अनुरोध हो या आक्षेप, निर्देशन हो या नियन्त्रण, मैले संकेत बुझ्न सकिनँ । पत्र पढ्दै गएँ । जसले लेखेको हो त्यो बुझेपछि पत्र छोड्न पनि सकिनँ । छोडेको भए पनि म चैनले रहन सक्ने थिइनँ । अलिकति नैतिक बाध्यता जस्तो अनुभव गरें । पढ्नै पर्छ भन्ने ठानें र पढ्दै गएँ –

प्रिय अपात्र,

शून्य श्री हरिराज, तिमी बढी नै उत्ताउलो भयौ । तिम्रो संसारमा तिमी ज्ञानी मानिन्छौ, म पनि मानिदिन्छु । जब एक्लै हुन्छौ म तिम्रो योग्यता र संकल्पप्रति आक्रामक जस्तै देखिन्छु । त्यो राजमार्ग हो, राजमार्ग नै रहन देऊ । त्यो सही नलागे अर्को बनाऊ । स्मरण रहोस् तिम्रो पारिवारिक रुचिको विषय त्यो हुन सक्तैन । समाज र राष्ट्रको सम्पदालाई तिमी बिथोल्न सक्तैनौ, त्यो अधिकार तिमीसँग छैन । भाषाबाट/शब्दबाट म पनि उदाहरण दिन्छु : म त् स् य् एन् द् र् अ लेख्न किन विवश बनाउँछौ सीधै मत्स्येन्द्र लेखे हुँदैन ? हामी अर्को भाषा सिक्न गयौं भने हामीलाई लेख्न र बोल्न असजिलो हुने शब्द वा लिपि बिगारेर सिकाउँछन् र ?

स्मरण रहोस् नियम ठान, परम्परा मान वा औचित्य, जे सम्झे पनि हुन्छ । आशय यति मात्र हो देवनागरी लिपिमा शब्दको शुरुममा र बीचमा हलन्त अक्षर (वर्ण) आउँदैन ।  श ब् द हुँदैन । शब्द नै हुन्छ । यसमा विचलन ल्याउने यत्न नगर । म तिम्रो समय,शीप र लगनलाई सदुपयोग गर्ने प्रस्ताव गर्छु । किन्तु तिम्रो ज्ञान र चेतनाको विषयमा म केही भन्दिन । ती कुरा तिमीसँग देखिए भने अवश्य भनौंला । अहिले अर्को उदाहरण दिएर यति नै भन्छु । जस्तो –

(क) ट, ञ, ण यिनको प्रयोगमा म तिमीलाई दुइटा विकल्प दिन्छु (१) या त तिमी दाँत, जिब्रो र तालु–कहाँ कहाँ अपरेशन गर्दा वक्ताले बोल्न सक्छ, बनाऊ । (२) या उच्चारण गर्न असजिलो लाग्ने वर्ण (अक्षर) प्रयोग नगर वा भण्डार गर । बहिष्कार गर तर वर्णको स्वरूप, बनोट नबिगार । देवनागरी लिपि तिम्रो र तिम्रा टोलिको सम्पत्ति होइन कि ! कतिपय वर्ण र शब्द प्रयोगमा आउँदैनन् नआउलान् तर तिनलाई बिगार्ने र कसिङ्गर गर्ने सङ्कल्प नगर । आयु पुग्दैन ।

फेरि अर्का जातका शैलीमा पत्र लम्बियो –

मिस्टर हरिराज, विनिर्माणमा नै सती जानु छ भने तिम्रा लागि चीन गएर आफ्नो योग्यता देखाउने मौका छ । चित्रलिपिको संस्कृतिलाई तिमी सुधार्न सक्छौ । जाऊ, क्षमता पनि देखाऊ र द्रव्य पनि बनाऊ । एउटै लिपि चिन्हमा कयौं धर्का–घोचा–टेका लागेका छन् । धेरै लागेका ठाउँबाट २-४ धर्का हटाइदेऊ । नाम पनि नगद पनि ! फेरि के चाहियो ?

यस्तै वाशिङ्गटनबाट ‘श’, ब्रिटिशबाट  ‘श’ पनि हटाइदेऊ । तिमी मालामाल हुनेछौ । परम्परागत रूपले टाँसिएका मौन अक्षर त कति हो कति अङ्ग्रेजी भाषामा । पहिले शब्दको अन्त्यमा आउने इ हटाएर त्यहाँका जनतालाई प्रसन्न बनाऊ नोबेल पुरस्कार मिल्न बेर छैन । फेरि हरिराजलाई छुने कसले ? तिम्रो मेधा अनुसारको काम यो पो हो त ।

अर्काले हेपे झैं गरेर लेखेछ–

हरिराज तेरो बुद्धि सप्रियो भने काव्य र दर्शन, काव्य र संगीत, काव्य र युग चिन्तन, काव्य र संस्कृति, काव्य र भूगोल, काव्य र चित्र, काव्य र सुन्दरी, काव्य र नक्षत्र, काव्य र गैर मानव पात्र, काव्य र वनस्पति, काव्य र सजातीय विधा, काव्य र विजातीय विधा–संमिश्रण यस्ता अनेक विषयमा केन्द्रित रहेर सयौं पुस्तक सम्पादन गरेको भए नेपालका हरेक शहरमा तेरो प्रतिमा उभिन्थ्यो नि तर चुकिस् ! आखिर भानुभक्तको आधा क् शुरुमा न आएर अन्त्यया किन झुण्डियो भनेरै तैंले आफ्नो आयु सक्ने भइस् नि हैन ? थुः !

हरिराज यदि तलाईं तेरो चेतनाले बुद्धिले, विवेकले साथ दिएनन् ? इतिहासले यहाँसम्म ल्याएको लिपि बिगार्नु– भत्काउनु भन्दा छुट्टै लिपि बनाउँ भन्ने बुद्धि फुरेन छ नि ! फेरि यो लिपि नेपालकै स्वामित्वमा रहन्छ भन्ने के छ ? ऐजन मौकामा नखोसिएला भन्ने छ र ? कि वाल्मीकि नेपालकै हुन् भनेर प्रमाणित गर्नु पर्यो । कदाचित् देवनागरीमा लेखिएका सामग्रीको स्वामित्व अन्यत्र सर्यो भने तँ के गर्छस् हरि ?

एकै ठाउँ एउटै समस्याले गुजुल्टिएर बस्नुको साटो मौलिक चिन्तनले भरिएका उच्च कोटिका ग्रन्थ तयार पारेको भए यस माटाको ऋण त तिरिन्थ्यो । भएको वर्ण भत्काएर ठूलो होइन्छ र ! फेरि तँ र राजनीतिक अभ्यासीमा के फरक भो त ! सुध्री, बेलैमा खेत रोप, नत्र मंसीरमा भोकै पर्लास् नि !

“हो, द्रव्य र मानको भोकले बिग्रेको हो यो मनुवा !”

जनमत यसै भन्थ्यो ।  – अगस्त २०, २०२३