विमोचन थियो सरिता अर्यालको कथा ‘पुरुष’को ।

मञ्चमा आठ जना महिला थिए । तिनका बीचमा म थिएँ । सजिलै उम्किएँ ।

सोचेको थिएँ— त्यसै दिन वा भोलिपल्टसम्ममा कुनै न कुनै समानताका मसिहाले फेसबुकमा लेख्लान्— ‘के हो यो पोथीवाद? यसो गर्न मिल्छ?’

तर कसैले लेखेन । चुँ पो बेलोन त कोही !

पुरुषैपुरुष भएको मञ्च देखेका भए कसो गर्थे, भन्नु नपर्ला ! त्यसो भएको भए म आफैँ लेख्थेँ । साथीहरूले पनि लेख्थे नै । ‘लेखक’ जो हौँ हामी सबै ।
महिलाले नै पो लेखे कि कतै भनेर यसो सुराकी गरेँ । कसैले लेखिदिएनन् । हाय राम ! दुःखीको कोही नहुने रहेछ, भगमान् !

सायद दुर्लभ थियो त्यो क्षण । र, नै रमाइलो देखियो !

अँ, त्यो रमाइलो देखियो । ८ पुरुष र १ महिला भएका भए चैँ ‘समान्य’ देखिन्थ्यो सायद । रमाइलो देखिनु र सामान्य देखिनुमा केही त फरक छ । ‘रमाइलो’ मा उठेका प्रश्न आप से आप दब्छन् र मान्छेले मुख ‘आँ’ गर्छ, रोमाञ्चित भएर । ‘सामान्य’मा प्रश्नै उठ्दैनन् । उठ्नुपर्छ जस्तो नै लाग्दैन ।

माथिको विमोचनको घटनामा चुकचुक भइरह्यो । ‘भाइरल’ हुने एउटा मौका गुम्यो । र, ‘कठैबरी बिचरा’ भनेर सहानुभूति जित्ने मौका पनि गुम्यो । बेइमान पुरुष साथीहरू ! ‘वाद’ बनाउनै नसक्ने, नचाहने ! मौका गुमाउने ! अफ्ठ्यारोमा परेका साथीका बारेमा चुँ नबोल्ने !

बेइमान महिला साथीहरू ! अस्ति कुन चैँ हो पार्टीको केन्द्रीय समितिको सूची आउँदा ‘भालेवाद’ भनेर कराए । ठिमीसम्मै थर्केको । यसपाला चुँ ! कित्ता र एजेन्डाअनुसार बोल्ने । सिद्धान्तशास्त्री कि मिसिनरी ??

मलाई पनि पार्टीको त्यो सूची मन परेको थिएन । सूची हेर्दा, माथिदेखि पुछारसम्मै भाले नै भाले । मैले पनि कराएँ, बलसक्दो— ‘भालेवाद !!’ सबै कराउँदा म चैँ के कम ? कराउनै नाथु त सक्नु नि, गाँठे !

के बुझेको छु भने, सिद्धान्त र तर्क एकातिर । मान्छेले मौका पाउँदा आफू अनुकूल जेजे छ, त्यही त्यही गर्दो रहेछ । आफू अनुकूल भएन भने चैँ सिद्धान्त र आदर्श तान्दोरहेछ । कति दुःखद् !

सर्वसमावेशी भनेरै यहाँसम्म आएका राजनीतिक पार्टीमा पनि यस्तै देखियो । दुःखद् !

हाम्रातिर धेरैजसो अनुसन्धान, र धेरैजसो सामाजिक आन्दोलन बाटैमा दुर्घटित हुन्छन् । मुकामसम्म पुग्दै पुग्दैनन् । पुगिहाले भने पनि आराले फेद चिरेर यसो गमले टाँसेर उभ्याइको रुखजस्तो । माथि आकाशमा बादल उड्दा पनि रुख ढल्यो ढल्यो, ढल्यो ढल्यो, ढलि पो गयो कि…जस्तो लाग्ने । अझ बतासै चल्यो भने त हार्ट अटेक !

कुन कुरा ‘स्वाभाविक’? कुन ‘अस्वाभाविक’? दिमागले ‘नेचुरलाइज’ गरेको छ कतिपय कुरा । निकै खर्च गरेर अङ्ग्रेजी पढेको अलिकति ध्वाँस लाइयो है यहाँनिर ! 😛

यानि, ‘सामान्यीकरण’ गरेको छ भनौँ न !

