१९ औँ शताब्दीका फ्रान्सेली समालोचक एच.ए.टेनले आफ्नो “द थेउरी अफ इङ्लिस लिट्रेचर” नाम पुस्तकमा समाजपरक समालोचना पद्धतिको चर्चा गरेका छन् । उनका अनुसार साहित्यकार “जाति, पर्यावरण र क्षण” ले प्रभावित हुन्छ । मार्क्सवादी चिन्तनलाई हेर्दा यही अवधारणालाई विकास गर्दै अहिले वर्गीय समाजको चर्चामा बढावा दिँदै गएको देखिन्छ । टेनका अनुसार– साहित्यकार समाजकै प्राणी हो । उसको जन्म पनि समाजमै हुन्छ । त्यसैले साहित्यकार समाजको संस्कार, मूल्य, मान्यता र जातगत प्रभावबाट मुक्त हुन सक्दैन । यही आधारमा भानुका कृतिमा नारीको आदर्शतालाई पस्किनु त्यो समाजको प्रभाव हो । उनले नारी आदर्शताका लागि बधूशिक्षा लेखे तर नारीलाई असहज हुनुपर्छ भनेनन् किनकि नारीको दायित्वलाई समाजले पितृसत्तात्मक आँखाबाट कसेर राखिदिएको थियो । तब उनले समाजकै अनुरूप बोध गरे र सोही कुरा लेखे :
भक्तीले पति ईश्वरै भनि बुझून् पाऊ तलैमा परून्
पूजा हो पतिको भनेर घरका काम्मा अगाडि सरून् ।।१।।
कविले नारीको कर्मलाई पति सेवा र घरको काम सम्हाल्ने हो भन्ने भावलाई व्यक्त गरेका छन् । धेरै हदमा नारीले घरभित्र र पुरुषले घर बाहिरको जिम्मेवारी सम्हाल्ने पद्धतिले हाम्रो समाज अद्यापि सञ्चालित छ । नारीले असल आचरण अपनाए घरमा राम्रो हुने मान्यताले पुरुषलाई भन्दा नारीलाई शिक्षा दिने संस्कारबाट हाम्रो समाज अघि बढेको देखिन्छ । भानुको भावनामा समाजको छाप स्पष्ट रूपमा परेको छ । भानुले तारापतिलाई सम्झाउँदै बुहारीका लागि वधूशिक्षा बनाएको कुरा पृष्ठभूमिका रूपमा तीन पङ्क्तिमा उल्लेख गरेका छन् । यद्यपि यो रचनालाई घटनाले जन्माएको हो । यसमा भानुको विचार र सोचमा नारी दमनको भावना होइन, समाजले बुझेको दृष्टिकोणले उनमा पारेको प्रभाव यथार्थ रूपमा प्रस्फुटन भएको हो । उनको बुझाइ समाजबाहिर जान नसक्ने टेनको अवधारणासँग यो विचारलाई हेर्नु वाञ्छनीय देखिन्छ :
रोगी बालक वृद्ध सासु ससुरा जेठाज्यु देवर् पति
फूपू सासु अमाज्यु नन्द जति छन् खान्छन् इ खाजा जति ।।१२।। ….
अहिले दिनानुदिन घटिरहेका बलात्कारका घटनाको मूल कारणभित्र समाजले बिर्सिएको हिजोको नारी सम्मानको पाटो पनि कारक हो । आज भत्किरहेका विसङ्गत परिवारमा नारीको भूमिकालाई त्यतिखेर सचेत तुल्याएका कतिपय सन्देश आजका लागि पनि लाभदायक नभएका अवश्य होइनन् । किनकि, प्रकृतिले बच्चालाई नौ महिना कोखमा राख्ने, जन्माउने, आमाजस्तो गरिमामय भूमिका निर्वाह गर्ने र सन्तानलाई असल शिक्षा दिने सबैभन्दा शक्तिशाली क्षमता पुरुषलाई दिएकै छैन । यद्यपि सतीप्रथा, दासप्रथा, पुरुषद्वारा बहुविवाह गर्ने एकोन्मुख पितृसत्तात्मक संस्कार, नारीले नारीलाई नै र पुरुषले नारीलाई दमन गर्ने बुहार्तनवादी सोचले त्यतिखेरको समाज कति ग्रसित रहेछ भन्ने कुरालाई बोध गन पाउने अवसर बधूशिक्षाले दियो । भानुले पनि समाज अनुकूल लेखिदिए तर वधूशिक्षा लेखेर वरशिक्षा नलेखेका कारण पनि उनी दोषमुक्त रहँदैनन् :
सौताको रिस गर्नु पाप छ बहुत् एकै दुवैका पति ।
मर्दामा पनि जानुपर्छ जसले मीलेर सङ्गै सती ।।१३।।…..
