यतिबेला अर्को एसियाली फिल्मको पनि निकै चर्चा छ । एभ्री थिङ एभ्री ह्वेयर अल एट वन्स फिल्मले वाहवाही पाइरहेको छ र अस्करमा अवार्डसमेत थापेको छ । मार्सल आर्ट, हास्यचेत र सररियाजिज्मको घोल पस्केको यस फिल्मले बेस्ट पिक्चरको अवार्डसमेत हात पारेको छ । गत वर्ष अमेरिकामा यो फिल्म रिलिज हुँदा सीमित हलमा मात्र रिलिज गरिएको थियो । फिल्म रिलिज भएको एक वर्षसम्म यसलाई दर्शकले सम्झिरहनु र पुरस्कारका लागि वर्षभरि नै आफूलाई मुख्य दाबेदारका रूपमा उभ्याउनु अनौठै पक्ष हो ।

यही अनौठोपनलाई आधार मानेर बेलायती अखबार द सन्डे टाइम्सका पत्रकार जोनाथन डिनले एउटा रोचक आलेख पस्केका छन् । आलेखले भन्छः हिट र अवार्ड जित्ने फिल्म कसरी बनाउने । उनको सूत्र निम्नानुसारको छः

१. उदेकको कथा छान्नुस्
फिल्ममा मल्टीभर्सको कथा यसअघि नआएको होइन, तर यसरी दिमाग रिंग्याउने गरी आएको थिएन । अनौठो कथा छान्न पत्रकारको सुझाव दिएका छन । यस फिल्ममा चीनबाट अमेरिका पुगेकी एक महिला येते (मिसेल यो)ले व्यवसायका रूपमा लुगा धुने कम्पनी चलाइरहेकी छन् । उनी एउटा अनौठो कर अडिटमा फँस्न पुग्छिन् । त्यही बेला उनका पिता चीनबाट अमेरिका पुगेका छन्। उनका पति वेमन्ड उनीसँग पारपाचुके खोजिरहेका छन् । बल्ल बल्ल हुर्काएकी छोरी जोयले एउटी केटीसँग डेटिङ गरिरहेकी छन्, त्यो पनि चिनियाँमूलकी भन्दा बाहिर ।

यही बेला उनले मल्टीभर्स जोगाउनुपर्ने अवस्था आएको छ । एक साथ थुप्रिएका समस्याको जालोसँग् उनले कसरी लड्छिन् भन्ने कथा विश्वासिलो तरिकाले पस्कनु निर्देशकको कमालहो । सुपरहिरोका फिल्ममा मल्टीभर्सको कथा नआएका होइनन् । तर सिर्जनशीलताको मामिलामा यसले त अवतारलाई पनि पछि पारिदिएको छ । कथावाचनको नमूनाका लागि यो फिल्म हेर्नुपर्छ ।

२. कथानकको मुटु नछाड्नुस्
कथा हावादारी छ तर यसले जुन संवेदनशीलता र भावपक्षलाई सफलतापूर्वक उनेको छ, त्यो यो फिल्मको मुटु हो, ज्यान हो । यो फिल्मको सफलता नै त्यही हो । आमा-छोरीको प्रेमले जसरी दर्शकलाई बाँध्छ, यसले फिल्मको आयु बढाएको छ । द न्युयोर्क टाइम्स पत्रिकाका समीक्षक एओ स्कटले फिल्मले लामो समयसम्म दर्शकको दिमागमा असर पार्नुका पछाडि यही संवेदनशीलताले भूमिका खेलेको लेखेका छन् ।

फिल्मले व्यक्तिव्यक्ति बीचको अवशाद, पहिचानको सङ्कट र खोजी, आफू यो ग्रहमा किन र केका लागि जन्मेको जस्ता प्रश्न खोज्न घच्घच्याएको छ ।

३. कान्स फेस्टिभललाई लत्याउनुस्
यो फिल्मले कान्स फिल्ममा आफूलाई प्रस्तुत गर्न चाहेन । बरू बेग्लै किसिमका फिल्म फेस्टिभलमा उपस्थिति जनायो । टेक्सस, अस्टिनको एसएक्सएसडब्लु फेस्टिभल, भेनिस र टोरन्टोका ससाना फिल्मोत्सवमा उपस्थिति जनायो । तिनमा यो फिल्मका बारेमा यतिधेरै कानेखुसीहरू भए कि फिल्मले १०७ मिलियन डलर कमाएर निर्माण कम्पनीकै सबैभन्दा बढी कमाउने फिल्मका रूपमा आफूलाई दर्ज गर्यो ।