त्यो सामान्यीकरणको प्रक्रियामा बहस गर्नु हुन्छ कि हुँदैन?

हैट्, यो सामान्यीकरण भनेको आफैँ पनि बुझिनँ । बहसको कुरै भएन ।

बहसका लागि मज्जाको विषय छँदैछ — ‘भालेवाद’ । अँ, ‘पोथीवाद’ चैँ शब्द पनि बनेको छैन सायद । नबनेकै रामो । कतिपल्ट शब्दकोश सच्याओस् एकेडेमीले पनि !

त्यसको सट्टा ‘नारीवाद’ छ । यत्र–तत्र–सर्वत्र ।

भालेवाद पनि छँदैछ । मजा आउँछ भालेवादको कुरा गर्दा । व्यहारमै उतार्दा चैँ लास्टै बोर हुन्छ भालेवाद । गलत कुरो हो ।

सलामण्डर भन्ने एउटा जन्तु हुँदोरहेछ । अलि ठूलो खाले छेपारो भनौँ न ! गुगल गरौँ । ‘अमेरिकन सलामण्डर’ लेख्यो भने झनै प्रस्ट ।

कुरा के रहेछ भने, पोथी गर्भवती भएपछि आफूलाई गर्भाधान गराउने भालेलाई खाइदिने । यानि, ‘अब तेरो के काम?’ भन्दिने रहेछ ।

सलामण्डरप्रति हार्दिक श्रद्धाञ्जली ! त्यो निर्दोष म-यो । मृतक फरार । पुलिस सेन्टिफ्ल्याट ।

कमल रिजालको ‘सुकर्म’ उपन्यासमा एउटा प्रसङ्ग आउँछ— हराएको साथी खोज्न हिँडेको सुभद्र त्यस्तै एउटा गाउँमा पुग्छ, जहाँ एउटी डरलाग्दी एकल महिला बस्छिन् । बिहे गरिरहन्छिन् । जसबाट गर्भवती भयो, त्यसैलाई मारिदिन्छिन् । त्यसैले ‘एकल’ !

गाउँ नै थुर्थुर । कोही छेउ नै नपर्ने । बिहे गराउलान् भनेर चम्पट !

कमल रिजाल आफू पुरुष भएकै कारण यस्ती महिलाको कल्पना गरेका हुन् कि?

अँ, यसो भन्दा सजिलो हुन्छ व्याख्या गर्न । यसो नभन्दा फेरि व्याख्या कता पुग्छ कता !

त्यो सलामण्डर बनाउने प्रकृति पनि पुरुष परेछ कि ! ‘हे प्रकृति माता’ भन्दै आइएको हो आजसम्म । अब आएर ‘हे प्रकृति पिता’ भन्नुपर्ने भयो । छन्द मिल्ला के त?

नारीवादका ठेली राखेको छु टेबलमा । दिलमा । सम्झन्छु विविध प्रसङ्ग ।

गाडीमा यात्रारत थियौँ । एकजना साथीले खुसुक्क सोधे, ‘सर, कुनै औषधि हुँदैन?’

‘केको औषधि?’, अलि चर्कै स्वारमा सोधेँ ।

भन्न सकेनन् । लजाए । फेरि सोधेँ । अहँ, पटक्कै भनेनन् ।

बरू केही महिनापछि सुनेँ— डिभोर्स पो भएछ तिनको त !

केहीबेर समय बिताउन पनि औषधि चाहिने उनको रोग रहेछ । कि औषधि भेटिएन, कि भेटेको औषधिले काम गरेन ।

परिणाम आयो — डिभोर्स ।

यो चैँ कुन वाद हो, बुझिएन । डिभोर्सको प्रस्ताव उनले राखे कि अर्कोपट्टिबाट राखियो, बुझिएन । सारमा कुरै बुझिएन । सोधिएन पनि । सोध्नुपर्थ्यो, लजाइयो ।

तर केही त बुझियो । कतिपय अदृश्य अथवा अवर्णनीय कारणहरूले पनि सम्बन्ध बिगार्छन् । सम्बन्ध बिग्रनुमा तथाकथित दमन, हैकम, विभेद, भालेवाद, पोथीवाद मात्रै कारक छैनन् ।

कारक अनेक छन् । भन्न पो मिल्दैन !

