
स्क्रिन टाइम अहिले सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । पहिला बालबालिकाले टेलिभिजन हेरेकामा अभिभावकहरू चिन्तित हुन्थे । बरू अहिले अरू काम छाडेर टिभी हेरिदिऊन् भन्ने कामना गर्छन् ।
हुन पनि मोबाइलको स्क्रिन टाइम गणना गर्ने हो भने चिन्ताजनक अवस्थामा हामी पुगिसकेका छौँ । विज्ञहरूमाझ अहिले सबैभन्दा बढी सोधिने प्रश्न नै कसरी स्क्रिन टाइम घटाउने भन्नेमै केन्द्रित हुने गरेका छन् ।
हालै भएका कयौँ शोधबाट केही नयाँ आशा पनि पलाएका छन् ।
स्क्रिन टाइम घटाउनका लागि पछिल्लो समय एप्पल र गुगल कम्पनीले केही एपहरू जारी गरेका छन् र तिनले मोबाइल प्रयोगकर्ताहरूको बानी परिवर्तन गर्न वा स्क्रिन टाइम घटाउन सहयोग पुर्याउन थालेको अध्ययन निष्कर्ष निकालिएको छ ।
उसो भए ती मोबाइल एपले कत्तिको काम गरिरहेको छ त ?
यी एपलाई प्रयोगकर्ता आफैँले सक्रिय बनाउनु पर्छ । मन तुलबुल त भइहाल्छ तर मन मारेर भए पनि केही समयका लागि यसलाई निष्क्रिय राख्नुपर्छ । तर यसको प्रभावकारिता कत्तिको हुन्छ भन्नेबारे अध्ययन भने हुन बाँकी रहेको न्युयोर्कको कर्नेल युनिभर्सिटी क्याम्पसका बिहेभिअरल साइन्टिस्ट माइकल सोबोलेभले बताएका छन् ।
उनको यो अध्ययनमा सहायक अध्यापिका लउरा जिमरम्यानले पनि सघाइरहेकी छन् । उनी स्पेनको म्याड्रिडस्थित इआई बिजनेस स्कुलमा अध्यापन गराउँछिन् ।
दुई शोधकर्ताले ११२ जना आइफोन कर्ताहरू खोजे । उनीहरूलाई तीन समूहमा विभाजन गरे । तिनलाई स्क्रिन टाइम एप सक्रिय बनाउन भनियो । सो एपले उनीहरूको स्क्रिन टाइम प्रयोगलाई अनुगमन गर्यो ।
अनुगमन गर्दा पहिलो समूहलाई यो एप इन्स्टल गरेपछि के गर्ने भनेर केही बताइएन । उनीहरूले अन्य बेलाझैँ सामान्य रूपमा मोबाइललाई उपयोग गरिरहे । यसबीच एपले उनीहरूको मोबाइल प्रयोगको समय गणना गरेर बसिरह्यो ।
यो समूहलाई एप प्रयोग गर्दा खैरो रङमा राख्न सुझाइयो । खैरो रङमा राख्दा मोबाइल चलाउन मन हुँदैन । रङ्गिचङ्गी मोबाइल भयो भने त्यसलाई खेलाइरहूँ लाग्छ तर सादा फोनमा रङ्गीनजस्तो मन लाग्दैन भन्ने धारणाका आधारमा यस्तो गर्न लगाइएको थियो ।
दोस्रो समूहका मानिसहरूलाई सीमित अवधिमा मात्र चलाउन मिल्ने ‘डाउन टाइम’ र ‘एप लिमिट्स’जस्ता सुविधा चलाउन आग्रह गरियो । खासगरी सामाजिक सञ्जालहरू सीमित अवधिका लागि चलाउन सुझाव दिइयो ।
तेस्रो समूहलाई भने न पहिलोजस्तो न त दोस्रो समूहजस्तो केही भनियो । उसलाई आफूले प्रयोग गरेको मोबाइलको समयावधि वा गतिविधि हेर्न र मनन गर्न मात्र भनियो ।
यसपछि शोधकर्ताहरूको सुस्वास्थ्य सर्भे गणना गरियो । जसमा जीवनप्रति सन्तुष्टि, तनाव, सुताई वा निद्रा तथा खुसीको मापन गरियो । यो एप चलाउनुअघि उनीहरूले कस्तो महसुस गर्थे र अब कस्तो महसुस गरिरहेका छन्, सबै कुराहरू मापन गरियो ।
