साहित्यमा नयाँ पिँढी-

नयाँ पिँढी भनेको के हो ? पिँढी भनेको नयाँ पुस्ता हो । धेरै वर्षको अन्तर नभएको मानिसको समूह हो । बाबु, बाजे, बराजु आदि र छोरा नाति, पनाति आदिको पूर्वापर क्रम र वंश परम्परा पनि हो । नयाँ पिँढी भनेको २५-३० वर्षको फरक समयावधिलाई पनि भन्ने गरिन्छ । नयाँ पिँढीले जिम्मेवारी, लेखन र दिशाको आफ्नो बाटो आफै बनाउनु पर्ने हुन्छ । नेपाली साहित्यको परिदृश्य नै बदल्नु पर्दछ । कसले बदल्न दिएका छैनन् ? त्यसको निराकरण गर्नु पर्दछ । नेपाली भाषाको विरासत विशाल छ । यसको गहनता, सौन्दर्य, साहित्यिक विविधता अनुगुन्ज विश्वको सबै भागमा पुर्‍याउनु परेको छ ।

युवाले अतीतबाट प्रेरणा लिन्छ, वर्तमानको वर्णन गर्दछ र भविष्यको मार्ग निर्देश गर्दछ । साहित्यले समाजलाई स्वस्थ, ज्ञानवर्धक, र कलात्मक मनोरञ्जन प्रदान गर्दछ । जसले गर्दा एउटा परिष्कृत सामाजिक संस्कार निर्माण हुन्छ । अक्षत ऊर्जा, अक्षय यश, अन्तहीन जीवन, अपराजेय पराक्रम, अटल सङ्कल्प र अडिग आस्था नै युवा शक्ति हो ।

नेपालको जनसङ्ख्या-

१-     नेपालको जनसङ्ख्या-२,९१,६४,५७८ (२०८०)

२-     १६—४०वर्षका युवा समूह १,२४,१२,१७६

३-     वार्षिक वृद्धि दर- 0.९२ प्रतिशत

४-     १९८ प्रति वर्ग किलोमिटर

५-     औसत परिवार सङ्ख्या-४.३७

६-     साक्षरता-७६.२ प्रतिशत

१२ औ जनगणनाले युवाको सङ्ख्या देखायो । अब प्रश्न आउँछ सरकार र राजनीतिक दलहरूले युवा जनशक्तिप्रति कस्तो धारणा बनाएको छ भन्ने । विकास र देश निर्माणमा युवा शक्तिको जगेर्ना गर्ने भन्ने राष्ट्रले अवलम्बन गरेको नीति हो । राष्ट्रले युवाहरूलाई देशको महत्त्वपूर्ण निधिका रूपमा अङ्गीकार गरेको छ ।

युवाहरूको आकाङ्क्षालाई संरक्षण तथा प्रवर्धन गर्ने र समृद्ध देशको लागि सक्षम नागरिक तयार गर्ने परिकल्पना गरिएको छ । तर विडम्बना के छ भने युवाहरूमा निराशा छ । युवाहरू आत्मनिर्भर छैनन् । युवा बेरोजगारी झनझन् बढ्दै छ । सरकार औपचारिक निर्णय गर्नमा व्यस्त छ । धेरै १८—३५ वर्षे युवाहरू वैदेशिक रोजगारीतिर पलायन भएका छन् ।

युवा अवस्थामा आफ्नो लागि केही गरौँ भन्ने भावना हुन्छ । विषयगत अलग दृष्टिकोण राख्छ युवक । युवा हाम्रो देशको भविष्य र प्रगति हो ।

युवा राष्ट्रिय पुँजी हो-                    

जुन विषय समाजको आदर्श र गन्तव्यसम्म पुग्दछ त्यो नै सार्वजनिक हितको विषय बन्न सक्दछ । लोकमत नै जनकल्याणको एउटा मुख्य कडी मानिन्छ । जनकल्याणमा आधारित मत नै स्थिर र दूरगामी हुन्छ । तसर्थ लोकमत जनकल्याणको भावनाले ओतप्रोत भयो भने समाजमा एउटा अमनचैनको वातावरण रहेको प्रतीत हुन्छ । यही परिप्रेक्ष्यमा सरसरती हेर्दा नेपाली राजनीतिक आकाशमा एउटा मोरलकोड विकास भैरहेछ,  जसलाई अब सितिमिति तोड्न गाह्रो पर्दछ । हरेक व्यक्ति स्व–पहिचान, आत्म सम्मान, स्वतन्त्रता र अस्तित्वको आग्रह गरिरहेको हुन्छ । आजको मानिस क्रूरताबाट करुणाको मार्गमा बदलियो भने एउटा उदाहरणीय समाज सिर्जना हुने पक्षमा आशा गर्न सकिन्छ ।