….चाकर्लाई अह्राउनू खुशि हुँदै मीठा वचन्ले गरी ।।३।।….
छिनि सकि सब धन्धा सासुको पाउ मिच्दी ।
उँघिकन बिखबर् भै पाउ मिच्दै त ढल्दी ।।२७।।….
भानुको समयको समाज पाप र धर्मको कसीमा निकै नै बन्धित थियो । राम्रो नराम्रो कर्मलाई पाप र धर्मको कसीमा कसिदिएकाले भानु पनि उक्त समाजको आफ्नै विश्वासमुखी नियमबाट अछुतो रहेनन् । वि.सं. १८७१ मा जन्मेका भानुको समयलाई आज २०७७ सालको समाजसँग तुलना गरेर उनलाई आरोप लाउनु मात्रैचाहिँ एकाङ्की व्याख्या पनि हुने रहेछ । किनभने, अमेरिका युरोपतिर सन् १८४० को दशकमा नारी आन्दोलनको सङ्गठन प्रारम्भ भएको इतिहास छ । १९ औँ शताब्दीबाट प्रारम्भ भएको नारीवादी आन्दोलनले आजसम्म समानताको लडाइँ लडिरहनुपरेको छ । दिनानुदिन बलात्कारी भावले ग्रसित मानसिकताले नैतिकताको पर्खाल ढालिरहेको छ । हिजो धर्म र आचरणका आधारमा नारीलाई एकातिर भोग्या मानिन्थ्यो, रखौटी बनाइन्थ्यो भन्ने कुरा हुँदाहुँदै नारीलाई उच्च सम्मान गर्दै धर्तीमाता, गौमाता भनिएको रहेछ पनि । पूर्वीय संस्कारले रामसीता नभनेर सीताराम भन्दै नारीलाई अघि राख्ने रहेछः राधाकृष्ण, गौरीशङ्कर, लक्ष्मीनारायण आदि ।
भानुको समयमा नारी अधिकार हनन भयो भनेर बहस गर्ने पाटोसँग टेनको अवधारणा मिल्ने रहेछ । समाजपरक विचारमा टेनले व्याख्या गरेको वातावरणको प्रभावबाट भानु एक्लै अछुतो हुने कुरो नभएको पनि हो । साहित्यकार जुन देश, काल, समय र परिस्थितिमा जन्मे, हुर्केको हुन्छ सोही अनुसार सामाजिक तथा सांस्कृतिक मूल्य मान्यतालाई विश्वास गर्छ । भानु पनि त त्यही पितृसत्तात्मक समाजमा जन्मिए । अनि, उनले उसबेलामा आजसम्म जकडिएर हट्न नसकेको नारी दमनकारी सोचलाई विद्रोह गरेर लेख्न सकेनन् ! :कमजोरी त्यस तप्कामा गएर थुरिएको हो :
प्राणका नाथ् पतिका अगाडि गइ जो फर्माउँछन् सो गरोस् ।
भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखू भरोस् ।।
किस्मिस् दाख बदाम मिस्रि नरिवल् जो चीज् छ सो सो दिई
पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई ।।२८।।
माथिको पङ्क्तिले धुमपानको कुलतलाई पनि बोध गराउँछ । बुहारीले परिवारमा सहकार्य गर्नेसम्मका कुरा आपसी सद्भाव र प्रेमका कोणबाट पाच्य होलान् । तर, हिजोको समाजमा तमाखु खाने लगभग धेरैजसोको आदत रहेछ । आजको शहरी समाजतिर हुने विवाह, जन्मदिन जस्ता समारोहमा मदिराजन्य पदार्थ खाने र खुवाउने व्यवस्था नभएसम्म त्यसलाई स्टेन्डर्ड मानिँदैन । तुलना गरेर हेर्दा आजको विश्लेषण गराइलाई हामीले हिजोकै शैलीमा मात्र नभएर ‘आजको समाज कतातिर लम्किरहेको छ र किन’ भन्ने कुरालाई केलाउनुपर्छ । आज हाम्रो समाजमा श्रीमान्ले श्रीमती छोड्नेभन्दा श्रीमतीले श्रीमान् छोड्ने दर बढेको हुन सक्ला । बच्चालाई झाडीमा फाल्ने आजको भयावह अवस्था हिजो थिएन । आजको समाज जति अनादर्श र कलङ्कित छ त्योभन्दा धेरै सभ्य र भव्य