द ब्वाई, द मोल, द फक्स एन्ड द हर्स पुस्तक सन् २०१९ मा बजारमा आएको चार्ली म्याकेसीको चित्र पुस्तक हो । निस्कनेबित्तिकै फाइनान्सियल टाइम्स पत्रिकाले यसलाई वर्षकै उत्कृष्ट चित्रपुस्तक घोषणा गरेको थियो । यसले २०२० मा ब्रिटिस बुक अवार्डमा छोटो सूचीमा आफूलाई जमाउन सफल भएको थियो भने पुस्तक बिक्रेता बर्न्स एन्ड नोबल र वाटरस्टोनले यसलाई बुक अफ दि इयर घोषित गरेका थिए ।

यसको लोकप्रियता कति छ भने एप्पल कम्पनीले यसको एनिमेसन फिल्म बनाएको छ । जसमा टम हल्यान्डर, इद्रिस एल्बा, ग्याब्रियल बर्नजस्ता कलाकारले स्वर दिएका छन् । यो फिल्म २२ डिसेम्बर २०२२ मा रिलिज गरिएको थियो ।

जम्माजम्मी १२८ पृष्ठको यो पुस्तक चित्रमार्फत जंगलमा हराएको एउटा बालकलाई छुचुन्द्रो, फ्याउरो र घोडाले कसरी फेला पार्छन् र अन्त्यमा घोडाले बालकलाई कसरी घरसम्म पुर्याइदिन्छ भन्ने कथा छ ।

यो फिल्मले के सिकाउँछ ?
यसले सधैँ प्रेरित रहन सिकाउँछ । किताबले जुनसुकै उमेरका मानिसहरूलाई पनि उत्प्रेरणाका लागि हौस्याउँछ ।

तिमीले सबैभन्दा हिम्मतिलो शब्द के बोलेका थियौ ? केटोले सोध्छ ।

घोडाले उत्तरमा भन्छ, हेल्प । जीवनमा कसैसँग सहयोग माग्नु सबैभन्दा अप्ठेरो र हिम्मतिलो कुरा हो । मान्छेले हार मानिसकेको अवस्थामा मात्र सहयोग माग्ने गर्छ । आफूबाट पार नलाग्ने भइसकेपछि मात्र अरूसँग याचना गर्छ ।

यो संवाद यति शक्तिशाली थियो कि पछि बेलायती अस्पताल, कार्यालयहरू, रेस्टुराँ लगायतका ठाउँमा कटआउट बनाएर टाँसिएको थियो ।

फिल्मले साहसी हुन सिकाउँछ । एक्लो केटो, लोभी छुचुन्द्रो, होसियार फ्याउरो र फरासिलो घोडाजस्ता चरित्र मानिसभित्रकै गुणका रूपमा प्रस्तुत गरेका छन् लेखकले ।

लेखक चार्ली भन्छन्, जंगल मानिसको जीवनजस्तै हो । शुरूमा त्यसले तर्साउँछ तर यसलाई बुझ्न सक्यो भने यो जत्तिको सुन्दर कुरा केही छैन ।

फिल्मको पहिलो दृश्य नै बल्लतल्ल छुचुन्द्रोले फेला पारेको केक केटोसँग बाँडेर खाएको दृश्यले दर्शकलाई छुन्छ । करूणा मानिसको सबैभन्दा सुन्दर गुण हो । छुचुन्द्रोले भन्छ, जीवनमा असफल भइयो भने नआत्तिनु, बरू असफलतालाई उत्सवमा परिणत गर्नु । यसले हिम्मत दिन्छ ।

छुचुन्द्रोले बडो सुन्दर तरिकाले भन्छ, मैले चिनेका धेरैजसो बूढा छुचुन्द्रोहरू तिनको डरका कारण हृदयको आवाज कम सुन्ने गर्छन्, डरकै कारण सपनाको हत्या गर्छन् । यस्तो गर्नु हुन्न भन्नेमा म पक्का छु ।