साहित्यलाई एजेन्डाका हिसाबले पढियो भने, त्यसै हिसाबले भेटिन्छ कुरो । तर साहित्यलाई समग्रतामा पढियो भने, लैङ्गिकताको समग्रता नै उभिन्छ, हिमालय पर्वतजस्तो प्रस्ट बनेर । यानि, विषय जति जटिल र विविध छ, त्यति नै जटिल र विविध बनेर उभिन्छ त्यस कुराको साहित्यिक चित्रण ।

कथ्य–लेख्य साहित्यलाई साक्षी राखेर हेरौँ न ।

भक्तपुरकी मायाजू मैयाको कथा सम्झौँ । कस्ती भने, बिहे गरेर कसैले उनीसँग एक रात बितायो कि ऊ म-यो । नाकका पोराबाट सर्प निस्कने, डस्ने । नियति नै त्यस्तो ! कसले ग-यो कथामा यस्ती मायाजुको कल्पना? पढौँ न अभि सुवेदीको नाटक ‘चिरिएका साँझहरू’ । को पीडक, को पीडित? भालेवाद कि पोथीवाद कि, कथा कि, समाज? हैट, कता जिली, कता गाँठी ।

ग्रिसेली मिथककी पात्र मेडुसाको कल्पनै कस्तो भयानक गरियो भने उसले जसलाई देख्यो, त्यो मान्छे पत्थर भइजाने ! मायाजूको जस्तोजस्तो भएन त, कुरो?
अलिकति लचिलो हुनुपर्ने होइन र कथा बनाउने आदि–कथाकार, यानि समाज? ढुङ्गै भइजानु त, अति भएन र?

कतिपय कथामा चैँ ‘पत्थर बन्नू’ भनेपछि बन्ने रे ! त्यसका लागि पनि कारण चाहिने । केही कैफियत नदेखिएको भए गौतमले पत्थर बन् भन्दैमा अहिल्या पत्थर बन्दी हुन् त?

हुन त यसमा गौतमले बेमान गरेका हुन् । उनलाई ‘गुड’ भन्ने कुरो आउँदैन । तर पनि, सही होस् वा गलत, एउटा आधार त उनले भेट्टाएका थिए, यद्यपि, उक्त कारणमा अहिल्या निर्दोष र जाली, छली, कपटी, तिर्ताल ‘इन्द्रे’ नै दोषी हुन् ।

अन्य कतिपय कथामा चैँ देखिसक्दा बन्ने रे ! कारण पनि नचाहिने । आँखाअगाडि प-यो कि शालिग्राम !

मायाजूको पनि कुरो यस्तै यस्तै ।

यो अति हो । यसको आलङ्कारिक अर्थ चैँ के होला?

गोर्गोन दिदी बहिनीमध्येकी एक— मेडुसा । जटा लामा लामा, सर्पैसर्पले बनेका । उनले जसलाई हे-यो, उही पत्थर ।

इस्तानबुलमा छ अरे, एउटा पर्यटनस्थल । छ अरे ठूलो पोखरी । पोखरीको पिँधमा छ अरे मेडुसाको मूर्ति ! हैट्, आङ कँपाउँछ रे ! किताबका पानामा पढेको, साँच्चै देख्दा पनि मुटु कँपाउने काम करिब करिब तीन हजार वर्षदेखि भइरहेको छ । यो कस्तो आतङ्कवाद हो, बाबै !

नत्र, सागर गैरेलाई सोध्नू । इस्तानबुल गएर फर्कनेलाई सोध्न पाइन्छ । पढ्नू, उनको पुस्तक ‘बलैगाउँदेखि बाकुसम्म’ । उनले ‘उभिण्डो परेकी मेडुसा’ देखेरै आएका रे !

मेडुसा त्यस्ती कसरी भइन्? कारण चैँ फेरि पनि पुरुषै रहेछ । कथा यस्तो रहेछ, सागर गैरेकै शब्दमा—

‘ग्रिक धर्मअनुसार मेडुसा राक्षस गणमा जन्मिएकी अति सुन्दर युवती थिइन् । उनको सुन्दरताबाट समुद्रका देवता पोसिडियन आकृष्ट भएर उनलाई एथेन्सको एउटा मन्दिरमा सम्भोग गरी गर्भवती बनाउँदा देवी एथेना आक्रोशित भई मेडुसको सुन्दर कपाललाई सर्पहरूको लहरामा र उनको सुन्दर अनुहारलाई डरलाग्दो कुरूप आकृतिमा परिणत गरिदिइन् । तत्पश्चात मेडुसाको आँखा जुन व्यक्तिमा पर्थ्यो, त्यो व्यक्ति पत्थरमा परिणत हुने विश्वास गरिन्थ्यो रे !’