सुखका साथ पारिवारिक सद्भाव हिजै थियो । कुकुरले आफ्नो बच्चाका लागि प्राण दिन्छ तर मान्छेले नौ महिना पेटमा राखेको बच्चा फाल्नु संवेदनहीनताको पराकाष्ठा हो । परिवारमा हिजो नातिले पनि हजुरबाको सेवा गथ्र्यो तर आज नयाँ पुस्ताले पुरानो पुस्तालाई प्राविधिक ज्ञानका नाममा, भौतिक उन्नतिका कारण मनोवैज्ञानिक दमन पनि त गरिरहेको हुन्छ । विचारणीय पक्ष हिजोको समाजका सकारात्मक विषयमा सायद भानुले धेरै लेखेनन् । अर्थात्, ‘वधूशिक्षा’ त लेखे तर ‘वरशिक्षा’ लेखेनन् र कमजोरी त्यहाँ प्रष्ट देखियो । त्यो बुहार्तन र पितृसत्तात्मक कुसंस्कारको पासोमा भानु पनि चुर्लुम्म डुबे ।
आजका मान्छेले लेख्ने साहित्यमा दमन र उत्थानका विषयलाई जति धेरै उठाइन्छ तर मानवता र विपन्नतामा दुख्ने घाउ छायामा परिरहेकै छन् । हामीभन्दा पछि आउने पुस्ताले जातीय विभेदका समस्याभन्दा पनि चर्काे बनेको भौतिकवादी लालसा, अमानवीय स्वार्थमा अल्झिएको मानवताका विषयमा हाम्रो पुस्ताले ध्यान दिन नसकेको आरोप लगाउन सक्नेछ । त्यहाँ तेस्रो लिङ्गीको आवाज छुटेको कुरा उठ्नेछ । नारीद्वारा पीडित पुरुषको कुरालाई पनि छुटाएको आरोप अहिलेको पुस्तालाई लाग्नेछ । कोटा पद्धतिका कारण, जातका कारणले सक्षम मानिसलाई अन्याय भएको कुरा उठ्नेछ । त्यसैले समानता, अधिकार र अवसरको दायरा सङ्कुचित छ जसले ‘मानवीय न्यायको सिद्धान्त’ लाई बिर्सँदै जाँदा वर्गीय खाडलको अर्को रूपबाट हाम्रो सोच दोषमुक्त छँदै छैन ।
मानवताविहीन विभेदमा गम्भीर विभाजन
अहिलेको सोच र समाजलाई जोख्ने तुलो अनि हेर्ने आँखामा दायराको एउटा आफ्नै नियम छ । एउटाको हक र हितको कुरा गर्दा अर्कोतिरबाट कोही त अन्यायमा परेकै हुन्छ । तर, जहाँ ‘मानवता’ को कुरा आउँछ त्यहाँ कमसेकम क्षमताको कदर हुन्छ । सक्षम मान्छेलाई विभेद गरिँदैन । जहाँ प्रेमभाव हुन्छ त्यहाँ समभाव हुन्छ । सोचको दायरामा समाजले हक र अधिकारलाई बेरेर राखेको छ तर मानवीय खुबीको विकास र आर्थिक, सामाजिक रूपमा दमित वर्गलाई उठाउने सोचको एकताका विषयमा अहिलेको पद्धति धिमि गतिमा मात्रै हिँडेको देखिन्छ । यसले ‘मानवीय न्यायको सिद्धान्त’ लाई विकास गर्न सकेन तर फरक हौँ र अधिकार दिए वा लिए हुन्छ भन्ने मनोभावनामा कँज्याइदिएको छ ।
अहिले दलितको एउटा झुण्ड, आदिवासीको अर्को झुण्ड, बाहुन हुँ भन्नेको अर्को झुण्ड, थारूको अर्को झुण्ड बन्यो । यसले केवल झुण्ड जन्माउन र झुण्डमा झुण्डिएर त्यति मात्रै हेर्ने आँखा बनायो । मानवीय हिसाबमा गरिबको घर बनाऔँ, उसलाई जग्गा दिलाऔँ । विपन्नका छोराछोरी पढाऔँ या अन्य मानवीय सहयोग गरौँ भन्ने भावना हामीमा जागृतै भएको छैन । विपद्मा गरिने सेवामा चाहिँ मानवताको कुरा छ तर त्यसबाहेकको सामान्य अवस्थामा चाहिँ झुण्डकै सिद्धान्त अघि सर्छ । तबसम्म मार्क्सवादी मान्यताले भनेको साम्यवाद कसरी सम्भव हुन्छ ? अनि, भानुको युगमा अधिकार र समानताको कुरा गर्दैगर्दा त्यहाँ बुहार्तन र नारी दमन त थियो तर मानवताको आँखा निकै बलियो पनि त थियो भन्ने हेक्का राख्नु आवश्यक छ । हामी हिजोको पुस्तालाई गाली गरेर विभेदको झुण्डवादी लडाइँमा अर्को झुण्डका लागि असहयोगी बन्ने नीतिको अघोषित दायरामा माथिदेखि तलसम्म नै विभाजित छौँ ।
