नेपाली भाषा साहित्यमा चासो र चाख राख्ने, अध्ययन र अध्यापन गर्ने लगायत सर्जक, पाठक र समालोचकको लागि सुपरिचित नाम हो, साहित्यकार शङ्कर लामिछाने । अझ उनी निबन्धजगतमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका धेरै पढिने निबन्धकारका रुपमा चिनिन्छन् र गनिन्छन् ।

शंकर लामिछाने

बाल्यावस्थादेखि सङ्घर्षसँग सहयात्रा गर्दै जीवन बिताए । उनको जीवनका पर्याय बने सङ्घर्ष र अभाव । यी दुई किनारालाई साक्षी बनाउँदै बगिरह्यो लेखनको नदी अविरल गतिमा साहित्यको महासागर भेट्न । दुःख, कष्ट र अभावलाई जित्दै जीवन जिउने लामिछानेको जन्म वि.सं. १९८४ साल चैत ५ गते काठमाडौंको जैसीदेवलममा हरिप्रसाद लामिछाने र राजकुमारीका जेठा छोराका रूपमा भएको थियो । अबोध बालक लामिछाने उता बामे सर्दै थिए भने यता बाआमाको सम्बन्धमा भने दरार सुरु भइसकेको थियो जसको चेपुवामा पर्यो लामिछानेको बाल्यावस्था । परिणाम स्वरुप उनी र उनको भाइलाई काखमा बोकेर उनकी आमाले आफ्नै घरको दैलो विरानो बनाउने गरी पाइला चालिन् र लागिन् माइतीघर बनारस ।

दुर्भाग्य भन्ने कि दैवको लिला त्यहाँ पुगेको केही समयमै उनको दुधे भाइको निधन भयो । आमाले भने बनारसमा हुँदा स्कुलमा पढाएर शंकरको पालनपोषण गरिन् र हुर्काइन् । दश वर्षपछि आमाले पनि संसार छोडेपछि उनी विक्षिप्त मन र भारी मस्तिष्क बोकेर काठमाडौं फर्किए । त्रिचन्द्र क्याम्पसबाट आइएस्सीसम्मको अध्ययन गरे साथै सुरु गरे जीविका धान्न जागिरे जीवन ।

गुठी अड्डामा खरिदार पदमा सुरुको जागिर खाए । त्यसपछि उनी नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालयको अध्यक्ष भए । त्यहाँ उनको जागीर भएको केही समयपछि भारतीय राजदूतावासमा राजदूत र सांस्कृतिक सहचारी पदमा रही काम गरे । त्यस ठाउँमा काम गर्दा विचारको बेमेल भएपछि स्वाभिमानका कारणले त्यहाँबाट पनि पाइला मोड्न बाध्य भए । त्यसपछि लामिछाने घरेलु कला तथा बिक्री भण्डारमा महाप्रबन्धकमा भर्ना भए तर त्यहाँ पनि धेरै समय जागिर गरेनन् । तत्पश्चात् केही समय उनले जनसेवा सिनेमा हलमा व्यवस्थापकको रूपमा काम गरे, जो नेपालको पहिलो सिनेमा हलको रुपमा चिनिन्छ । त्यति मात्र होइन उनले होटल शङ्करदेखि शङ्कर ट्राभल्स एन्ड टुर्ससम्ममा पनि सेवा गरे । तर ती सबै ठाउँबाट एकपछि अर्को हन्डर खाँदै गए र निस्कँदै गर्दा बाहिरीको नजरमा उनी असफल सावित भए । यस्तो हुनुका आन्तरिक सङ्घर्ष र साहसका कथा भने बेग्लै थिए ।