कारक पुरुष रहेछ । तर, डरलाग्दो बनाउने चैँ महिला नै अरे !

के वाद भयो यो? भालेवाद कि पोथीवाद?

यो भयो बर्वाद ! दिमाग खराब ।

अन्य मिथकीय पात्र हेर्छु । ग्रेन्डेललाई बिवुल्फले मा-यो भनेर रिसाएर तिनलाई खान आएकी रे उसकी आमा ! हे प्रभू, डरले मुटु जमेर शालिग्राम नै पो हुन्छ कि क्या हो?

शेक्सपियरले कल्पना गरे— कालिबानको राज्यकी मालिकनी साइकोरेक्स । उनको रूपको कल्पना गरौँ त एकछिन् । राति नगरौँ, दिउँसै गरौँ । नत्र, उठिँदैन सुतेको ठाउँबाट । उनलाई मार्न टुनामुना प्रयोग गरे ।

अब फेरि पुरुष लेखकले लेखेको साहित्य हेर्छु विश्वभरि नै ।

पुरुषको कलममा धेरै महिला सुन्दर, अति नै सुन्दर देखिए । त्यो कुन ठूलो कुरो भयो त? त्यसलाई पनि ‘नेचुरलाइज’ गरिएको छ । यो प्रक्रिया आफैँमा समस्याको सबैभन्दा ठूलो जड हो लैङ्गिक विमर्शमा ।

कारण के भने, जो पुरुषले बनाएको सुन्दरताको कसीमा उभिन सकेनन्, ती नायिकै भएनन् । ती हिडिम्बा भए, सुर्पणखा भए । हेलेन भएनन् । डेस्डिमोना भएनन् । उर्वशी वा रम्भा भएनन् । सावित्री वा दमयन्ती पनि भएनन् ।

यानि कुनै भाउ पाएनन् । पाइहाले भने पनि खलपात्रको पाए ।

ग्रिसेली मिथकीय पात्र सर्सीको कुरा गरौँ । देवकोटाकै ‘मायाविनी सर्सी’ मा पढे पनि हुन्छ । घामकै रूप ‘हेलियस’की छोरी रे, हुनलाई । तर कस्ती भने, जडीबुटीले हो कि जादुटुनाले हो, मान्छेलाई ब्वाँसा, सिंह वा सुँगुर बनाइदिने । एकलासको टापुमा बस्ने । कुनै बेला घुम्दै महायोद्धा ओडिसियस त्यहाँ पुगेछन् । तिनलाई सुँगुर बनाइदिइन् रे ! तर ओडिसियस पनि के कम? उनीसँग पनि रहेछ अर्को जौडे औषधि । त्यसको प्रयोगले सुँगेर फेरि मान्छे । खेल नि !
कुरो लिङ्गमा छ कि लिङ्गधारीले प्रयोग गर्ने मूर्त–अमूर्त अस्त्रमा छ? त्यस अस्त्रलाई चलाउने सोचलाई केले निर्माण गर्छ? त्यो कहिले उल्टो, कहिले सुल्टो किन घुम्छ?

तर यस्ता विविध पात्र त बनाइएका छन् नि मिथकैभरि । यी मिथक चैँ पुरुषले बनाए कि महिलाले?

पुरुषले बनाए । उसो भए, टाइरेयिसजस्ता दुःखी आत्मा चैँ किन बनाए? किन बनाए ययाति, जसलाई जीवनको मध्यान्तरमै रात प-यो र बूढा भए?

महिलाले बनाए । उसो भए कसरी बनाए त डायन वा डाकिनीको कुरोकन्थो? कल्पनै नगरेको भए हुने नि ! ‘स्टक रेस्पोन्स’ भन्छन् अङ्ग्रेजीमा, त्यो यस्तो छ— ‘हे अगस्त्य मुनि ! पुरुषवाद्ले हातगोडा बाँधेको समाजमा महिलाले नै सोचे पनि पुरुषकै भाषामा सोचे । बाध्य थिए । त्यसैले नै यस्ता नाना थरीका कल्पना पनि पुरुषकै निर्देशन र धम्कीमा भएका हुन् ।’

महिला र पुरुष दुवै मिसिएको समाजले बनायो । लोकले बनायो । लोकले पुरुष भएर वा महिला भएर सोच्दैन । उसले समग्रतामा सोच्छ । त्यस समग्रतामा, जमिनमा जे छ, त्यो लेखिन्छ, भनिन्छ, बनाइन्छ । कपोलकल्पित कुरा हुँदैनन् ।

‘क्या बात् !’ भन्दा हुन्छ यहाँनेर, महिलाले पनि, पुरुषले पनि । तर भने पो !

यहाँनेर कसैले एउटा नयाँ सिद्धान्त निर्माण गरे पनि हुन्थ्यो । सक्थेँ भने, म नै बनाउँथेँ तर सक्दिनँ । बारी खनेको छ, मकै छर्नु छ । लौका–काँक्रा रोप्नु छ । बीउ ल्याइसकिन् रमाले अस्ति नै ठिमीबाट । (अँ, बारी खन्ने हामी — किसन र म । बीउ ल्याउने रमा । आआफ्नो क्षमता र अनुभवले यसो गरेका हौँ ।)
नयाँ बहाना खोज्नु छ ।

हो, रिसर्च गर्न भ्याइँदैन । त्यसैले जिउमा जे छ, त्यसैको निर्देशनमा समाजको व्याख्या गर्दियो, सकियो ।

त्यहीँ अड्किएको छ लैङ्गिकताको डिसकोर्स — भालेवाद, पोथीवाद, उभयवाद, सबैसबै ।

समस्या ।

हेर्नुस् न, समस्याको डोरी कहाँबाट, कहिलेबाट बुनिँदै आएको छ संसारमा !

पुरुषकै कलममा जन्मेका अलि फरक नारी चरित्र पनि यसो हेर्छु ।

— इब्सेनकी नोरा । हैट्, पुतली बन्नुभन्दा घरै छोडेर हिँड्छु भन्ने आँट ।

— बीपीकी इन्द्रमाया । हैट्, विद्रोहको एउटा चुली, आफैँसँग पनि, र सम्बन्धहरूसँग पनि ।

— बर्नार्ड शकी क्योन्डिडा सम्झन्छु । हैट, महिलाहरूले बलियो, धनी, ज्ञानी र राम्रो पुरुष खोज्दैन भन्दै गर्दा उनी कमजोर मोरेलको पक्षमा उभिन्छिन् र बलियो–राम्रो मार्चबेङ्क्सलाई बिदा दिन्छिन् । सम्भवतः शको यो नै श्रेष्ठतम रचना हो । मेरो विचार ।

— फ्लौबर्टकी म्याडम बोभरी हेरौँ न ! चार्ल्स भने अति विश्वास गरिरहने, उनका लागि मरिरहने । जति चाहियो खर्च जुटाइरहने । उनी भने एकपछि अर्को प्रेमी बनाउँदै जाने, पैसा उडाउँदै जाने, बिरामी हुने, खर्च बढाउने, बूढो छोडेर अरूसँग जाने, ऋणमा डुब्ने र भएको सम्पत्ति डुबाउने । हैट्, कतिसम्म क्या !

पुरुषले पुरुषैलाई चैँ कस्तोकस्तो देखाएर लछारपाटो लायो त?

पुरुषको कलमले देखाएको हिंस्रक पुरुष — म्याकबेथ । ओथेलो । अरू कति हो कति !

पुरुष कलमले देखाएको निरीह पुरुष — केन्जाबुरो ओएको ‘ए पर्सनल म्याटर’ प्रमुख पात्र ‘बर्ड’ । पढौँ न, नोबेल विजेता पो हुन् त ! (ए, नोबेल पाइसक्दा हामीले पढ्दिनुपर्ने? बात करता है !) अथवा पढौँ चिनुवा अचेबेको ‘थिङ्ग्स फल आपर्ट’ । नोबेल पाएनन्, तर कुनै पनि अफ्रिकाली लेखकले लेखेको यो भन्दा लोकप्रिय अर्को पुस्तक छैन । रहेछ भने म कानै….