मानिसभित्र एउटा यस्तो तत्त्व छ जसले उसलाई भ्रष्ट बनाउँछ, परिस्थितिले मानिसलाई भ्रष्ट बनाउँछ,  भ्रष्टताको बीज मानिसभित्रै हुन्छ, अवसर मिल्ने बित्तिकै यो सक्रिय भैहाल्छ । विगत दशकको एउटा विडम्बना भनेको धर्म, जाति र वर्णको आधारमा समूहीकरण हुन प्रोत्साहित हुनु रह्यो । यस दशक हाम्रो लागि यस्तो महसुस भयो कि हामीले आफैँ जित्यौँ,  फेरि हार्‍यौँ । वास्तवमा नेपाली समाजले एउटा अपरिहार्य वास्तविकता माथि विजय प्राप्त गर्‍यो जसको प्रतिफल राजनीतिक परिदृश्यमा देखिन थालेको छ । समाजले जे पायो त्यो सङ्कलित हुन सकेन,  छाडा छोडिदियो, बजारमा पुग्यो । बलियो शक्तिले कब्जा गर्‍यो, उपलब्धिहरू  निर्बलसम्म  पुग्नै सकेन । विगत दशकको उत्पादन थोरै मान्छेको हातमा भागवण्डा भएको छ,  केवल अभिशाप चाहिँ सबै जनतालाई बराबरी बाँडिएको छ ।

जनआन्दोलनका सपनाहरू साकार हुनको लागि उक्त आन्दोलनका सेनानीहरू र जनताको त्याग र बलिदान हाम्रो विचार र व्यवहार वर्तमान नेपालको नवनिर्माण भएको आभास झल्कनु पर्दछ । आशाहरू धमिला हुँदै छन्,  राजनीतितिर बुद्धिजीवीहरूको मोह भङ्ग भैरहेछ । बहुरूपी भ्रष्टाचार मौलाएको छ जताततै,  साधारण जनतामा विपन्नताको प्रतिशत बढ्दो छ, साम्प्रदायिकताले सीमा नाघ्यो, विखण्डनवाद पनपनाई रहेछ ।

विगत दशको छोटो इतिहास दुस्साहसको होइन, सामाजिक तथा राजनीतिक असुन्दरता हटाउने कोसिस नभएको होइन, तापनि अनाथ मानिसको दशक रह्यो । पिताहीन मानिसको दशक रह्यो, आफूले बनाएको मान्यता यस दशकमा आफैले भत्काएको महसुस भयो । गुटवाद, जातिवाद र धार्मिक मदान्धताले समाजमा वैमनस्यता उत्पन्न गरायो । अनाथ समाज उपर छलको खेल स्पष्ट देखियो  ।

विश्व परिवेश-

सन्दर्भ कोट्याउँदै जाँदा आफ्नो देशको दशकभन्दा विश्व इतिहासको विगत त सम्झनै कठिन हुन्छ । अनुसन्धानको नाममा छल गर्दै औद्योगिक राष्ट्रहरूले के मात्र गरेनन् । द्वितीय विश्वयुद्धमा नाजीहरूले प्रतिकुल वातावरणमा ३–४ दिन बाँच्न सक्ने विषालु लामखुट्टे प्रयोग गरेर विरोधीलाई भाइरस सल्काउने प्रयास गरेका थिए, यातना शिविरमा । प्रतिकुल वातावरणमा ३–४ दिन बाँच्न सक्ने लामखुट्टे प्रजाति पत्ता लगाई हवाई जहाज मार्फत शिविर नगिचै हावामा छोड्ने योजनाअनुसार विज्ञान प्रतिष्ठानमा सोधकार्य भै रहेको थियो ।

