नेमबहादुर तामाङ भर्खर एसएलसी सकेर राजधानी छिरेका थिए। चित्रकला विषय पढ्ने इच्छा हुँदाहुँदै आईकम पढ्न थाले । पढाई सँगसँगै साइन बोर्ड लेख्न थालेका नेमलाई लाग्थ्यो साइन बोर्ड राम्ररी कोर्न सके ठूलो कलाकार बनिन्छ । त्यसैले दत्तचित्त भएर साइन बोर्ड लेखे उनले। आईकम सक्दा नसक्दै उनी राम्रा साइन बोर्ड कलाकार बनिसकेका थिए।

आईकम सकेपछि भने उनले कला विषय पढ्न थाले । सुरुदेखि नै उनी कलेजका साथीहरु बीच अब्बल थिए। पोट्रेट र ल्यान्डस्केप कोर्न उनी अत्यन्त सिपालु । अधिकांश समय समूह बनाएर स्थलगत चित्र कोर्न बाहिर निस्कन्थे उनी । उनको कलाकारिता देखेर गुरुहरु निकै प्रभावित बनेका थिए।

त्यसैमा एक थिए, गुरु राधेश्याम मुल्मी । गुरुचेला प्रायः सधैँ साथमा देखिन्थे । दुईको घनिष्ठता देखेर धेरैले बाबु र छोरा भन्ठान्थे।

वास्तवमा गुरु मुल्मीले नै उनलाई असल कलाकार हुन सिकाए ।

उनका अर्का प्रिय गुरु थिए विपिन घिमिरे, रियालिस्टिक आर्टका ज्ञाता । आर्टका आधारभूत ज्ञान नभई साँचो कलाकार बन्न सकिँदैन भन्थे उनी । पछि यिनै गुरुचेलाको योजनामा रेनासा फाइन आर्ट स्टुडियोको जन्म भयो । नेम रेनासाको पहिलो ब्याचका राम्रा विद्यार्थी थिए। कहिलेकाहीँ गुरुको अनुपस्थितिमा नेमले सिकाउने जिम्मा लिन्थे। पछि गुरुचेलाको बीच असमझदारी बढेसँगै उनले रेनासा छोडेर आफ्नै कला स्टुडियो खोलेर कला सिकाउन थाले।

नेम सानैदेखि नौलो काम गर्नु पर्छ भन्ने सोचाई राख्थे। त्यसैले उनले एकै प्रकृतिका काम गरेनन् ।

पछिल्लो समय उनी अमूर्त कला सृजना गरिरहेका छन्। यद्यपि उनले अमूर्त कला हठात् सुरु गरेका भने होइनन् । कठोर अध्ययन, विश्वकलाको दर्शन र विचारमा स्पष्ट भएरै अमूर्तकला शुरु गरेका हुन् ।

कलाकार नेम सानैदेखि विद्रोही स्वभावका थिए । चित्त बुझे कुनै पनि काम गरिहाल्ने तर चित्त नबुझे गरेको पनि छोडिहाल्ने र नयाँ कामको सुरुवात गरिहाल्ने।

कक्षाकोठामा गुरुहरुसँग डिबेट गर्न मन पराउँथे उनी । कलेजमा रियालिस्टिक आर्टको बारेमा अधिक चर्चा हुन्थ्यो उनलाई यसमा चित्त बुझ्दैनथ्यो । गुरुहरुकै अगाडि प्याच्च भनिदिन्थे, “चौधौँ शताब्दीमा गडिएको चिहानलाई खोतल्नु पर्दैन ” यसको सिधा अर्थ थियो, १४ औँ शताब्दीमा उत्कर्षमा पुगेको रियालिस्टिक आर्टको सान्दर्भिकता अहिलेको आधुनिक समयमा छैन । यद्यपि उनी रियालिस्टिक आर्टलाई कलाको सारेगामा मान्छन् ।

नेम अमूर्त कलालाई कलाको क्लाइमेक्स बिन्दु मान्छन् । उनी भन्छन्, “अमूर्तकला भन्दा अरु पर जाने ठाउँ छैन । त्यसैले यो ठाउँमा पुग्न हतार गर्नु हुँदैन। उनी स्वयं पनि यो बिन्दुमा आउन लामै यात्रा तय गरेका छन्।