कानको त के नै दोष छ र, प्रभु? काट्दिनँ ।

तिनको मूल पात्र ओकोन्को अलि स्वेच्छाचारी छ । अलि दमनकारी छ । उनका पत्नीहरू निकै दमित छन् । ‘पत्नीहरू’ भनेँ है, बहुवचनमा ।

तर त्यो निरीह पात्र केटो — इकिमेफुना । बिचरा त्यसलाई काटेर बलि दिनकै लागि पालिएको छ ।

इकिमेफुनाको न्यायका लागि वा अधिकारका लागि कसैले बोलेको सुनिएन । न भालेवाद, न पोथीवाद । यो चुपचापवाद चैँ किन होला?

एउटा रेडिमेड उत्तर चैँ छ मसँग— पुरुषवादकै उपज हुन् नि त चिनुवा अचेवे ।

फेरि पनि, उनकै कलमले, उनकै लिङ्गको इकिमिफुनालाई काखमा राखी राखी काट्ने? रगत बगाउने? देउतालाई चढाउने?

कस्ता देउता?

अजापुत्रो बलिम् दध्यात दैवो दुर्बल घातक ।

दक्षिणकाली, भद्रकाली, सिद्धकाली, पलाञ्चोक भगवाती, मनकामना माई…थप्दै जाऔँ ।

सधैँ भाले जातकै बदि खाने देवीको जय होस् । भाक्दै जाऔँ ।

यस्ता देवीको कल्पना चैँ सायद पुरुषको हो ।

‘देवीका मन्दिरमा न भाले न पोथी, कसैको पनि बलि नचढाऔँ, लाज भयो,’ भनेर लेखेको नारीवादी वा पुरुषवादी समालोचना पढ्न पाइएन । पढ्न पाए हुन्थ्यो । के चैँ पढियो भने— बलिप्रथा बन्द गरौँ । निरीह जनावर नमारौँ धर्मका नाममा । क्या बात् !

र, प्रश्न— बलिको प्रथामा भाले जातको बलि, यो कसरी भयो? कसले र किन बनायो? भाले मार्दा मजा त आयो होला कसैकसैलाई । तर सोचौँ न एकछिन् ।

पुरुष लेखक नेथेनियल हाउथ्रोनले ‘द बर्थमार्क’ शीर्षकको कथामा कसैले बिर्सन नसक्ने एउटा पुरुष पात्र बनाए । उसकी श्रीमती अति सुन्दर, तर गालामा जन्मैदेखिको एउटा सानो दाग । भगवान्ले पनि सानो गल्ती गरेको भन्दै अलि पछि आफैँ सर्जरी गरिदिए । गालो सखाप, सुन्दरताको नाश । श्रीमतीको मृत्यु ।

हार्दिक श्रद्धाञ्जली ।

महिलाले कल्पना गरेका पुरुष पात्रहरूको सूची बनाउँछु, सम्झेजति ।

प्रख्यात उपन्यास ‘फ्रेङ्केस्टाइन’मा मेरी सेलीले कस्तो बनाइन् डा. भिक्टलाई? कुशाग्र, तर ज्यादै घमण्डी । गैरजिम्मेवार । भगवान् भन्दा पनि ठूलो भन्ठान्ने…।

फेरि ‘जेन आयर’ सम्झन्छु । कति प्यारो क्या? कति प्यारो बनाएको? अहिल्यै लभ गरौँ, बिहे गरिहालौँजस्तो ।

‘प्राइड एण्ड प्रिजुडिस’ को फिजविलिम डार्सी । क्या छ नि, चित्रण । सुरूमा अलि ठिस ठिस देखाइएको छ । तर, लास्टमा? हैट्, उही हुन्छ नायक ! दिल खुश । महिलाले बनाएको पात्र ।

यसो गरौँ । अरू कुरा छोडौँ । जे के रोलिङको ह्यारी पोर्टरलाई हेरौँ न एकछिन् । त्यो तहको कल्पना, एक पुरुष पात्रको । महिलाले गरेको ।

बुझेर बुझिनसक्नुको देखिन्छ । जेरीमा गुलियो कसरी पस्यो – बरू युट्युब हेर्दा अचेल प्रस्टै बुझिन थालेको छ । युट्युबमै त हेर्छन् सबै ।

कुरो के देखिन्छ भने, हामीसँग सायद तीनवटा व्यक्तित्व छन् ।

एउटा व्यक्तित्वले आदर्शको कल्पना गर्छ, र त्यस कल्पनामा हामी हृदय लेख्छौँ । महिला वा पुरुष हुनुको ‘प्राकृतिक’ स्वभाव, चाहना वा रुझान् यसका कारण हुन् ।