आफूलाई प्रगतिवादी नारीवादी हुँ भन्नेले नारीको हक र हितका कुरा उठाउँदा नारीद्वारा हुने पुरुषको दमनलाई भुलेका हुन्छन् । चाहे उदार नारीवादका कुरा होऊन्, चाहे मार्क्सवादी नारीवाद, या त आमूल नारीवाददेखि समाजवादी नारीवादसम्मका कुरा आऊन् आखिर मानवतावाद बिर्सेर, ‘मानवीय न्यायको सिद्धान्त’ भुलेर समसत्ता सम्भव हुँदैन । जब मानवतावाद आउँछ तब त्यहाँ नारीवादका लम्बेतान चर्चा नै चाहिँदैन, साम्यवाद आइहाल्छ । अहिले उत्तरआधुनिक नारीवादका आँखामा आएर हेरिरहँदा पनि तेस्रो लिङ्गीले उपेक्षित हुनु परेको दर्दमा एक रति आँखा पुग्दैन । जसले दमित, दलित, पिछडा वर्गका आवाजलाई उठाउँछन् तिनले गरिबीले ग्रसित ब्राह्मण वा क्षत्रीलाई पनि शोषकको संज्ञा दिन्छन् । कोटा पद्धतिमा तिनले अमानवीय सजाय भोग्छन् । वर्गका नाउँमा सबै बाहुनलाई अभिजात्य भनिँदा त्यहाँ उसको आय स्रोत, पारिवारिक स्थिति र चेतना, भूगोल जस्ता तमाम विषयले ऊ पनि सीमान्तीकृत भएको सन्दर्भ छुट्ने रहेछ । अनि, हामीले बनाएको सीमान्तीकृतभित्रकैले बाहनु अर्थात् अभिजात्यलाई दमन गरेका पनि हुने रहेछन् । यसको एउटा उदाहरण यो लेखक स्वयम् पनि हो । यसर्थ अहिलेको विनिर्माणवादी चिन्तनमा सोलडोल व्याख्या गरेर सबैलाई ह्वात्तै एकै डालामा हाल्नु उचित देखिँदैन ।
एक हदमा त हामी कताकता विभाजित बन्न पुग्छौँ । टेनको धारणालाई हेर्दा समय, क्षण र परिवेशलाई नियाल्नु अत्यावश्यक हुन्छ । अहिले हामीले जात, धर्म, लिङ्गका अनेकन अर्थमा फरक देखिरहँदा मानवतावादचाहिँ भुल्यौँ कि ! हामीले आर्थिक, सामाजिक सम्पन्नता–विपन्नताको पाटोलाई हेर्ने आँखालाई छोडिदियौँँ । व्यक्तिको बानी खराब हुनुको अर्थ उसको रूप, रङ अनि समुदाय होइन ऊ स्वयम् नै हो । अभिजात्यभित्रका सबै शोषक हुँदैनन् अनि सीमान्तकृत वर्गका सबै पीडित नहुन सक्छन् । अतः मानवताका आँखामा लेखिएको भानुको मौलिक सिर्जनालाई चाहिँ पक्कै सम्मान गर्नुपर्छ । भानुको विचार त्यो समाजको दृश्यचित्र भएर मुखर भएको छ तर उनको गहन मर्म र आदर्श रामराज्यको दायरामा समानतामुखी मानवतावादबाट अवश्य पनि भागेको छैन । यद्यपि ‘वधूशिक्षा’ लेखेर ‘वरशिक्षा’ नलेखेका भानुद्वारा यसमा पारिवारिक सद्भाव र प्रेमको कसिलो एउटा नातोलाई, देशभक्तिको समर्पण र समाजको सौहार्दतालाई खोतलिएको कुराचाहिँ निकै नै दर्बिलो देखिन्छ । यदि भानुले वधूशिक्षाको व्यतिरेकमा वरशिक्षा लेखेका हुँदा हुन् त आजको बहसले सायद अर्को रूप लिन्थ्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।