साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

सुष्मा राजभण्डारीका समसामयिक गणेशहरु

अन्नपुर्ण एक्सप्रेस पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने ५० नेपाली भिजनेरिज सुचीमा यस वर्ष आफ्नो नाम देख्दा सुष्मा राजभण्डारी एकछिन अक्क न वक्क परिन् ।नपरून् पनि किन? समाजका अति नै लब्ध प्रतिष्ठित व्यक्तित्वहरूका बीच उनको नाम समेटिएको थियो ।

त्यसमा पनि एउटा चित्रकार र महिला हुनुले विशेष अर्थ राख्थ्यो ।

कलाकार सुष्मा राजभण्डारीले यो पहिचान त्यत्तिकै पाएकी भने होइनन्। कलाकारिता क्षेत्रमा उनको योगदान विगत ३० वर्षदेखि निरन्तर छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उनले आफ्नो परिचय स्थापित गरिसकेकी छन् । दर्जनौँ पटक कलाकार्यशाला र सामूहिक कलाप्रदर्शनीमा उनको विशेष सहभागिता रहेको छ । यति मात्र नभएर देशविदेशमा गरी सुष्माले १६ पटक एकल कला प्रदर्शनी गरिसकेकी छन् ।

सुष्मा राजभण्डारी सानैदेखि चित्रकला मन पराउँथिन्। स्कुल पढ्दाताका किताबका रेखाचित्र हुबहु नक्कल गर्नेदेखि साइनबोर्ड लेख्ने कलाकारले लेखेका सुन्दर अक्षर यसैगरी लेख्न पाए हुन्थ्यो भनेर अभ्यास गर्थिन् ।

घरमा बुवाले कलाकार भाजुमान चित्रकारको चित्र भित्तामा झुन्ड्याएका थिए। त्यही चित्र देखेर उनी प्रभावित बनेकी थिइन् । उनी भन्छिन्, “यही चित्रका कारण म कला क्षेत्रमा प्रवेश गरेकी हुँ ।”

शुरुमा गोविन्द डंगोल, लोक चित्रकार र प्रेममान चित्रकारसँग चित्रकला सिकेकी सुष्माले पछि ललितकला क्याम्पसबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरिन् ।

सम्बन्धित पोस्टहरु

पूर्वकी तारा

सुष्माले आफ्नो कलाकारिता जीवन भने परम्परागत पौभा कलाबाट थालनी गरेकी थिइन् । पौभा चित्रमा देखिने देउताका चित्रहरु उनलाई खुब मनपर्थ्यो । त्यसमा पनि गणेशको आकृति उनलाई औधि मन पर्थ्यो । हात्तीको टाउको र मानव शरीरको संयोजनले बनेको गणेशको अचम्मको आकृति र चञ्चल स्वभावका भए पनि सधै शान्त मुन्द्रामा बस्न मनपराउने गणेशप्रति उनको विशेष श्रद्धा र आकर्षण थियो ।

गणेशको बहुआयामिक रुपबाट प्रभावित भएर उनले सन् २००४ मा गणेश सिरिजमा एकल प्रदर्शनी नै गरिन् । छोटो समयमै यो प्रदर्शनी भव्य सफल बन्यो । प्रदर्शनीका बारेमा व्यापक चर्चा परिचर्चा भयो। उक्त प्रदर्शनीबाट उनी हौसिइन् र गणेश सिरिजलाई नै निरन्तरता दिने निधो गरिन्।

सन २००७ मा तत्कालीन नेपाल ललितकला संस्था, नक्सालस्थित कला दीर्घा हलमा उनको अर्को एकलकला प्रदर्शनी भयो। ‘निओ-कन्सेप्ट अफ गड’ शीर्षकमा प्रदर्शनी गरिएका चित्रहरु नितान्त पृथक् र मौलिक प्रकृतिका थिए । गणेशलाई अझ अलौकिक र सुपर हिरोको रुपमा देखाउन उनले तेस्रो आँखाको सहयोग लिएकी थिइन्। सो प्रदर्शनी पनि धेरै दृष्टिकोणबाट सफल बन्न पुग्यो । चाखलाग्दो कुरा, प्रदर्शनीमा राखिएका सबै कलाकृति बिक्री भएका थिए। नेपाली कला क्षेत्रका लागी यो नौलो तथा एैतिहासिक घटना थियो।

पछिल्ला दिनमा सुष्माले गणेश बिषयलाई अझ परिस्कृत बनाउने प्रयत्न गरेकी छिन। रंगहरुको बाहुल्य रहने भाबप्रधान अमुर्त चित्रहरु उनको रोजाई बन्न पुगेको छ। सधै जसो एकै प्रकारका गणेश आकृती देखिने उनको चित्रमा फरकखाले प्रस्तुती आउनु पक्कै पनि खुसिको कुरा हो ।कलायात्रको लामो अनुभबपछी अमुर्तकलामा प्रवेश गर्नु राम्रो मानिन्छ। छोटो समयमै उनले बनाएका अमुर्तकला धेरै दृष्टिकोणबाट उत्कृष्ट देखिन्छ। रंगको संयोजन र बिषयवस्तुको बेजोड प्रस्तुतिले उनको उचाईलाई अझमाथी पुर्याउने निश्चित छ।

कलामा लागेबापत सुष्माले राष्ट्रिय स्तरका दर्जनौ कलापुरस्कारबाट सम्मानीत भैसकेकी छन् ।

हाल उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठन चित्रकला विभागकी प्रमुख भएर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकी छन् । उनी यस्तो भाग्यमानी कलाकार पनि हुन जसले प्रतिष्ठान बनेपछिका तीन ओटै कार्यकालमा प्राज्ञ हुने सु-अवसर प्राप्त गरेकी छन् ।

प्रतिक्रिया
Loading...