बेलायतको ग्लास्गो शहरका एक वृद्धलाई मर्ने बेलामा हरियो काँक्रो भनेजस्तो मर्ने बेलामा चित्रकारिताको सोख जागेको छ ।

जहिले पनि कामबाट फर्केपछिका केही घण्टा सडक किनारामा बसेर मानिसहरूको आवतजावत हेर्ने गरेका थोमस म्याकगोरनले तिनै दृश्यहरूलाई यतिबेला चित्रमा उकेरेका हुन् ।

हाल उनी ९५ वर्षका छन्, भन्छन्, ‘मैले अवकाश पाउनुअघिसम्म अरूका लागि काम गरेँ । अब मर्ने बेलामा आफ्नालागि काम गरिरहेको छु ।’

बाल्यकालमा चित्र कोर्न भनेपछि हत्ते गर्ने थोमसले तीन सन्तान र दुई वटा कामका बीच चित्र कोर्ने कामलाई मनमा सजाएर बसिरहेका थिए । उनले जीवनमा कहिल्यै तैलचित्र बनाएका थिएनन् । आफैँले सिक्दै, गल्ती गर्दै र सुधार्दै यो रहरलाई अघि बढाएका थिए ।

उनको मनपर्ने विधा भनेको सन् १९३० को दशकको ग्लास्गो शहर हो । त्यो बेला ग्लास्गो औद्योगिक शहर हुने गर्थ्यो । कामदार वर्गका लागि यहाँ अवसर थियो । त्यही अवसर छोप्दै उनका बाबुआमा १९३२ ताका चार वर्षे थोमसलाई लिएर आएका थिए ।

‘मेरालागि ग्लास्गो अहिले पनि सन् १९३० को दशकको नै छ,’ उनी भन्छन्, ‘उहिलेको भन्दा अहिले धेरै फरक भइसक्यो तर आँखा चिम्म गर्दा पुरानै शहर देख्छु र त्यो यति प्रस्ट देख्छु कि म कहाँ खेलकुद गर्थें, कहाँ बदमासी गर्थें, गल्लीहरूमा कसका गुच्चा कहाँ खसे, कता हराए, सबै सबै याद छ मलाई ।’

अरूका बाउआमाले आफ्ना सन्तान धेरै उछलकुद गरेको मन पराउँदैनथे तर थोमसलाई भने धेरै नै छुट दिएका थिए । उनी टाढाटाढासम्म उछलकुद गर्दै पुग्थे । बदमासीहरू गर्थे । ‘क्या दिन थिए ती !’ उनी भन्छन्, ‘ती सुनौला दिन थिए र तिनले नै मलाई चित्र कोर्न सधैँ घच्घच्याइरहे ।’

उनका चित्रमा देखिने ससाना कुराहरूका लागि आफ्नो तगडा स्मरणशक्तिलाई दिन्छन् । पर देखिने कुकुर, कुकुर डुलाउने मालिक्नी, ठेलागाडा, चौरीमा खेलिरहेका बालबालिकाहरू, बल र टायर, इँटाका थुप्राहरू उनका दिमागमा अझै ताजा छन् । त्यसैले ती मज्जाले चित्रमा पोखिने गर्छन् ।

यतिबेला द फर्ज सपिङ सेन्टरमा १९३० को दशक शीर्षकमा उनका चित्रहरू प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी २६ फेब्रुअरीसम्म चल्नेछ । तपाईं हामी ९५ वर्ष पुगिसकेका थोमस र उनको काम प्रत्यक्ष हेर्न नसके पनि यहीँ अवलोकन गरौँ न तः