जागिरे जीवनमा पनि उनले साहित्य साधनाकर्म छोडेनन् । साहित्यप्रतिको अनुराग र अभ्यस्तता, लेखनको अभ्यासले गर्दा उनी नेपाली साहित्यिक फाँटमा विशिष्ट साधकको रूपमा चिरपरिचित भएर चिनिए र यसरी शंकर लामिछानेको साहित्यिक यात्राको अभ्युदय भयो । उनको कर्मलाई प्रख्यातीको शिखरमा चढाउने काम निबन्ध विधाले गर्यो । अन्ततः नेपाली भाषा साहित्य जगत्का मूर्धन्य निबन्धकारका रुपमा चिनिए । यसका अतिरिक्त उनी साहित्यसर्जक, पाठक र समालोचकका माझ कवि, निबन्धकार तथा लघुकथा लेखकको रुपमा पनि परिचित छन् । गौंथलीको गुँड, ‘एब्स्ट्रयाक्ट चिन्तनः प्याज’ (२०२४), ‘गोधुली संसार’ (२०२७), ‘विम्ब प्रतिबिम्ब’ (२०२८), ‘शङ्कर लामिछाने निबन्धसङ्ग्रह’ (२०३२) उनको जीवनकालमै प्रकाशित थिए ।

पारिजातको शिरीषको फूल उपन्यासले मदन पुरस्कार प्राप्त गरेको दुई वर्षपछि २०२४ सालमै प्रकाशित लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ले मदन पुरस्कार पायो । झन् नेपाली भाषा साहित्यमा रुचि राख्ने सबैले शङ्करलाई राम्ररी चिन्ने अवसर पाए । यसो हुनुको पछाडि उनको लेखनशैली मार्फत प्रकट भएको नवीनतम् अनुभूति र अन्तर्राष्ट्रिय शैलीको छनक हो । उनले भनेका थिए, “सङ्घर्ष नै मेरो जीवन हो र साहित्य मेरो सोख हो ।” उनले कहिल्यै एकलाई अर्कोमाथि हावी हुन दिएनन् । ऐतिहासिक परिप्रेक्ष्यमा, नेपालमा साहित्य कहिल्यै पेशा रहेन । त्यसैले उनले पनि यसलाई सोखको रूपमा स्वीकार गरेका थिए । उनको साहित्यिक जीवन प्रेमपत्रबाट सुरु भएको मानिन्छ । आफ्नो लागि रुचि र अरूको लागि प्रेम पत्र लेख्दालेख्दै प्रेमपत्रबाट थालेको लेखनयात्राको गन्तव्य भने युगान्तरकारी लेखनसम्म आइपुग्यो ।

बाल्यकालले काँचुली फेरेपछि उमेरले २५ वर्ष पुग्दै गर्दा २००९ सालमा रत्ना राईसँग वैवाहिक जीवनमा प्रवेश गरेर छोरा दीप र छोरी शिखाका बाबु बने । अभावै अभावले गुज्रेको जिन्दगीको रथ मानिएकी रत्ना स्वेच्छिक रूपमा अलग्गिएपछि २०३० सालमा ४६ वर्षको उमेरमा काठमाडौंकी सुवर्ण श्रेष्ठसँग पुनः दाम्पत्य सुत्रमा बाँधिए । श्रेष्ठतर्फबाट दुई छोरा प्रकाश र प्रवाश जन्मे ।

यसरी पारिवारिक जीवनका मुना पलाउँदै जाँदा उनी बहुविवाहको झमेलामा परेका र थुप्रैसँग प्रीति गाँसेको सुन्न र पढ्न पाइन्छ । पारिजातसँगको उनको मित्रतालाई धेरैले प्रेमको संज्ञा दिन्थे तर उनले बाँचुन्जेल पारिजातलाई बहिनी भनिरहे । कतिले साहित्यजगतमा पारिजातको शिरीषको फूलको भूमिका लामिछाने र पारिजातबीचको प्रेमको सेतु थियो भने पनि यथार्थमा चिन्नेले दाजुबहिनीको स्नेह अलौकिक थियो भनेको पाइन्छ । यथार्थता के भने लामिछानेका साहित्यिक कृति जति अब्बल दर्जाका रहे तापनि व्यक्तिगत जीवनमा उनी त्यति नै अव्यस्थित र विवादित नै रहेको पाइन्छ ।