अर्को व्यक्तित्व यथार्थको पनि भन्दिनँ म, तर भन्छु पूर्वाग्रहले निर्माण गरेको । आन्दोलन छ, आन्दोलनका सदस्य छौँ । लेख्न मन छ, अरू विषय आउँदैनन् । रेडिमेड विषय दिन्छ आन्दोलनले । सदस्यताको कुरा छ । अनि, मैले तोरी सुकाउँछु भनेको दिन आकाशमा बादल लाइदियो पितृसत्ताले । हावाडाँडामा पहिरो गएर फिलुङ्गे सोत्तर बनायो नारीवादले । यस्तै यस्तै ।

अर्को एउटा व्यक्तित्व पनि छ अथवा हुनुपर्छ हामीभित्र । जसको निचोड यस्तो हुनसक्छ— जेन्डर भनेको प्रकृतिले आफ्नै प्रयोजनका लागि टाँसेको कुरा हो । हामी के हौँ, कति क्षमतावान् हौँ वा होइनौँ— हाम्रो सोच वा आचरणले बताउने छ । जेन्डरले होइन ।

प्रतियोगिताहरू सम्झन्छु ।

अस्ति गएको थिएँ ग्लोबल कलेजमा । कविता प्रतियोगिता थियो । निर्णायकमा म थिएँ । प्रथम, द्वितीय, तृतीय — सबै छोरीहरू । कसैले छिरिक्क केही भनेन । प्रतिस्पर्धा लिङ्गको थिएन । प्रतिभाको थियो । छोरीले बाजी मारे । दिल खुश ।

प्रतिभाको प्रतियोगितामा ‘कोटा’ को कुरो आउँछ भने म जान्नँ । नबोलाउँदा हुन्छ ।

कसैले फेसबुकमा कोकोहोलो मच्चाएन त्यो नजिता आएको भोलिपल्ट । देखेनन् कि क्या हो?

अरूले केके थाहा पाए कुन्नि, मैले दिशा गुमाउँदै गएको हाम्रो पुरुषवाद र नारीवादको अलमल सम्झिएँ ।

भनौँ— हाम्रो नारीवाद र पुरुषवादको जग नै फगत आवेग भएको छ । गरिनुपर्ने तर्क गरिएका छैनन् । आक्रोश र भँडासलाई केन्द्रीयता दिइएको छ ।

यसरी कतै पुगिँदैन ।

पुगेका पनि छैनन् यी दुवै आन्दोलनहरू ।

आन्दोलनको अन्तर्राष्ट्रिय मर्म बुझेकाहरू पानी बारबार गरेर पनि हिँडेका छैनन् । हातेमालो गरेरै हिँडेका छन् ।

त्यो प्रकृतिसम्मत पनि छ, सृष्टिसम्मत पनि छ ।

कुनै पनि आन्दोलन वा वादको उद्देश्य वा लक्ष्य कुनै आदर्शको प्राप्ति हुन्छ । त्यो आदर्श भनेको समानता होला । न्याय होला । हात नपार्दासम्म त्यो आदर्श हुन्छ । हात परेपछि प्राप्ति ।

त्यो आदर्श कसैको सापेक्षतामा, कसैको विपरीत, कसैको व्यतिरेकमा, कसैको देखासिखीमा, कसैको विरुद्धमा रहँदासम्म त्यसको प्राप्ति क्षणिक हुन पुग्छ । त्यस्ता प्राप्तिले एउटा अनिच्छित वा अवाञ्छित विपक्ष जन्माइदिन्छ, जहाँबाट समस्याका नयाँ जरा फैलन पुग्छन् । कुनै सङ्घर्ष, आन्दोलन वा अभियानको अन्तर्यमा समग्रताको हित जोडिएको छ भने त्यो साझा सरोकारको विषय बन्न पुग्छ । र त्यसले मुकाम प्राप्त गर्ने संभावना हुन्छ ।

भएन भने, कालो दाल खाएको कचौरो मुसुरोले माझ्ने काम हुन्छ । कालो दाल कालो, मुसुरो सुनजस्तो पहेँलो भन्ने तर्क अगाडि आउँछ । पहेँलो सबै राम्रो हो भने त खै के भनौँ र? ‘कमलपित्त महात्यम’ लेखेर अमर हुनुपर्ला ।

नत्र, रामनामी नै पर्खनुको के विकल्प होला र?