बी.बी.सी. न्युजका विश्व मामला सम्पादक जोहन सिम्पसनले २५ फेब्रुअरी २०१४ मा एउटा विषय उठाए ‘के तेस्रो विश्व युद्ध होला ?’  हुँदैन, आफै समाधान गरे प्रश्नको । उनको तर्कमा वर्तमान विश्व यति बाध्यतापूर्वक एक आपसमा सम्बन्धित छ कि युद्ध हुनै सक्दैन । सानो–सानो मामलामा ठूलो परिणाम आउने गरी विश्वले ख्याल–ख्यालको खेल गर्दैन तर भन्न सकिँदैन यत्तिकैमा । युरोप र रुस युक्रेन मामलामा असन्तुष्ट छन्, उता जापान र चीन पूर्वी चीन सागरमा स्थित केही बीरान टापुको विषयलाई लिएर भनाभन गरिरहेका छन् । परिदृश्य विकराल छ । जुन १९१४ मा एक सर्वियाली राष्ट्रवादीले आर्क डयूक फ्रेंज फर्डिनेण्ड र उनको पत्नीको हत्या गर्नुभन्दा पहिले सबैले विश्वयुद्ध हुँदैन भन्ने सोचेका थिए । तर त्यो एउटा निहुँ थियो, आज पनि त्यस्ता धेरै निहुँ पाइन्छन्, जसले विश्वभर युद्धको राँको दन्कन सक्छ । सन् १९१० मा एक ब्रिटिस लेखक नर्मन एंगेलले विश्वको गतिविधि सोचेर युद्ध हुँदैन भन्ने मनसायले ‘द ग्रेट इल्यूजन’ नामक पुस्तक लेखे तैपनि सन् १९१४ मा प्रथम विश्वयुद्ध भएरै छाड्यो ।

छिमेकी देशका नेताहरू आफ्नो अभियानमा समेत राज्यका विकास मोडल पेस गर्ने भैसकेका छन् । छिमेकी देशहरू संसदीय निर्वाचनमा कुनै राज्यको विकास मोडल पेस गर्दछन् ।  त्यहाँका युवा नेताहरू परिवर्तनको नारा लिएर अगाडि बढेका छन् । उनीहरू ज्यादै फुर्तिला,  महत्वकाङ्क्षी र कुनै मामलामा खुराफाती समेत भएकाले भारतीयहरू उनीहरूलाई ‘योङग तुर्क’ भन्ने गर्दछन् ।

समाजसँग सम्बन्धित सबै विवादास्पद प्रश्नमा बहुमतको निर्णय हुनुपर्दछ । कुनै निर्णय गर्दा अल्पमतको अहितमा हुनु हुँदैन । राष्ट्रिय आदर्शको विषयमा मतैक्य हुनुपर्दछ । राष्ट्रिय गन्तव्य प्रस्ट र सुगम्य चाहिन्छ । राज्यको शासन स्वरूप के हो ? उद्देश्य के हो ? गोल पूरा गर्ने साधन के हो ? आदि इत्यादि विषयमा मत भेद भयो भने स्वस्थ जनमत नहुन सक्छ । तसर्थ समाजमा एकता तथा राष्ट्रिय प्रश्नमा सहमति गर्न राष्ट्रको गन्तव्यमा एकमत हुन नितान्त आवश्यक छ ।

अब देशले प्रतिभावान् युवाहरूलाई राजनीतिमा भाग   लिन आग्रह गरेको छ । उनीहरूले पनि देशको सेवा गर्नुपर्दछ । हाल राजनीतिलाई न त कुनै मिसनको रूपमा हेरिन्छ न व्यक्तित्व विकासको लागि, केवल व्यवसायको लागि राजनीति भएको छ । नेपाली मिडिया समाजको सही तस्बिर पेस गर्दैन, केवल सनसनीपूर्ण समाचार मात्र सम्प्रेषण गर्दछ,  समृद्धिको लाभ ग्रामीण जनतासम्म पुगेको छैन, भ्रष्टाचार, खराब प्रशासन र जातिवादले हाम्रो देशलाई पिरोलेको छ ।

निचोड-

यस्तो स्थितिलाई मध्यनजर गरी राजनीतिक परिपाटीमा केही सकारात्मक संशोधन सहित राजनैतिक सुधारका कदम चालेमा अथवा मूल कानुनमा संस्थागत व्यवस्था भएमा सक्षम युवा पिँढीको सहभागिता बढ्ने आशा गर्न सकिन्छ । यसको लागि राजनीतिमा अवकासको व्यवस्था हुनुपर्ने, नयाँ पिँढीलाई अवसर दिनुपर्ने, प्रशिक्षण कार्यक्रम, योग्यता निर्धारण, झगडा कम र मिलिजुलीपना धेरै, प्रतिनिधि फिर्ता गर्न सकिने, महिलाको सहभागितामा वृद्धि, भ्रष्टाचारीलाई कडा कार्यवाही र अनिवार्य तथा सुलभ शिक्षा जस्ता विषयको राम्रो उपचार भएको खण्डमा हाम्रा होनहार युवाहरू हामीलाई सघाउन पछि पर्ने छैनन् । पश्चिमी नक्कल मात्र नगरी आफ्नो देशको सेवामा लाग्न सचेत सबै नेपालीले युवालाई आह्वान गर्दछन्, देशका युवाहरू हो ! देश तपाईंहरूको जिम्मा हो  । यस क्षेत्रमा तपाईंहरूको प्रवेश अपरिहार्य देखिन्छ  ।