श्री हरिमोहन एकजना स्थापित कवि,  कथाकार अनि समालोचकको रूपमा परिचित छन्। उनका छ वटा कविता सङ्ग्रह, छ वटा कथा सङ्ग्रह अनि एक दर्जनभन्दा  अधिक समालोचना अनि पत्रकारितामाथि पुस्तकहरू प्रकाशित छन्। अनेकौँ साहित्यिक पुरस्कारहरूद्वारा उनी पुरस्कृत भएका छन् अनि हाल जे. एस. विश्वविद्यालय, शिकोहाबाद (फ़िरोज़ाबाद) उत्तर प्रदेशका कुलपतिका पदमा कार्यरत छन्। 

* * *

 

१) के लेखूँ?

यस्तो के लेखूँ कि

तिमीलाई रमाइलो लागोस्

यस्तो के भनौँ

जुन साँचो लागोस्।

तिमी भन्छौ

ती हातहरू राम्रा हुन्

जो जीवनरूपी नाउका पतवार सम्हाल्छन्

मझधारमा तर्न सघाउँछन्।

असहायलाई सहारा दिँदै

भीडमाझबाट सुरक्षित

सडक पार गराउँछन्।

म भन्छु

ती हातहरू राम्रा हुन्

जसले प्रियतमाका हातलाई

सुमसुम्याउँदै स्नेह गर्छन्।

तिमी भन्छौ

ती ओठहरू राम्रा हुन्

जसले जीवनका गीत गाउँछन्

साँचो बोल्छन्

अन्याय मौन रहँदैनन्।

म भन्छु

मधु मिश्रित कुरा गर्नेहरू

पुतलीझैँ मुस्कान छर्नेहरू

फुसफुसाउँदै गर्ने माया राम्रा लाग्छन्।

आँखाहरू ती राम्रा, तिमी भन्छौ

जो अरूका पीडामा बग्न थाल्छन्

दुनियाँलाई सुन्दर देख्छन्

झुकेर अन्यलाई सम्मान गर्छन्।

म भन्छु, काजलले सजिएका आँखाहरू

ठूल्ठूला राम्रा

जसमा प्रेमका सागर लहराउँछन्।

अनि, हामी दुवैले आफ्ना हातले उठाई

धेरै माथि हावामा

उचाल्यौँ एउटा बच्चालाई

खिलखिलाएर हाँस्यो ऊ

हामीले कविता लेख्यौँ

जुन लेख्न खोजिरहेकाथ्यौँ।

* * *

२) कुन चाहिँ चुनौँ?

तिम्रो निम्ति

कुन चाहिँ प्रेम चुनूँ म?

जे जति छन्

कम्ती छन् यहाँ।

 

जाऊँ त्यहाँ बसेर सोचौँ

जहाँ कोही नहोस्

न कुनै बाटो

न कुनै नक्सा

न कुनै भूगोल

न कुनै नाम

न ठेगाना।

जहाँ भेटियोस्

हर मौसमका

हराएका हाम्रा पुराना कथाहरू।

अचानक देखियोस्

टेबल टेनिसका

प्रतिबिम्बरहित बलजस्ता

हराएका विगतका परिचय।

अधुरा यात्राहरू

छुट्टिएका कतै

ढुकढुकी अनि श्वासहरू।

 

झ्यालरहित

ढोकारहित

कोलाहलरहित

-छ यस्तो ठाउँ कहीँ ?

छ भने भन्नू होला

मलाई पनि।

* * *

३) बहुरुपिया

म एकजना किसान

बीउ सुखाउने गर्छु

नयाँ मौसममा

सुन्दर फूल भएको

कुनै रुख उमार्न।

 

म एकजना राजमिस्त्री

बस्ने घर बनाउँछु

एकमाथि अर्को

अब्बल दर्जाका इँटा थपेर।

 

म एकजना सिकर्मी

सिपसहित काठलाई छिलेर

बनाउने गर्छु सुन्दर खेलौनाहरू।

 

म एकजना लोहार

फलामको भित्री भागलाई

आगोमा तताएर-गलाएर

ठोकेर-पिटेर

तयार पार्छु कलाकृतिहरू।

एकजना कुम्हाले पनि हुन सक्छु म

माटोलाई मिसेर बनाउँछु गाग्रो

जसले तृप्त पार्छ तृष्णालाई।

 

म एकजना बिजुलि मिस्त्री

जोड्ने गर्छु सही तारलाई

भित्री अन्धकारलाई आलोकित पार्न।

 

यस्ता धेरै कार्यहरू छन्

जो म गरिरहन्छु निरन्तर

 

प्रिये

हरेक रूपमा

अन्ततः एकजना कवि हुँ म

लेख्छु कविता नै

केवल तिम्रो निम्ति।

* * *

 

बिलोक शर्माः

बिलोक शर्मा कवि, अनुवादक अनि सम्पादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बाङ्ला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुने गर्छन्। उनका मौलिक कविताहरू बाङ्ला, हिन्दी, अङ्ग्रेजी अनि पञ्जाबी भाषाहरूमा अनुवाद भइ प्रकाशित भएका छन्। केही साहित्यिक पत्रिकाहरूका सम्पादन कार्यमा पनि उनी सङ्लग्न रहेका छन्।  मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको जलन्धर सहरमा एक बहुराष्ट्रिय संस्थामा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।