यसरी अध्ययन गर्दा के पाइयो भने, ग्रे वा खैरो रङमा परिणत गरी मोबाइल राख्नेहरूले तत्काल मोबाइलको प्रयोग कम गर्न थाले । पहिला उनीहरूले दिनमा २६१.५० मिनेट मोबाइल खेलाइरहन्थे, चलाइरहन्थे भने घटेर दिनभरि ५० मिनेट मात्रमा सीमित हुन पुग्यो ।
यसैगरी सीमित अवधिका लागि मात्र मोबाइल चलाउने सेटिङ मिलाएकाहरूले पनि क्रमशः स्क्रिन समय घटाएको पाइयो । उनीहरूको स्क्रिन समय भने निकै सुस्त तरिकाले घटेको पाइयो । बानी पर्न समय लागेको रूपमा अध्येताहरूले यसलाई लिएका छन् । खैरो रङवालाहरूको जस्तो प्रभावकारी त यो समूहमा समय घटेको पाइएन तर तुलनात्मक रूपमा उनीहरूको स्क्रिन टाइम भने घट्यो नै ।
डा. जिम्मरम्यान भन्छिन्, ‘खैरो रङ बनाउने निर्णय जसले गर्छ, निश्चित रूपमा उसको स्क्रिन टाइम घट्छ नै किनभने उसले आफ्नो निर्णय आफैँ लियो । म धेरै समय स्क्रिनमा नलोभिऊँ भनी उसले निर्णय गर्यो ।’ यो प्रयोग उनी आफैँले गरेकी थिइन् । अचेल उनी आफ्नो मोबाइललाई खैरोमै छाड्ने गर्छिन् र आवश्यक परेका बेला मात्र रङ्गीन बनाउँछिन् । ताकि मोबाइलले कम आकर्षित गरोस् ।
यस अध्ययनको सबैभन्दा रोचक पक्ष चाहिँ, जो आफ्नो स्वास्थ्यप्रति सचेत छैन, उसले जथाभावी मोबाइल प्रयोग गर्ने गरेको पाइयो । प्रायः आफ्नो स्वास्थ्यमा सचेत नहुने मानिसहरू अनावश्यक रूपमा पनि एप स्क्रल गर्ने, मोबाइलमा एक एपपछि अर्को एपमा फुत्त फुत्त छिर्ने, त्यसमा नअडिने र फेरि अर्कैमा पुग्ने गरेको देखिएको छ ।
‘हुन त, यो अध्ययन निकै क्लिष्ट छ,’ डा. जिम्मरम्यान भन्छिन्, ‘किनभने कसैले मोबाइलमा किन बढीभन्दा बढी समय बिताउँछ भन्नेबारेमा मान्छेको व्यक्तिगत, सामाजिक, मुलुककै पनि विविध कारण, मोटिभेसन वा विशेषता हुनसक्छन् । ती सारा कुराको अध्ययन गर्नु लगभग असम्भव नै छ तर पनि बढीभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउनु पक्कै पनि स्वस्थकर विषय होइन ।
डा. जिम्मरम्यानले प्रयोग गरेका तीन रणनीतिले फरक फरक किसिमले मोबाइलको स्क्रिन समय घटाउन भूमिका त खेल्यो तर अझ के रणनीति अपनाउँदा खास प्रभावकारी भूमिका खेल्न सकिन्छ भन्नेबारे अझ थप अनुसन्धान आवश्यक रहेको डा. सोबोलेभले बताए । उनी भन्छन्, ‘मानिसहरूलाई मोबाइल प्रयोग गर्दा कसरी कम उपभोग गर्ने भन्नेबारेमा सचेतना बढाउन उत्तिकै आवश्यक रहेको देखियो ।’
(यो आलेख एमिली हल्यान्डले लेखेकी हुन् । पेशाले लेखिका उनी सिकागोमा बस्छिन् । यो आलेख हामीले द वाल स्ट्रिट जर्नलबाट साभार गरेका हौँ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

