कलाकार संगी श्रेष्ठको “संवेग” शीर्षकमा एकल कला प्रदर्शनी ललितपुरको एमक्युब आर्ट ग्यालरीमा चलिरहेको छ।
यही असोज ८ गतेदेखि शुरु भएको प्रदर्शनीमा उनले मानव जीवनका विविध अवस्थालाई चित्रण गरेकी छन्। विशेषगरी कोभिड पछिको “पोष्ट ट्रमाटिक” अवस्थालाई उनले सटिक तरिकाले प्रस्तुत गरेकी छन्।
प्रदर्शनीमा राखिएका २३ कलाकृति कोभिडकालमै निर्माण गरिएका हुन् । कोभिडको जोखिम न्यून भएको वर्तमान अवस्थामा विगतलाई फर्केर हेर्दा उनलाई लाग्छ – कोभिडले जीवन मरणको दर्दनाक बोध मात्र गराएन, यसभन्दा बढी जीवनलाई चिन्ने र जीवनमा आइपर्ने कठिन अवस्थासँग जुध्ने पाठसमेत सिकायो।
ग्यालरीका भित्ताभरि राता काला र नीला रङहरूले पोतिएका क्यानभास र नारी आकृतिमा सजिएका स्वरैकाल्पनिक चित्रहरू वर्तमान समयको दस्तावेज बनेका छन् ।
संगीका चित्रहरू सर्सर्ती हेर्दा उनको पुरानै शैली र प्रस्तुतीकरणको निरन्तरता लाग्छ । यद्यपि यसपाला उनले नारी आकृतिलाई पृथक् तरिकाले प्रस्तुत गरेकी छन्। उनको चित्रमा देखिने ज्यामितीय आकारका नारी आकृति पहिलाको भन्दा अलि बढी स्वतन्त्र रुपले खुलेका छन् ।
संगीका अर्को विशेषता भनेको नारीहरूको आँखाको प्रस्तुति हो। सामान्य आकृतिभन्दा फरक देखिने ती आँखाहरू अनुहारबाट उछिट्टिएका छन् । कारणका बारेमा सोध्दा उनी भन्छिन्, “आँखा महिलाको सौन्दय अङ्ग त हो नै त्योभन्दा बढी मनको भावना व्यक्त गर्ने माध्यम हो । उछ्छिट्टिएका ती आँखाहरू अलिक बढी संवेदनशील र चनाखो बनेका छन् ।”
कोभिड कहर पछिको पहिलो एकल प्रदर्शनीमा आएको उनको यो प्रदर्शनी असोज २२ गतेसम्म चल्नेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।