सङ्गत गुणाको फल भनिन्छ, आफ्ना भान्जादाइ गोपालप्रसाद रिमालका कारण अभिनेता र गुरु लक्ष्मीप्रसाद देवकोटाका कारण असल र सफल साहित्यकार बन्ने सौभाग्य पाए । स्वभावले लामिछाने मिलनसार र आत्मीय थिए, साहित्यकार देवकोटाका पनि । दुवैले आर्थिक रुपमा अभावको जिन्दगी बाँचे पनि साहित्यिक हिसाबले भने सुखी र सम्पन्न जीवन बिताए । मिल्ने भएर हो लामिछानेकै पारामा देवकोटा पनि विदेशी पर्यटकलाई घुमाउने पेशामा आबद्ध रहेको भन्ने पाइन्छ ।

त्यस बेला गाइडको काम गरेका लामिछानेले देवकोटालाई पनि एउटा जीविकाको काम भनेर त्यतै मोडेर देवकोटालाई आर्थिक रूपमा पनि उकास्ने प्रयत्न लामिछानेले गरेका थिए भनिन्छ । महाकवि देवकोटाको स्वभाव अबोध बालकको जस्तो, जसले जे भन्यो त्यही मानिदिने र तुरुन्तै अर्का मान्छेले भड्काए उसैका कुरा पत्याइदिन्थे भन्ने आरोप नलागेको पनि होइन । यद्यपि साधनाका क्रममा एकदिन लामिछानेले आफूले लेखेका कविता र कथा त्यसमध्येमा उनको अप्रकाशित कथा डायरीमा रहेको ‘सपनामा समावेश एक चुम्बन’ देवकोटालाई देखाउँदा– ‘रिपिटिसन अफ वर्क अन दि सेम लाइन ह्याज नो मिनिङ्’ भनेपछि उनी पृथक् बाटो पहिल्याउन लागे, जसको प्रेरणाले आज उनी नेपाली साहित्यको र नेपाली निबन्धको फाँटमा देवकोटापछि उनको नाम आउँछ । यसै गरी नेपाली हाइकुको जन्म दिएर हाइकु पिता बने । यसर्थ उनी आधुनिक हाइकु कविता लेख्ने पहिलो कवि पनि हुन् ।

शङ्कर लामिछाने ती व्यक्ति हुन्, जसको जसले जति चर्चा गरे पनि त्यो कमै हुन्छ । उनको व्यक्तित्व शब्दका सहाराले गरिने वर्णनमा समेट्न सकिन्न । उनी सदा पृथक् काम गर्न चाहन्थ, फलस्वरुप धेरै सन्दर्भमा प्रथम पनि भए । उनको विशेष अनुराग र प्रेम निबन्ध र हाइकुसँग हो । हाइकुमा अभिव्यक्त सामर्थ्यले लेखनको दम खोज्छ । परम्परागत हाइकु संरचनाका चुड्का नेपाली समाजमा विभिन्न अनुष्ठानमा मादल र खैँजडीका साथ गाउने, बजाउने र नाच्ने गरिन्थ्यो, अझै गरिँदै आएको पाइन्छ । तिनै चुड्का जस्तो देखिने विधा आधुनिक नेपाली हाइकुलाई नेपाल भित्राएर उनले ठूलो गुन मात्र लगाएनन् धेरै हाइकुको साधनामा लाग्ने स्रष्टा र साधकको प्रेरणाको स्रोत पनि बनेका छन् ।

हाइकुका सन्दर्भमा मात्र होइन, लामिछाने नेपाली वाङ्मयका विविध विधामा प्रथम बनेका छन् । उनी रेडियो नेपालका प्रथम गीतकार हुन् । नातिकाजी श्रेष्ठको सङ्गीत, हरिप्रसाद रिमालको स्वरमा गुञ्जने रचना रेडियो नेपालबाट प्रथम पटक प्रशारण भएको गीत हो । त्यस्तै लामिछाने विज्ञान कथाका ‘शैली सम्राट’ हुन् । उनको ‘माया नं. ६५३’ पहिलो विज्ञान कथा हो । यस्तै उनी भविष्यकालमा कथा लेख्ने पहिलो कथाकार हुन् । उनी भाषाशास्त्री ईश्वर बरालको आग्रहमा भविष्यकालमा लेखिएको ‘म भोलि जन्मने छु’ कथाका कथाकार हुन् । उनका कथाहरु पढ्दा र सुन्दा उनी हरेक बिषयका बिषशेज्ञ हुन् जस्तो लाग्छ । निबन्धको विषयवस्तु, भाषा र शैली पनि बेजोडको नै छ । जुन निबन्ध पढ्दा पनि मथिङ्गल हल्लेको अनुभूति हुन्छ । उनले जुन विषयलाई समातेर निबन्ध लेखेका छन् ती सबैका बारेमा गहन अध्ययन र गहिरो विश्लेषण सहितको यथार्थपरक प्रस्तुति पाइन्छ ।

शंकर लामिछानेलाई सर्वत्र चिनाउने मध्ये एक हो साहित्यिक कृतिको भूमिका लेखन कार्य । उनले साहित्य जगतमा भूमिकाका कारण विशिष्ट पहिचान बनाए । उनले पारिजातले भोगेको युग जीवनप्रति लक्षित गरेर लेखिएको शिरीषको फूल उपन्यासको भूमिका खण्डमा वि.सं. २०२२ साल मार्ग ४ गते लेखेका थिए । आधुनिक निबन्ध लेखनका सिद्धहस्त लामिछानेका निबन्ध कुनै भौगोलिक परिधिभित्र सीमित थिएनन् र छैनन् । जिन्दगीलाई एक खाडल सम्झने लामिछानेका प्रायः निबन्धमा विसङ्गत चेतना, प्रयोगशीलता, आत्मपरकता, बौद्धिकता, जीवनप्रतिको तिखो व्यङग्य र वैज्ञानिक चिन्तन प्रचुर मात्रामा पाउन सकिन्छ । यो कुरा उनका भूमिका नियाल्दा पनि आभाष मिल्छ । उनले भूमिका लेखेको शिरिषको फूल उपन्यासले २०२२ सालमा मदन पुरस्कार हात पार्यो भने ‘प्रत्येक ठाउँः प्रत्येक मान्छेले’ साझा पुरस्कार पायो ।

विश्वविद्यालयको पाठ्यक्रममा राखिएको शिरिषको फूल उपन्यासमा लेखिएको उनको भूमिकाको सदा चर्चा र परिचर्चाको विषय बन्ने गर्छ । उनले जिन्दगीभर जम्मा तीन भूमिका लेखे । एक अप्रकाशित भूमिका उनको डायरीमा थियो जसलाई एब्स्ट्रयाक्ट चिन्तनको दोस्रो संस्करणमा छापिएको छ । उनको बेजोड निबन्ध लेखनको प्रसिद्धि र कृति सगरमाथा झैँ चुलिँदा पनि साहित्यिक चोरीको छाँयाले बेलाबेला धुमिल बनाउँछ र त्यो कुरा उनले स्वीकार गरेका पनि थिए, तथापि यो विषय आलोचकहरूको नजरमा विचाराधीन छ ।

साहित्य साधकहरुका लागि प्रेरणाका स्रोत र स्वाभिमानका प्रतीक लामिछानेले १५ वर्षको उमेर पुग्दै गर्दा उमेरमै आफ्नो लेख साहित्य स्रोत पत्रिकामा छपाए । त्यहीँबाट लेखन यात्रालाई निरन्तर अगाडि बढाए । आफ्नै कर्मले बनाएको गोरेटो बाटोमा हिँड्दै गर्दा काव्य प्रतिष्ठानको सदस्य सचिव भए । त्यहाँबाट प्रकाशन हुने ‘इन्द्रेनी’को सम्पादक बन्ने अवसर पाए । लेखक, सम्पादक, कथाकार र गीतकार जस्ता विविध विधामा क्रियाशील लामिछानेलाई नेपाली निबन्धमा चेतनप्रवाह शैलीका स्रष्टाका रूपमा लिइन्छ ।

लामिछानेका प्रयोगशील निबन्धहरुमा बौद्धिकताको प्रखर चेत पाइन्छ । उनले निबन्ध लेखनीमा शब्द, शैली र प्रस्तुतिमा नवीनता ल्याए, विषयवस्तुलाई घनत्व दिएर कृति निर्माण गरे र अन्तमा परिचय बनाए, निबन्धशिरोमणि । वास्तवमा यही कलात्मक र निजात्मक शैलीको लेखनले गर्दा मूर्धन्य साहित्यकारको रूपमा प्रसिद्धी कमाए । उनले निबन्धलाई शैलीमा नवीनता, आयाममा सघनता र परिवेशमा पृथकता दिए । त्यसैले उनी नेपाली साहित्य जगतमा सर्वत्र स्थापित भए ।

लामिछानेले आफूले पनि लेखे अरूलाई पनि लेख्न प्रेरणा दिइरहे । उनको लेखन कार्यमा मन, मस्तिष्क र वचनको त्रिवेणी पाइन्छ । यो उनको लेखन सीपको अलौकिकता नै थियो । उनको लेखन बौद्धिक गिदीहरूको आहार बन्थ्याे, अन्ततोगत्वा छिटोछिटो लोकप्रिय हुँदै गए । त्यो मात्र होइन, उनको सङ्गठनात्मक शैली लोभ लाग्दो थियो ।

महाकवि देवकोटाकै आग्रहमा उनी काव्य प्रतिष्ठानको सदस्य सचिव भएर इन्द्रेणीको पनि सम्पादक भए । हाम्रो साहित्य नामक बाल पाठ्यसामग्रीको आठ भागको सम्पादन गरेका थिए । उनी नेपाली साहित्य क्षेत्रका सङ्गठन, सम्पादन र सृजनामा बराबरी समर्पित सर्जक थिए । अझ रमाइलो कुरा के भने उनी हाकाहाकी “मैले कृति नक्कल गरेको हो” भनेर सार्वजनिक रूपमा उद्घोष गर्न सक्ने हिम्मत र आँट भएका निर्भिक व्यक्ति थिए । यस्तै, कवि भूपी शेरचन, भीमदर्शन रोक्का र तारानाथ शर्मालाई अति निकट ठान्ने लामिछानेले आफूलाई कहिल्यै लेखक ठानेनन् ।

आफू पनि साधनामा लाग्ने र अरुलाई पनि प्रेरणा जगाउने उनको ताहाचलको डेरामा हरेक हप्ता उनका घनिष्ठ मित्र भूपी शेरचन र तारानाथ शर्माको जमघटमै नयाँ रचना सुनाउने दिनचर्याको उपज भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ तयार बनेको विभिन्न अध्ययनमा फेला पार्न सकिन्छ । यस्तै, आफू ठट्टामा लेखक बनेको जिकीर गरेर जीवन बिताए । आफूलाई छिटो जन्मेकोमा गुनासो गरिरहने उनले बारम्बार दोहोर्याउने वाक्य थियो, ‘म हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ’ । उनलाई असल लागेका सन्दर्भको प्रभावपरक शैली अपनाउँदा लेखनशैलीमा रहेको प्रभावपरक प्रस्तुतिलाई लिएर चोर भनियो । ‘माइकल कर्वी’ को लेखमा आधारित ‘आभा गार्देको सौन्दर्यशास्त्र’ लेख उपर कुमुदिनीका नामले चिनिएका रुपरेखा पत्रिकाका सम्पादक र पाठकले उनलाई अर्काको लेखबाट प्रभावित भएर लेखेको भनेर तगारो तेर्स्याए ।