विश्व कलाको सन्दर्भमा अमूर्तकला निकै पुरानो विचार हो, यद्यपि हामीकहाँ अमूर्तकलाको चर्चा निकै हुने गरेको छ । सम्भवतः यसको एउटै कारण हो- नेपाली समाज अझै आधुनिक बन्ने चरणमै छ।

एन.बी. गुरूङ

नेमले अमूर्तकलाको शुरुवात कसरी सुरु गरे भन्ने कुरा निकै पेचिलो र घतलाग्दो छ। विश्वविद्यालयमा एमएफए पहिलो वर्ष अध्ययन गर्दा उनले सामान्य मानिसका दैनिकीलाई अर्ध अमूर्त शैलीमा कला सृजना गरे। उनको यो विषयलाई सबैले निकै मन पराए र परीक्षामा राम्रै अंक ल्याएर पास गरे । उनका गुरु र साथीहरुले दोस्रो वर्ष पनि यसैलाई निरन्तरता दिने अपेक्षा गरे तर उनले यसको ठीक विपरीत अमूर्त कला सृजना गर्ने निधो गरे । सुरुमा निकै गाह्रो भयो तर उनले हिम्मत हारेनन्, अन्ततः सबैलाई जिल्याउने गरी उनले यसमा सफलता हासिल गरे। परीक्षामा उत्कृष्ट अंक ल्याएर एमएफए पास गरे। यसबाट उनी निकै हौसिए र अमूर्त कलालाई नै निरन्तरता दिने निधो गरे ।

सन् २०१५ मा क्लासिक ग्यालरीमा उनको अमूर्त कलाको एकल कलाप्रदर्शनी सम्पन्न भयो। प्रदर्शनीमा राखिएका धेरै कलाकृति बिक्री भए र सो वर्षको सबैभन्दा बढी कलाकृति बिक्री हुने कलाकारको रुपमा सम्मानित भए । यसपछि भने उनले कहिले पछि फर्केर हेर्नु परेन।

अमूर्तकला के हो भन्ने प्रश्नमा उनी भन्छन्, “अमूर्तकला कलाको अन्तिम गन्तव्य हो जहाँबाट अरु जाने ठाउँ हुँदैन ।” नेपालीले अमूर्तकला अझै बुझेका छैनन् नि भन्ने अर्को प्रश्नमा उनी भन्छन्, “अमूर्तकला बुझ्ने विषय होइन, यो त अनुभव गर्ने विषय हो ।”

कलाकार नेमको अमूर्त कलामा रङहरुको सागर देखिन्छ। रङको खास रसास्वादन गर्न चाहनेहरुले उनको कलाकृति हेरे पुग्छ। रातो, कालो, हरियो, वैजनी र नीलो रङहरु एकआपसमा द्वन्द्व गरिरहेको भान हुन्छ । हेर्दा रङहरुको संयोजनमा विरोधाभास देखिए पनि तिनमा शालिनता देखिन्छन् ।

रङका अलावा नेमका क्यानभासभरि मसिना वक्र रेखाहरु चारैतिर कुदिरहेका हुन्छन् । ती रेखाहरु काल्पनिक स्वरुप निर्माण नगरुन्जेलसम्म थाक्दैन। ती जब आफ्नो गन्तव्य पहिल्याउँछन्, तब मात्र रोकिन्छन् ।

उनका रेखाहरु अनुशासित र भद्र स्वभावका छन् । अर्थ र सन्देश प्रवाहको सन्दर्भमा उनका कला मौन बसेका छन्। कलाले खास सन्देश प्रवाह गर्नुपर्छ भन्ने आम मानिसको अपेक्षा विपरीत छन्, उनका कलाकृतिहरु। यद्यपि उनका कलाकृति आजसम्म आर्जन गरेका ज्ञान र दर्शनको दस्तावेज हुन् भन्दा फरक पर्दैन। समग्रमा कलाकार नेमका कलाकृति समसामयिक र अब्बल दर्जाका छन्।

आऔँ यिनै अब्बल कलाकारका कृति नियालौँ: