बिना थिङ
काठ क्षेत्रका अधिकांश तामाङले रायोको साग देखि गेडागुडीमा पनि ‘छि’ (राँगाको बोसो छिया–छिया पारेर नून, मरमसला मोलेर आन्द्रामा कोचेर महिनौँ आगोमा सेकेर राखेपछि तयार हुने खाद्यान्न ) हालेर पकाउने गर्छन् । असाध्यै मीठो परिकारको रुपमा यसलाई लिइन्छ । तर तराईमा हुर्केकीले बिहे भएर यहाँ आउँदासम्म मैले त्यसको स्वाद लिन पाएकी थिइनँ ।
पहिलोपटक खाँदा गन्हायो । बान्ता नै आयो । केही समय त मैले आफ्नो लागि छुट्टै तरकारी पकाएँ । तर कतिञ्जेल तिरस्कार गर्ने ? गाउँमा जसको घरमा पनि पाक्ने भएकोले पछि–पछि बानी पर्दै गयो ।
छि हालेर पकाएको तरकारीको बास्ना अहिले मेरा लागि प्रिय छ । लामो समयको प्रयोग आदत बन्दोरहेछ । अनि आदतचाहिँ संस्कृति ।
ठ्याक्कै यस्तै दृश्य छ, ‘क्रसिङ ब्रिज’मा । आठ वर्षदेखि दिल्लीमा बसोबास गरेका टासी आर्थिक मन्दीका कारण आइटीको जागिर गुमेपछि गाउँ फर्किन्छन् । गाउँमा सबैले सम्मान गरेर नौनी मथेको नूनिलो चिया उपलब्ध गराउँछन् । तर उनको जिब्रो फेरिइसकेको हुन्छ । नुनिलो चिया पिउन सक्दैनन् । आमाले दिएको चियाधरी उनले नदेख्नेगरी फालिदिन्छन् ।
त्यो एउटा दृश्यले उनी गाउँको संस्कृति र परम्पराबाट पर हुँदै गएको देखाइएको छ ।
‘क्रसिङ ब्रिज’को यही दृश्यले फिल्ममा आँखा अडिरहन्छ । आखिर मानिसलाई समानुभूतिले न आकर्षण गर्ने हो ।
भारतको नक्सामा उत्तरपूर्वमा पर्ने हिमाली भेकको कथा छ, यो फिल्ममा ।
अरुणाञ्चल प्रदेशमा बसोबास गर्ने जनजाति हुन् शेरदुक्पेनहरू । समुद्री सतहबाट पाँचदेखि छ हजारको उचाईंमा छ यो जातिको बस्ती । यहाँका बासिन्दा शेरदुक्पेन भाषा बोल्छन् । हिन्दी अत्यन्तै कम प्रयोग गर्छन् । बरु काम चलाउ भाषाको रुपमा अंग्रेजी बोल्छन् । हामीले हिन्दी सिनेमामा देख्दै आएको नाकनक्सा कतै भेटिन्न यस सिनेमामा । शुरुमा त कुनै बर्मेली वा चिनियाँ सिनेमा हेरेजस्तो लाग्छ ।
सिनेमाको पहिलो दृश्यमा टासी बसको यात्राबाट ओर्लिन्छन् । त्यसपछि शुरु हुन्छ उनको पैदल यात्रा । उनको घर जाने बाटोमा खोला पर्छ । खोलामा ठूलो रुख ढालेर साँघु बनाइएको हुन्छ । लामो समयसम्म शहरको गल्लीमा हराएका र ठूला पुल तर्न अभ्यस्त टासी साँघु तर्न डराउँछन् । एकछिन् अकमक्क पर्छन् । उनको हात समाउँदै साथीले साँघु तार्छन् ।
साँघु तरेर टासिको जुन यात्रा शुरु हुन्छ, त्यो जरातिरको यात्रा । आफ्नो उद्गमतिरको यात्रा । स्मृतिको गहिरो रहमा कतै हराइबसेको गाउँघर, संस्कृति बिस्तारै सतहमा आउन थाल्छ ।
घर फर्केपछि टासिले आफू जराबाट अलग हुँदै गएको महसूस गर्छन् । एकातिर उद्गमको बोध अर्कोतिर शहरमा अभ्यस्त भइसकेको जीवनशैली । आफैँभित्रको अन्तरद्वन्द्वबाट गुज्रिँदै उनी जरासँगको सम्बन्ध नवीकरणसम्म पुग्छन् । र, आफू जन्मेको गाउँ, हुर्केको ठाउँका लागि केही गरौँ भन्ने हुटहुटी जन्मिन्छ ।
जरासँग टासीको सम्बन्ध नवीकरणको सूक्ष्म संघर्षलाई ‘क्रसिङ ब्रिज’ले उजागर गरेको छ । उनको बाध्यात्मक घर फिर्तीबाट कथा जसरी बढ्छ त्यसले एकपटक दर्शकको हृदय नै बिथोलिदिन्छ ।
‘क्रसिङ ब्रिज’ सरल जीवन बाँचिरहेका गाउँलेको कथा हो । उनीहरु हृदयको भाषा बोल्छन् । उनीहरूका लागि जीवन रोमाञ्चक छैन । त्यसैले दर्शकको लागि पनि यो रोमाञ्चक छैन । न यसमा कुनै भावुक दृश्यहरू नै छ । दृश्यहरू सुस्त ढङ्गबाट अगाडि बढ्छन् । तर पनि थाहै नपाई यिनीहरूको जीवनसँग एक घण्टा चौवालिस् मिनेटको लागि प्रवेश गरिन्छ । अरुणाञ्चलको प्राकृतिक सौन्दर्यको रसास्वादन भइरहन्छ । अग्ला पहाडहरूमा ओहोरदोहोर गर्ने मानिसहरूको अस्तित्वको समानुभूतिले च्याप्प समाइरहन्छ ।
यो कुनै तिलस्मी कथा होइन । यो त आफ्नै छेउछाउमा सँगै हिँडिरहने कथा हो । त्यसैले आफ्नै जस्तो लाग्छ ।
सिनेमामा स्व–अस्तित्वको खोजमा कुनै समय गाउँ छोडेर हिँडेको टासी देशभित्रै परदेशिएका छन् । देश हुनलाई भाषा, संस्कृतिको स्वीकारोक्ति हुनुपर्छ । दिल्लीमा उनले कहिल्यै आफ्नो भाषा प्रयोग गर्न पाएनन् । कहिल्यै आफ्नो संस्कृति मनाउने अवसर पाएनन् । कहिल्यै आफ्नोपन उजागर गर्न सकेनन् । भाषिक, सांस्कृतिक दलनमा परेका टासीले बरु आफूलाई उतै गाउँतिरै छोडेर दिल्ली अपनाउन पुगे । दिल्लीकै सडक नाप्ने उपक्रममा आफूलाई अभ्यस्त बनाउँदै लगे ।
भाषिक र सांस्कृतिक दलनबारे बुझाउन सिनेमामा दुईवटा दृश्य देखाइएको छ । टासी स्वंयसेवक शिक्षकको रुपमा कक्षामा गएर पाठ्यपुस्तकमा हिन्दीमा लेखिएको होली पर्वबारे पढाउन थाल्छन् । कक्षाकी एउटी छात्राले शेरदुक्पेन भाषामा सोध्छिन्, “सर हामीले मनाउने पर्वबारे पनि किताबमा लेखिएको छ ?”
“छैन ।”
“किन छैन ?”
“किनकि तिनीहरूलाई हाम्राबारे धेरै थाहा छैन ।”
“किन थाहा नपाएका ?”
टासी निरुत्तर हुन्छन् ।
[embedyt] https://www.youtube.com/watch?v=aNck_xV8BGc[/embedyt]
त्यस्तै अर्को दृश्य छ, टासी र टासीका बा टेलिभिजन हेरिरहेका हुन्छन् । जुन टेलिभिजन टासीले गाउँमा आफ्नो पट्यारलाग्दो समय व्यतित गर्न बजारबाट किनेर ल्याएको हुन्छ । टासीको गाउँमा बिहान साँझ एक–एक घण्टा मात्र बिजुली आउने गर्छ । पसलेले आफ्नो सीप प्रयोग गरेर एक घण्टासम्म ब्याट्रीबाट चल्ने टेलिभिजन बनाएको हुन्छ । त्यही टेलिभिजनमा ‘स्वदेश’ फिल्मको संवाद आउँछ– “म मान्दिनँ, मेरो देश दुनियाँको सबैभन्दा महान् देश हो तर यत्ति जरुर मान्छु, हामीमा तागत र क्षमता छ आफ्नो देशलाई महान् बनाउने ।”
यो दृश्यले स्वदेश दिल्ली मात्र होइन बरु शेरदुक्पेनहरु बसोबास गर्ने अरुणाञ्चल प्रदेशको त्यो भूगोल पनि हो जहाँ आदिवासीहरूको आफ्नो छुट्टै पहिचान र अस्तित्व छ भन्ने भावमा व्यङ्ग्य कस्छ । र, टासीजस्ता युवाहरूको तागत र क्षमताको माग गरिरहेको छ ।
शेरदुक्पेनहरु बसोबास गर्ने गाउँमा न नेटवर्क छ, न पर्याप्त बिजुली, न घरसम्मै मोटर पुग्ने बाटो नै । शुरुमा दिल्लीको आदत लागेको टासी गाउँले जीवनप्रति उदास देखिन्छ । जीवनको उत्तार्द्धमा पुगेका टासीको बाबुआमा भने अब छोरा गाउँमै खेतीपाती सम्हालेर बसोस् भन्ने चाहन्छन् । अभिभावक र सन्तानको यही द्वन्द्वले सिनेमालाई गति दिन्छ । यतिखेरै टासीको जीवनमा जोडिन आइपुग्छन्, अनिला । अनिला सिलोङकी हुन् । टासीकै गाउँको स्कुलमा पढाउँछिन् । सिनेमामा अनिलाको उपस्थिति प्रतीकात्मक रुपमा प्रयोग गरिएको छ । भौतिक साँघु तर्न टासीको साथीले सघाएजस्तै जीवनको साँघु तर्न सघाउने पात्रको रुपमा अनिलालाई लिइएको छ । गाउँको स्थानीय विद्यालयमा अनिलालाई भेटेपछि टासीले पिसिओबाट जागिरको लागि दिल्लीको साथीलाई तारन्तार फोन गर्न छोड्छन् । र, हेडमास्टरको अनुरोध स्वीकारेर केटाकेटी पढाउन थाल्छन् ।
‘क्रसिङ ब्रिज’ प्रतीकहरूले भरिएको सिनेमा हो ।
जीवनको सार्थकता मोह र आकर्षणभन्दा पर पुगेर प्राप्त गर्न सकिन्छ भन्ने बोध गराउन टासीको गाउँले साथी दोर्जेको कथालाई सिनेमामा जोडिएको छ । दोर्जे केही समयअघि एक्कासि गायब भएको हुन्छ । लामो समयपछि मात्रै गाउँ फर्कन्छन् र बिमारी पर्छन् । दोर्जेको कथनअनुसार एक रात उसले सुन्दर युवती भेट्छ । युवतीको रुपले मोहित भएर दोर्जे युवतीको पछि–पछि जान्छ । लामो समय युवतीको गाउँमा बस्छ । जहाँ चाउचाउ मात्र दिइन्छ । एकदिन त्यो चाउचाउ नभएर जुका हो भन्ने थाहा पाएर दोर्जे भागेर गाउँ पस्छ । त्यसैदिनदेखि बिमारी पर्छ । धामीले दोर्जेको रोगको उपचार छैन, छिटै मर्छ भनेर घोषणा गर्छ । अन्त्यमा दोर्जे मर्छ ।
टासी पनि अनिलासँग प्रेममा पर्छ । उनीहरूबीच अव्यक्त प्रेम झाँगिएको हुन्छ । अनिलाकै कारण स्थानिय विद्यालयमा पढाउन जान टासि मञ्जुर भएको हुन्छ र दिल्ली फर्कने विचारलाई थाती राख्छ तर अनिलाले टासीलाई भेट्नुअघि नै विवाहको ठेगान भइसकेको हुन्छ । जुन कुरा टासीलाई थाहा छैन । अन्त्यमा भारी मनसहित दुवै छुटिन्छन् । आ–आफ्नो गन्तव्यतिर लाग्छन् । यहाँ परम्परागत शैलीमा नायक नायिकालाई देखाइएको छैन । न तिनीहरूबीच रोमान्स नै देखाइएको छ । न ज्यान फालेर हिरोइनको पछाडि–पछाडि कुदेको दृश्य नै छ । टासी अनिलाको प्रेममा दोर्जेको नियति भोग्नबाट जोगिएको छ । टासीले जीवनलाई नजिकबाट बोध गरेको यो प्रतीकात्मक प्रयोगले ‘क्रसिङ ब्रिज’लाई सान्दर्भिक बनाएको छ ।
फिल्म जति रोचक छ, त्यति नै यसको निर्माण कथा पनि । यसका लेखक तथा निर्देशक साङ्गे दोर्जी थोङडक स्वयं शेरदुक्पेन जातिका हुन् । कलकत्ताको ‘सत्यजित रे फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट’को सन् २००८ को विद्यार्थी हुन् उनी । आफ्नो क्षेत्रबाट उनी पहिलो निर्देशक हुन् । त्यसो त अरुणाञ्चल प्रदेशको यो दोस्रो सिनेमा भए पनि त्यही प्रदेशको मूल निवासीले निर्देशन गरेको पहिलो सिनेमा हो । ‘फाइभ डी क्यानोन’ले छायाङ्कन गरिएको सानो बजेटको तर ठूलो सन्देश भएको फिल्म हो यो । जसले मुम्बई फिल्म फेस्टिभलमा सेप्टेम्बर २०१३ मा गरिएको प्रिमियरमा सर्वश्रेष्ठ फिचर फिल्मको अवार्ड जितेको थियो ।
समग्रमा, ‘क्रसिङ ब्रिज’ स्व–अस्तित्व र सांस्कृतिक स्वीकृतिको खोजमा गरिएको जरातिरको यात्रा वर्णन हो । हरेक मानिसको आफ्नै जरा हुन्छ र आफ्नै बाध्यता पनि । ऊ जहाँसुकै पुगोस्, जिन्दगीको झमेलाले उद्गमलाई जतिसुकै विस्मृतिको खाडलमा पु-याइदिओस्, ऊभित्र कतै न कतै आफ्नोपन लुकेर बसेको हुन्छ । समयको हुरीले जब सतहको वर्तमान पात–पतिंगर उडाइलैजान्छ, ऊ फेरी जरातिर फर्किन्छ । त्यहाँ आफैलाई भेट्टाउँछ । र, वास्तविक जीवनबोध गर्छ ।
‘क्रसिङ ब्रिज’ त्यही जीवनबोधको कथा हो ।
[embedyt] https://www.youtube.com/watch?v=GfpNBnUzaQo[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।