  बुद्ध बचनको आधारमा भन्ने हो भने त परीक्षणको माध्यमबाट विज्ञानले मान्छेको अस्तित्व, जगत् र प्रकृतिबीचको सम्बन्धलाई बुझ्ने चेष्टा बिस्तारै गरिरहेको छ भने अध्यात्मले त्यो काम गरेको एक युग बितिसकेको छ ।

अन्त्यमा, एकजना अफ्रिकन कविको कवितासँगै यो शृङ्खलाको बिट मार्न उचित लाग्यो (कवि केंनथ मास्वबी, ‘विज्ञान र अध्यात्मको प्रतिच्छेदन’को  नेपाली भावानुवाद),

अब हामीले मौनताको कला फेरि सिक्न थालेका छौँ

, त्यसले हाम्रो गलत दिमागी चक्कालाई पुनःताजगी गर्न

तर्कको चुम्बकत्वबाट टाढा, अज्ञातको स्थितिमा

हाम्रा विचार र भावनाहरू छोड्न र छेड्न एउटा गहिरो धापमा पुग्नु छ,

आध्यात्मिक संसारमा पुग्न र हाम्रो वास्तविक आत्मा पत्ता लगाउन

यो नै मान्छेको प्रगतिको अर्को अध्यायको नयाँ पृष्ठ हो

र, कविताको सारमा मेरो आफ्नो बुझाई- आध्यात्मिक संसारमा पुग्न र हाम्रो वास्तविक आत्मा पत्ता लगाउन विज्ञानको योगदान त्यो तर्फको प्रगतिको अर्को अध्यायको नयाँ पृष्ठ नै हो । अर्थात् विज्ञानको समुन्नति अध्यात्म-चेतनाको निम्ति जग नै हो, र हुनेछ ।