स्क्रिन एक्टर्स गिल्ड अवार्डमा यसले पाँच नामाङ्कन पाएको थियो तर चार वटा हात पार्यो । फिल्मले स्टिभन स्पिलबर्गको फेबलम्यान्स, टम क्रुजको टप गनः मेभरिक्स र बाज लरम्यानको एल्भिसजस्ता फिल्मलाई समेत उछिनेर सबैलाई चकित बनायो । यस फिल्मका निर्देशक र कम्पनीका बारेमा तपाईंलाई थाहै छैन र पनि पुरस्कार हात पार्नु भनेको कन्टेन्टकै दम हो । ठूला नाउँले मात्र पुरस्कार हात पर्छ भन्ने भ्रमबाट यो फिल्मले मुक्त गरेको छ ।

४. समावेशीको उत्तम नमूना
यो फिल्मले डाइभरसिटी (जातभात र रङ)मा विविधीकरण गरेको छ । यस फिल्ममा गोरा छन्, एसियाली छन्, काला छन् । पूर्ण रूपमा यो समावेशी फिल्म बन्न पुगेको छ । समीक्षकले यो फिल्मलाई रूचाउनुको कारणमा यसले अँगालेको समावेशीकरण पनि एक हो ।

हलिउडले पछिल्लो समय गोराहरूले बनाएका राम्रा फिल्मलाई ठाउँ दिइरहेको छैन भन्ने महसुस गरिरहेका बेला यो फिल्म आउनु पनि पुरस्कार जित्नुको एउटा कारण हो ।

अर्कोतर्फ दर्शक पनि गोराबाहेकका फिल्म पनि हेर्न चाहन्छन् भन्ने सन्देश यसअघि ब्ल्याक प्यान्थर र क्रेजी रिच एसियन्सजस्ता फिल्मको व्यावसायिक सफलताले देखाइसकेको छ । यस्तै गत वर्ष मूनलाइट फिल्मले पाएको सफलता र दक्षिण कोरियाली फिल्म प्यारासाइटको अनपेक्षित वाहवाहीले हलिउड बिस्तारै परिपक्व हुँदै गएको प्रमाण पनि हो ।

यस्तै मिसेल योले हलिउडमा राम्रै छाप पार्न सफल भए पनि अर्का पुरूष कलाकार के हुए क्वानले हलिउडमा ठाउँ बनाउन नसकेर उहिल्यै अभिनयलाई माया मारिसकेका भियतनामी मूलका अमेरिकी कलाकार थिए । उनले धेरैअघि सन् १९८४ मा इन्डियाना जोन्स फिल्ममा राम्रो अवसर पाएर पनि जम्न भने सकेका थिएनन् । उनले सन् २००२ मा एसियाली मूलको कलाकारका रूपमा अभिनय गर्ने ठाउँ नपाएर अभिनयबाट संन्यासको घोषणा गरिसकेका थिए । २० वर्ष बेरोजगार कलाकार भएर चर्चा बटुल्ने उनी एक उदाहरण बनेका छन् । हलिउडले डाइभर्सिटीलाई पत्याइदिँदा उनले आफ्नो कला देखाउने अवसर पाए ।

५. नयाँलाई अवसर दिनुस्
अस्कर अवार्डमा यो फिल्म पुरस्कृत भएसँगै नयाँपन पुरस्कृत भएको केहीको दाबी छ । यसअघि हलिउडका केही प्रभावशाली निर्माताहरूको गोजीका मानिसहरू पुरस्कृत हुने भनी आलोचित भइरहेको थियो । खासगरी हार्भे वाइन्स्टिनको यौनकाण्ड छताछुल्ल भएपछि दबिएको आवाजमा त्यसअघि उनले अस्करमा दबाब दिने गरेको र उनको फिल्म निर्माण कम्पनीले ३०० वटा विभिन्न अस्कर नामाङ्कन पाएको तथ्याङ्क खुलासा भएको थियो । त्यस्तै अस्कर सो ह्वाइट नामक ह्यासट्याग सामाजिक सञ्जालमा यसअघि निकै लोकप्रिय भएको थियो । यस्तोमा अस्करले पनि आफूहरू गोराप्रेमी नभएको देखाउने कम्तीमा यो फिल्म देख्न पाए । यसले पाएको व्यवसायिक सफलता र सँगैमा पाएको अवार्डले फिल्म बनाउँदा नयाँपन भयो भने अस्करले पनि पत्याउने रहेछ भन्ने पुनः प्रमाणित भएको छ ।