१८ औँ शताब्दी ताकासम्म पनि फ्रान्स आविष्कार तथा परीक्षणको सन्दर्भमा अगाडि नै थियो । सोह्रौँ शताब्दीमा अरू देशहरू नयाँ नयाँ मुलुक खोज्न निस्केको बेला ऊ भने आफ्नो वरिपरि रमाइरहेको थियो तर पछि आफू नयाँ मुलुक खोज्ने दौडमा पछि परूँला भनेर ऊ पनि दौडमा निस्कियो । उसले अफ्रिका र एसियाका कयौँ मुलुक कज्याउन थाल्यो ।

त्यसैको प्रमाण यो एउटा चित्र बनेर रहेको छ । तैलचित्रमा हेन्री जोसेफ भान ब्लारेनबेर्गले समुद्री किनारको शहर ब्रेस्टमा पानी जहाजहरूको व्यस्तता कस्तो थियो भनी देखाउन खोजेका छन् ।

त्यसो त केही समीक्षकहरूले भने यहाँ देखिएका जहाजहरू समयानुकूल नरहेको, डिजाइन भद्दा भएको, अन्य मुलुकका छरिता जहाजजस्तो नदेखिएको विश्लेषण गर्ने गर्छन् । र, उसले सुदूर मुलुकहरूमा धेरै देश कज्याउन नसक्नुका पछाडि पनि पुराना खाले डिजाइनका अगतिला जहाजको कारण पनि हुनसक्छ ।

सन् १७५० को दशकमा फ्रान्सेली सरकारले हेनरी जोसेफलाई फ्रान्सका विभिन्न समुद्र किनारका पोर्टहरूको चित्र बनाउन आग्रह गरेको थियो र यो ती अनेकन् चित्रमध्ये निकै सुन्दर अभिव्यक्ति हो ।

यही ठाउँमा उनलाई ६ वटा चित्र बनाउन लगाइएको थियो र आउटर हार्बर शीर्षकको यो उम्दा कृति बनाएर सरकारलाई बुझाएका थिए । वास्तवमा यो चित्र हेर्दा लाग्छ, चित्रले इतिहासको महत्त्वपूर्ण क्षणका बारेमा बताउँछ ।