त्यसपछि उनले चोरेको आरोप प्रष्ट रुपमा किटान गरेर लगाएको आरोपको प्रतिक्रियामा भनेका छन्, “तपाईंले एउटा मात्र पत्ता लगाउनु भयो, बाँच्नका निमित्त मैले त त्यस्ता पाँच छ ओटा बदमासी गरेको छु ।” यो उनको निर्भिकता हो । “तपाईंले पिकासोको जीवन हेर्नुभयो भने पनि त्यस्तो अवस्था थाहा पाउनु हुनेछ । बाँच्नु जस्तो ठूलो कुरा जीवनमा अरू रहेनछ । मैले कसैलाई मारिनँ, त्यो मेरो भाग्य हो । म सायद साहित्यिक क्षेत्रबाट सन्यास लिँदैछु र अब म लेख्ने पनि छैन होला । मैले लेखिहाँले भने पनि त्यस बेला तपाईंलाई सिकायत गर्ने कुनै मौका पनि दिने छैन होला, त्यसै सुअवसरको प्रतीक्षा ‘रूपरेखा’को यही पानामा नै गर्नुहोला । कुमुदिनी बहिनी, नेपाली साहित्यलाई तपाईंजस्तो पाठकको जागरूकताको आवश्यकता छ, यो भएन भने मजस्तो मान्छेले बीच–बीचमा बदमासी गर्ने सम्भावना हुन्छ । तपाईं जस्तो बहिनीको तिलक लगाएर मात्रै हामी सङ्ग्राहममा उभिन सक्छौ धन्यवाद ।”

जसले गर्दा २०२९ भाद्रमै लामिछानेको लेखनलाई धमिलो बनायो । अपसोच कुमुदिनी को हुन् ? भनेर लामिछानेले चिन्न नपाउँदै उनको साहित्य लेखन र भौतिक शरीरको अवसान भयो । लामो समयपछि कुमुदिनी नामधारी पुरुष लेखक भएको पत्ता लाग्यो ।

===

अन्त्यमा,

पछिल्लो समय साहित्य र कलाका क्षेत्रमा होस् अथवा अन्य यस्ता प्लेजरिजमका घटना प्राय भेटिन्छन् तर साहित्यिक चोरीको आरोप लाग्दा सहर्ष स्वीकार्ने र आफ्नो स्वाभिमानले त्यो गर्न हुँदैनथ्यो भनेर कहिल्यै लेखनमा नफर्कने लामिछाने नेपाली साहित्यका पहिलो इमान्दार व्यक्ति भने पक्कै हुन् । यो अहिलेको पुस्ताको लागि पनि सिकाइको विषय हो । यस्ता महान् व्यक्तित्वको मेनेन्जाइटिजका कारण २०३२ माघ १० गतेका दिन निधन हुन पुग्यो । आज उनको भौतिक शरीर हाम्रा माझ नभए पनि उनले रचना गरेका अमूल्य साहित्यिक रत्नहरुले नेपाली भाषा र साहित्यको जगत् सधै चम्किरहनेछ ।

उनको निधनपश्चात् ‘गौँथलीको गुँड कथासङ्ग्रह’, ‘शङ्कर लामिछाने आत्मकथा’ र ‘शङ्कर लामिछानेका निबन्ध’ प्रकाशित भएका छन् । उनको कर्मको सम्मान र श्रद्धास्वरुप उनका नाममा शंकर लामिछाने प्रतिष्ठान स्थापना भएर विविध कार्य हुँदै आइरहेका छन् । पछिल्लो समय लामिछानेका समग्र कृति एकीकृत गरेर प्रकाशन गरिएको छ जुन कार्य निकै प्रशंसनीय र गौरव गर्न लायक छ । यसरी अनवरत साहित्य क्षेत्रमा योगदान दिएका निबन्धकार शिरोमणि, हाइकुपिता लामिछानको अथाह सम्झना र ९६ औं जन्मजयन्तीको सम्पूर्णलाई हार्दिक शुभकामना र उनीप्रति हार्दिक श्रद्धासुमन !

===

सन्दर्भ सामाग्री

असफल गौतम, शङ्कर लामिछाने व्यक्ति एकः व्यक्तित्व अनेक, २०७६ सन्दर्भः ९३ औं जन्मजयन्ती

विकिपीडिया