नेपाल प्रज्ञा–प्रतिष्ठान सम्पूर्ण नेपाली स्रष्टाहरूको साझा र सर्वोच्च प्राज्ञिक निकाय हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना, बालचन्द्र शर्माको कुशल प्राज्ञिक संयोजन र तत्कालीन कवि राजा मवीवि शाहको दूरदर्शी निर्णयबाट २०१४ असार ९ गते नेपाली साहित्य कला एकेडेमीका नाममा स्थापना भएको र पछि नेपाल एकेडेमी, रोयल नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै २०६२/०६३ को जनआन्दोलनपछि नेपाल प्रज्ञा–प्रतिष्ठानका नामले सञ्चालित यस संस्थाको प्रमुख कार्य राष्ट्रको प्राज्ञिक आवश्यकताको पूर्ति गर्नु नै हो । नेपाल प्रज्ञा–प्रतिष्ठानका भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र गरी पाँचओटा कार्यक्षेत्र हुन् भनी ऐनमा नै स्पष्ट व्यवस्था गरिएको छ । सोही कार्यक्षेत्रमा रहेर प्राज्ञिक कामहरू सम्पन्न गर्नका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानमा एघारवटा विभागहरू गठन गरिएका छन् र ती विभागहरूले आफ्नो विषयक्षेत्रमा केन्द्रित रहेर गोष्ठी, अनुसन्धान तथा प्रकाशनका कामहरू गर्दै आएका छन् । त्यसैले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट आवश्यकताअनुसार कतै एक्लै र कतै सहकार्यमा विभिन्न गोष्ठीहरू हुने गरेका छन्, विषयगत आवश्यकतालाई ध्यानमा राखेर प्राज्ञिक अनुसन्धानहरू हुने गरेका छन् र अनुसन्धानबाट प्राप्त सामग्री प्रकाशन योग्य भएमा कृतिका रूपमा प्रकाशनसमेत हुने गरेका छन् । यसका साथै प्रतिष्ठानबाट विभिन्न मातृभाषा र विभिन्न विधाक्षेत्रलाई समेट्ने गरी एक दर्जन पत्रपत्रिकाहरू पनि नियमित रूपमा प्रकाशन हुँदै आएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट २०२२ देखि अनवरत रूपमा ‘कविता’ चौमासिक पत्रिका प्रकाशन हुँदै आएको थियो भने त्रैमासिक रूपमा गद्यप्रधान साहित्यिक पत्रिका ‘समकालीन साहित्य’, अर्धवार्षिक रूपमा विज्ञसमीक्षित जर्नल ‘प्रज्ञा’, अर्धवार्षिक रूपमा अनुसन्धानमूलक अङ्ग्रेजी जर्नल ‘Journal Of Nepalese Studies’, अर्धवार्षिक रूपमा बहुभाषिक पत्रिका ‘सयपत्री’, अर्धवाषिक रूपमा नेपाल भाषाको पत्रिका ‘थाय्भु’, वार्षिक रूपमा मैथिली भाषाको पत्रिका ‘आङन’, वार्षिक रूपमा अनुवादप्रधान पत्रिका ‘रूपान्तरण’, वार्षिक रूपमा लिम्बू भाषाको पत्रिका ‘फक्ताङलुङ’, वार्षिक रूपमा भोजपुरी भाषाको पत्रिका ‘महुआ’ र प्रज्ञा–प्रतिष्ठानका सम्पूर्ण गतिविधिहरू समेटिएको त्रैमासिक समाचारप्रधान पत्रिका ‘प्रज्ञा गतिविधि’ प्रकाशन हुँदै आएका थिए । उल्लिखित सबै पत्रपत्रिकाहरू प्रौढ पाठकहरूका लागि लक्षित थिए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना कालदेखि २०७५ सालसम्म अर्थात् ६२ वर्षको इतिहासमा बालबालिका लक्षित केही पुस्तकहरू प्रकाशन भएका थिए तर प्रज्ञासँग प्रत्यक्ष र नियमित रूपमा बालबालिका जोडिने खालका कुनै पनि कार्यक्रम र प्रकाशनहरू भएका थिएनन् । काठमाडौँ उपत्यकाका केही सम्पन्न विद्यालयहरूमा पढ्ने बालबालिकाले प्रज्ञा भवनलाई अभिभावक दिवस मनाउने वा नाचगान गर्न जाने ठाउँका रूपमा मात्र चिनेका थिए । काठमाडौँ उपत्यकाकै पनि सामान्य विद्यालयका बालबालिकाले र उपत्यकाबाहिरका बालबालिकाले त त्यो अवसर पनि पाएका थिएनन् ।
अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरू नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञिक कर्मसँग जोडिन पाउँछन् भन्ने कुरा थाहै पाएका थिएनन् । २०७५ पुस महिनामा अघिल्लो प्राज्ञ परिषद्ले पूर्णता पाएपछि र साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग मेरो जिम्मेवारीमा आएपछि मैले तत्कालीन प्राज्ञ परिषद्मा देशभित्र र बाहिरका सम्पूर्ण नेपाली बालबालिकालाई जोड्नका लागि एउटा बालपत्रिका प्रकाशन गर्नुपर्ने प्रस्ताव लिएर गएँ । उक्त प्रस्तावलाई तत्कालीन प्राज्ञ परिषद्ले सहर्ष स्वीकार ग¥यो र अर्धवार्षिक प्रकाशनका रूपमा ‘बालप्रज्ञा’ प्रकाशनको थालनी भएको हो । विडम्बना त्यही अत्यन्त सुन्दर, ध्वन्यात्मक र बालबालिकाका मनमुटुमा बस्न सफल नाम ‘बालप्रज्ञा’लाई अहिलेको प्राज्ञ परिषद्ले परिवर्तन गरेर ‘लालपाते’ नाममा प्रकाशन गर्ने निर्णय गरेको सुन्दा सिङ्गो प्राज्ञिक जगत् लजाएको छ ।
‘बालप्रज्ञा’को नामकरण कुनै हचुवाका भरमा भएको थिएन । मैले विभागीय प्रमुखका नाताले बालपत्रिका प्रकाशन गर्ने प्रस्तावका साथै तत्कालीन कुलपति, उपकुलपति, सदस्य सचिव र सम्पूर्ण प्राज्ञज्यूहरू, नेपाल बालसाहित्य समाजका पदाधिकारीहरू र अग्रज बालसाहित्य स्रष्टाहरू सबैसँग उपयुक्त नाम प्रस्ताव गर्नका लागि अनुरोधसमेत गरेको थिएँ । उहाँहरूबाट एक दर्जनभन्दा बढी नामहरू आएका थिए । तीमध्येमा ‘बालप्रज्ञा’ उतिउत्तम लागेपछि सोही नाम चयन गरिएको हो । यसले व्यञ्जनात्मक र गम्भीर अर्थ वहन गरेको छ । ‘प्रज्ञा’ भनेको नयाँ नयाँ कुरा सोच्न सक्ने वा कल्पना गर्न सक्ने मानसिक शक्ति, गहिरो कुरा सोच्न सक्ने बुद्धि, विवेक वा विशिष्ट ज्ञान हो । ‘बालप्रज्ञा’को सामान्य अर्थ बालबालिका र प्रज्ञा–प्रतिष्ठानको अन्तःसम्बन्ध हुन सक्छ तर ध्वन्यात्मक रूपमा यसले बालिबालिकामा अन्तर्निहित प्रज्ञा, चेतना, बुद्धि वा विशिष्ट ज्ञान र कलाको खोजी हुन सक्छ । यस्तो गरिमामय अर्थ बोकेको र सुन्नासाथ बालबालिकाका मनमुटुमा बस्न सक्ने सुललित, सुकोमल र मनमोहक शब्दमाथिको लालपाते प्रहारको उद्देश्य के हो ? बुझ्न सकिएको छैन ।
‘बालप्रज्ञा’को प्रकाशनको थालनी पनि लहैलहैका भरमा भएको होइन, निकै लामो प्राज्ञिक छलफल गरी योजनाबद्ध प्रयासबाट यसको प्रकाशन भएको हो । २०७५ माघ २५ गते बसेको तत्कालीन प्राज्ञ परिषद्को चौथो पूर्ण बैठकको निर्णय नं. २ को (झ) मा बालबालिकालाई केन्द्रित गरी ‘बालप्रज्ञा’ नामक अर्धवार्षिक बालपत्रिकाको प्रकाशन प्रारम्भ गर्ने र उक्त पत्रिकाको प्रधान सम्पादक विभागीय प्रमुख डा. देवी नेपाल, सम्पादकहरू नवराज रिजाल, गोपीकृष्ण ढुङ्गाना र देवु लुइटेल तथा कार्यकारी सम्पादक डा. ध्रुवकुमार घिमिरे रहने भनी स्पष्ट निर्णय गरिएको छ । यिनै प्रारम्भिक प्रयत्न र प्राज्ञ परिषद्को निर्णयका आधारमा २०७६ वैशाखदेखि ‘बालप्रज्ञा’को नियमित प्रकाशन सुरु भएको हो ।