एउटा दृश्यमा फ्याउरोका लागि छुचुन्द्रो एक छाकको भाग हो भनेर त्यसलाई खान निकै प्रयास गर्छ । छुचुन्द्रो र केटो फ्याउरोबाट निकै डराउँछन् तर अचानक एउटा पासोमा पर्छ । पासोले उसको ज्यान जाने बेलामा छुचुन्द्रोले उसको पासो काटिदिन्छ । केही समयअघिसम्म आफैँलाई खान खोज्नेलाई सहयोग गर्दा आइपर्ने आपतका बारेमा उसले नबुझेको होइन तर सहयोग गर्छ । पछि यो सहयोगलाई फ्याउरोले पनि तिर्छ किनभने दुर्घटनावश छुचुन्द्रो खोलामा डुब्छ, बचाउन केटोको हिम्मत हुँदैन तर त्यही फ्याउरोले डुब्नबाट जोगाउँछ ।

यसपछि केटो, छुचुन्द्रो र फ्याउरोको दोस्ती हुन्छ । र, उनीहरू अघि बढ्दै जाँदा घोडासँग भेट हुन्छ । घोडा आफूमा निकै ठूलो रहस्य बोकेर हिँडेको छ । उसको आकार मात्र ठूलो छैन, उसमा करूणा, बुद्धिमता, नरमपना पनि उत्तिकै छ । उसले चाँडै नै अन्य तीन जनासँग मित्रता गाँस्छ । ऊ उमेरमा अरूभन्दा पाको मात्र हुँदैन, उसले जीवनभर सिकेका ज्ञानगुनका कुराहरू पनि सिकाउँछ ।

यति धेरै सिकाउँछ कि केटोले भन्छ, केहीबेला त तिमीलाईमेराबारेमा म भन्दा बढ्ता थाहा छ कि जस्तो लाग्छ ।

जवाफमा घोडाले भन्छ, तिमीले आफूले आफैँलाई पनि चिन्ने दिन आउँछ । जिज्ञासु चाहिँ रहनुपर्छ ।

किताबले दुविधाका बेला, विद्वेष र विपद्का बेला हाम्रै वरिपरिका कुराहरूमा जोड दिनुपर्ने यो फिल्मले सिकाउँछ । यस्तो बेलामा हामीले हाम्रो विवेक गुमाउँछौँ, धैर्य र आत्मसम्मान गुमाउँछौँ ।

‘सफलता के हो ?’ केटोले छुचुन्द्रोलाई सोध्छ ।

‘कसैलाई प्रेम गर्नु सफलता हो,’ छुचुन्द्रोले जवाफ दिन्छ । यसमा तपाईं सहमत वा असहमत पनि हुनसक्नु हुन्छ ।

यो पुस्तक वा फिल्मका चारै पात्रका सीमितता छन्, कमजोरी र अप्ठेरा अनुभूति छन् । तिनले उनीहरूलाई धेरै कुरा सिकाएका छन् ।

एक ठाउँमा घोडाले भन्छ, ‘सधैँभरि के याद राख भने यो संसारमा तिमी महत्त्वका हौ । तिमीलाई कसैले प्रेम गर्छ र तिमीले जे गर्न सक्छौ, त्यो अरू कसैले गर्न सक्दैन ।’

एक ठाउँमा केटोले भन्छ, ‘कहिलेकाहीँ म हराउँछु, गन्तव्य बिर्सन्छु ।’

छुचुन्द्रोले भन्यो, ‘म पनि त तर त्यसका बाबजुद पनि हामी तिमीलाई प्रेम गर्छौं । प्रेमले तिमीलाई घरसम्म पुग्न मद्दत गर्छ ।’

यसका शब्दहरू प्रायः सुक्तिजस्ता छन् । प्रत्येक संवादले गहन अर्थ बोकेका र निराशामा बाँचिरहेकाहरूलाई आशा र आनन्द बाँड्नेजस्ता कुरा छन् । त्यसैले पनि यो पुस्तक सबैले रूचाए ।

खासमा कोभिड १९ को महामारीका बीच मौलाएको एक्लोपना, निराशा र अवशादका बीच यस पुस्तकले उठाएको साथी बनाउने, समय व्यतित गर्ने, साथीहरूको महत्त्वका कुराहरूले मान्छेको हृदय नै छोयो । त्यसैले यो पुस्तक लामो समयसम्म बेस्टसेलर सूचीमा रहिरह्यो ।

यसैलाई मध्यनजर गरेर यसको एनिमेसन फिल्म बनाइएको हो । फिल्मको लम्बाई जम्मा ३४ मिनेटको छ । यो फिल्मले मानिसलाई शितलता दिन्छ । यसको छोटो एनिमेटेड गीत पनि यहाँ हेर्न सकिन्छः