यसरी लामो छलफल, बहस, प्राज्ञिक योजना र विमर्शपछि निर्माण भएको एउटा गौरवशाली इतिहासलाई हचुवाका भरमा परिवर्तन गर्ने र बालबालिकाको सिर्जना, चेतना, अन्तर्दृष्टि र प्राज्ञिक शक्तिसँग छेउटुप्पो नै नमिल्ने अर्थ बोकेको ‘लालपाते’ नामकरण गर्ने वर्तमान प्राज्ञ परिषद्को निर्णयले उहाँहरूको प्राज्ञिक हैसियतलाई नै छर्लङ्ग पारेको देखिन्छ । ‘लालपाते’ भनेको एक प्रकारको फूल हो, जसलाई लालुपाते पनि भनिन्छ । बरु लालुपाते थोरै भए पनि श्रुतिमधुर छ तर त्यसको पनि बालसिर्जनासँग के सम्बन्ध हुन्छ र ? त्यति सुमधुर र विशिष्ट अर्थ बोकेको ‘बालप्रज्ञा’माथि चलाइएको ‘लालपाते’ तरबारको उद्देश्य आफ्ना मठाधीशहरूप्रति गरिएको लालभक्तिबाहेक अरू केही पनि होइन । यसका साथै यहाँको ‘लाल’ शब्दले नेपाली समाजले बिस्तारै बिर्सन थालेको विगतको रक्तरञ्जित दश बर्से त्रासदीपूर्ण इतिहासलाई बालबालिकासम्म पु-याएर पुनः त्रास फैलाउने काम गरेको छ ।
बालमनोवैज्ञानिक दृष्टिले हेर्दा यो बालबालिकामाथि गरिएको जघन्य अपराध हो, प्राज्ञिक कर्म होइन । ‘बालप्रज्ञा’को पहिलो अङ्क नै अत्यन्त ऐतिहासिक महत्त्वका साथ आएको छ । यस अङ्कमा तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय कुलपतिज्यू, पूर्वकुलपति वैरागी काइँलाज्यू र पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीज्यूका सारगर्भित शुभकामनाहरू समावेश भएका छन् । ती शुभकामनामा एउटा गौरवशाली कामको थालनी भएको कुरा उल्लेख गरिएको छ । यसरी नै राष्ट्रकवि माधव घिमिरे र वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीज्यूका बालापनको चर्चासहित ‘बालप्रज्ञा’को निरन्तरताको शुभकामनासमेत समावेश गरिएको छ । आज आएर यसमाथि प्रहार गरिएको लालपाते तरबारले अग्रजहरूको उक्त भावनालाई पनि धुजा धुजा पारिदिएको छ ।
‘बालप्रज्ञा’को बाह्य तथा आन्तरिक बनोट तथा बुनोटका लागि निकै लामो प्राज्ञिक विमर्श गरी निष्कर्षमा पुगिएको छ । यसमा रमाइला पुराना कुरा स्तम्भमा पुराना बालसामग्रीहरू समावेश गरिएका छन् भने मेरो बालापन, हाम्रा सन्तति, हाम्रो संस्कृति, कविता÷गीत÷गजल, कथा, निबन्ध, एकाङ्की, इतिहासको पानाबाट, प्रेरक व्यक्तित्व, हाम्रो भूगोल, विज्ञान र प्रविधि, सिर्जना पाठशाला, मस्तिष्क मन्थन गर्ने अनेकौँ शाब्दिक खेलहरू, मैले पढेको किताब, चित्रकथा, नयाँ उपहार, विदेशी बगैँचाको फूल (अनुवाद), हाम्रो स्वास्थ्य, हाम्रो दर्शनशास्त्र, लौ, आऊ घुम्न जाऔँ, अनुभूति, अद्भुत संसार, हाम्रो खेलकुद, पत्रसाहित्य, हाम्रा सिर्जना, हाम्रो मातृभाषा, मेरो कुची, पुस्तक लेखनको रहस्य, बालगतिविधि आदिजस्ता स्थायी स्तम्भहरू राखेर बालबालिकालाई ज्ञान र मनोरञ्जन दुवै प्रदान गर्ने गरीको सुन्दर कलेवरमा बालपत्रिका प्रकाशन गर्नु चानचुने कुरा होइन । यसको सम्पादन समूहमा आफ्नो जीवनका महत्त्वपूर्ण समयहरू बालसाहित्यका लागि खर्च गर्नुभएका अग्रजदेखि अनुज पुस्तासम्मका सर्जकहरू रहनुभएको र यसले सबै उमेरसमूहका बालसाहित्य स्रष्टाहरूको साथ, सद्भाव, सहयोग र अपार माया पाएको हुँदा यसको नियमित प्रकाशन सम्भव भएको हो ।
कोभिडको महामारीलगायतका जस्तासुकै समस्या आए पनि गुणात्मकता र स्तरीयतामा कुनै कमी आउन नदिई लगातार चार अङ्कसम्म प्रकाशन भएको सचित्र ‘बालप्रज्ञा’को पाँचौँ अङ्क प्रकाशनको तयारी अवस्थामा रहेका बेलामा हाम्रो कार्यकाल सकियो । नेपाल प्रज्ञा–प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । यसमा व्यक्तिको परिवर्तनले त्यत्ति ठुलो प्रभाव पार्दैन । हरेक कामहरू नियमित रूपमा सञ्चालन हुँदै जाने गर्छन् तर वर्तमान प्राज्ञ परिषद् आउनासाथ पहिलो काम नै पुराना निर्णय उल्टाउने र थालनी भएका काममा बाधा पु¥याउने हुन थाल्यो । हामीले २०७८ भदौ २९ गते बालदिवसका दिन प्रज्ञा–प्रतिष्ठानको इतिहासमा नै पहिलोपटक ‘प्रज्ञा बालकविता महोत्सव’को आयोजना गरेका थियौँ । प्रत्यक्ष र वेबिनार माध्यमबाट आयोजित उक्त महोत्सवमा विश्वका नौवटा देशमा रहेका ३५ जना बालबालिकाले आफ्नो कविता प्रस्तुत गरेका थिए । उक्त महोत्सवमा बालसाहित्यका गहन अध्येता र आधिकारिक व्याख्याता प्रमोद प्रधानले बालसाहित्य लेखनको विगत, वर्तमान र भविष्य सबै झल्किने खालको अत्यन्त महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
‘बालप्रज्ञा’को पाँचौँ अङ्कमा नियमित स्तम्भहरूका साथमा सोही गहन कार्यपत्र र महोत्सवमा वाचित कविताहरू समावेश भएका थिए तर तयारी अवस्थामा रहेको उक्त पाँचौँ अङ्कको प्रकाशनमा समेत रोक लगाएर वर्तमान प्राज्ञ परिषद् क्रान्तिकारी काम गरेको दुन्दुभि बजाइरहेको छ । बिचरा ! देश तथा विदेशमा रहेका ती बालबालिकाहरूका कोमल सिर्जना र संवेदनशील हृदयमाथि लालपाते तरबार चलाउन सक्ने प्राज्ञिक मुटु कस्तो होला ?
वर्तमान प्राज्ञ परिषद्का मित्रहरूले हामी परिवर्तन ल्याउँछौँ, हामी अग्रगामी छलाङ मारेर अगाडि बढ्छौँ, हामीलाई एक वर्ष त काम गर्न दिनुहोस्, ६५ वर्षमा नभएको काम हामी चार वर्षमा गरेर देखाउँछौँ भनेर ठाउँ ठाउँमा बोलेको सुनिन्छ । यो अत्यन्त राम्रो कुरा हो, हरेक क्षेत्रमा परिवर्तन र विकास आवश्यक छ तर त्यो परिवर्तन सकारात्मक हुनुपर्छ । निर्माण भएको गौरवशाली इतिहासलाई भत्काएर अराजक वर्तमानलाई भित्र्याउनु कुनै क्रान्ति वा परिवर्तन होइन । तपाईंहरू नयाँ नयाँ कामको थालनी गर्नुहोस्, अघिल्ला अघिल्ला प्राज्ञ परिषद्हरूलाई निकम्मा साबित गरिदिनुहोस्, दुनियाँलाई छक्क पारिदिनुहोस्, काम भनेको त यस्तो पो हुनुपर्छ त भन्ने बनाउनुहोस्, तपाईंहरूलाई कसैले रोक्दैन, तपाईंहरूले सबैको साथ र सहयोग पाउनुहुने छ । हामी सबैले चाहेको परिवर्तन त्यही हो तर अगाडि भएका राम्रा कामहरूमाथि कालो पोतेर अनि थालनी गरिएको गर्विलो इतिहासलाई भत्काएर अराजक लालपाते क्रान्ति गरी दुनियाँ हँसाउने काम नगर्नुहोस् । हाम्रो शुभेच्छा छ ।
यो लालपाते तरबार ‘बालप्रज्ञा’माथि मात्र चलाइएको होइन । वर्तमान प्राज्ञ परिषद् गठन भएलगत्तै नेपाली भाषालाई खस भाषा भन्नुपर्ने संविधान विरोधी कुरा गरेर, नेपाली भाषा कोश तथा व्याकरण विभागबाट नेपाली शब्द हटाएर र कुलपतिले दिनुभएका अन्तर्वार्ताहरूमा नेपालको संविधानमा नेपाली भाषा लेख्नु नै गल्ती थियो भनेर नेपाली भाषा र नेपालको संविधानमाथि नै लालपाते तरबार चलाइयो । विभाग गठन गर्दा ऐनमा स्पष्ट उल्लेख भएका पाँचवटा कार्यक्षेत्रमध्येमा स्वतन्त्र रहेको संस्कृति विभागमा साहित्यको लोकवार्ता विभागलाई मिसाएर ऐनमाथि नै लालपाते तरबार चलाइयो । अघिल्लो प्राज्ञ परिषद्ले अनुसन्धान कार्यहरू सम्पन्न गरी प्रकाशनका लागि तयार गरेका र प्लेट पनि बनिसकेका दर्जनौँ कृतिहरू र पत्रिकाहरूमा प्रकाशनको रोक लगाएर प्रज्ञाकर्ममाथि नै लालपाते तरबार चलाइयो । मातृभाषा दिवस (फेब्रुवरी–२१) का दिन वर्षौंदेखि हुँदै आएको मातृभाषा कविता महोत्सव गर्ने परम्परालाई तोडेर सयौँ मातृभाषी स्रष्टाहरूमाथि लालपाते तरबार चलाइयो भने अहिले आएर बडो मातृभाषा भक्ति देखाउन २०२२ सालदेखि लगातार रूपमा हुँदै आएको र सारा नेपाली कविहरूले गर्व गर्ने गरेको ‘राष्ट्रिय कविता महोत्सव’लाई ‘मातृभाषा कविता महोत्सव’ बनाएर हजारौँ नेपाली कविहरूको मर्ममाथि नै लालपाते तरबार चलाइयो । भर्खरै प्राज्ञहरूको रारा यात्रामा त देशको सर्वोच्च प्राज्ञिक निकाय नेपाल प्रज्ञा–प्रतिष्ठानलाई प्रगतिशील लेखक सङ्घको एउटा विभाग वा त्यसको सहयोगी संस्थाजस्तो बनाएर ब्यानरमा नै ‘प्रलेस–प्रज्ञा साहित्यिक यात्रा’ उल्लेख गरी प्रज्ञाको गरिमा र साझा संस्थाको महिमामाथि नै लालपाते तरबार चलाइयो । यति मात्र होइन, प्रज्ञाभित्र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएका अन्य कैयौँ प्राज्ञिक तथा प्रशासनिक कामहरूमाथि लालपाते तरबार चलाएको कुरा सुन्दा ज्ञानका पुजारीहरू मर्माहत भएका छन् ।
हामीले हाम्रो चार बर्से कार्यकालमा ३२१ वटा प्राज्ञिक अनुसन्धानका कार्यहरू सम्पन्न ग-यौँ । कोभिडको महामारी हुँदाहुँदै पनि विभिन्न स्थानमा २२७ वटा गोष्ठी, सम्मेलन तथा कार्यशालाहरू सम्पन्न ग-यौँ । अग्रजहरूले गरेका काम र गौरवशाली अतीतलाई सम्मान गर्दै भन्डै १५० वटा प्राज्ञिक तथा ऐतिहासिक महत्त्व राख्ने पुराना ग्रन्थहरूको पुनः प्रकाशन र झन्डै २५० वटा नयाँ ग्रन्थहरू गरी ३८६ वटा कृतिहरू प्रकाशन ग-यौँ । जम्मा चार वर्षको अवधिमा ३८६ वटा कृतिहरू प्रकाशन हुनु चानचुने कुरा थिएन । सोही कार्यकालमा एक लाख अट्ठाइस हजार शब्दको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशन भयो । प्रज्ञाको इतिहासमा नै पहिलोपटक शब्दकोशलाई मोबाइल एपमा ल्याउने काम भयो । कसैले कल्पनासम्म नगरेको महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण गरी सञ्चालनको थालनी गरियो । ५५०० भन्दा बढी नेपाली लेखक तथा साहित्यकारहरूको परिचय समेटिएको ‘लेखक–साहित्यकार परिचयकोश’ तयार गरियो भने लेखक तथा साहित्यकारहरूलाई परिचय–पत्र प्रदान गर्ने कार्यको थालनी गरियो । नेपालको संस्कृति, समाज, धर्म, दर्शन आदि सबै कुरा एकै ठाउँमा पाउन सकिने गरी ‘सनातन संस्कृति विश्वकोश’ तयार गरियो । नेपाली भूमिमा उत्पत्ति भएका झन्डै चार दर्जन दर्शनहरूको प्रामाणिक खोजी गरी ‘नेपाली दर्शन’ नामक बृहत् ग्रन्थ प्रकाशन गरियो । विश्वलाई नेपाल चिनाउने सामग्रीका रुपमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा ‘तस्बिरमा नेपाल’ प्रकाशन गरियो । विश्वमा नेपाललाई चिनाउने ग्रन्थको आवश्यकता बोध गरी सातै प्रदेशबाट सातवटा र अन्त्यमा एउटा सिङ्गो ग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशन गर्ने कार्यको शुभारम्भ स्वरूप मधेस प्रदेशको परिचय समेटिएको ‘मधेस दर्पण’ तयार गरियो । नेपालको प्राज्ञिक इतिहासमा नै पहिलो नेपाली लोकवार्तासँग सम्बन्धित सम्पूर्ण विषयहरू समेटिएको ‘लोकवार्ताकोश’ प्रकाशन गरियो । नेपालका सातै प्रदेश, ७७ वटै जिल्लाबाट र भारतको दार्जिलिङदेखि बर्मासम्मको नेपाली लोकजीवनलाई समेट्ने गरी लोककथाहरूको सङ्कलन गरी ‘प्रज्ञा नेपाली लोककथा’ बृहत् ग्रन्थ प्रकाशन गरियो । आजभन्दा १०६ वर्षअगाडि प्रथम विश्वयुद्धमा जर्मनी पुगेका गोर्खाली सेनाहरूले भनेका र त्यहाँको हुम्बोल्ड युनिभर्सिटीको भ्वाइस लाइब्रेरीमा आजसम्म सुरक्षित आवाजलाई टिपेर ल्याई ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ कृति प्रकाशन गरियो । प्रज्ञा प्रतिष्ठानलाई विश्वभरका नेपाली स्रष्टाहरूको साझा र अभिभावक संस्था बनाउन र जुनसुकै क्षेत्रमा रहेका नेपाली स्रष्टाहरूलाई एउटै सूत्रमा जोड्नका लागि ‘उत्तरअमेरिकी नेपाली कविता’, ‘पुनर्वासपछिका भुटानी नेपाली कविता’ र ‘भारतीय नेपाली कविता’ जस्ता बृहत् ग्रन्थहरू प्रकाशन भए भने अन्य क्षेत्रका नेपाली कविताहरू सङ्कलन कार्यको थालनी गरियो । नेपाली साहित्यको इतिहासमा नै पहिलोपटक नेपाली कविताको प्रादेशिक इतिहास लेखियो । नेपालका सात प्रदेशबाट सात जनाले र भारत–बर्मा र युरोप–अमेरिका एक एक जनाले गरी नौ जनाबाट ‘नेपाली बालसाहित्यको इतिहास’ लेखनको काम सम्पन्न गरियो । यसका साथै आधा दर्जनभन्दा बढी विभिन्न मातृभाषाका शब्दकोशहरू तयार गरिए । प्रज्ञालाई प्रविधिसँग जोड्नका लागि अनलाइन हल बुकिङ तथा अनलाइन पुस्तक खरिद गर्ने परम्पराको थालनी गरियो ।
यसरी नै नेपाली प्रज्ञा–प्रतिष्ठानलाई विभिन्न देशका समधर्मी र सहकर्मी एकेडेमीहरूसँग जोडेर काम गर्नका लागि चीन, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, इजरायललगायतका आधा दर्जन मित्रराष्ट्रका एकेडेमीहरूसँगको सांस्कृतिक सम्झौता गरियो भने अन्य आधा दर्जनभन्दा बढी मुलुकहरूसँगको सहकार्यको प्रक्रियालाई अगाडि बढाइयो । साथै सन् २०१९ अक्टोबर १५–२० मा प्रज्ञा भवनमा नै ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन–२०१९’ सम्पन्न गर्नु आफैँमा एउटा गौरवशाली उपलब्धि थियो । यसरी नै प्रतिष्ठानबाट प्रदान गर्ने विभिन्न प्रज्ञा पुरस्कारहरूलाई व्यवस्थित र पारदर्शी गर्नुका साथै केही नयाँ पुरस्कारहरूको स्थापना गरेर विश्वभर रहेका नेपाली स्रष्टाहरूलाई प्रज्ञा–प्रतिष्ठानसँग जोड्ने र उहाँहरूको अमूल्य योगदानको कदर गर्ने परम्पराको थालनी गरियो । यी र यस्तै प्रकारका ऐतिहासिक कामहरू कुनै लहडका भरमा सम्पन्न गर्न सकिँदैन, निकै फराकिलो सोच, सुव्यवस्थित योजना र अनवरत सक्रियताले मात्र यस्ता कामहरू सम्पन्न हुन सक्छन् ।
उल्लिखित उपलब्धिहरू हासिल हुनुमा कुशल नेतृत्व र निर्विवाद सहकार्य प्रमुख कारण थियो । अघिल्लो प्राज्ञ परिषद्मा गङ्गाप्रसाद उप्रेतीजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित, वैदेशिक सम्पर्क र सम्बन्ध स्थापना गर्न सक्ने, सबै पुस्ताको प्रतिभा चयन गरी काम लगाउन सक्ने, प्राज्ञिक र प्रशासनिक क्षमता भएका व्यक्तित्व कुलपतिका रूपमा रहनुभएको थियो भने नेपालको माटो, समाज र संस्कृतिका गहन अध्येता, आधिकारिक व्याख्याता, सामाजिक सद्भावका संयोजक डा. जगमान गुरुङजस्ता विश्वले मानेका विद्वान् उपकुलपतिका रूपमा रहनुभएको थियो । यसरी नै पूर्वीय तथा पाश्चात्य दर्शनका ज्ञाता, नेपाली तथा संस्कृत भाषा साहित्यका स्रष्टा तथा द्रष्टा एवम् अनुपम प्रशासनिक दक्षता भएका प्रा. जगत्प्रसाद उपाध्यायजस्ता व्यक्तित्व सदस्य सचिवका रूपमा रहनुभएको थियो भने नेपालको इतिहासका प्रामाणिक विद्वान् तथा संस्कृति र समाजका ज्ञाता प्रा. दिनेशराज पन्त, भाषाविज्ञानका आधिकारिक विद्वान् तथा मातृभाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादव, नेपाली कविता, साहित्यका विविध विधा र भाषाविज्ञानका विशिष्ट विद्वान् प्रा.डा. हेमनाथ पौडेल, विभिन्न भाषा र अनुवाद साहित्यसम्बन्धी आधिकारिक विदुषी प्रा.डा. उषा ठाकुर, नेपाली कथाकारका रूपमा अन्तर्राष्ट्रिय छवि बनाइसक्नुभएकी माया ठकुरी, सिर्जना, समालोचना र साहित्येतिहासका प्रामाणिक विद्वान् प्रा.डा. गोपीन्द्र पौडेल र नेपालको मातृभाषा साहित्यको गहन खोजी गरी प्रकाशन कार्यमा सदैव सक्रिय लक्ष्मी मालीजस्ता प्राज्ञिक व्यक्तित्वहरू प्राज्ञ परिषद्मा हुनुहुन्थ्यो । उहाँहरू सबैको योजनाबद्ध प्रयास, अनवरत सक्रियता, अथक समर्पण र विवादरहित सहकार्यले गर्दा नै उल्लिखित कामहरू सम्पन्न भएका हुन् । तुलनात्मक रूपमा उमेर र ज्ञान दुवै कुरामा कान्छो भए पनि अग्रजहरूको माया, साथ, सहयोग र सद्भावका कारण मैले आफूले पाएको जिम्मेवारीलाई जतिसक्दो उपलब्धिमा रूपान्तरण गर्ने प्रयास गरेकै हुँ । जसको फलस्वरूप चार वर्षको कार्यकालमा मेरो जिम्मेवारीमा रहेको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको संयोजनमा ४२ वटा अनुसन्धान कार्यहरू सम्पन्न भए भने १९ वटा गोष्ठी तथा सम्मेलनहरू गरिए । यसरी नै २६ वटा कृतिहरू प्रकाशनयोग्य भए, जसमा १९ वटा प्रकाशन भइसकेका छन् भने बाँकी ७ वटालाई सम्पूर्ण प्राविधिक कामहरू पूरा गरी प्लेटसमेत बनाएर प्रेससम्म पु-याइएको छ । तीमध्येमा ‘नेपाली बालसाहित्यको इतिहास’ बृहत् ग्रन्थ पनि एक हो । यदि ती प्राज्ञिक उपलब्धिमाथि लालपाते तरबार चलाइएन भने ती ऐतिहासिक महत्त्वका पुस्तकहरू पनि निकट भविष्यमा नै पाठकसामु आइपुग्ने छन् ।
यति धेरै उपलब्धिहरू हासिल हुँदा पनि हामी आफैँले कहिल्यै पनि हाम्रो कार्यकालको प्रशंसा गरेनौँ । बरु तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीद्वय प्रेमबहादुर आले र जीवनराम श्रेष्ठले हाम्रो कार्यकाललाई नेपाल प्रज्ञा–प्रतिष्ठानको इतिहासमा नै स्वर्णकाल भनेर बोलेका दस्ताबेजहरू आज पनि खोजेर हेर्न सकिन्छ । हामीले प्राज्ञिक कर्मबाहेक अरू कुरामा कहिल्यै ध्यान दिएनौँ । कोभिडको महामारीका बेलामा पनि कार्यालयमा बसेर काम ग¥यौँ । अन्य संस्थाले बोलाएका कुनै पनि कार्यक्रममा जाँदा सरकारी गाडी प्रयोग गरेनौँ र भ्रमण भत्ता पनि लिएनौँ । चार वर्षको आफ्नो कार्यकालमा प्रज्ञाको कार्यक्रममा जाँदा कहिल्यै पनि र कसैले पनि परिवारलाई लिएर गएनौँ । सयौँ संस्थासँग सहकार्य ग¥यौँ तर प्रज्ञाको शिर झुक्ने गरी कुनै कार्यक्रम गरेनौँ । प्रज्ञा नै रित्तो पारेर रमाइलो भ्रमणका लागि हामी कहिल्यै निस्किएनौँ । प्रज्ञा भवनभित्र प्राज्ञहरूले र कर्मचारीहरूले वहन गर्नुपर्ने प्राज्ञिक आचरणमा कहिल्यै प्रश्न उठ्न दिएनौँ । यदि हामीले पनि इतिहास मेटाउने प्रयास गरेको भए, अगाडिका सकारात्मक कामहरूलाई भत्काउने काम गरेको भए, अग्रजहरूलाई अपमान गरेको भए र परिवर्तनका नाममा रहरमा र लहडमा आएर अनेकौँ महत्त्वाकाङ्क्षी निर्णयहरू गर्दै अगाडि बढेका भए तत्कालीन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र हजारौँ साहित्यसेवीहरूले हाम्रो कार्यकाललाई स्वर्णकाल भनी प्रशंसा गर्नुहुने थिएन होला नि !
त्यसैले वर्तमान प्राज्ञ परिषद्ले पनि आफ्नो कार्यकाललाई स्वर्णकाल मात्र होइन, हीरककाल नै बनाओस् । हाम्रो हार्दिक शुभकामना छ तर स्वर्णलाई गोबरले पोतेपछि हीरक बन्छ भन्ने भूतसवार कसैमा पनि नहोस् । चलिआएको सुन्दर र सुदीर्घ परम्परा र निर्मित इतिहासमाथि लालपाते तरबार चलाउँदा बडो क्रान्तिकारी भइन्छ भन्ने लालबुझक्कडी मनोविज्ञानको सिर्जना नहोस् र सबैमा हेक्का रहोस्, इतिहास मेटाउने प्रयास गर्नेहरूको इतिहास पनि सदैव सुरक्षित रहँदैन । आफैँले आज गरेका निर्णयहरूले चार वर्षपछि पोलेर छटपटाउनुपर्ने अवस्था सिर्जना नहोस् । प्राज्ञिक परम्परा भत्काएर, अग्रजहरूको मन दुखाएर र कोमल मुनाहरूमाथि लालपाते तरबार चलाएर होइन, नयाँ अनि रचनात्मक काम गरेर नयाँ कीर्तिमान कायम गर्नुहोस्, पुनः हार्दिक शुभकामना !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।